१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

बिर्सने बानी

संस्मरण

गुप्तबहादुर श्रेष्ठ 

 

एउटा कुराले मनमा खलबली मच्चायो ।

२०७२ बैशाख १२ को भैंचालो अगाडि र पछाडिको मेरो विचार ठ्याक्कै १८० डिग्रिको फरक पर्न गएको छ । बैशाख १२ अगाडि मैले मेरो आफ्नै भूल्ने बानीलाई नराम्रो सोचेको थिएँ । चाँडै बुढेसकालले छोयो भन्ने मनमनै सोँची राख्दथेँ । भैंचालोको धङधङीले मलाई त कायल बनाएको छ । बिर्सन खोजेर मात्र हुंदो रहेनछ । बिर्सन पनि समय लाग्दो रहेछ । फरक वातावरण चाहिंदो रहेछ । यो भैंचालो त सुनामीजस्तो एकैछिन हरर्र आयो सबेको मनमस्तिष्कलाई जरैसंग हल्लाइदियो अनि गयो । कमजोर घर ढले, कोही ढल्न मात्र बाँकी छन् तर ढलेसरह काम नलाग्ने अवस्थामा छन् । कतिपय कमजोर मुटु भएका मान्छे बेहोस भएपछि अस्पताल दौडाए तर काम लागेन हर्टएटेक भएर मरे । कोही डरले पक्षाघातको कारण आजीवन रोगी बने । अब अहिले त त्यो भैंचालो भन्ने जन्तुलाई जति छिटो भुल्न सकियो उति राम्रो हुने थियो । भैंचालोको धङधङीलाई बिर्सिन सकें भने म धन्य हुन्थें  तर, भुल्न सके पो ?  अहिले पनि बेलाबेलामा हल्लाइरहेकै छ । बिर्सन दिए पो  अनि कसरी बिर्सने बानी नराम्रो भन्नु ।  

अफिसमा होस् वा घरमा बसर्सने कुराले मैले धेरै दुख पाएको छु । एक मिनेट अगाडि कुनै सामान कतै राख्यो एक मिनेट पछाडि नै नसम्झेर हैरान भइहाल्छु । कुनै कपडाहरू, निजी प्रयोगका सामानहरू, स्कुल, कलेजका बिलभरपाई, विजुली, पानी, फोहोर उठाउने आदिका विलहरू कहाँ पुग्छन् थाहै हुँदैन । भन्या बेला पाइए पो । विरामी परियो डाक्टरको क्लिनिक धायो हुंदो – नहुंदो सबै जांच गरायो पैसा स्वाहा, अनि औषधि लिएर घर आयो र एकदुई दिन त खायो, अलि सञ्चोजस्तो लाग्यो कि औषधि खानै बिर्सने   । आफूले होस् कि परिवारका अरू सदस्यले सबैको उही रोग । अफिसमा त्यही हालत छ । मैले आफूले कसलाई के काम लगाएँ कुन फाइल कसलाई दिएँ थाहै हुँदैन । जसलाई दिएँ जस्तो लाग्छ उसले हैन भनिदिन्छ । भएर पनि हैन भनिदिन्छ किनभने ऊ पनि मजस्तै बिर्सने बानीको रोगी पर्दो रहेछ । कसैलाई कुनै जरुरी कामले फोन गर्नुपर्ने हुन्छ । एकछिनमा फोन गर्छु भन्यो भुतुक्कै बिर्सिन्छ । कहिलेकाहीं त वित्यासै पर्छ । कति धेरैपटक भेट भएका स्टाफहरूको नाम भुलेर बोलाउनै अप्ठेरो । नाम याद भए पो  ए फलाना भाइ, बहिनी वा दाजु भन्नुहुन्थ्यो  नि, बिर्सेपछि महाभारत । नामले बोलाउंदा मान्छे खुसी हुन्छ । त्यतिकै त ऐ भाइबहिनी वा दाजुदिदी मात्र भन्दा सके उसले नबुझ्ला वा बुझेर पनि अलमलमा पर्ला र नबोल्ला । बोलाउनै परेपछि संकोच मानीमानी सोध्यो एकछिनपछि फेरि भुलिसकिन्छ, हैरान भइन्छ । फेरि सोध्ने कसरी । 

