७ वैशाख २०८१ शुक्रबार
कला

विवाहपञ्चमी र ‘वैवाहिक बन्धन’

प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन सीता विवाह पञ्चमी भनेर नेपालको जनकपुर क्षेत्रमा धुमधामका साथ मनाउने चलन छ। नामै विवाह पञ्चमी भएकाले यसको प्राचीन तथा ऐतिहासिक कथन या मिथक बनेकै छ। हामी महादेव पार्वतीको विवाह, राम–सीताको विवाह, द्रौपदी र पाँच पाण्डवका विवाहका कथा पढेर या सुनेर हुर्किएका हौँ। हाम्रो विवाह संस्थाले तिनै विवाहका नैतिकता र मान्यतालाई अनुसरण गर्दै आइरहेको छ। हिन्दु परम्पराका राष्ट्र प्रमुख नै सहभागी हुने यस विवाह पञ्चमीलाई धार्मिक तथा ऐतिहासिक महत्व दिइएको छ। रामायणका पात्र राम (अयोध्याका राजकुमार) र सीता (सीता माता)को विवाह उत्सवलाई नै प्रमुखताका साथ मनाइने यस विवाह पञ्चमी पर्वले राम र सीताका कहानीलाई पनि प्रस्तुतीकरण गर्छ।  

राजा जनकले आफ्नो दरबारमा भएको भगवान् शिवको धनुषलाई जसले उठाउन सक्छ, उसैलाई आफ्नी सुन्दर दैवीय रूप भएकी छोरीको स्वयंवर गरिदिने घोषणा गरेका हुन्छन्। सोहीअनुरूप त्यहाँ उपस्थित भएका विभिन्न देश देशावरबाट आएका राजकुमारले उक्त धनुष उठाउने हिम्मत गर्न सक्दैनन् तर अयोध्याका राजकुमार रामले उक्त धनुष सजिलै उचालेर तीर हान्न मात्र आँटेका हुन्छन्, धनुष टुक्रा–टुक्रा हुन्छ भन्ने पौराणिक कथा छ। यस्ता वीर पुरुष रामलाई वरमाला पहिर्‍याएर धन्य भएकी सीताको वैवाहिक जीवन भने बडो दुखद भएको कथा छ।

विवाहको सामाजिक, आर्थिक, राजनीतिक पाटो कसरी संरचित छ भन्ने पक्षलाई विश्लेषणात्मक ढंगले हेर्न र यसबारे छलफल हुन आवश्यक छ। विवाह बन्धन नभई महिला पुरुषबीचको सहकार्य, माया–प्रेम, सहअस्तित्व हुनुपर्नेछ। विवाह पञ्चमीलाई मनाउँदै गर्दा यस्ता पक्षहरूबारे पनि सोच्ने कि ?  

कारुणिकता, वात्सल्य, समर्पण, त्याग, पतिभक्ति र वियोगको प्रतिमूर्ति भनेर रामायणका रचनाकार वाल्मीकिले सीतालाई प्रस्तुत गरेको पाइन्छ। राम–सीताको विवाहको पर्व अर्थात् विवाह–पञ्चमीलाई हर्षोल्लासका साथ मनाउँदा पुरुष प्रधानता र चरित्रलाई प्राथमिकता दिइएको छर्लंगै छ। यसको उदाहरणका रूपमा सीतालाई आफ्नो चारित्रिक शुद्धता प्रमाणित गर्नका लागि अग्नि परीक्षामा सहभागी हुनुपरेको छ। यसरी रामायण तथा महाभारत लगायतका धार्मिक ग्रन्थले महिलाका चरित्रलाई बडो सतर्कताका साथ प्रस्तुत गरेका छन्।  

विवाह संस्कारमा महिला पवित्र हुनुपर्ने, पवित्र यस मानेमा कि उनीहरूले विवाहअघि यौनसम्बन्ध राखेको हुन नहुने र विवाहपछि त झन् परपुरुषको छाया पनि हेर्न नपाउने जस्ता नियम छन्। सीताका एकतर्फी त्याग र दलनको विषयमा शास्त्र या समाज कसैले पनि उनीप्रति अन्याय भयो भनेर औंला उठाएको पाइँदैन र महिलालाई धर्तीजस्तै सहनशील र मर्यादामा बस्नुपर्ने शिक्षा र अनुशासन सिकाइरहन्छ। यस राम–सीता कथामा सीताको रामप्रति अथाह पे्रम थियो भन्ने त देखाइयो, तर रामले प्रेम देखाएर सीताप्रति भएका भावनात्मक र पारिवारिक अन्यायप्रति चिन्तनमनन गरेको या आफ्नो गल्ती महसुस गरेको देखाइएन। रामायण वाल्मीकि ऋषिले लेखेको भनिन्छ। उनै ऋषिले रामले त्यागेकी सीता र उनका सन्तानलाई आश्रय दिएको पनि भनिन्छ। तर ती वाल्मीकिले रामका गलत कार्यमा मौन बसेर सीताको त्यागलाई उनको कर्तव्य हो भन्ने अर्थमा प्रस्तुत गरेका छन्। खैर हिन्दू समुदायका भक्तजन यी कथालाई भगवान्को कथा सम्झन्छन् र ‘भगवान्ले त यस्ता दुःख झेलेका रहेछन्, हामी त मान्छे’ भन्दै असमझदारीपूर्ण वैवाहिक सम्बन्धमा पनि महिलाले अरू बढी सहेर वा सम्झौता गरेर निरन्तरता गरिरहनुपर्नेमा विश्वास गर्छन्।  

