५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

आफ्नो गाउँ आफैं बनाऊँ

बालकथा

 

विमला निरौला 

 

तराईको वस्तीपुर गाउँमा मुस्किलैले पचास घरधुरी थिए। राप्ती नदीको किनारामा रहेको वस्तीपुर रमणीय गाउँ भए पनि गाउँका वासिन्दाको भने एक आपसमा मेलमिलाप पटक्कै थिएन । सधै विभिन्न निहुँमा एकले अर्का छिमेकीसँग झगडा गरिरहेका हुन्थे। बाबुआमाको एक अर्कासँगको यस्तो मनमुटाव र जमिनमा, खेतीमा, पानीमा र अरु बिभिन्न कुरामा त्यति राम्रो नहुने झगडा मात्र गरिरहने हुनाले गाउँका जवानहरू पनि आफ्ना अभिभावकसंग दिक्क हुन्थे र अरू नै केही गर्न पाए हुन्थे भन्ने दाउ खोजिरहेका थिए।    

राप्तीपारि सालघारी जंगल थियो । जंगलमा विभिन्न जनावरहरू थिए तर ति जनावर अति नै मिलनसार एक अर्कालाई विश्वास गर्ने र सहयोगी थिए । असाध्यै मिलेर बसेका थिए । एकदिन एकजना दलालले वस्तीपुरका सबै जवानहरूलाइ विदेश लिएर गयो । वस्तीपुरमा बुढापाका, रोगी, महिला र बालबालिकाहरू मात्र बाँकी रहे । गाउँ नै शून्य भयो । खेतीपाती पनि झन् भन्दा झन् कम हुन थाल्यो । अभावै अभाव बढ्न गयो । भोक र रोगले गाउँ ग्रस्थ हुन थाल्यो । छिमेकी गाउँको त्यस्तो हालत देखेर जङ्गली जनावरहरूलाई चिन्ता पर्यो । के गर्ने र कसो गरेर सहयोग गर्ने भनेर उनीहरु छटपटाउन थाले । बेला बेलामा गाउँलेको सहयोगको लागि भनेर जंगलमा जनावरहरुको मिटिङ बस्न थाल्यो । छिमेकी गाउँको विजोग हेर्न र देख्न नसक्ने भए र जनावरहरु गएर सहयोग गर्ने निर्णयमा पुगे । दुई सहयोगी टोलीको निर्माण भयो ।  छ महिनासम्म एउटा टोली जाने र सहयोग गर्ने अनि अर्को छ महिना अर्को टोलीले सहयोग गर्ने निर्णय भयो । सोहीअनुसार कामहरुको पनि बाँडफाँट भयो। पहिले टोलीको टोली नेता खरायो खटियो ।  

टोलीको लर्कन जंगलबाट गाउँतिर लग्यो । सबैको कामको बाँडफाड अनुसार आफ़आफ्नो काम सुरु भयो । टोली नेता नै खरायो गाउँलेको उपचारका लागि निवेदन लिएर शहर जाने भयो । स्वास्थ्य मन्त्रालयमा निवेदन दिई  विरामी गाउँलेको उपचार लागि डाक्टर र ओखती ल्याउन खरायो कडा्रइका साथ खाटिरह्यो । मुसाले बारी खन्ने जिम्मा लियो । हलो, गोरु, हली सबैको काम मुसाबाट हुने भयो । आली खन्ने पानी लगाउने, सिँचाइ गर्ने काममा भ्यागुतोले गर्ने भयो ।  धान रोप्ने गोड्ने काट्ने कामको जिम्मा धान चरीले लिइन् ।धान झार्ने बताउने, सुकाउने, नाग्लोले निफन्ने कामको जिम्मा हात्ती दाइलाई गयो । घरको सरसफाई विरामीको रेखदेखको काममा जरायो खटियो । ढिकी, जाँतो र दाउरा घाँसको जिम्मा बाघले पायो । गोठ र गाईवस्तु बाख्राको रेखदेख भालुबाट भयो । भान्छामा पकाउने, खुवाउने काम बाँदरले गर्ने भयो । साना बालबालिकाको हेरचाह र पठनपाठन र संस्कृतिका लागि मयुरी लागिन् । गाउँको सुरक्षार्थ खटिएर पालेको काम गैडाको भागमा पर्यो । गाउँलेका झैझगडाहरुमा मिलापत्र गराएर माया प्रेम जगाउने काम डाँफे चरीले गर्यो । विदेश गएका छोराछोरीलाई खबर पुरयाइदिने र उताको खबर ल्याउने हुलाकीको काम  कागले गर्यो। चाडवाडमा नाच गान र संगीतको जिम्मा कोइली र मयुरीले मिलेर लिए । बाटोघाटो बनाउने र सवारी साधनको लागि घोडा खटियो।

गाउँमा बिस्तारै हरियाली छाउन थाल्यो । खुशी र उमंगको लहर पनि चल्न थाल्यो। एक आपसमा भातृत्व र स्नेहको अनुभूति बढेर आयो । बिस्तारै गाउँको रूपरेखा बदललिंदै गयो । गाउँ विकसित हुँदै गयो र नमुना गाउँमा परिणत भयो।अनि जिल्लाका गाविसहरूमध्ये उत्कृष्ट  ठहरियो र पुरस्कृत पनि भयो ।

उता विदेश गएका जवान भने विभिन्न दुःखहण्डर खाएर गाउँ नै फर्के । गाउँको यस्तो परिवर्तन देखेर दंग हुँदै “गरे आफ्नै गाउँमा सबै थोक पाइने रहेछ” भन्ने अनुभव गर्दै सम्पूर्ण जवान मिली गाउँमै राम्राराम्रा कार्य योजनाहरु ल्याउने, आफ्नै ठाउँका लागि धेरै काम गर्ने र आफ्नै माटोमा पसिना बगाउने प्रण गरे । अन्त्यमा सम्पूर्ण गाउँलेकै स्वभाव फेरियो , उनीहरु पशुपन्छी र जंगलका जनावरबाट धेरै कुरा सिके र गल्तिको महसुस पनि गरे । पाका गाउँलेले पनि एक  आपसमा मिलीजुली हाँसीखेली बस्न थाले । दुःखसुखमा साथ दिने वाचा गरे । मित्रताको फाइदा पनि बुझे । गाउँलेले आफ्नो गाउँ आफै बनाऊँ भन्ने नाराका साथ धेरैधेरै धन्यवाद दिएर सम्पूर्ण जनावरको टिमलाई सिन्दुरे जात्राका साथ जंगल फिर्ता पठाएर। अहिले बस्तीपुर रमणीय अनि पर्यटकीय क्षेत्र बनेको छ ।

प्रकाशित: १५ मंसिर २०७७ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App