४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

सेलाएको सयपत्री

लघुकथा

ममता मृदुल  

 

सेलाएको सयपत्री

 

यसपालि भाइटिकाको लागि जसरी भए पनि आउँछु भनेर दिपकले भनेपछि घरमा खुसीयाली छायो । 

ऑगनमा ढकमक्क फूलेको सयपत्री टिपेर माला गॉस्ने , घरऑगनको सरसफाइ र तिहारका लागि आवश्यक सरसामान किन्ने काम बडो उत्साहले भयो । 

आज दिपक आउने भएकाले चार बजे नै घरका परिवार सबै जना एयरपोर्ट  हिँडे । समयमै जहाज आयो । दिपक आएन । फोन गर्दा स्वीच अफ आइरहयो । कसैगरी दिपकको खबर थाहा भएन ।

सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो । दिपकको अनुहार नचिनिने थियो । उसले कमाएको पैसा सामान केही आएन । त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो ।

भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कासि घर आइपुग्यो । उसले आफनो सामान र पैसा चोरी भएको सुनायो ।

त्यसो भए हामीले कस्लाई सेलायौ, थाहा हुन सकेन । 

हामीले सेलाएको सयपत्री फूल कसको घरको थियो । हामीले थाहा नपाईकनै सेलाएछौ ।   

 

 

सजाय

 

रामप्रित ज्यामी काम गर्छ । उसले चार वटी छोरीको बिहेदान गरिसकेको छ । एक दिन श्रीमती पनि भगवानकी प्यारी भइन् । रामप्रित एक्लो भयो । दिनभरि काम गर्न जान्छ । साँझमा भट्टीमा दुई गिलास पिउँछ र घर आएर सुत्छ ।  

रामप्रित मध्यराति हल्ला सुनेर उठ्यो । आँगनमा प्रहरी आएका थिए । रामप्रितलाई हप्काउँदै गाडीमा राख्यो । उसले कारण सोध्यो तर कसैले उसको कुरा सुनेन । भोलिपल्ट प्रहरीले भाटा हान्दै सोधे – ‘तैंले चोरी गरेको हो कि होइन !’ 

थप कुटाइबाट बच्न उसले हो भनेर सहीछाप गरिदियो ।  

ऊ चोरी मुद्दामा छ महिना जेल गयो । छुटेर घर आयो र उभिएर चारैतिर हेरयो । मन भक्कानियो । बिस्तारै चोकको भट्टीमा गयो । भट्टी पसल्नीले रामप्रितलाई रक्सी दिन अस्वीकार गरी । तिमी पसलमा नआऊ भनी । उसलाई सबैले चोर भनेर दुत्कारे । पैसा तिरेर पनि खानेकुरा किन्न पाएन । त्यसपछि ऊ गाँउबाट हरायो ।

एक दिन अचानक पत्रिकामा खबर छापियो । जसको घरमा चोरी भएको भनेर रामप्रितले सजाय भोगेको थियो त्यहाँ चोरी गर्ने चोर अर्को थियो । छिमेकी सबैले पश्चाताप गरेर रामप्रितको खोजी गरे तर ऊ कतै भेटिएन ।

 

सेलाएको सयपत्री लघुकथासंग्रह 

 

परिणाम

 

सुमना, तिमीले मेरो प्रेम स्वीकार गरिनौ भने म लामो चिठ्ठी लेखेर आत्महत्या गरेर मरिदिन्छु ।  

यो सुनेर सुमना डराई ।  

तपाई यस्तो कुरा नगर्नुस् । श्रीमानले थाहा पायो भने मलेसियाबाट आएर मार्छ मलाई । म तपाईको माया बुझ्छु तर प्रेम गर्न सक्दिनँ । सुमनाले भनी तर उसले जति सम्झाए पनि ऊ मानेन । 

ऊ अर्थात् कान्छा ससुरा । उसले बारम्बार फकाइरहयो । कान्छा ससुरा परे पनि सुमनाको ऊसित मेलजोल थियो । त्यसैले प्रेम गरी । मर्नबाट बचाउने विचारले पनि हुन्छ भनी ।

दुई वर्षपछि सुमनाको महिनावारी रोकियो । उसले यो कुरा कान्छा ससुरालाई सुनाई ।  

बच्चा पेटमा छ भनेको सुनेपछि एक्कासि ऊ हरायो । सुमनाले पेटको बच्चा मार्न सकिन ।

गोठमा गएर आफैले सलको पासो लगाई ।

 