बिर्सन   कुरा बडो विचित्रको छ । तपाई पनि कतै धेरै बिर्सने   समस्याबाट पीडित हुनुहुन्छ कि ?  अलिअलि त पक्कै विर्सिनु भएकै छ । विर्सने बानीको हद सीमा हुन सक्दैन । कसैमा धेरै हुन्छ कसैमा थोरै तर सवैमा हुन्छ नै । गन्दै गइयो भने त दिनमै कति धेरै कामहरू विर्सिन जान्छ । बजारमा सामान किन्न गयो सामान किनेर पैसा बुझाउन विर्सिन्छ, कहिले किनेको सामान लिएर हिंड्न विर्सिन्छ । कहिलेकाहीं खाना खान,दिसापिसाव गर्न त विर्सिन्छ । गजबको कुरा त डाक्टरले विरामीको अप्रेशन गर्दा कैची, रगत पुछ्ने कपडाजस्ता सामानहरु मोबाइल फोन पनि निकाल्न विर्सेको र विरामीले दुखेको गुनासो गरेपछि फेरि अप्रेशन गरेर निकालेको भन्ने सुन्न पाइन्छ । कहिलेकाहीं मोबाइल कहां राखें भनेर खोज्दै हिंड्यो भरे त्यहि मोबाइलमा पो कुरा गरी राख्या हुंदो रहेछ । सुद्धि पनि कस्तो, आफैलाई हांसो उठेर आउने । त्यसैले आजकल रिमाइन्ड, एलार्म आदिको सुविधा उपयोग गर्ने गर्छन् । जुन अति जरुरी हुन्छ त्यस्तो कुराले समस्या नपारोस् भनेर नोट गर्ने –एलार्म लगाउने वा आफू नजिकको कसैलाई सम्झाउन लगाउने पनि गर्ने गरिन्छ । हाकीमले मलाई कुनै काम दिन्छन्, फाइल दिन्छन्, त्यो फाइल बेलामा फेला नपरेर कत्रो सास्ती । काम भइरहेको हुन्छ फाइलल पाइँदैन । कहिले बिर्सेर काम नै नभएको हुन्छ र समय घर्केर काम विग्रिसकेको हुन्छ । कहिले भने काम सकेर लगेर हाकीमलाई बुझाइसकेको हुन्छ हाकीम आफैले फाइल कताकता घुसार्छन् अनि बिर्सेर हकार्छन् । भरे फाइल त हाकिम आफैसंग हुन्छ । यसरी बिर्सन  रोग तलदेखि माथि सबैलाई हुने समस्या रहेछ भन्ने बुझिन्छ ।  

