१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मेटिएको शीर्षक

कथा

टंकबहादुर आले मगर                                                                                                            

 

 हात हल्लाए सबैले— ‘बिस्तारै आउनोस् है’ भन्दै । म भने विवश छु ह्विलचियरमै । पानी परिरहेकै छ, मेघ गर्जन्दै । पानीका फोकाहरू उठ्छन् फुट्छन् कार्यलयको प्राङ्गणमा । बिनाउद्देश्य पर्खाइ, त्यस्तै एकोहोरो दृश्य,  निरन्तर दर्किरहेको पानी । आफ्नै अपहिज जीवनको अतीतका यादहरूले तोरण बाट्न थाल्छ—

बाल्यावस्था— काकाको छोरा, भाइभन्दा पहिल्यै माटोलाई स्पर्श गरेको मैले । सिक्यो मसँगै बामे सर्नु । क्रमशः मभन्दा छिटो बामे सर्नु थाल्यो । हेर्दाहेर्दै उभियो, हिँड्न थाल्यो मलाई छोेडेर । म भने घस्रिरहेकै छु । सिकुवा र आँगन मेरो संसार । बन्देजजस्तै छ बाटोतिर निस्कनु । बाउआमालाई डर छ वस्तुले कुल्चेर मार्देला भन्ने । म बुझ्थेँ बाउआमाको मुहारमा मेरै कारण फलेका पीर र दुःख । त्यसैले हरेक शब्दलाई शिरोधार्य गर्थें । धेरै साथी छैनन् भाइको जस्तो । पल्लो घरकी रमा पनि तल्लो घरतिर गा’की छे टालाटुली खेल्न । डम्म भुईकुहिरोले गाँवै छोपेको परिवेश । परिवार सबै मेलोतिर थिए । शून्य घर, सिकुवाको कुनामा जाँतोको हातो समातेर ‘लहैलहै, च्योच्यो, खाइदे खाइदे’ भन्दै कराइबस्थेँ । त्यसरी कराउँँदा स्यालले कुखुरा बोक्दैन भनाइ थियो बाउआमाको ।

गाउँमा मेरो नाम बुद्धेबाट साँपे भइसकेको थियो । भेट्ने जतिलाई सोध्नुहुन्थ्यो बाउआमा, म नहिँड्नुको कारण । एउटै भनाइ हुन्थे सबैका ‘हावा लागे छ बाबुलाई ।’

 त्यसपछि हावा झार्ने धामीहरू थुप्रै आए । धामीपिच्छेको फरक नाम थिए मलाई अपाहिज बनाउने हावाको । लट्टे हावा, सेती हावा, लुले हावा, बज्र हावा, कुजे हावा, लाटी हावा आदिआदि । तर मेरो शारीरिक परिवर्तन हुनु सकेन जति झारफुक गरे पनि ।

कहिलेकाहीँ गाउँमा हुने भोजभतेरमा बुबाले बोकेर लानुहुन्थ्यो । कति खुसी हुन्थेँ गाउँले आफन्त देखेर । ‘विचरा’ भन्ने उपहार पाउँथेँ सबैबाट । यदि उहाँहरूबाट साध्य हुने भए एकधुरा लागेर धपाइदिन्थे होला मेरो अगति रोगलाई ।

       तर, शारीरिक रोग एक्लै रोगीले बोक्नुपर्दो रहेछ ।  

       काम विशेषले थपेनी फुपू हाम्रो घर आउनु हँुदा धेरै सुर्ता गर्नुहुन्थ्यो मप्रति— ‘कुन जुनीको पाप हो या कुन पुस्ताको अभिशाप । बाउआमाको सेखपछि कसले सह्यार्ला कान्छा तँलाई ?’ भन्दै ।

     फुपूको कुरा नटुङ्गिनै आमाका नयन सिमसार हुन्थे ।  

     दाहिने कोखामा राखेर दोष्स्न मन लाग्छ यो बिमारलाई अस्पताल लगेर सुई लाउन हुँदैन भन्ने सोचलाई । देब्रे कोखालाई सुम्सुम्याउँछु मेरो भाग्य नै यस्तो, के फतुर अरूलाई । आफ्नो छायालाई हेरेर धेरै थुकेँ, अभिभावक, समाज र राष्ट्रकै घन्टेसो भन्दै । घरी बेसरी रुदै बरबराउँथेँ—‘मेरो के गल्ती थियो र अपाङ्ग बनाएर सजाय दियौ भगवान् । किन पछुतो लागिरहेको छैन मैले कुनै जुनीमा पाप गरेको थिएँ ? थपेनी फुपूले भनेजस्तै हो भने कसैले गरेको कुकर्मको सजाय किन मलाई ! तिम्रो न्यायालयमा यस्तै फैसला हुने गर्छन् ?’ यस्तै सोच्दा ईश्वरीय पैmसलाको विरुद्ध शुष्क आँखा चुहुन्थे ।  

