१५ माघ २०७७ बिहीबार
कला

पासपोर्टको रन्को र अमेरिकी भिसा

संस्मरण

खेमराज पोखरेल

 

आफ्नै वंशावली पढिरहँदा मेरा दिमागमा एउटा प्रश्न आइरहन्छ – मान्छे आफ्नो हुँदाखाँदाको थातथलो छोडेर किन अन्यत्र बसाइँ सर्छ होला !

यो प्रश्नको जवाफ समयले अनेकौँ मोडमा अनेकौँ अर्थमा दिएको छ । अनेकौँ वाद वा विश्वासमा दिएको छ । कारण र परिणाम खोलेको छ । त्यो सैद्धान्तिक बहसलाई यतिबेला थाति राखेर म किन अमेरिकातिर जान बाध्य भएँ भन्ने मेरो निजी कुरा यहाँ उल्लेख गर्न चाहेको हुँ । तपाईँ विश्वास गर्नुस्, मैले आफ्नो बल– बैँसका प्रारम्भिक अवस्थामा अमेरिका जाने बारेमा कुनै सोच बनाइनँ । कुनै यत्न गरिनँ । जान नै खोजिनँ । अमेरिकाका बारेमा थाहै नभएर होइन, साथीभाइले नभनेर पनि होइन, बरु थोरै खाने आफ्नै देशमा बस्ने सोचका कारणले त्यसो हुन गएको हो । यसलाई तपाईँ राष्ट्रवादी सोच भने पनि भन्नुस्, लुते सोच भने पनि भन्नुस्, म प्रत्युत्तर हाल्दिनँ । तर कालान्तरमा परिवेशले आखिर मलाई अमेरिका छिराइछाड्यो । मलाई पछारिछाड्यो । यसलाई तपाईँ परिवेशीय बाध्यता मान्नु हुन्छ भने पनि ठिक छ, पलायनवादी भन्नुहुन्छ भने पनि ठिक छ । किनकि दुवै अवस्थामा म मुख फर्काउँदिनँ  । केवल म किन अमेरिका पहिलोपल्ट छिरेँ भन्ने कुरा मात्र भन्छु । 

विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०५७ सालमा काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा स्वेच्छिक वा इच्छित सरुवा भएपछि जीवनमा झन् आर्थिक सङ्कट आयो । पैत्रिक÷अपैत्रिक सम्पत्तिमा उभिने नसिब नभएकाका लागि कलेजको एक नम्बर तलबले पुग्ने कुरा थिएन । जाहिर छ, कलेजमा पढाउने प्राध्यापकलाई दुई नम्बरको गुञ्जाइस छैन । अनि अर्कातर मेरो विषय हेल्मेटवाला थिएन । ट्युसनको रडाको थिएन । आफू प्राज्ञिक रूपले सरदर भएकाले आफ्नै विषयमा उपल्लो खाले याने कि साँच्चै नै विज्ञ खाले ज्ञान तथा चैतन्य पनि थिएन । त्यो कुरा म भन्न कुनै हिचकिचाहट राख्दिनँ । तर पनि आइपर्ने समग्र सामाजिक, शैक्षिक परिवेशीय खर्चका हिसाब भने समान थिए । यस क्रममा तीन जना छोरीहरूको बोर्डिङ पढाइ, महँगो घरभाडा, ढाड सेक्ने बजारभाउले मेरा हिम्मतमा घन ठोकिरहेकै थिए । मलाई जीर्ण बनाउँदै थिए । अर्कोतिर त्यसमाथि घरधनीहरूको किचकिच आदिले लखतरान परेको थिएँ म । यद्यपि जागिर नै नभएका मान्छेले पनि जीवनयापन गरेका छन् त भन्ने लालबुझक्कड कुरा आउन सक्छ । यो कुरालाई म त्यत्तिकै राखेर आफ्नो कुरा मात्र अघि बढाउँछु ।