तर बैशाख १२ ले मेरो सोंचाइलाई उल्टयाइदियो । १२ गतेकोे महाप्रलय, महाकालको दिन त कति हो कति धक्का । त्यही वीचमा त्यस्ता कति भैंचालो दोहोरिए र भोलिपल्टै १३ गते फेरि उस्तै । त्यसपछि अलिअलि धक्का सहँदै गर्दा १७ दिनसम्म त अलिकति सास पलाको थियो । २९ गतेसम्म आइपुग्दा मैले बिर्सन खोज्दै थिएं र आफ्नो पहिलेको जस्तो कामकाज, व्यापार र व्यवसायमा फर्किने योजना गर्दै थिएँ । भैंचालोसंग डराएर घर वा डेरा छोडेर उपत्यका बाहिर गएकाहरू पनि फर्केर काठमाडौ आएका थिए वा आउने योजनामा थिए । स्कूल – क्याम्पसहरू खुल्ने तयारीमा थिए ।  तिनलाई पनि २९ गतेको अर्को त्यस्तै शक्तिशाली भैंचालोले फेरि पुरानै १२ गतेको अवस्थामा ल्याइदियो । बिर्सन   खोजेर पनि  बिर्सन मैले पनि सकिन अरूले पनि सकेनन् पक्कै पनि । बैशाख १२,१३ र २९ गतेको ३ दिनका ठूला कम्पनहरूमा म घरको र कार्यालयको तेस्रो तल्लामै परे । त्यतिवेलाको अनुभव भन्ने हो भने कहालीलाग्दो भयो । घरमा बसेर पनि रुखको हाँगामा बसेर पिङ खेलेको जस्तो भयो । पिङ त आफूले मच्चाइन्छ र आनन्द आउंदो रहेछ । भैंचालोले त सबै हल्लाउंदो रहेछ । कहां पिङ खेले जस्तो हुनु र ।  लौ आजै रहेछ क्यारे अन्तिम दिन भन्ने भयो । कसैले रामराम, कसैले साइराम, कसैले नारायणनारायण, कसैले अल्लाह– अकबर अनि कसैले ईशामसिहको नाम जप्न थाले ।  सबैले आआफ्ना भगवानलाई गुहार्न थाले । कम्पन र पराकम्पन पछिका समयमा झनै सास्ती भयो । उठ्दा, बस्दा, हिंड्दा, सुत्दा जतिखेर पनि भूकम्प नै गएजस्तो लाग्ने । रिँगटा लाइराख्ने, झसङ्ग – झसङ्ग भैरहने, खाना खान पनि मन नलाग्ने भयो । कतिपय मानिस त यसैको त्रासले मनोरोगी भए । भैंचालो आउनुअघि त आयो भन्दा पुलिस आयो कि , चोर –डांका आयो वा को आयो के आयो भन्ने हुन्थ्यो । भैंचालोपछि त रातमा पनि दिनमा पनि आयो भनेपछि भैंचालो नै आयो भन्ने हुने र मान्छेजति आयोआयो भन्दै सडकमा र घरबाहिर थुप्रिने । घरमा सुत्न नसकेर एक महिना त घरबाहिर चउरमा कोही पालमा सुते कोही खुला आकाशमुनि यसै सुतियो । त्यसपछि बिस्तारै घरको बरण्डामा अनि भुइँतल्लाको कोठामा हुंदै त्यसपछि बल्ल माथिल्लो तलाको बरण्डामा सुतेर पछि बल्ल कोठामा सुत्न थालियो ।  दिसा बस्दा होस् वा नुहाउन पस्दा बाथरुम र टोइलेटको ढोकाको चुकुल नै नलगाईकन गीत गाएर बस्नुपर्ने अवस्था आयो । यसो संझिंदाखेरि त घरतिर पहिलेपहिले टोइलेट नबनाईकन खुला चउरतिर वा जंगलतिर दिसा बस्न जान्थे । चलन त त्यही पो ठीक रहेछ जस्तो पो लाग्न थाल्यो । 

कमसेकम टोइलेट भित्र मर्नु वा थुनिन त पर्दैन । कतिपय टोइलेट गाको बेला परेछन् । मान्छे आफु जिउंदै छ तर साथमा फोन छैन । रुने कराउने चिच्याउने गरेर सुन्नेवाला कोहि छैन । साथमा फोन हुनेले हारगुहार मागेर ज्यान बचाए पनि । भैंचालोका कारण ९००० जतिले ज्यान गुमाए, कति बेपत्ता भएका छन् फेला परेका छैनन् । नपरे पनि काजक्रिया गरिसके कतिका । ३०,००० जति ( सरकारको अभिलेख अनुसार) घाईते भए, कोहि सामान्य भए, कोही साह्रै अशक्त । कसैका परिवार नै सबै मरे कसैका कोहि बांचे कोही मरे । जो मरे तिनको परिवारले जे पिडा व्यहोर्नु पर्यो । त्यो के सम्झन लायक छ त ? केहि धरहरा चढेका रहेछन् तिनिहरु मध्ये केहि धरहरा भांचिएर, भुर्इंमा बजारिएर पनि बाँच्न सफल भए तिनलाई त्यो क्षण संझना गर्ने मन होला त रु जसले घरमा वा बाटोमा पुरिएर ५।७ दिन पछि उद्धार पाए र जिवन पाए तिनलाई त्यो क्षण सधैभरि संझने मन होला त ? जसको घर पनि पुरै खण्डहर बन्यो र घर परिवार गुमाए तिनले के सम्झने मन गर्लान् त ? त्यसैले यस्ता घटनाहरु सम्झेर हैन विर्सेर जिवन विताउन मद्दत गर्ने पहिलो उपाय भनेको त्यो कहाली लाग्दो अवस्थालाई विर्सनु नै हो । 

