रामबाबु दाहाल
नवोदित कवि लक्ष्मी रायमाझीको प्रथम कृति‘ ‘अक्षरको ज्यावल बोकेर’ मेरो हातमा छ । यसलाई ओल्टाईपल्टाई गरेर गुण –दोषको तौल गर्नुछ । प्रथमतः यसको परिचय पस्कनुपर्छ । यो कविता संग्रह हो । छपन्न ओटा कविताका बिटोे हो, ‘अक्षरको ज्यावल बोकेर’ । जसमध्ये एउटा कविता स्वयं आफै अक्षरको ज्यावल बोकेर शीर्षकको रहेछ । त्यही शीर्षकलाई सिरानी हालेर आवरण पृष्ठ प्रस्तुत भएको पाइन्छ । यसरी न्वारन गरिएको उक्त कवितामा मेरो पनि स्वाभाविक ध्यानाकृष्ट भएको छ । भएमध्येको गतिलो कविता श्रेणीमा पर्ने लक्ष्मीको यो कवितामा खोट लगाउने ठाउँ छैन तर शीर्षक नै भएन । अक्षरको ज्यावल मात्रै भइदिएको भए ‘बोकेर’ ज्ञातव्य क्रियापद लुप्त नै रहन दिंदाको काव्यात्मक सौन्दर्य विशिष्ट प्रकारको हुन्थ्यो भन्ने मेरो धारणा छ । यो मेरो निर्मम टिप्पणी हो । काव्य पंक्ति प्रबन्धात्मक हुनु हुँदैन । कति प्रतिकात्मक हुनुपर्छ । स्वतन्त्र र विहङ्गम हुनुपर्दछ । काव्य र प्रबन्धमा भेद त छ नि, त्यो खुट्याउँदा यही नै पहिलो गाँसमा नै दाँतमा ढुंगा लाग्छ ।
आहा कति राम्रो पंक्ति लेखेकी छन् –
अक्षरः
जो कहिले काँटी बनेर जोडछन् टुक्राहरूलाई
जो कहिले सियो बनेर टाल्छन् प्वालहरू
जो कहिले कोदालोे बनेर सम्याउँछन् आलीहरूलाई
जो कहिले बन्चरो बनेर चिर्छन् अप्ठयाराहरू ।
प्रतिबिम्बहरूको प्रयुक्त बाँकी शैली सबै विशिष्टकृत छन् र यही कविताको टुंग्याउनीमा पुग्दा सगर्व कविको उद्घोष गुन्जिन्छ ।
र
म आरोहण गरिरहेछु जीवनको शिखर ।
यही नै हो कविताको सामथ्र्य शक्ति‘जहाँ नपुगे रवि उहाँ पुगे कवि’आत्मपरक यो कविताले सम्पूर्ण रचनाकर्मी स्रष्टाहरूको सगौरव उपस्थितिलाई प्रतिनिधित्व गराउँदा सिर्जनामा सामुहिकता स्थापित गराउँछ । शब्दशिल्पीले अक्षरहरूको झुण्डलाई कलाको आकृतिमा उन्छन्, बुन्छन्, कँद्छन्, यही नै हो काव्यकृतिको सौन्दर्य । प्रशाधनमा बिम्बप्रतीक संक्षिप्ततामा विहङ्गमता उपयुक्त प्रकारले संयोजन गर्छन् ।
कविताका शीर्षकहरू विषय सूचीमा हेरेको छु । विभिन्न शीर्षक छन् । कवितादेखि पैसासम्ममा प्रेमप्रणय, प्रकृति सबै – सबै विषय समेटिएका छन् । स्वबोध अनुभूति आग्रह, जिजीविषा, आकांक्षा परिचय सम्बन्ध सबै प्रकार अन्तर्निहित विषयवस्तु भएका कविताहरू छन् । कविले कविता किन लेख्छन् ! कसैले मलाई सोध्यो भन्ने व्युत्पन्न मेरो प्रत्युत्तर हुने छ – “जब बग्रेल्ती भावनाहरू सल्बलाउँछन् । त्यसलाई निचोरेर कविले शब्दमा उत्तार्छन् !” भोगाइबाट भावना सल्बलाउँछ र त्यसलाई शब्दचित्रमा उत्तार्ने जमर्कोमा कविहरू लाग्छन् । भोगाइ वास्तविक र काल्पनिक दुवै हुनसक्छ । सोचाइमा मान्छे स्वतन्त्र छ । सुन्दर फूलको बागमा मान्छेले फूलको सौन्दर्य र महक मात्र देख्दैन सुंग्दैन, त्यसभित्रका श्रृङखला पत्रपत्रमा नियाल्छ । जीवन– जगतका सत्य कथ्य असत्य र अकथ्य दुवै पर्गेल्ने खूबी कवि ह्दयमा हुन्छ ।