विराटनगरमा छँदा आफ्नै घरमा बस्ने बानी पनि परेको थियो । काठमाडौँमा धेरै समय बत्तीसपुतलीको राधा शर्मा दिदीको घरमा बसियो तल्लो तलामा । उहाँ पनि कलेज नै पढाउने भएकाले सजिलो भएको थियो । हाम्रा बिच कुरा मिल्थे तर दिदी निकै कडा मानिनु हुन्थ्यो । त्यो मलाई एउटै पेसामा भएकाले थाहा थियो । हामीलाई नै छिमेकी ‘कसरी बस्न सकेको हौ त्यस्तो घरबेटीसँग ?’ भन्थे । तर पनि घर एकदम सुरक्षित थियो । कोठाहरू फराकिला थिए । घमाइला थिए । राधा दिदीसँग सम्बन्धमा हामी सतर्क त पक्का थियौँ, तर पनि हाम्रो दिदीभाइको सम्बन्ध एकदम सुमधुर भइ नै रह्यो । जीवनमा कैयौँ घरबेटी भोगियो । तीमध्ये ज्यादै थोरैसँग मात्र साइनो र हिमचिम परन्तुसम्म रहिरहेको छ । त्यसमध्ये एक राधा दिदी हो ।

कलेजमा त दिनको एक वा दुई घण्टीको मात्र काम थियो । बाँकी समय म फुक्का थिएँ । फुर्सदिलो थिएँ । प्रष्ट थियो, थप अर्थोपार्जन नगरे जीवनको त्यो माखेसाङ्लो चल्नेवाला थिएन । त्यसकारण मैले त्यो अवधिमा अतिरिक्त काम धेरै खोजेँ । प्राज्ञिक वा प्रशासनिक काम खोजेँ । कुनै बोर्डिङको प्रिन्सिपल वा भाइस प्रिन्सिपल वा कोओर्डिनेटर पनि खोजेँ । पत्रिकाको विज्ञापन हेरेर करीव ५० वटा जति बायोडाटा बनाएर निवेदन पोस्ट गरेँ । यतिबेलाको मेरो अवस्था सुरुका दिनमा बेरोजगार हुँदा दैनिक पत्रिकामा विज्ञापन खोजेर फर्म भरे सरह थियो । तिनताक इमेलको प्रचलन व्यापक थिएन । त्यसकारण हुलाकमा निवेदन हाल्नुको कुनै विकल्प थिएन । तर आफूलाई दुर्दिन लेखेको होला, एउटाले पनि बोलाएनन् । पछि काठमाडौँमा खाइखेली ख्याग भएका साथीहरूले पो भने – मान्छे ठिक्क पारेर विज्ञापन हुन्छ काठमाडौँमा । हुलाकमा निवेदन हालेर जागिर दिँदैन काठमाडौँले । सूत्र मिलाउनुपर्छ ।

इतिहास विषयले कुनै कलेजमा पार्ट टाइम जागिर पाउने सम्भावना थिएन । म निकै आत्तिएँ जीवनसँग । मसँग जोडिएर आएकी मेरी श्रीमती थिइन् । ती दिनमा श्रीमतीको हौसलाले तङ्ग्रिन भने निकै सहयोग भयो । मसँग न्यौछावर भएर आएकी उनको अगाडि मेरो पुरुषसत्ता निराश हुन्थ्यो । छोरीहरू कराईकराई होमवर्क घोक्थे, म बरण्डामा बसेर छोरीहरूको भविष्यसँग कल्पिन्थेँ । म यो कुरा मेरा अन्तरङ्ग साथी शशि उपाध्यायसँग गर्थेँ । उनीसँग मन खोतलखातल पारेर घर फर्कँदा शान्ति हुन्थ्यो । तर फेरि घर उही थियो, समस्या उही थियो । क्षणिक शान्तिले जीवन चल्नेवाला थिएन । तर उनी पनि बिचरा त हुन् के गर्न सक्थे र ! बेलाबेला मेरा दुःखेसो सुन्नुभन्दा उनीसँग कुनै अर्को उपाय पनि थिएन । यो बेला मैले विराटनगरको घर बेचेको  पैसामा चार लाख मात्र बाँकी थियो । शशिले भनेका थिए कि उनका मामा ससुरा डाक्टर विदुर उपाध्यायले चलाइरहेको एउटा बोर्डिङ स्कुल छ चुच्चे पाटीमा । त्यो बेच्दै छन् । चार लाखमा दिन्छन् ।’ म किन्न तयार भएँ र हामीले स्कुल हेर्न जाने कार्यक्रम पनि बनाएका थियौँ ।