प्राचीन समाजमा आफ्नो समूहको निरन्तरता दिन, व्यक्तिगत सम्पत्तिको अधिकारको प्रत्याभूति गर्न, रगतको नाताको संरक्षण गर्न विवाह संस्थाको उदय भएको पाइन्छ। विवाहले माथि उल्लिखित कुराको अनुभूति गराउँछ भन्ने मान्यता रहिआएको छ। विवाह र सम्बन्ध विषयमा कलम चलाउने लेखक सेरी स्टेइचफले आफ्नो लेखमा उल्लेख गरे अनुसार, विवाहको सुरुआत मध्य अंग्रेजमा १२५०—१३०० सिईतिर देखिएको जनाएकी छन्। विवाहको मुख्य उद्देश्य भनेकै परिवारको बीचमा सहमति र सम्झौता खडा गर्नु रहेको पाइन्छ। जबदेखि विवाह संस्थाको सुरुआत भयो, तबदेखि नै विवाह गर्ने जोडीका लागि परिवारले नै सम्पूर्ण व्यवस्था मिलाउँछ र साक्षी पनि बस्छ। त्यो साक्षी भनेको चाहे पोप पादरी हुन् या हिन्दु संस्कृतिमा पण्डित। प्रायः भारत, नेपालजस्ता दक्षिण एसियाली मुलुकमा विवाह परिवारले अरेन्ज गरिदिएको हुन्थ्यो र अझै पनि छ। यस्ता विवाहलाई ‘मागी विवाह’ भनिन्छ। मागी विवाहमा आर्थिक पक्षको पनि समन्वय गरिएको हुन्छ। आजकल प्रेम–विवाह गर्ने चलन त आएको छ, तर प्रेम विवाहको स्वीकृति पनि परिवार र समाजले जोडीका जातपातदेखि लिएर आर्थिक उन्नति, श्री सम्पत्तिको मूल्यांकन गरेर गर्ने गरेको देखिन्छ। विवाहलाई महिला र पुरुषले यौन सम्बन्ध स्थापित गर्न कानुनी तथा सामाजिक मान्यता प्रदान गरेको संस्थाको रूपमा पनि लिइन्छ।  

माक्र्सवादी मान्यता अनुसार समाजको उत्पादनको स्वरूपमा आउने परिवर्तनले परिवारको स्वरूपमा समेत परिवर्तन ल्याउँछ। एकात्मक परिवारको स्वरूप व्यक्तिगत सम्पत्तिको उत्पत्तिसँगै भएको हो। परिवारमा छोराछोरीको नाम पुख्र्यौली पुरुषको तर्फबाट हुने गर्छ। सम्पत्ति हस्तान्तरण गर्नेदेखि घरको मूली लोग्नेमान्छे हुने गर्छ। विवाहले महिलालाई आफ्नो लोग्नेबाहेक अरूसँगको यौन सम्बन्धमा प्रतिबन्ध लगाएको हुन्छ भने पुरुषहरूका लागि सामान्यतः त्यस्तो कुनै बन्देज हुँदैन। मानवशास्त्रीय तथा पुरातात्विक अध्ययनले आदिम समाजमा अहिलेजस्तो कुनै वैवाहिक पारिवारिक रूप थिएन भनेर प्रस्ट पारेका छन्। आदिम समाजमा स्वच्छन्द यौनसम्बन्ध रहने हुनाले पितृत्वको कुनै अर्थ थिएन। प्राचीन मानव झुन्ड–झुन्डमा सामूहिक रूपमा बस्ने गर्दथे। जब समाज कृषि अर्थतन्त्रमा प्रवेश गर्‍यो, त्यसै बेलादेखि महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न थालेको देखिन्छ। उत्पादनका साधन र जमिनमा पुरुषको पकड भएपछि उसले आफ्ना लागि दास तथा श्रीमती र छोराछोरी पनि जम्मा गर्न थाल्यो। यसरी सेवक, श्रीमती, दासदासी र छोराछोरीको समूह कालान्तरमा परिवारको रूपमा विकसित हुन पुग्यो।  