यस अर्थमा सम्झने शक्ति भने जस्तै विर्सने पनि शक्ति नै हो रहेछ र यहाँनिर त्यस्तो धेरै शक्ति आवश्यक छ । विर्सन नसक्दा त जिवन धेरै कष्टपूर्ण बन्दछ,पागल बन्दछ । कलिला बाल बालिका विद्याार्थीहरु सबैलाई मनोपरामर्शको ठूलो खाँचो छ । मेरो एकजना स्टाफको छोरा ४,५ बर्षको छ रे भूकम्प पछि टोइलेट बस्न एक्लै जानै मान्दैन रे त्यसैले यस्तो गहिरो मानसिक प्रभाव कसरी हटाउन सकिन्छ ? यो त एउटा घटनाको उदाहरण मात्र हो यस्ता प्रकृतिका धेरै भन्दा धेरै घटनाहरु हाम्रा घरपरिवारमा छन् । भूकम्प के हो यस्तो अवस्थामा के गर्नु पर्दछ, हामीले कसरी जोगीन सक्छांै भन्ने लगायत मनोपरामर्श धेरै जरुरी छ जति यस सम्बन्धमा ध्यान दिनुपर्ने हो त्यति मात्रामा हुन सकेको छैन । भूकम्पका कारण परेको मानसिक दवावलाई मेटाउन केहि मात्रामा भएपनि समाजका क्लबहरु,संगितकार,गायककारहरु तथा चलचित्रकर्मीहरु र प्रहरी समेतले राष्ट्रव्यापी सांगितिक अभियान नै चलाए । यसैले सम्झने मात्र हैन विर्सने बानी पनि त्यतिकै महत्वपूर्ण हुँदो रहेछ । सानासाना नानीहरुले कुनै कुरा पाउन वा केहि कुरा गर्न कति जिद्दी गर्ने गर्छन् । तिनलाइ एकछिन अन्य कुनै सन्दर्भ विशेषमा लगेर भुलाइदिए पछि पहिलेको कुरा विर्सिन्छन् र बल्ल मुक्ति पाइन्छ । हैन भने त यदि तिनले नविर्सने हो भने के हाल बनाउंछन् अनुमान गर्न सकिन्छ ?      

यदि हामीले देखे भोगेको सुनेको बुझेको कुरा विर्सिदैन थियो भने के कति सबै घटनाका कुराहरु हाम्रा दिमागमा अटाउन सक्ने थियो होला त ?  मानौं हाम्रा दिमागमा १ सेकेण्डमा १ घटना हुन्छन् भने १ घण्टा भित्रै ३६ सय घटना हुन्छन् । यदि त्यस्ता घटना सबै स्मरण हुन्थे भने १ दिनमै कति पुग्ने र हाम्रो सामान्यतया ७५।८० वर्षको उमेरसम्म कति अरवबपुग्थे होलान् ?   जहाज उडाउने र पानीमा गुडाउने पाइलटले एअरपोर्ट र ह्यांगर नै बिर्सेर जहाजै अन्तै पुरयाउँथे होला । पूर्व राजाले राजाको पद नै खुस्किंदाको  पीडा बिर्सेर बस्न नसक्ने हो भने कसरी बांच्ने त ।