त्यसो त म कुम्भकर्ण स्टाइलको सुताहा हुँ, तर त्यो रातभरि मलाई छटपट लागिरह्यो । निद बिलकुल आएन । समाजमा बिल्लीबाठ भएका बोर्डिङ स्कुलहरू मेरा आँखाका पर्दामा कमिलाको ताँतजस्तो आइरहे । ओल्लो र पल्लो कोल्टो फर्किँदा –फर्किँदा रात फर्लङ्ङ जाने देखियो । मेरा दिमागमा ‘के यो बोर्डिङले मेरो समस्या समाधान गर्ला ? डुब्यो भने के गर्ने ?’ भन्ने कुरा आइरह्यो । 

विराटनगरको घर बेच्दा मेरी श्रीमतीको आँसुका थोपाले भिजेको राजीनामा कागज सम्झेँ । छोरीहरूको पिल्पिलाउँदो इनोसेन्ट अनुहार मेरा दिमागका पत्रपत्रमा घुम्न थाले । भौतिक कुरा सम्झेँ । आध्यात्म सम्झेँ । गरीबधनीका कुरा सम्झेँ । मरिजाने चोलाका कुरा पनि सम्झेँ । तर पनि किन हो किन जन्म दिएपछि छोरीहरूको खुट्टा लगाइदिनु मेरो भौतिक तथा आध्यात्मिक दायित्व दुवै भएझैँ लाग्यो । किनकि मेरा छोरीहरूको जन्म उनीहरूको आग्रह होइन, हाम्रो आवश्यकता, रहर र संयोग हो । यति कुरा सम्झँदै गर्दा मलाई औडाहा भयो । रातभरि सुत्न सकिनँ ।

 म एकदम जिन्दगीसँग एकाग्र भएछु सायद, दिमागमा घनीभूत दबाब परेछ सायद, र रातको २ जस्तो बजेको हुँदो हो, मेरा दिमागमा एकपल्ट झुलुक्क भुल्काजस्तो वा ‘मर्ने बेलामा हरियो काँक्रो’ भनेझैँ अमेरिका जाने विचार आयो । बाटो एकदम दुरुह थियो । मेरो आफ्नै इच्छाको विषय पनि थिएन । भर्खरै नामुद मान्छेलाई पनि भिसा नदिएको कथा धेरै थिए । कसैसँग सल्लाह गर्यो भने उसले हल्ला चलाइदिने हुन्थ्यो कि ‘खेमराज त अमेरिका जाँदैछ ।’ त्यो हल्लाले म झन् पत्रु हुनेवाला थिएँ । फेरि जाने कसरी ? बोलाइदिने कोही मान्छे थिएनन् । फेरि अर्कोतिर मेरा आँखाले पावरवाला चस्मा बोकिसकेका थिए । शरीरमा  प्रेसर रोग पसिसकेको थियो । बाह्र हानेर तेह्र छिन्ने उमेर उकालो लाग्दै थियो ।

