नन्दलाल आचार्य
पात्रहरू – १. दीक्षा, २. रितेश, ३. सितेश क्रमशः ११, १२ र १३ वर्षका धनी परिवारका बालबालिका हुन् । यिनीहरूमध्ये सितेश र दीक्षा दाजुबहिनी हुन् । ४० रोजिना र ५० कमलेश क्रमशः १० र १२ वर्षका गरिब परिवारका बालबालिका हुन् । उनीहरू दाजुबहिनी हुन् । रोजिना जन्मजात अपाङ्ग भएकीले बैसाखी टेकेर हिँड्छिन् ।
राजदेवी चोकमा रहेको चटपटे ठेला नजिक चटपटे खाइरहेका तिन जना बालबालिकाहरू देखिन्छन् । बेलाबेलामा स्कुल पढेर घरतिर लागिरहेका अरू विद्यार्थीहरू पनि देखिन्छन् ।
सितेश – (अमिलो स्वाद र पिरोको कारणले जिब्रो पड्काउँदै ) ओहो, आजको चटपटे कस्तो स्वादिष्ट बने छ । मनै भरिएन ।
रितेश – (चटपटे खाँदै ) मिठो भेट्दा नभरिनु र नमिठो पाउँदा चाँडै भरिनु मनकै खेला हो ।
दीक्षा – (पिरोले गर्दा स्याँस्याँ र सुसु गर्दै ) नामै त चटपटे क्षणिक मिठासपन ल्याउने काम मात्र हो यसको । अझ यसमा दुनियाँ थरी केमिकलको प्रयोग भएको हुन्छ । शरीर बिगार्ने काममा यसको नेतृत्वदायी भूमिका हुन्छ भनेर आयुसी मिस भन्नुहुन्थ्यो ।
सितेश – (जिस्क्याउँदै) अँ, दर्शन नछाँटे पनि हुन्छ । चटपटेमा कत्रो शास्त्रार्थ गरे जस्तो गर्छयौ ।
दीक्षा – (नम्रता जाहेर गर्दै ) दादा हजुर नै भन्नूस् त , सेतो भुजा, मुला, नुन, आलु आदिलाई रातो, खैरो केले बनाउँछ अनि स्वादिष्ट बनाउन बोतलबाट केके हालिन्छ ? फेरि यस्ता वस्तुले पेट भरिन्छ र !
रितेश – (सहानुभूतिको भाका देखाउँदै) खै , तिमी पनि केके भन्छ्यौ भन्छ्यौ ? स्वाद लिन पाइन्छ । क्षणिक भए पनि भोक मार्छ । भातकै सट्टामा खानुपर्छ भनेको छैन नि !
सितेश – दीक्षा , खाजा खान भनेर दिएको पैसाको सदुपयोग न हो । नचाहिँदो कुरामा लागेर के काम ! फेरि अहिले नखाएर कहिले खाने ? हामीलाई केको पिर र चिन्ता ! हरेक आवश्यकता मामुबाबाले पुरा गरिदिएकै छ । नो टेन्सन एट अल !
दीक्षा – (बेवास्ताको भावमा) अर्काको खुट्टामा टेकेर हिँड्न सजिलै हुन्छ । आफ्ना खुट्टाले हिँड्नुपरयो भने पो गाह्रो त आजदेखि नै धेरथोर वचत गर्न सके भोलिको दिन सुनौलो पार्न सकिन्छ ।
सितेश – (छक्क पर्दै ) बचत हामीले बचत गर्ने ! तिमी यो के भन्दैछ्यौ ?
दीक्षा – हो, वचत गर्ने कुरा गरेको !
सितेश – घरमा थुप्रिएको धन कसले खाने भएको छ र ? ती गरिबका छोराछोरी जस्ता तिमी चाहिँ वचत गर्ने कुरा गछ्र्याै । फेरि धन जोगाएर के गछ्र्यौ ?
दीक्षा – धनमाथि लडिबुडी खेलिरहेका हामीलाई संसार कसरी चलिरहेछ भन्ने रत्तिभर थाहा छैन । कसैलाई न्यूनतम आवश्यकता पुरा गर्न धन छैन कसैलाई भने जथाभावी गर्न पर्याप्त छ । धन हुनेको मन नहुनेप्रति खिचिए कस्तो राम्रो हुन्थ्यो !
