जमुना पौड्याल
ठुलेको खमार धानका बिटाले खचाखच भरिएको थियो । सानेको भने यसपालि धानै फलेन । गैरी खेतमा बढी पानी भएर सबै पानीले खायो । दाजुको खमारको धान देख्दा सानेको मन कुटुकुटु खान्थ्यो ।
अंशबन्डा गर्दा ठुलेले भाइलाई रोजायो । सानेले सबै गैरी खेत रोज्यो ।
– गैरी खेतको धान हेरेर रोज्ने हैन भाइ । विचार पुर्याउनुपर्छ । सधैँ एकनासको समय हुँदैन ।
आधा गैरी खेत बाआमाको जिउनी राखेर अरू दुवैले बराबरी बाडौँ भनेर ठुलेले निकै सम्झायो तर साने मानेन । सानेको आँखामा गैरी खेतमा फलेका एक हातका धानका बाला सलबलाइरहे । उसले आफ्नो जिद्धी छोडेन ।
खमार उठ्ने अन्तिम दिन ठुलेको घरमा धानको ठूलो रास देखियो । बाटो हिड्ने सबैका आँखा धानको थुप्रोमा पर्थे । साने पनि बार्दलीमा बसेर दाजुको धानको थुप्रो र आफ्नो खाली खमार नियाल्दै थियो ।
– ए साने, दुईचारवटा ठूल्ठूला बोरा लिएर झट्ट आइज त । ठुलेले खमारबाटै सानेलाई बोलायो ।
– धेरै धान फलाएर फुर्ति लगाउँछ । मलाई देखाउन बोराको निहुँ गर्दोरहेछ । आफैँ खोज्नु नि त्यसको धान थन्काउने बोरा, मैले नै खोजिदिनुपर्ने । साने एक्लै बरबरायो । के सोच्यो कुन्नि दुईतिनवटा ससाना बोरा बोकेर बाटो लाग्यो ।
– किन त्यति साना बोरा ल्याएको ? त्यति सानो बोराको धानले कति नै पुग्छ र ! ठूला बोरा थिएनन् ! वर्ष दिनसम्म खानु परेन ।यसपटक तेरो खेतमा धान फलेन, के खान्छस् ! यसो दुईचार बोरा भए पनि लैजालास् भनेर हो भाइ ! मायालु स्वरमा ठुलेले भन्यो ।ठुलेका कुरा सुनेर साने अँध्यारो अनुहार लगायो । केही नबोली अंशबन्डामा गैरी खेत रोजेको घटना झलझली सम्झियो ।
प्रकाशित: २६ मंसिर २०७७ ०९:०२ शुक्रबार