अनि त्यही रात आफ्नै दिमागले एउटा लघुअनुसन्धान परियोजना बनाएर त्यसको अध्ययन क्षेत्र अमेरिका र नेपालको तुलनात्मक अध्ययन गर्ने कुरा बतायो । यो बेला मेरो दिमाग खासा साथी भएर निस्क्यो । म त्रिभुवन विश्वविद्यालयको प्राध्यापन कार्यमा थिएँ । स्वदेशमा जे भए पनि विदेशमा प्रोफेसरको निकै ठूलो महत्त्व हुन्छ भन्ने सुनेको थिएँ । तर मलाई भने कम्प्युटरसम्बन्धी केही ज्ञान थिएन । सायद म बिनापिठाको डिट्ठा थिएँ । त्यही लघुअनुसन्धान परियोजना बनाउने प्रयोजनका लागि एउटा पेन्टियम वन पुरानो कम्प्युटर किनेँ । कम्प्युटर इन्ष्टिच्युटमा गएर कम्प्युटर बारे बेसिक जानकारी हासिल गरेँ । इन्टरनेटको सुबिधा त्यो बेला अहिलेझैँ छ्यापछ्याप्ती थिएन । घरमा इन्टरनेट हुने त कुरै भएन । त्यसैले साइबरमा गएर समय किनेँ । अनि एउटा विषय तयार गरेँ । विषय थियो नेपालको लुम्बिनी र अमेरिकाको चाको कल्चरल कन्जरभेसनको तुलनात्मक अध्ययन गर्ने । आफ्नो अङ्ग्रेजी आम थियो, विशेष थिएन । त्यस्तै हो तर खूब बल गरेँ । किनभने अङ्ग्रेजी जान्ने साथीलाई भन्यो भने त्यो खबर चैतको हुरीझैँ फैलने थियो । त्यो खबर हुरी मेरा लागि प्रत्युत्पादक हुने थियो । मलाई त्यो हुरीले उडाएर बेफ्वाँकमा उपहासको डङ्गुरमा पुर्याइहाल्थयो । त्यसकारण मैले एक्लै घुसघुसे तरीकाले तयारी गरेँ । युनेस्कोको महाराजगञ्जस्थित पुस्तकालयमा गएर बसेँ । कैयौँ दिन पढेँ । त्रिविको केन्द्रीय पुस्तकालयमा बसेर पढेँ । सामग्री सङ्कलन गरेर साइबरमा बसेर प्रोपोजल तयार पारेँ । इन्टरनेटबाट सामग्री सङ्कलन गरेर प्रोपोजल बनाउन धेरै दिन लाग्यो । किनकि यो कुराको सुइँको कसैलाई दिनु हुँदैनथ्यो । यहाँसम्म कि घरका सदस्यलाई पनि थाहा दिनु उपयुक्त थिएन । 

प्रोपोजल बनाइसकेपछि अब मैले पासपोर्ट बनाउनु पथ्र्यो । त्यसबेला आफ्नै जिल्लामा गएर पासपोर्ट बनाउनुपथ्र्यो । विराटनगरको घर बेच्न उखडिएको थियो । विडम्बना, मसँग पासपोर्ट बनाउने पैसा पनि थिएन छ । पासपोर्टको दस्तुर त्यो बेला ३५०० लाग्थ्यो जस्तो लाग्छ । तिनताक भाइ रमेश इटहरीमा बस्थे ।  इटहरी र धरान पढाउने गर्थे । अङ्ग्रेजीको सहायक प्राध्यापक, मलाई लागेको थियो ऊसँग पैसा होला । म त्यस्तै ठान्थेँ । भाइसँग पैसा माग्ने कुरामा मन नलागीनलागी, साह्रै धेरै गाह्रो गरी माग्न गएँ । मेरो दुर्भाग्य भाइसँग पनि पैसा नभएको बेला परेछ । हुन त हो नि, सबैसँग भनेको बेला पैसा कहाँ हुन्छ र ! ‘जोगीका घरमा सन्यासी पाहुना’ भनेझैँ भयो । अनि म विराटचोकमा पुगेँ । तिनताक त्यहाँ मेरो माइला भाइ सुरेशको बसाइ थियो । केराबारीको हाइस्कुलमा पढाउने र सुकुना बहुमुखी क्याम्पसमा पनि पढाउने जागिर थियो भाइको । मैले सुरेश भाइसँग पैसा मागेँ । मन यति पोलेको थियो कि म फलित ज्योतिषमा त्यति विश्वास नगर्ने मान्छे, त्यतिबेला नै मैले विराटचौकको एउटा न्यौपाने थरको ज्योतिषलाई आफ्नो भाग्य देखाउन पुगेँ । यसले पुष्टि गर्छ कि म कति आत्तिएको थिएँ । जाहेर छ, ज्योतिषले आकाश– पाताल देखाएर मलाई एउटा औँठीको सिफारिस गरे  र कुनै काम गर्दा ६ को अङ्क बार्नु भने । याने कि ६ गते, ६ बार, ६ महिना, ६ तिथि बार्नुपर्ने भयो । ‘तर यो वर्षको असोज महिनाचाहिँ शुभ छ’ भने मलाई । धन्न, सुरेश भाइले पैसा दिएको हुनाले म पासपोर्ट बनाउन सप्तरी जिल्लाको सदरमुकाम राजविराजतिर लागेँ । गोप्य तरीकाले पासपोर्ट बनाएर म काठमाडौँतिर हानिएको थिएँ । काठमाडौँ पुगेपछि त्यो पासपोर्टलाई लुकाएर सुटकेसभित्र राखेको थिएँ । एकदिन छोरीले मेरो सुटकेस उघारेर हेर्दा डायरीका पत्रमा मेरो पासपोर्ट देखेर घरमा हल्लाखल्ला भयो । मैले अमेरिका जाने कुरा गरेँ तर घरका कसैले पत्याएनन् । बरु बिनाबित्थामा पासपोर्टमा त्यतिका पैसा खर्च गरेको फजुल खर्चीको पुरानो ट्याग नवीकरण भयो । किनकि भिसा लाग्ने सम्भावना नै गौण थियो । लगभग असम्भव ठानिन्थ्यो ।

