१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छायांकन रोजाइमा पूर्वी पहाड

हिमाल राम्रोसँग नखुले पनि पाँचथरको साधुटार आसपासका दृश्य सुन्दर देखिन्थे। पहाडमा मान्छेहरू फोटो खिच्दै रमाएका देखिन्थे। यतिबेला यो ठाउँको महत्व बढाउने काम गरिरहेको छ, चलचित्रको छायांकनले।  

एक साताअघि कृष्णलीला चलचित्रको सुटिङले यो क्षेत्रमा नवीन माहोल बनाएको थियो। आसपासका बासिन्दाले चलचित्रको सुटिङ हेरिरहेका थिए। यहाँका बासिन्दाका लागि चलचित्र सुटिङ नौलो भएन अब। यहाँ यसअघि केही चलचित्र सुटिङ भइसकेका थिए। अत्याधुनिक प्रविधिको प्रयोग गर्दै भइरहेको यो सुटिङ हेर्न मात्र आएनन् स्थानीय, विगतझैँ सहयोग पनि गरिरहे। यो ठाउँ फेरि ठूलो पर्दाको चलचित्रमा देखिने लोभले स्थानीय खुसी देखिन्थे।

स्थानीय मात्र होइन, कलाकार श्रद्धा क्षेत्रीलाई पनि यहाँको सुटिङ महत्वपूर्ण अवसर थियो। हिमालको काखमा सुटिङ गर्न पाउँदाको खुसीसँगै उनले भनिन्, ‘पूर्वका इलाम–पाँचथरमा अभिनय गर्न पाउँदा खुसी छु। यहाँको सुन्दरता निकै राम्रो लाग्यो। आगामी दिनमा फिल्म यता सुटिङ हुने क्रम बढ्दै जान्छ जस्तो लाग्छ।’ 

कलाकार क्षेत्रीका लागि पूर्वको इलाम–पाँचथरका सुन्दर ठाउँ नयाँ थिए। चलचित्र यात्राका लागि यहाँको सुटिङ महत्वपूर्ण हुने उनको अपेक्षा छ।

इलाम, पाँचथरजस्ता पूर्वी पहाडी जिल्लामा ठूला पर्दाका चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। यहाँका ‘प्राकृतिक स्टुडियो’ चलचित्रमा देखिन थालेका छन्। लकडाउनपछि सुरु भएको कृष्णलीलाको सम्पूर्ण छायांकन इलाम र पाँचथरमा हुने जनाइएको छ। पाँचथरको सुकेपोखरीको प्रेमी र साधुटारको प्रेमिकाको प्रेम कहानी समेटिएको कृष्णलीला चलचित्र मात्र होइन, पछिल्ला वर्षमा यी जिल्लामा चलचित्र सुटिङको क्रम बढ्दै गएको छ।

विगतमा सुटिङ नभएका त होइनन्, तर मूलधारका चलचित्र पछिल्ला वर्षमा बढेको देखिन्छ। इलामको कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुर तथा पाँचथरको साधुटार, सुकेपोखरी, सिलौटी, लोब्रेकुटी लगायत क्षेत्रमा यस प्रकारले सुटिङ हुने क्रम बढेको देखिन्छ, तुलनात्मक रूपमा इलाममा बढी छ।  

हिमाली दृश्य, चियाबगान तथा मिलेको पहाडी भूभागका कारण चलचित्र छायांकनको क्रम बढ्दै गएको हो। यहाँको भूगोल आर्कषक छ। सडकदेखि नजिकका ठाउँमा यस प्रकारले सुटिङ भएको देखिन्छ। यहाँका बासिन्दाले पनि चलचित्र छायांकनका क्रममा सहयोग गरेका छन्। स्थानीय सरकार, स्थानीयवासी तथा संघ–संस्थाले छायांकनका क्रममा सहयोग गरिरहेका छन्। यहाँको सुन्दर भूगोल चलचित्रमा देखिने खुसीका कारण पनि यस प्रकारको सहयोग भएको देखिन्छ। सिजनअनुसार फरक–फरक दृश्यले सजिने यी क्षेत्र सुटिङका लागि महत्वपूर्ण भएको विगतदेखि नै चर्चा हुने गरेको थियो।  

‘लामो समयदेखि यहाँका प्राकृतिक स्टुडियोमा बाक्लो गरी चलचित्र सुटिङ गराउने सपना देखेका थियौँ। एकपछि अर्को गर्दै ठूलो पर्दाका चलचित्रको सुटिङ बढ्दै जानु हाम्रा लागि खुसीको कुरा हो,’ चलचित्र कलाकर्मी संघ, प्रदेश–१ का अध्यक्ष केवल तामाङ भन्छन्, ‘यहाँका पर्यटकीय स्थललाई महत्व दिएर काम गरिरहेका छौँ। सिनेमा टुरिजमको विकास गर्ने प्रयत्नमा छौँ।’

चलचित्र छायांकनका लागि यहाँ प्रशस्त ठाउँ रहेको बताइन्छ। छिमेकी हिमाली जिल्ला ताप्लेजुङमा पनि सुटिङका लागि काम गर्ने प्रयास भइरहेको तामाङ बताउँछन्। यसअघि दयाहाङ राई सम्मिलित चलचित्र ‘जारी’ पाँचथरका विभिन्न गाउँमा सुटिङ भएको थियो। त्यस्तै, म यस्तो गीत गाउँछु– २, प्रेमदिवस, सयकडा दश, आप्पा, नाइँ नभन्नु ल– ५, लभस्टेसन आदि चलचित्र छायांकन भएका छन्। त्यस्तै, ‘कालो कपाल घुम्रियो’, ‘मनै मनमा माया तीनपाते भइदियो’ जस्ता चर्चित गीतको म्युजिक भिडियो पनि यतै छायांकन गरिएका थिए।

‘हामी यता आउनुको मुख्य कारण यहाँको सुन्दरता हो। इलामको चिया बगानदेखि नजिकै देखिने हिमाल हाम्रा लागि महत्वपूर्ण रहेका छन्। यस प्रकारको सुटिङले पर्यटकीय हिसाबमा पनि टेवा पुग्ने हाम्रो पनि अपेक्षा छ। अरू फिल्ममा यहाँको दृश्य देखिएपछि हामी पनि लोभियौँ,’ चलचित्र निर्देशक दीपक वली भन्छन्, ‘यो क्षेत्रमा चलचित्र सुटिङको क्रम बढ्ने सम्भावना देख्छु।’

हिमाली दृश्य, पहाडी सौन्दर्यका कारण मध्यपहाडी क्षेत्र महत्वपूर्ण छ। यहाँको धार्मिक महत्व पनि उत्तिकै छ। यहाँका बासिन्दाले पनि सुटिङमा सहयोग पुर्‍याइरहेको देखिन्छ।

‘यो ठाउँ जस्तो छ, यहाँका मान्छेहरू उस्तै पाएँ। यहाँका स्थानीयले सहयोग गर्नुभएको छ। यहाँ बस्नलाई होटलको सुविधा नभएपछि होमस्टेमा बस्दा पनि हामीलाई रमाइलो भएको छ। उहाँहरूको सहयोग निकै महत्वपूर्ण छ,’ कलाकार पुष्प खड्का भन्छन्, ‘नेपालभित्र फिल्म सुटिङका लागि काठमाडौं, पोखरा, जोमसोम मात्र छैन भन्ने यहाँ आएपछि महसुस भयो। विगतमा गीतमा मात्र देखिएको यहाँको दृश्य चलचित्रमा देखिन थालेको छ।’

प्रकाशित: ४ पुस २०७७ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App