सामान्यतया कुरा भुल्ने मान्छेलाई भुलक्कड भनिन्छ र कुरा नभुल्नेलाई बुद्धिमान वा स्मरणशक्ति राम्रो भएको मान्छे भनिन्छ । तर कुनै वस्तु, विषय वा कुृरा भुलक्कडले मात्रै हैन बुद्धिमानले पनि भुल्छन् । यत्ति हो भुलक्कडले धेरै भुल्ने भएकाले उसलाई भुलक्कड भनिएको होला । नाम जे भनिए पनि सुखी सन्तोषी त भुल्ने मान्छे भुलक्कड नै हुन्छ होला । त्यसैले अहिले मलाई यो भुकम्पको बेलाको सबै घटना – परिघटनाहरू पूरै बिर्सिन पाए हुने भन्ने जस्तो लाग्छ । बिर्सन सकिएन भने त सधैंभरि यो मुटुमा मनमस्तिष्कमा खिल बनेर बसिरहने भयो र  बेला मौकामा घोचिरहने भयो । यस अर्थमा भुल्ने बानी कति राम्रो आहा हिजोका ती पीडाहरू कहाँ कता पुग्थे नयाँ कुराहरुले जीवनलाई सुखमयी बनाउन मद्दत गर्ने थियो ।

बिर्सनु नै राम्रो भनुँ भने सबै कुरा विर्सियौ भने पनि अनर्थ नै हुन जान्छ । आफूलाई जन्म दिने बाबुआमा बिर्सने   आफ्ना परिवार, नाता कुटुम्वका मानिस बिर्सने, आफ्नो घरै बिर्सने भयो भने त फेरि मानसिक रोगी हुने भइयो । कतिपय आफन्तहरूले फलानाले त चिन्नै छाड्यो नचिनेको जस्तो पो गर्छ भन्छन् । बोलाऊँ नाम बिर्सियो के भनेर बोलाउनु, नबोलाऊँ भने ठूलो भयो हामीलाई त वास्तै गर्दैन भन्ने आरोप खेप्नुपर्ने । बिर्सनु राम्रो भन्नुको अर्थ त यो पनि हैन । आफ्ना परिवारजन र अरू  इष्टमित्रले ल ।गाएको वा गरेको गुन विर्सिए त फेरी कृतघ्न ठहरीन्छ । कृतघ्न हुनु पनि राम्रो हैन । नभए त कसले कसलाई गुन लगाउला र !  

मान्छेले हाँसेपछि हाँसेको हाँस्यै गर्ने वा रोएपछि रोएको रोयै गर्ने भए त संसार कसरी चल्थ्यो र  ! त्यसैले कहिले दुख, कहिले सुख, कहिले हाँसो, कहिले रुवाई हुनलाई पनि त विर्सने बानीको काम आई लाग्छ । दुख विर्सेर सुखतर्फ लाग्ने पनि त महान गुण हो । सामथ्र्य हो । शक्ति हो  ।  

घरमा म मात्र हैन घर परिवारका अन्य सदस्यलाई पनि त्यो समस्या भएको पाउँछु । घरमा कोही कसैको विवाह, व्रतवन्ध पूजा आजाको निम्तो कार्ड आयो एकातिर राखीदिन्छन् भन्दै भन्दैनन् । पछि बल्ल ऐ हे ! विर्सेछु भन्छन् । भान्छामा खाना पकाउने आमा, श्रीमति, दिदि, बहिनि वा काम गर्ने सहयोगी को त्यही ताल छ । कहिले तरकारीमा नुन नै नहाल्ने, दालमा दुईपटक तिनपटक नुन हालेर खानै नहुने बनाउने । विर्सेर त्यस्तो भएको रे ! दुधमा पानी हाल्यो भनेको दाल मिसाईदिने  दुध, तरकारी वा भात चुल्होमा बसालेर अरु घरधन्दामा लाग्ने उता चुल्होमा बसालेको खाने कुरा स्वाहा ! डढेर गन्ध आए पछि बल्ल थाहा हुन्छ ।