सितेश – (झर्कंंदै) धत्, महाजन रामानन्द शर्माकी एक्ली छोरी भएर पनि तिमी त मगन्ते विचार राख्दै छ्यौ । तिमीले हाम्रो नाक कटाउँछ्यौ कि क्या हो !
दीक्षा – (केही जोसिलो पाराले) नाक कटाउने होइन, नाक जोगाउने काम गर्ने मन छ ।
सितेश – (घृणित नजर लगाउँदै) ल ल त्यो बुख्याँचा जस्तो कमलेश लङ्गडी बहिनीलाई डो¥याउँदै यतै आइरहेछ । (त्यसै बेला हातमा कापीहरू च्यापेर कमलेश र रोजिना आइपुग्छन् । रोजिना बैसाखी टेकेर हिँड्छे । ऊ असिनपसिन भएकी छे ।)
रितेश – (उनीहरूतिर नजर फ्याँक्दै) क्या हो कमलेश ! आज त ढिलो आइपुग्यौ नि ! किन हो ?
कमलेश – गृहकार्य गर्न बसेका थियाँै । झट्पट बनाएर हिँड्यौँ ।
सितेश – (हेलाको भावमा) यी सरकारी स्कुलमा पढ्ने विद्यार्थी पनि अल्छीका पुरी नै हुँदा रहेछन् । घरमा बनाउने कुरा स्कुलमै बनाउनुपर्ने !
रितेश – होइन, त्यो त जाँगरको कुरा पो हो त । अल्छीले त बनाउँदैनन्; यिनीहरू त बनाउँछन् । गृहकार्य गर्ने त जाँगरिला पो हुन् त !
दीक्षा – भोलिको काम आज र अहिले नै फत्ते गरी भोलिवादी प्रथाका विरुद्ध उभिने मान्छे कसरी अल्छीका पुरी भए होलान् !
सितेश – (चिउँडोमा हात राखेर) हारेँ, तिमीहरूकै जित भयो । तिमीहरूको विचारमा सहमति जनाएँ ।
कमलेश – कुरा हार र जितको होइन । रमिता र राजेशले किताब दिए र एक क्षण पर्खिए । हामीले गृहकार्य छिटो छिटो गरिहाल्यौँ । आफूसँग किताब भइदिएको भए त आनन्दले घरमै बनाइन्थ्यो ।
रोजिना – दुई महिना ढिलो भयौ भनेर स्कुलले किताब दिएन । अब जो स्कुल आउँछ उसले आफैले किताब किन्नुपर्छ भनेर वर्ग शिक्षकले भन्नुभयो । हाम्रो नाममा स्कुलमा किताब आएकै छैन रे ।
दीक्षा – अनि बाबामामूलाई किताब किन्दिन भनेनौ त ? हेर, बेलामा नबोले सधैँ पछि परिन्छ ।
रोजिना – (गहभरि आँसु पारेर) कसलाई भन्नूँ ! बुबाआमा दुर्घटनामा परेर स्वर्गे हुनुभएको पनि पाँच वर्ष नाघिसक्यो । एउटा दाजुले हली बसेर कमाएको धनले के के गर्न पुग्छ र !
कमलेश – (रोजिनाको आँसु पुछिदिँदै) हातमुख जोर्न गाह्रो छ । गाँस कटाएरै कापी किन्छौँ । किताब किन्ने कुरा त परैको भयो ।
सितेश – ए, त्यसैले पो तिमीहरूको स्कुल सरकारी हाम्रो चाहिँ निजी ! गरिब निमुखाको सरकारी, धनी ठुलाठालुका छोराछोरीका लागि निजी !
