९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

परिणाम

लघुकथा

राजेन्द्र शर्मा  

 

उसले तीन दिनदेखि हातमा बोकेको फाइल आज छुट्ने आशामा कार्यालय धायो । फाइल च्यात्तिनै लागे पनि उसको आशाको डोरी भने बलियै थियो । सधैंझैं कार्यालय जाँदा बाटोमा पर्ने मन्दिरलाई ढोग्यो, भेटी चढायो अनि अघि बढ्यो । ऊ कार्यालय समयभन्दा अघि नै पुग्यो । कार्यालयका ताल्चा खुल्दै थिए । लाइनमा लाग्यो ।  केही समयपछि कर्मचारी आए । ऊ पनि भित्र प्रवेश गर्यो । 

– सर नमस्कार, लौ फाइल लिनोस् ।

– नमस्कार नमस्कार, ए तपाई आइपुग्नु भो !  फाइल त सबै ठिक छ नि हैन !

– अँ, सबै ठिक छ सर । बेठीकलाई पनि ठिक बनाएको छु ।

– हो त नि सबै हामी कर्मचारीले मात्रै कहाँ ठिक पार्न सक्छौं र तपाईहरूको पनि सहयोग चाहिन्छ नि ।

– मलाई सुरुको दिनमा केही थाहा नै थिएन नि त सर । धाउँदै गर्दा हेरेर, देखेर बल्ल थाहा पाए । तर नि सर एउटा कुरो छ ।

– के कुरो । कतै गडबड त छैन नि हँ ?

– नाइँनाइँ केही छैन, डराउनु पर्दैन । कुरो के भने नि, यहाँहरू सबैको टेबुलमा एउटाएउटा भगवानको मूर्तिसँगै एउटा दान पेटी राखें लिने र दिने दुवैलाई सजिलो हुन्थ्यो । कि कसो , म पनि सुरुकै दिनमा टक्र्याउँथे त । यत्रो धाउनै नपर्ने । 

सेवाग्राहीको कुरो सुनेर कर्मचारी हाँस्दै गोजीमा हात घुसार्दै थिए । परबाट भने सेतो कालो पहिरनका अधिकारीहरू, सुरक्षाकर्मी र पत्रकारका साथमा उनीहरू भएतिरै लम्किदैं थिए । 

प्रकाशित: २६ मंसिर २०७७ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App