प्रभा  

 

डा सौरभ र प्रभाको पाँच महिना अगाडि गाउँमा आएको स्वास्थ्य शिविरमा पहिलो भेट भएको थियो । सुन्दर शिक्षित डाक्टरले दश कक्षा पढ्दै गरेकी प्रभासँग प्रेम प्रस्ताव राख्यो । प्रभाको भुइँमा खुट्टा थिएन् । प्रेम झ्याङ्गियो । प्रभाले सौरभलाई आफ्नो सर्वस्व सुम्पिन् । मायामा विश्वास थियो । प्रभाको पढाइमा असर परिरहेको थियो । प्रभा चङ्गासरि माथिमाथि उडिरहेकी थिइन् । 

प्रभाले सौरभलाई फोन गरिन् । फोन बन्द भएको सूचना आयो । उनीसँग सौरभको घरको ठेगाना थिएन । धेरै मेहनत गरेर सोधपुछ गरेपछि डिभी परेर अमेरिका गएको थाहा पाइन् । डिभी सौरभकी श्रीमतीलाई परेको समेत सुनिन् ।  

गर्भमा रहेको बच्चा चार महिना भएकाले फाल्न सकिनन् । प्रभाले गर्भको बच्चाले गर्दा गाउँ छाड्नु  परयो । मेरी प्यारी छोरी भनेर माया गर्ने आफ्नै बाउले कलंकिनी भनेर गाली गर्दा मुटुमा गाँठो परयो । घरबाट निस्कन लाग्दा आमाले सबैको आँखा छलेर पाँच हजार दिइन् । उनका आँखाको डिलबाट आँसुका ढिक्का झर्दै थियो । नजा भनेर बाआमा दाजु कसैले रोकेनन् । काठमाडौँ आएपछि एउटा आवासीय विद्यालयमा काम पाइन् । बिहानदेखि बेलुकासम्म काम गर्नु परे पनि बाँच्नलाई पुग्दो पैसा दिएका थिए ।  

प्रभाको छोरा जन्मियो । त्यो छोरा त्यही विद्यालयको परिसरमा बढ्यो । मेहनती प्रभाको छोराले दोस्रो हुन जानेन । सधैँ प्रथम भएर स्नातक पास गरयो । प्रभाले काम गर्ने विद्यालयको प्रधानाध्यापक अहिले उनकै छोरा भएको छ ।  

आजकल बाआमाको सेवा गर्दै प्रभाको दिन बित्छ ।

 

 

नातिनी

 

सात बजे मनोजको फोनमा घण्टी बज्यो । ‘बुवा खाना खानुभयो । नखाएको भए छिटो खानुहोस् औषधि खान ढिलो हुन्छ ।’ यो स्वर छोरीको थियो । तीन वटा छोरा जन्मेपछि जन्मेकी छोरी मायाको स्वर । मनोजको मुटुमा गाँठो परेर आयो । घरमा भएका कसैलाई उनको औषधिको याद थिएन । आजै अन्माएकी छोरीले सोध्दा मन सम्हाल्न मुस्किल परेको छ ।  

तैपनि बिस्तारै भने ‘खाना खाएँ छोरी दबाई खाएको छैन । अब खान्छु ।’

‘लु खाइहाल्नुहोस् त अनि मात्र म फोन राख्छु, नत्र बिर्सनुहुन्छ ।’  

मनोजले औषधि खाएपछि मात्र मायाले फोन राखिन् ।  

‘आज मायाको छोरा जन्मेको छ । सबै जना छोरा जन्मिएकोमा खुसी छन् तर मनोज नाति जन्मिएकोमा त्यति खुसी भएनन् । कताकता मुटु दुखेजस्तो लागिरह्यो । घरमा जति मान्छे भए पनि मायाले जति अरू कसैले आफ्नो ख्याल नराखेर पनि होला ।

मनोजले नातिलाई काखमा लिंदै भने –अब बहिनीलाई पनि बोलाउनु नत्र मेरी मायाको ख्याल कसले राख्छ । आजसम्म एक दिन पनि नबिराई मलाइ औषधि ख्वाउने मायाको ख्याल राख्ने मान्छे पनि त चाहियो नि ।’ 

ससुरा बुवाको कुरा सुनेर ज्वाइँ मुस्कुराए ।

   ( सेलाएको सयपत्री लघुकथा संग्रहबाट !)

प्रकाशित: १९ मंसिर २०७७ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App