प्रोपोजल र पासपोर्ट बनाएको पनि ५ महिना बितिसकेको थियो । असोजमा भिसा हान्नु थियो । सबभन्दा समस्याको विषय थियो बैँक ब्यालेन्स । घर बेचेर बाँकी रहेको ४ लाख रुपियाँले बैँक ब्यालेन्स पुग्ने कुरा थिएन । भाइ चन्द्रसँग खर्च नगर्ने शर्तमा चार लाख जस्तो लाग्छ, आफ्नो बैँक खातामा ल्याएर राखेँ । त्यसले पनि पुग्ने कुरा थिएन । ४० लाखको बैँक ब्यालेन्स चाहिन्छ भनिन्थ्यो, त्यो बेला । अनि राजविराज शुभद्रा फुपू दिदीको छोरा भाइ सुनिल आचार्यलाई बैँक ब्यालेन्सको लागि भनेँ । तिनताक उनी मर्कन्टाइल ग्रुपमा काम गर्थे । मारवाडीले कतिपय कम्पनीको नाम मात्रको भए पनि डिरेक्टर बनाएको थियो उनलाई । कैयौँ बैँकमा उनको कम्पनीको खाता थियो । खाता सन्चालन मारवाडीले गरे पनि हस्ताक्षर उनै गर्थे । अनि सुनिलले एकछिन गमेर मलाई भनेका थिए –  ‘दाइ, म पैसा दिन त सक्दिन नि । पैसा त हुन्न नि ।’

मैले उनलाई पैसा नचाहिने खाली बैँक ब्यालेन्सको कागज मात्र चाहिने कुराको विश्वास दिलाएपछि भने उनले कम्पनीको बैँक ब्यालेन्सको प्रमाणपत्र कागज ल्याइदिएका थिए । त्यो बैँक ब्यालेन्सको कागजमा त अङ्क उल्लेख थिएन । बरु ‘यो खातामा पर्याप्त नगद जम्मा छ’ भन्ने खालको ब्योहोरा लेखिएको थियो । ठूल्ठूला व्यापारी घरानाको बैँक प्रमाणपत्रमा अङ्क खोलिँदो रहेन छ । त्यही बेला चाल पाएँ ।

उनको कम्पनी र मेरो बिचमा मेरो अमेरिकाको खर्च कम्पनीले व्योहोर्ने एउटा ख्यालख्यालको एग्रिमेन्ट पेपर बनाउनु थियो । यो अङ्ग्रेजीमा एग्रिमेन्ट लेख्ने काम आम वकिलहरूलाई पनि गाह्रो रहेछ । धेरैवटा वकिलकोमा पुगेर नभएपछि मेरा मित्र सतीस खरेलसँग शशि र म गयौँ । उहाँले त त्यो एग्रिमेन्ट कागज खररर बनाएर दिनुभयो ।