     दिनहँुझैँ धामीझाँक्री, चिन्ता, पूजाआजा, बाधा उठाउँदै, कुखुरा, परेवा तर्पने भइनै रहन्थे, मलाई अपाङ्ग बनाउने कुशक्तिबाट मुक्त गर्न । शून्य आयस्रोत । बेसाएर बचाको मान्छे हुनुको परिभाषा । आमाले आफ्नो गाँस काटेर पाल्नुभएको लर्कने खसी बेच्न बुधबारे हाट झर्नुभयो बुबा । कति बुझ्नेहरू मलाई काठमाडौँ लान सल्लाह दिनुहुन्थ्यो । ठमठम हिँडेर भविष्यको लौरो बन्न सकौँ भन्ने अपत्यारो सपना थियो, बाउआमाको तर सम्भव भएन खसीको पैसाले काठमाडौंको यात्रा ।

     अर्को बज्र खस्यो बुबाको असमायिक निधनले । तत्पश्चातको जीवन एक्ली संघर्शशील नेपाली आमाको छत्रमा घस्रिरह्यो,  त्यो अभावयुक्त सुदूर पहाडको अविकसित गाउँमा ।

आमाले बटिया पाल्या दुइटा बाछीलाई फरिको बाँध्दै खै गर्नुहुन्छ— ‘बुद्ध !’

    ‘हजुर आमा !’ आकाशमा उड्दै कतै हिँडेका चराका लस्करतिर हेर्दै बोल्छु ।

    ‘भोलिदेखि स्कूल जाउ है छोरो ।’

     आमाको यो शब्दले मलाई अप्ठ्यारो पा¥यो र ट्वाल्ल परेर हेरिरहेँ । के भन्ने, बोली नै फुटेन ।

     ‘के हेरेको ?’ आमा अझै स्पष्ट पार्नुहुन्छ ‘बाउबिनाको अपाङ्ग छोरो, आमाचाहिँले के पढाउन  सक्थी । जोत्ने गोरुको दाहिने हल नभएजस्तै हो, घरमा लोग्ने मान्छे नहुनु’— भन्दै खिसी गर्छन् गाउँलेले । खुट्टो नभए पनि अन्य अङ्ग सपाङ्ग छन् । गरिखानपर्छ बाबु ।’

घस्रिनुभन्दा कठिन लागिरहेको छ पढाइको आराने घनौटो बन्न । आमाको कुनै पनि कुरालाई नकाट्ने आज काट्ने आँट गर्दै भनेँ—‘म नपढ्ने आमा । पढे पनि म जस्तालाई कस्ले जागिर दिन्छन्’ र ?’

      ‘पढ्नु जागिरै खानुपर्छ भन्ने छैन । पढ्ने नपढ्नेभन्दा तीन पाइला अगाडि हुन्छन् । छिटो दगुर्छन्, उड्छन्, फल्छन्, तारा छुन्छन् ।’

     ‘उँ आमाको गफ । पढेपछि पखेटा लाग्छन् र उड्छन् ? अध्यक्ष बाजेले धेरै पढेका अरे कहिले उडे ? देख्नुपर्ने नि जूनतारा छोएका ।’

     ‘उहाँले पढेका हुनाले सत्कर्म गर्नु भा’ छ र गाउँलेले अध्यक्ष बनाए । सुनेको छस् रेल, गाडी कति छिटो दगुर्छन्, हवाईजहाज उडेको त देखेको होला । ती साधनहरू पढ्नेले बनाए र आपूm पनि उडे समाजलाई पनि उडाए ।’

     आमाका कुरा सही थिए र पनि भनँे—‘उकाला,े ओरालो, गग्रेनी बाटो । कसरी हिँड्नु ? फेरि बाटाघरेको टोक्ने कुकुरले मलाई बाँकी राख्ला । बाटोमा वस्तुले कुल्चेर मरेँ भने नि पढ्नुको साटो  ।’

    तर आमा मान्न तयार हुनु हुन्न । अझै कठोर भएर भन्नुहुन्छ—‘म केही जान्दिनँ स्कूल जानै पर्छ । एक्लै हँुदैनस् अरू विद्यार्थी पनि हुन्छन् ।’

   ‘अँ म घस्रनेलाई पर्खिराख्लान् नि अरूले । एकदिन हो र........।’ मलाई भने अर्को ठूलो पीर टोक्ने कुकुरकै छ । 

‘त्यो सबै समस्या तेरो हो । कसरी साथी बनाएर तँलाई नछोड्ने बनाउँछस् तँई जान । मेरा लागि पढ्नै पर्छ ।’