पुरुषले प्रकृतिबाट अनाज उम्रेको तथा महिलाबाट प्रजनन भएकालाई आधार मानेर महिलालाई पनि प्रकृतिकै अंग मान्दै महिलामाथि आफ्नो दबाब कायम राख्ने गरेको तर्क समाजशास्त्री मारिया मिसले उल्लेख गरेकी छन्। यसरी आदिम कालदेखिकै महिला–पुरुषबीच भएको असमान शक्ति सम्बन्ध समाजैपिच्छे कथा उपकथामा जोडिँदै विवाह संस्थामा प्रचलित र कार्यान्वयन भइराखेका छन्।  

विवाह संस्थाले महिला–पुरुषबीचको आकर्षण र प्रेमको भावनालाई पनि विभाजित गरेको देखिन्छ। यसको उदाहरणको रूपमा आफ्नो जात, सम्प्रदायभन्दा बाहिरको व्यक्तिसँग प्रेम हुँदा समाज तथा परिवारबाट भएको हेला, तिरस्कार, अस्वीकृतिका घटनालाई लिन सकिन्छ। कताकता विवाहमा वर्ग छ, जात छ, अन्धविश्वासी परम्परा तथा मूल्य–मान्यता छ। विवाहपछिको अवस्थालाई हाम्रो समाजले ‘वैवाहिक बन्धन’ भनेर नाम दिएको छ। विवाहले एउटा अनुशासनको घेरा बनाएको होला। त्यसैले विवाह उत्सव हुँदै बन्धन बन्न पुग्छ। हुन त विवाह संस्थाको मूल उद्देश्य आफ्नो समूहको रक्षा गर्ने, वंश विस्तार गर्ने, नियन्त्रण गर्ने थियो र छ।  

आजकल यी विवाह संस्था र परम्परामा तडकभडक थपिएको छ। यसमा अनेक भौतिक प्रदर्शनी मिसिएका छन्। एउटा विवाह सम्पन्न हुन तीन–चार दिन लाग्छ। निकै महँगो हुँदै छन् विवाहहरू। विवाह समारोेह जति नै भड्किलो देखिए पनि वैवाहिक सम्बन्ध भने पढिएका मन्त्रजस्ता छैनन्। विवाह समारोह हुँदै परिवार व्यवस्थापनसम्म पुग्दा विवाह एक तीतो र दुःखी अनुभव भएका घटना पनि आजकल समाजमा छ,यापछ्याप्ती देखिन थालेका छन्। विवाहले महिला र पुरुषका भूमिका पनि भिन्न देखाउन सुरु गरिहाल्छ। आधुनिक समाजमै पनि केही ‘विवाहका लागि विवाह’ गरिएका छन् भने केही दाइजोका खातिर र केही आर्थिक उत्पादन गर्ने सामथ्र्यलाई आधार मानेर गरिएका छन्। विवाहकोे विश्वव्यापी पहिरन भनेको औंठी साट्ने चलन रहेछ। स्वयंवरको औंठीले विवाह हुन गइरहेका जोडी आजीवन सँगै बस्नुपर्ने प्रतीकको प्रतिनिधित्व गर्ने रहेछ।  

प्राचीन समयदेखि नै विवाहका विभिन्न स्वरूप रहँदै आएको पाउन सकिन्छ– एकल विवाह, बहुपत्नी विवाह, बहुपति विवाह, एउटै समुदायभित्र गरिने विवाह, आफ्नो समुदायभन्दा बाहिर गरिने विवाह आदि–आदि। हाम्रो हिन्दु संस्कृतिभित्रको विवाह उही प्राचीन धार्मिक ग्रन्थलाई आधार मानेर गरिने विवाहकै निरन्तरता हो, केही अदालती विवाह र पहिले केही कम्युनिस्टले गरेका प्रगतिशील विवाहबाहेक।  

हाम्रो मानसिक संरचना पनि उही सपनाको राजकुमार आउने, बेहुली बनाएर लैजाने, सम्पूर्ण चाहेका खुसी उसैले दिने कल्पनाले बनेकै छ। तर समय परिस्थितिले पारिवारिक, सांस्कृतिक, संरचनाले पुरुषवादी चिन्तन र व्यवहारले ती सब कुरा महिलाका लागि सम्भव हुँदैन। आखिर विवाह बन्धनले पुरुषलाई भन्दा बढी बन्धन महिलालाई नै गरेको भान हुन्छ। महिलाले बोकेका एकांकी सपना एकातिर, अनि पुरुषको परिवारको मान–मर्यादा अर्कातिर हुँदा बिस्तारै द्वन्द्व उत्पन्न हुँदै गएको देखिन्छ। जब समाजमा सचेतनाको कमी थियो, विशेषगरी महिलाले विवाह विधिभित्रका हरेक कथित मर्यादालाई पालना गर्दै आएकै थिए र छन्– सन्तानले डाँडाकाँडा ढाक्ने आशीर्वादलाई शिरोपर गरेर होस् या परिवारको कानुन मानेर होस्। पुरुषले पनि पाप–धर्मको डरलाई मान्दै आएका थिए र छन्। तर ‘मर्दका दशवटी’जस्ता उखान रहेकाले समाजमा पुरुषलाई केही खुकुलो छ।  