मैले प्रोपोजल तयार गरेपछि  असोजमा म भिसाको लागि निवेदन दिन गएँ । म जानीजानी बिहिबार पुगेको थिएँ नबिल बैँक भिसाको समय लिन । तिनताक कान्तिपथमा थियो बैँक । बिहीबार म यसकारणले गएको थिएँ कि त्यो बेला निवेदन दिएको चार दिनपछि मात्र भिसाको मिति दिने गरिन्थ्यो । शुक्रबार त पक्का समय दिँदैन भन्ने थियो । ज्योतिषीले भनेको मेरो छ अङ्क शुक्रबार कट्ने छ भन्ने थियो । म बैँक पुगेँ । पैसा तिरेँ । समय सोमबारको भनियो । तर बैँकको त्यो भाइले मेरो अनुहार हेर्यो र भन्यो ः ‘नमस्ते सर, ए खेमराज सर पो, सरले मलाई पोखरामा पढाउनुभएको । ल भोलि नै एघार बजे सरको समय ।’

त्यो बेला मेरो दिमागमा छ को अशुभ हराएछ र म ओके गरेर बाहिर निस्केँ । झल्याँस्स सम्झेँ, ओहो शुक्रबार । तर, अब फर्केर जाने कुरा थिएन । हात्ती छिरिसकेको थियो ।

अन्तर्वार्ता दिन मैले एउटा छुकको रूपमा नयाँ लुगा सफारी सुट सिलाएको थिएँ पहेँलोपहेँलो घिउ कलरको, त्यो लगाएँ । र म अमेरिकी दूतावास अन्तरवार्ता दिन हिडेँ । घरका कसैलाई पनि एकिन थाहा थिएन । घुइरो–घुइरो भने थाहा पाएका थिए । तर त्यही दिन भिसाको दिन भन्ने जानकारी थिएन । तिनताक अमेरिकी राजदूतावास पानीपोखरीमा थियो । अन्तर्वार्तामा केही सोधिएन । केही हेरिएन । बैँक ब्यालेन्सका कागजहरू लाहाछापभित्रै रहे । खोलिएन । प्रोपोजलको पाना खरर पल्टाए । बरु मेरो त्रिभुवन विश्वविद्यालयको परिचयपत्र मागियो । मैले दिएँ । लगभग त्यही त्रिविको लोगोले मेरोे भिसा लाग्यो । यो बेला त्रिभुवन विश्वविद्यालयमा म जागिरे भएकोमा आफैँ गर्वित भएँ । आफ्नो नाक उचालिएको महसुस गरेको थिएँ । किनभने त्यसैबेला काठमाडौँका विशिष्ट व्यापारीलाई भिसा नदिएको चर्चा काठमाडौँमा थियो । त्यो बेला भिसा लागेको पासपोर्ट तुरुन्त दिइन्थ्यो । मलाई आफैँलाई पत्यार लागेको थिएन । तर भिसा मेरो हातैको पासपोर्टका पानामा सुरक्षित थियो । म खुसी मारे उफ्रनेवाला थिएँ । तर त्यहाँ उफ्रनु हुन्नथ्यो । भिसा लागेको पासपोर्ट बोकेर दूतावास हाताभन्दा बाहिर निस्किएँ । ज्यातिषीको कुरालाई नकार्दै ६ महिनाको ६ बार नै मेरो भिसा लाग्यो । अनि एउटा साइबर दोकानमा पसेर कसैकसैलाई फोन गरेँ । किनभने त्यो बेला हातहातै मोबाइलको सुविधा थिएन । र मिठाईको डिब्बा बोकेर घर पुगेँ । समाचार सुनेर मेरी श्रीमती नपत्याएझैँ गरी ट्वाल्ल परेर हेरिरहेकी थिइन् । छोरीहरू अचम्म मानेर मलाई हेरिरहेथे । मैले पासपोर्टमा लागेको भिसाको छाप देखाएपछि मात्र पत्याएथे । उनीहरूको अनुहारमा एउटा अनिश्चितताको बादल देखिन्थ्यो । घरबेटी राधा दिदी पनि निकै खुसी हुनुभएथ्यो । उहाँको घर बसाइ मलाई सुब्बेफाब्बे भएर जो देखा परेको थियो ।