      मैले निकैबेर सोचेँ, सम्झेँ, उफ्रिएँ, कराएँ । अन्ततः भनँे— ‘ठीकै छ म स्कूल जान्छु । तर मलाई खाजामा रोटी दिनुपर्छ ।’

      ‘खाजा त स्कूलमै दिन्छन् नि ।’

      ‘मलाई घरकै रोटी मीठो लाग्छ क्या ।’

      आमाले शुष्क ओठमा मुस्कान छर्दै भन्नुभयो—‘म भोलिपल्ट— किताब, कापी, पेन्सिल, इरेजर र कन्तीमा  कोदोको रोटीलाई डल्लो बनाएर, रुमालमा बाँधेर सर्टले छोपेर,

पछाडिको ढाँडको कम्मरमाथि राखेर सर्टकै फेरले अगाडिको कम्मरमा बेस्सरी बाँधेँ । घुँडालाई पनि बाकुलो थाङ्ना बनाएर कसेँ ढुङ्गाले नघोचोस् भनेर । हातमा टेकेँ बुबाको पुरानो हात्ती छाप चप्पललाई, कचियाको टुप्पो तताई छिनेको फित्तालाई गाँसेर ।  

        चौतारोमा भेला भएका गाउँले विद्यार्थीले मलाई सँगै लिएर हिँडे । धेरैले किताबकपी बोकिदिने सहानुभूति देखाउनु भयो । म मानिनँ मेरो समस्यासँग आफँैले हल गर्ने बानी बसाल्नु थियो ।

कुकुरले छोप्यो मलाई देख्नेबित्तिकै । हाफ्पेन्टको गोजीबाट अलग्गै ल्याएको रोटीको टुक्रो फ्याँकिदिएँ । पुच्छर हल्लाउँदै खायो र फेरि हेर्दै भुक्यो ।

स्कूलमा फुरुक्क थिएँ म । सर र अन्य साथीहरूले अनुहारभरि अबिर लगाइदिए फागु खेलेजस्तै । घाँटीभरि पूmलमाला तिहार आएजस्तै । थुप्रै थिए अहिलेका र पहिलेका विद्यार्थीहरू  तर म सबैको आकर्षक थिएँ, छुट्टै थिएँ । सैकडौं नयनहरू मैतिर तेर्सिएका थिए । त्यहाँ  विशेष भएछु म ।

त्यो दिनको लामो परिचयपश्चात एकक्षण पढाइ भयो । घर फर्कियौँ, तर मैले एकटुकडो रोटी उबार्न बिर्सेको थिइनँ, मलाई टोक्न खोज्ने कुकुरलाई दिनँ ।

स्कूल जाने रात ज्वरो नै फुट्लाजस्तो भयो घुँडो र हत्केला दुखेर । बाटाका चुच्चे ढुङ्गाहरू घुँडोमा गाडिन्दा मुटुमै झुवालो पुग्थ्यो । असह्य दुख्थे हातका पञ्जाहरू पनि । आमाले तेल दलेर हत्केलो आगामा रपाउँदै कति बेलासम्म सेकताप गर्नुभयो, भुसुक्कै निदाएछु ।

भोलिपल्ट परास्त छ हिम्मत । तर मैले अब आमाको सपना र स्कूलले दिएको सम्मानको अपमान गर्न किमार्थ हुन्न । हिजोजस्तै किताब र रोटी कसेँ कम्मरमा, सायद मेरो आवश्यक सामग्री बोक्ने शैली जीवनान्तसम्म यस्तै होला ।  

        स्कूल पुगेँ हजारौँ पीडालाई दाँतले कम्टँदै । कक्षामा सबैले नमस्ते गरे । म उनन्चालीस जना मेरा कक्षाका विद्यार्थीको दाइ रहेछु । बालमैत्री के हो त्यहाँ अनुभव गरेँ । घरमै बुबासँग  बाह्रखरी उतारेकाले, सजिलै लागे पाठ्यपुस्तकहरू ।

        बिस्तारै हारे बाटाका चुच्चे ढुङ्गाहरू, मेरा जिराहा घुँडाका पाङ्ग्रा र हत्केलाहरूसँग । रोटीको प्रेमले मित्र बन्यो मलाई टोक्न खोज्ने कुकुर । जाँदा र फर्कँदा केही क्षणको सहयात्री भइदिन्छ ऊ । परैबाट देख्छु सद्भावको पुच्छर हल्लाइरहेको मलाई देखेर । अनि दगुर्दै आएर अलेख माया देखाउँछ ल्याबल्याब चाट्दै । मैले शिक्षा पाएँ मलाई झम्टने कुकुरबाट, कसैको नुन खाएपछि कस्तो  हुनुपर्छ ।

