राजेन्द्र शर्मा
उसले तीन दिनदेखि हातमा बोकेको फाइल आज छुट्ने आशामा कार्यालय धायो । फाइल च्यात्तिनै लागे पनि उसको आशाको डोरी भने बलियै थियो । सधैंझैं कार्यालय जाँदा बाटोमा पर्ने मन्दिरलाई ढोग्यो, भेटी चढायो अनि अघि बढ्यो । ऊ कार्यालय समयभन्दा अघि नै पुग्यो । कार्यालयका ताल्चा खुल्दै थिए । लाइनमा लाग्यो । केही समयपछि कर्मचारी आए । ऊ पनि भित्र प्रवेश गर्यो ।
– सर नमस्कार, लौ फाइल लिनोस् ।
– नमस्कार नमस्कार, ए तपाई आइपुग्नु भो ! फाइल त सबै ठिक छ नि हैन !
– अँ, सबै ठिक छ सर । बेठीकलाई पनि ठिक बनाएको छु ।
– हो त नि सबै हामी कर्मचारीले मात्रै कहाँ ठिक पार्न सक्छौं र तपाईहरूको पनि सहयोग चाहिन्छ नि ।
– मलाई सुरुको दिनमा केही थाहा नै थिएन नि त सर । धाउँदै गर्दा हेरेर, देखेर बल्ल थाहा पाए । तर नि सर एउटा कुरो छ ।
– के कुरो । कतै गडबड त छैन नि हँ ?
– नाइँनाइँ केही छैन, डराउनु पर्दैन । कुरो के भने नि, यहाँहरू सबैको टेबुलमा एउटाएउटा भगवानको मूर्तिसँगै एउटा दान पेटी राखें लिने र दिने दुवैलाई सजिलो हुन्थ्यो । कि कसो , म पनि सुरुकै दिनमा टक्र्याउँथे त । यत्रो धाउनै नपर्ने ।
सेवाग्राहीको कुरो सुनेर कर्मचारी हाँस्दै गोजीमा हात घुसार्दै थिए । परबाट भने सेतो कालो पहिरनका अधिकारीहरू, सुरक्षाकर्मी र पत्रकारका साथमा उनीहरू भएतिरै लम्किदैं थिए ।
प्रकाशित: २६ मंसिर २०७७ ०७:५५ शुक्रबार

