१५ माघ २०७७ बिहीबार
कला

बानी

लघुकथा

जीवन दाहाल

 

मेरो अफिसको छेउमा एउटा चिया पसल छ । मैले समेत चिया खाने गरेको । अब तपाईं भन्नु होला चिया पनि खाइन्छ  भनेर । धन्दा नमान्नुस् हामी खाने जातका मान्छे हौ ।  त्यसैले हामी पानी पनि खान्छौं । त्यसैले त हाम्रो पानी बाँड्ने संस्थाको नाउँ खाने पानी संस्थान भएको छ । उदाहरणका लागि ।

उक्त पसलमा प्रायः  साहुनी बस्छिन् र उनको स्वभाव बडो अनौठो लाग्छ मलाई । ठ्याक्कै भन्नु पर्दा अहिलेका राजनीतिक पार्टी र उनीहरूका विवेक मालिकको पाउमा चढाएका हनुमान कार्यकर्ताहरूको जस्तै ।

उनको पहिलो प्रश्न – खाना खाईवरी आउनु भो हैन त दाइ !

– हो ।

– त्यसपछि,घर मैं कि बाहिरै !

– घरमै ।

बाहिर भन्यो भनें त उनका सत्र प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । किन भाउजू हुनुहुन्न ! पकाउनु हुन्न ! के भएर  छोराछोरीले पकाउँदैनन् ! ए घरभरि मान्छे भएर पनि आफैं पो आदि –आदि ।

अनि,

आज के तरकारी खानु भो त !

– इस्कूस ।

– छ्या स्कूस पो ! मलाई त फिटिक्कै मन पर्दैन भन्या ।

फेरि, 

– आज चैं के तरकारी खानु भो नि !

– आलुदम ।

– ह्या, आलु पो !

अनि क्रमशः आज भिण्डी, आज बन्दा, घिरौला भन्दाभन्दा म थकित भएँ तर उनी भइनन् र ह्या गर्न पनि छोडिनन् तब मैले जुक्ति लगाएँ थकित बनाउने । 

– के जुक्ति लगाएँ सुन्नुस् है त ।

– आज पोट्याटो चिल्ली ।

– ए ! 

– पम्किन ग्रेभी ।

– ए !

– मस्टार्ड साइलेज सुप ।

– यसपछि जतिपटक सोध्दा पनि यस्तै उत्तर दिन थालेपछि उनको केही लागेन छ अनि म अर्को पटक पुगेको बेलामा पसलबाट एउटा कपी निकालिन । जुन कपीमा मैले भनेका र उनले नबुझेका शब्द टिप्ने गरेकी रहिछन् र कपीमा लेखेको हेर्दै मलाई नै सुटुक्क सोधिन्– दाइ, यो पोट्याटो चिल्ली भनेको के हो !

 – आलु र भेडे खोर्सानी ।

 – पम्किन ग्रेभी !

फर्सीको लेदो ।

 – अनि दाइ, मस्टार्ड साइलेज सुप भनेको चैं नि !

 – गुन्द्रुकको झोल ।

गुन्द्रुकको झोलमा पुगेपछि भने उनको बोली बन्द भो ।अर्काका घरको अनावश्यक चासो लिने र छ्या गर्ने ।

 – तपाईंलाई पनि काम लाग्यो कि !

प्रकाशित: ११ मंसिर २०७७ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App