घर बाहिर हिंड्दा छाता, मोवाईल, पर्स, रुमाल, झोला विर्सने भनेको त सामान्य भयो । कहिलेकांही बाहिर कतै गएर घर फर्किदा घर नै विर्सेर परै पुगी सकेको हुन्छ । यस्ता घटनाहरु तपाईहरुका पनि होलान् तपाईले भन्ने ठाउँ नपाएर नभनेको हुन सक्छ वा भने देखि अरुले खिसिटिउरी गर्लान् भन्ने पनि तपाँईका मनमा होला ।

कुनै कुनै कुरा जानीजानीकन बिर्सेको बहाना गर्ने कारणले पनि हो कि अरू बिर्सनै नहुने कुरा पनि बिर्सिन जाने । जस्तै –  तपाईले कसैबाट रिन लिनुभएको छ, तिर्ने अवस्था छैन वा मन छैन भने उल्टै कहिले दिनुभयो र भन्दिए पुग्यो । प्रमाण भए त देखाउलान् तर उसलाई तनाव त भयो कि  अथवा दिइसकेको हो तपाईले बिर्सिनु भएछ भन्दिए पनि भयो । तपाईलाई कुनै ठाउँबाट निम्तो आएको छ । त्यहाँ जान मन छैन भने पनि ए हे  भुतुक्कै बिर्सिएछ भनिदिए भैहाल्यो । यसरी बिर्सने बानीको फाइदा उठाउने अवस्था पनि यदाकदा आउने गर्दछ । त्यस्तै कसैले आफैले ढांट्न, छल्न नसक्ने तर मनमनै अर्कोले बिर्सिदिए हुन्थ्यो भन्ने पनि सोंच्ने गर्दछन् । किनभने जो जसलाई रिन तिर्नु छ वा कसैसंग कहीं कतै जानु छ वा त्यस्तै आफ्नो इच्छा  विपरीतको काम गर्नु छ भने सोझै नकार्न पनि गाह्रो हुने सकार्न पनि मन छैन । त्यस्तो अवस्थामा उसैले बिर्सिदिए त धेरै राम्रो । आफू चोखो हुन पाइने । यस्ता धेरै प्रकारले बिर्सने बानीको बारेमा संझना हुने गर्दछ । अति धेरै नै बिर्सने बानी भयो भने त त्यसलाई अल्जाइमर रोग पनि भन्ने गर्दछन् ।

कुनैकुनै बेला भने नराम्रोसंग मन नै भरङ्ग पार्छ । बिर्सन नसकेर आँखा कहिल्यै ओभाउँदैनन् । साउने झरी जस्तो एकोहोरो बगिरहन्छ । भक्कानो छुट्छ । घटनाक्रमहरू कस्ता हुन्छन् त्यसको अनुमान गर्न पनि गाह्रो । छोराछोरीको मृत्यु बाबुआमाले सहनुको पीडा के कहनु योग्य हुन्छ र । यौवनावस्थामै श्रीमानको मृत्यु भएर जीवनभरि विधवा बस्ने महिलाको जिन्दगीको दुख के बताइसक्नु हुन्छ । स्वास्नी मरे पछि प्रायः धेरै लोग्ने मान्छेले अर्की स्वास्नी ल्याउँछन् ।  जति नै बिर्सने कोसिस गरे पनि कहीं न कहीं झल्को आइहाल्छ । मन भरिन्छ, कुंडिन्छ आँखाका डिलहरू भरिइहाल्छन्, छचल्किन्छन् र पोखिन जान्छ । आफ्नो सुन्दर जवानीमा कसैको गिद्धे आँखा परेर बलात्कृत हुनु परेको अवस्थामा जिन्दगीभरि नै कहाँ बिर्सिन सक्ने हुन्छ र । जसलाई आफ्नो सम्झेर ठूलो विश्वास र भरोसा गरेको हुन्छ उसैबाट बेइमानी भएर प्रताडित हुनु परेको कुरा कहाँ बिर्सिन्न सकिन्छ र ।  आफन्तभित्रै कसैकसैले चलाएको करौटीले काटेको मन, फाटेको मन कहिले टालिन्छ र ।  आफूले जन्माएहुर्काएको छोराछोरीले बेवास्ता गरेर सडकछाप बनाएको, घरबाट निकालेको, खान नदिएको, बचन लगाएको कुराले मन कहिले संग्लो हुन्छ र । कसरी विर्सनु ।  बिर्सन खोजेर पनि बिर्सनै नसकिने ।  