आँसुका दहमा
मुस्कानको कमल फुलाउन
मन लाग्छ मलाई ।
हो लक्ष्मीका यीनै पंक्तिझैं यी सिर्जना उमार्ने क्षेत्र जहींकहीं छ । कवि प्रकृतिमा अभ्यस्त हुन्छ । जीवन–जगतका सूक्ष्मतर अवयवसँग साइनो सम्बन्ध हुन्छ । आँसुको दह आँखैमा हुन्छ । त्यो पोखिएर कतै जम्न सक्दैन दह, आहाल सागर बन्दैन तर कविले प्रतिकात्मक रूपमा बनाउँछन् । फूल,बाग, बगैंचा जे पनि बनाउँछन् । कमल पनि फुलाउन सक्छन् । सुरम्य ताल पनि बनाउन सक्छन् । खहरे बगेको उजाड बगर पनि भावनाको तरगंमा सुरुचिपूर्ण लय र भावको उत्पति गराएर प्रकृतिस्थ बिम्ब कोर्छन् र कविता ।
कविताको मानक संरचना यस्तै नै हुनुपर्छ भन्ने हुँदैन । कविताको विकास क्रममा धेरै नित–नवीनता प्रयोग हुँदै आएको छ । शास्त्रीय जडतामा नै जकडिएको भए गोपालप्रसाद रिमाल, देवकोटा, भूपि शेरचन, मोहन कोइराला, कृष्णभुषण बल पनि कवि बन्न सक्दैन थिए । माधव घिमिरेले जनबोलीको लयलार्ई छन्दमा भाका सिंगारेको नभए माधव घिमिरे हुने थिएनन् । जीवनका अनेक लय हुन्छन । भावनाका अनेक तालहरू हुन्छन् जीवनको प्रवाहमा गुन्जने सुसेली हुन्छन् । तिनैलाई भाकामा टिपेर शब्द संयोजन गर्दा गीत, कविता बन्दछ । लक्ष्मीको कवितामा जीवनको लय छ, ताल–सुर छ र स्वाद पनि ।
केही छोटा केही मध्यम खालका कविता लक्ष्मीको प्रस्तुत संग्रहमा छन् । अधिकतर रूपमा लक्ष्मीले मुक्तक सिर्जना गरेको पाइन्छ । सामाजिक संजालमा उनी प्रायः दिनहुँ आफ्नो सिर्जना पस्किरहेकी हुन्छिन् तर प्रथम कृतिको रूपमा उनका कविता संग्रह जन्मियो ।
यस संग्रहको आवरण हेर्दा ठिकै लागे पनि संग्रहको नामसँग मिल्दो प्रकारको पटक्कै होइन । भित्र पृष्ठहरूमा अनावश्यक बुट्टा हालेर भद्दा भएकोे छ । प्रकाशन प्रबन्धमा उपयुक्त प्रकारको सुझाव सके उनले पाइनन् । विराट साहित्य संगम उनको काव्य साधनकोे थलो हो । संगमबाट आयोजित हुने प्रत्येक कार्यक्रममा उनको उत्सापूर्ण उपस्थिति पाइन्छ । लामो समयसम्म चुलोचौकाको गृहस्थ आश्रम उनको प्रतिभालाई विराट साहित्य संगमले प्रस्फुटित तुल्याउन प्रेरित गरेको छ ।
लक्ष्मी रायमाझी नेपाली काव्य विधामा एउटा उदयीमान प्रतिभा हुन् । उनको प्रतिभाको प्रबल सम्भावना प्रस्तुत कृतिले झल्काएको पाइन्छ । उनी नथाकून्, नमातून्, निरन्तर साधना र परिष्करण भइरहनुपर्छ त्यसमा सचेत बनून् । साहित्यकारको दरज्यानी पाउन कृति प्रकाशन गरी हाल्ने हतारो धेरैको पाइन्छ र एउटादुइटा कृति र केही पुरस्कार पाउँदैमा मातिएर धुरी चढ्ने औकातका स्रष्टा पनि हुन्छन् तर मलाई विश्वास छ – लक्ष्मी ती निम्न कोटिमा पर्दिनन् ! लेख्दै जाऊ, सुनाउँदै जाऊ र परिष्करण गदै जाऊ । तिम्रो साहित्यिक यात्रामा अशेष शुभकामना छ !
प्रकाशित: २४ मंसिर २०७७ ०४:३२ बुधबार