भिसा लागेपछि मेरो त्रिविमा बिदा मिलाउने कुरा आयो । मैले स्वाध्यायन बिदा लिने विचार गरेँ र सोही प्रोपोजल त्रिविमा पेस गरेँ । तर समन्वय प्रमुखले यो अध्ययनमा त मर्कन्टायल कम्पनीको स्वामित्व छ । त्रिविले यसमा बिदा दिन मिल्दैन भनेपछि म छाँगाबाट खसेझैँ भएँ । कुरा साँच्चि नै थियो । तलवी बिदा दिने त्रिवि अनि अनुसन्धानमा अधिकार हुने मर्कन्टायल कम्पनीको कुरा मिल्दैनथ्यो । त्यसपछि समन्वय प्रमुख केशवजीले नै एउटा आइडिया देखाउनुभयो कि ‘नेपालकै अर्कै कुनै विषयमा प्रोपोजल बनाएर ल्याउनुस्, म सहयोग गर्छु ।’ मैले फेरि केही रात जाग्राम बसेर ‘पिल्ग्रिमेज टुरिज्म इन देवघाट’ भन्ने विषयमा प्रोपोजल तयार गरेँ । लिटरेचर रिभ्यूमा निकै गाह्रो भयो । तर पनि बनाएर पेश गरेँ र बिदा स्वीकृति नभै अमेरिकातिर जाने मेसो पर्यो ।

भिसा लाग्नेबित्तिकै दशैं आइहाल्यो । घर, ससुराली भ्याएर दशैं– तिहार मानेर  अमेरिका जाने तयारी भयो । घर बेचेर राखेको पैसामध्ये अझै केही बाँकी नै थियो । मैले दुई हजार डलर बोकेर अमेरिका गएपछि पनि घरखर्च गर्न पैसा उब्रेको थियो । यसरी विराटनगरको घर बेचेर आएको सात लाख रुपियाँ यताउति रसद पानीमै सकिएको थियो । याने कि बोट नै झ्वाम भएको थियो । अनि म रिटर्न टिकेट काटेर अमेरिकातिर हुइँकिएको थिएँ । त्यो बेला म ४५ वर्षको थिएँ ।

यो बुँदामा आइपुगेपछि म आफ्नो त्यो खण्डको जीवनलाई सामुन्नेमा राखेर सोचिरहेको हुन्छु कि सायद ‘आफू ताक्छ मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेको यही होला । मैले जीवनलाई सञ्चालन गर्ने सवालमा बनाउने योजनाहरू, म बनाउँदै जान्छु, ती तुहँुदै जान्छन् । म खेलाउँदै जान्छु, ती चिप्लिँदै जान्छन् । म नेपाल खोज्छु, अमेरिका पुरयाइन्छु । अमेरिका बस्छु, नेपाल कल्पिन्छु । जीवन बनाएँ भन्छु, असरल्ल हुन्छु । सपारेँ भन्छु, बिगारेको हुन्छु र पनि एउटा अङ्ग्रेजी आहान ‘कुदिरहेको ढुङ्गामा काई लाग्दैन’ सम्झन्छु । र म हिँडिरहन्छु । थाहा छ, कहीँ पुगिन्न । तर  हिँडिरहनुचाहिँ जीवन हो । गीताले पनि भन्छ, कर्म गर्दै जाऊ, फलको आश नगर’ । यसो भन्नुको तात्पर्य तिमी कर्म गर, फल आफैँ आउँछ भनिएको हो । निश्चित छ, कहीँ पुग्नु छ भने हिँड्नै पर्छ । हिँडिरहनै पर्छ । पुग्नु नै छैन भने पनि ‘मर्निङ वाक’ नै सही, मान्छेहरू हिँडिरहेका छन् । संसार हिँडिरहेको छ । म हिँडिरहेको छु । तपाईँ पनि पक्का हिँडिरहनु भएको होला । र जुन दिन हामी हिँड्न छोड्छौँ, त्यो दिन अर्को हिँड्छ । संसार यसरी नै चलेको छ । यी सबै कुरा परिवेशीय छन् । हाम्रा हातमा वा हाम्रा बलबुतामा के पो छ र !

                                       २५ नोबेम्बर, २०२०, सान एन्टोनियो, अमेरिका  

प्रकाशित: ११ मंसिर २०७७ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App