रितेश – स्कुल त स्कुलै हो । सरस्वतीको मन्दिर ठुलोसानो हुन्न । धनी गरिब हुन्न । लक्ष्मीप्रसाद देवकोटा पनि हाम्रै हुन् । बालकृष्ण सम पनि हाम्रै हुन् । भेदभाव गर्नु बौद्धिक दरिद्रता बाहेक अर्थोक केही होइन ।
सितेश – (रितेशतिर नजर गाड्दै) धनी बाबुको छोराले दरिद्र मन राख्नु उचित होइन । (कमलेश र रोजिना प्रस्थान गर्छन् ।)
रितेश – हो, ठिक भनिस् । धनमाथि बस्ने दरिद्र हामी हौँ । हामीसँग थरी थरीका किताब छन् र पनि ठोस ज्ञान लिन सक्दैनौँ । उनीहरू भने किताब बेगरै राम्रो ज्ञान लिन्छन् । वैचारिक दरिद्रताले हामीलाई नराम्ररी गाँजेको देखिरहेको छु ।
सितेश – (मुख बिगार्दै) एक थोक भन्छु अर्कै थोक बुझ्छौ । उल्टो उल्टो बुझ्न थाल्यौ होइन रितेश ?
रितेश – जे भन । स्वतन्त्र छौ । तर ती दुईलाई निःशुल्क किताब दिलाउन सके कति राम्रो हुन्थ्यो ! कत्रो कल्याण हुन्थ्यो !
दीक्षा – मन हुनुपर्छ । मन भए असम्भव केही छैन ।
सितेश – (हेलैसित) भो भो, मेरा अगाडि आँसु नचुहाओ । जाओ, उनीहरूकै सामु जाओ र सके जति आँसु बगाओ ।
रितेश – अरे, तिमी पो उल्टो व्याख्या गर्दै छौ त । आँसु चुहाएको होइन, पछुतो मानेको मात्र हो । (सन्नाटा छाउँछ ।)
दीक्षा – (सितेशतर्फ फर्केर) सुन्नूस् दादा ! भोलिदेखि मेरो भागको खाजाको पैसा मलाई नै दिनूस् ।
सितेश – (झर्कंदै) दाजु बहिनी मिलेर खाइरहेका छौँ । तिमीलाई ठग्ने कुरा आएन क्यारे ।
दीक्षा – ठग्ने र ठगिने कुरा होइन । आफ्नो भागमा परेको पैसा आफ्नै खुसीले खर्च गर्ने कुरा मात्र हो ।
सितेश – तिमीलाई भेदभाव पनि गरेको छैन । मसँग अहिले नै भाग खोज्छ्यौ ?
रितेश – होला नि केही किन्ने ! उनले पाउने दिँदा भइगयो नि ।
दीक्षा – मतभेद पनि होइन, हामी बिच भेदभाव पनि छैन । वैचारिक द्वन्द्व निवारणको उपाय मात्र गर्दै छु । बलेको आगो ताप्ने, निभेको आगो लत्याउने कार्यका विरुद्ध उभिँदै छु । खासमा आर्थिक विभेदले उब्जाएको सामाजिक विभेद उन्मूलनमा सहयोगी बन्न खोज्दै छु ।
सितेश – यस्ता गन्थनको निष्कर्ष बुझ्न सकिनँ । पैसा केमा खर्च गछ्र्यौ ? भन न ।
रितेश – विचारको कदर गर्दिए भइगयो नि ! किन द्वन्द्वमा फस्नुपरेको होला !
सितेश – ए रितेश, एकोहोरो रट नलगाऊ त । के बुझ्यौ ? दीक्षाको गन्थनबाट ।
रितेश – केही बुझेँ । भन्न चाहन्नँ । अल्पज्ञान खतरनाक हुन्छ । खतरा मोल्न रुचाउँदिनँँ ।
सितेश – (रिसाउँदै) यसो पनि होइन उसो पनि छैन । आखिर कुरा के हो ? (सन्नाटा छाउँछ ।) आखिरमा (कडा स्वरमा) तिमीले के खोजेकी ? भन ए दीक्षा ! प्रस्ट भन । पैसा कुन काममा लगाउँछ्यौ ?