अहिलेको परिवेश अलिकति बदलिएको छ। महिलाले आफूमाथिको अन्याय, अत्याचारबारे चासो राख्न र त्यसमा विरोध जनाउन थालेका छन्। यससँगै महिलालाई भौतिक सुख–सुविधा, गरगहना, धनसम्पत्ति, मनोरञ्जन तथा व्यक्तिवादी सोचले गाँज्न थालेको पनि देखिन्छ। अहिले विवाह संस्थामा प्रवेश गर्न थाल्दा पुँजीगत आडम्बर बढ्दै गएको देख्न सकिन्छ। आफ्ना जीवनसाथीसँग बहस गर्न सक्ने महिलामध्ये केही महिलाको धनसम्पत्तिप्रतिको महत्वाकांक्षा वैवाहिक जीवनको असमझदारीमा गएर अल्झिएका घटना थुप्रै छन्। धेरै महिला सुखी जीवन भनेको आफ्नो छुट्टै एउटा घर होस्, त्यहाँ अन्य अल्झाउने–बिझाउने केही नहोस् र श्रीमान्को कमाइ राम्रो होस् भन्ने चाह बोकेर बसिरहेका हुन्छन्, यो प्रायः मध्यमवर्गीय परिवारमा बढी हुने गरेको पाइन्छ। यो पनि व्यक्तिगत सम्पत्तिप्रतिको मोहभित्रै पर्छ। योसँगै पुरुष हुनुको अहं लिने र यौनसम्बन्धमा जबर्जस्ती गर्ने, मदिरापान गरी हिंसा गर्ने आदिका कारण वैवाहिक जीवनबाट महिला दिक्क भएका उदाहरण छँदै छन्। हुन त अहिले समाजमा विवाह संस्थामाथि नै प्रश्न चिन्ह खडा भएको पाइन्छ।

विवाह एउटा सामाजिक संस्था हो भन्नेमा कुनै द्विविधा रहेन। हिन्दु शास्त्रीय मान्यता अनुसार विवाहले समाजलाई अव्यवस्थित र विग्रह हुनबाट बचाउँछ। माक्र्सवादी मान्यताले भने विवाह एक पितृसत्तात्मक एकाधिकार बलियो बनाउने संस्कार हो भन्छ।  

जेहोस्, विवाहलाई महिला–पुरुष दुवैका लागि जीवन जिउन सहज बनाउने संरचनाको निर्माण र थालनी आजको आवश्यकता हो। विवाह गर्ने जोडी (दुवै) आर्थिक रूपमा सक्षम, सचेत र जागरुक भएमा झनै राम्रो हुने देखिन्छ।  

हामीकहाँ विवाह एक जातिभित्र सीमित हुनुपर्ने परम्परागत मान्यताका कारण युवायुवतीले आफैँ रोजेको व्यक्तिलाई जीवनसाथी बनाउन नपाएका उदाहरण पनि छन्। यसको पनि अन्त्य हुनुपर्छ। विवाहले महिलाले पुरुषको कुलमा सम्पूर्ण रूपले समाहित हुनुपर्ने मान्यता राख्छ, यसमा परिमार्जन आवश्यक छ। विवाह गर्ने या नगर्ने भन्नेमा व्यक्तिको स्वनिर्णय चल्नुपर्छ। विवाह गरिसकेपछि कारणवश पारपाचुके भएको अवस्थामा या पति गुमाएको अवस्थामा महिलाले समाजमा सहजै जीवनयापन गर्न पाउने अवस्था छैन। यी व्यवस्था भनेका असमान सम्बन्धका उपज हुन् भन्नेमा जरैदेखि समाजका व्यक्ति चेतनशील हुनैपर्छ। विवाहको सामाजिक, आर्थिक, राजनीतिक पाटो कसरी संरचित छ भन्ने पक्षलाई विश्लेषणात्मक ढंगले हेर्न र यसबारे छलफल हुन आवश्यक छ। विवाह बन्धन नभई महिला पुरुषबीचको सहकार्य, माया–प्रेम, सहअस्तित्व हुनुपर्नेछ। विवाह पञ्चमीलाई मनाउँदै गर्दा यस्ता पक्षहरूबारे पनि सोच्ने कि ?

प्रकाशित: ४ पुस २०७७ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App