प्रकाश घायल
१)
ऊ जेजे भन्दै थियो त्यही –त्यही म सुन्दै थिएँ,
त्यही विषयमा गहिरिदै मस्तिष्कमा गुन्दैथिएँ ।
अचानक थपिदियो जिन्दगीले पीर–व्यथा ,
विवश–विवश बनेर म आँसुको भेल थुन्दै थिएँ ।
२)
जिन्दगी चलाउन त रूप सँगसँगै सीप हुनुपर्छ ,
अझ झन् जगमगाउन उज्यालो दीप हुनुपर्छ ।
बहकिने मन कहिलेकाहीं चंचल भै बरालिदा,
बरालिने यो मन सम्हाल्न तिमी समीप हुनुपर्छ
३)
लटरम्म भएपछि हाँगा आखिर नुहिँदो रहेछ,
असरल्ल भुइँमा झरेपछि फल कुहिँदो रहेछ ।
नशालु ती नजरले मनमुटु कोपर्न थालेपछि,
आँसु बन्दै आँखाबाट पीडा तप्प चुहिँदो रहेछ्र्र ।
४)
चिसो रात खुला आकाश खापेर बिताउँछन् ,
अरूको व्यथा आफ्नै ढाडमा थापेर बिताउँछन् ।
मनभित्र वेदनाको आगो दनदन्ती बल्दा समेत,
चिसो भाग्य सँगसँगै लगलग काँपेर बिताउँछन् ।
५)
काम कुरो अझै मिलाउन बाँकी छ अलिअलि,
फाटेको भाग्य सिलाउन बाँकी छ अलिअलि ।
तर्किएर हिड्यौ किन झर्किएर बोल्यौ किन,
मनभरि विश्वास दिलाउन बाँकी छ अलिअल्र्रि ।
प्रकाशित: ४ पुस २०७७ ०९:०३ शनिबार