दीक्षा – (केही भयभीत हुँदै) मैले मेरो भाग खोजेकी हुँ । दादा बेकारमा रिसाउनुहुन्छ ।
सितेश – (केही नम्र हुँदै) हो, त्यही त मेरो टाउको दुखाइ हो । आजसम्म मेरा हरेक कुरा र व्रिmयाकलाप सहर्ष स्वीकार गर्ने बहिनी आज आएर मबाट अलग भई आफ्नो भागको पैसा खोज्दै छिन् । केमा खर्च गर्न चाहन्छिन् ? मेरो मथिङ्गल हल्लने काइदा यही हो ।
रितेश – सितेश ! रिस गर्नु उचित छैन । हामीले चटपटे, चाउचाउ, चकलेट आदिमा खर्चेको रुपियाँ कसैको भलो हुने काममा लगाउने विचार दीक्षाको हुनुपर्छ ।
सितेश – हो हो । ठिक छ, पैसाको दुरुपयोग गरियो । सदुपयोग गछ्र्यौ तर केमा खर्च गछ्र्यौ ? त्यही भन न । किन राजनैतिक भाषण छाँट्छ्यौ त ?
रितेश – ए, राजनीतिका कुरा गर्छौ ! त्यही राजनीतिको आडमा त गरिब निमुखाहरू ठगिएका हुन् । त्यही धनको सानो अंश निमुखा वर्गको हितमा खर्चने दीक्षाको सदीक्षालाई घृणा नगर्दा नै बेस होला ।
सितेश – (केही प्रसन्न मुद्रामा) तेरा कुराले मेरो चित्त बुझ्न खोज्दै छ । (दीक्षातर्फ फर्केर) भन त बहिनी ! पैसा केमा उपयोग गछ्र्यौ ? अपुग भए म पनि थपिदिन्छु ।
रितेश – हो, म पनि थपिदिन्छु । भन दीक्षा ! के कस्तो योजना ल्याएकी छ्यौ ?
दीक्षा – (खुसी हुँदै) म त्यस पैसाले कमलेश र रोजिनालाई किताब किनिदिन्छु । उनीहरूलाई लाग्ने शुल्क तिरिदिन्छु । कहिलेकाहीँ खाजा खुवाउँछु ।
सितेश – दरिद्रको सेवा गरे आफू पनि दरिद्र भइन्छ भन्नुहुन्छ नि मामू !
दीक्षा – हाम्रो किताबमा गरिब र असहायलाई सहयोग पु¥याउने मान्छे नै धनी हो भनिएको छ नि त !
सितेश – (सोचेर) लौ, उसो भए सहयोग गर्न तत्पर छु । तिम्रो इच्छालाई सम्मान गर्छु ।
रितेश – हो, अब हामी सुध्रनुपर्छ । नवीन चिन्तन र व्यवहारले समाजलाई सिँगार्नुपर्छ ।
सितेश – यस्ता पुनीत कार्य अभियानकै रूपमा अगि बढ्नुपर्छ । हामीले चाहे यहाँ जे पनि सम्भव छ ।
दीक्षा – (उत्साहित हुँदै) बरु सबै मिलेर बाल क्लब खोली पढ्नबाट वञ्चितहरूलाई सहयोग गरौँ न ।
रितेश – यसो गर्न सके हाम्रा अभिभावकको पनि मति सुध्र्रन कर लाग्छ ।
सितेश – (पैसा गन्दै) यस कुरालाई आजैदेखि अभियानकै रूपमा लैजाऔँ । पाँच....दस...पन्ध्र...पच्चिस । मसँग पच्चिस रुपियाँँ छ ।
रितेश – (पैसा निकाल्दै) मसँग दस रुपियाँ छ ।
दीक्षा – जम्मा गर्दै जाऔँ र सर्व प्रथम किताब किनिदिऔँ ।
सितेश – हुन्छ । (पैसा दीक्षालाई दिँदै) ल, यो तिमी नै राख ।
रितेश – (पैसा दिँदै) दीक्षा ! यो पनि राख । (दीक्षा पैसा पकेटमा राख्छे ।) अब भने घरतिर लागौँ क्यारे !
दुबै— (टाउको हल्लाउँछन् ।) जाऔँ । (पर्दा बिस्तारै खस्दै जान्छ ।)
प्रकाशित: ४ पुस २०७७ १०:०३ शनिबार