यस्तै छ कुनै विर्सन खोज्दा पनि विर्सन नसकिने, कुनै संझिन खोजेर पनि संझन नसकिने । दुवै कुराले घोच्ने, पोल्ने पिरोल्ने गर्दा रहेछन् । यसैले होला मानिस आफूलाई सन्तोष र सन्तुष्टि दिने कुरा संझिराख्न खोज्छन् । दुख, पिडा दिने कुरा विर्सिन खोज्छन् । त्यसैले १९९० सालका भूकम्पका कुरा बाजेबज्यैलाई सोध्दा संझना छैन भनेर भन्ने गर्थे । त्यो पनि विर्सन खोजेकै जस्तो लाग्यो । जस्तो अहिलेका भूकम्पका कुरा हाम्रा नाति, पनातीलाई सुनाइरहन नपरोस् र अहिलेको कहालीलाग्दो दारुण घटनालाई पुनरावृत्ति गरिरहन नपरोस् भन्ने भइसक्यो हामीलाई नै । 

तर यसो भन्दैमा सरकारका मन्त्रीले  पनि बहाल छंदै भूकम्पका सबै कुरा बिर्सिदिए भने त झन् ठूलो मानसिक पीडा हुने भो   र भौतिक क्षति त कहिले पूरा हुन्छ र ।  त्यसैले सरकारले बिर्सनु भएन । धरहरा, वसन्तपुर लगायतका सम्पदाहरू मठमन्दिरहरूको पुननिर्माण गर्नु छ । धेरै नयाँ वस्तीहरू बनाउनु छ । ९० सालपछि नयाँ सडक बने जस्तो । काठमाडौ, भक्तपुर, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा, सिन्धुली, धादिङ, मकवानपुर जस्ता धेरै जिल्ला छन् जहाँ हजारौं हजार मरे, घाइते भए, मान्छे नै नमरे पनि घरगोठ भत्कियो । बेघरबार भए । तिनको घाउमा मलहमपट्टी लगाउनै छ । टिनको छाना छाउन पन्ध्र हजार दिने भनेको कतिले पाए कतिले पाएनन् । एउटा वर्षाले चुट्यो र फेरि अर्को वर्षा आइसक्यो । अर्को एउटा जाडोले सेकिसक्यो, अर्कोले दैलो टेक्ने बेला भइसक्यो कहिले पाउने हो र। जाबो एउटा पाल त आकाशको फल भयो । तर, दुखले सधैं दुखकै बाटो हेरयो  भने सुख, शान्ति र अनुहारमा हाँसो कहिले आउने ।  त्यसैले जसले जे दुख बेहोरे । अबका दिनमा व्यहोर्नु नपरोस् । बिर्सने बानी नराम्रो भन्ने हिजोका मेरा सोंचविचार पूर्ण रूपमा आलाकांचा रहेकोमा आत्मालोचना गर्दै बिर्सने बानी पनि नराम्रो हैन रहेछ भन्दै दुख, पीडा र नराम्रा कुराहरू जे जताबाट आइलागेको भए पनि बिर्सनु नै राम्रो मान्ने निष्कर्षमा पुगें ।  

प्रकाशित: २ पुस २०७७ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App