        यदाकदा एक्लै घिस्रिरहेको म उक्लो यात्रीलाई बगुन्द्रो भयले करप्प टोक्थ्यो कलेजो । स्याल, कुकुर, सर्प, दिमाग खुस्केको मान्छे आदिका के भर, कसरी प्रस्तुत हुन्छन् । अर्को साथी, गोजीमा रिट्ठाका दाना हुन्थे । रिट्ठाको दाना फिरफिर बजाउँदै हिँड्दा गाई, भैंसीबाट जोगिने मौका पाउँथेँ । हली या गोठालाले थाहा पाउँथे, बुद्धे बाटामा रहेछ भन्ने ।  

       एसइई परीक्षाको राम्रो नतिजापछि उच्च शिक्षाको यात्रा निकै कठिङग्य्राउने थियो र पनि मेरी आमाले जोरी खोज्ने समस्यासँग पौँठी खेल्दै शहर झार्नुभयो मलाई ।

       भित्री मधेसको भावर क्षेत्र, उखुमको ताण्डव रहे पनि , मेरो सुस्त सरिसृप यात्रा सहज बनेको थियो पहाडमा भन्दा । मैले बसपार्क छेउको स्पानर बोक्ने मिस्त्री दाइसँग अनुनय गरेँ, दुइटा घुँडामा ठीक्क हुने टायरका टुक्रा र थोत्रा सिटको फोम । त्यो लगाएर घस्रन्दै तेर्सो हिँड्दा सहज भएर जीवन परिवर्तन भएजस्तै लाग्यो ।  

      प्राथमिक तहबाटै गहिरो मित्रता गाँसिएको यायावर, मेरा अँध्यारो यात्राहरूमा राँको देखाउने, यहाँसम्म सँगै छौँ । उसको बुबाले उसलाई साइकल किनिदिएपछि मेरो पनि जीवनको परिभाषा  फेरियो । अरू साथीले उचालेर यायावरको साइकलको  पछाडिको सिटमा बसाइदिन्थे, म यायावरको कम्मर समातेर बस्थेँ । आहा, त्यो घिस्रन नपर्ने यात्रा । अब बाँच्न पनि मजै हुने रहेछ भन्ने अनुभूतिले च्वाप्प म्वाइँ खायो हृदयमा ।  

     भोगाइ पो परिभाषा रहेछ जीवन ।

अपाङ्ग छोरालाई आँखाभन्दा पर, धेरै दिन राख्ने हिम्मत भएन र गाउँ छोडेर शहर झर्नुभयो आमा, फर्कने सहमतिमा । पराई घरको जुठाभाडोसँग स्वच्छ पसीना छरेर जीवन बिसाउने आमाको उपाय पनि साफल्य नै रह्यो । घरपटीको उब्रेको भाततिहुनको मायाले हाम्रा दयनीय गोरेटोलाई फराकिलो पार्दै थियो ।

उच्च चेतनाको प्रतिफल र संघसंस्थाको मायाले हामी दैवद्वारा ठगिएका मान्छेलाई सहारा भएर  ह्विलचियर वितरण भयो । त्यो प्राप्तिले ताछिए, मेरा केही परनिर्भरता । साथीहरूसँग गफसफ गर्दै हिँड्ने भएँ । यसरी क्रमशः जीवन सकारात्मक भइरहेको घुम्तीमै जिल्ला अपाङ्ग संघको सचिव भएर मभन्दा अझै शारीरिक पीडितका हकहितका बारेमा सेवा गर्र्ने मौका पाएँ ।

         थुप्रै पत्रकार साथीले मेरा परिस्थितिलाई भिडियो बनाएर धेरै परपर पु¥याइसक्नु भएका थिए । त्यही भिडियो हेरेर एउटी समाजसेवी सुन्दर नारी हस्ताक्षरबाट प्रस्ताव आयो—‘मलाई सहयात्री भएर तपाईंको सेवा गर्ने प्रबल इच्छा छ ।’ भन्ने ।  

         म सहारा खोजिरहेको अधुरो मान्छे, ‘हुन्छ’ लेखेर पठाइदिएँ मेसेन्जरमा ।

         हाम्रा आन्तरिक सतभावको आदानप्रदान प्रक्रियाको समापन लगतै दाम्पत्य दाम्लोमा बाँधियाँै । उहाँकै आँट र भरोसाले यस्तो सम्बन्ध स्वीकारें । नत्र कसैको पति बनौँला भन्न,े सपना पनि थिएन मेरो ।  

       पश्चात—

       दिन परिवर्तनसँगै स्कुटी किनेर सिकेँ । अनि आमालाई घुमाएँ  मठ, मन्दिर, चैते, गुम्बा, मस्जिद, गिर्जाघर । चोकचोकमा उभिएका महान् व्याक्तिहरूका प्रतिमा देखेर आमाले जीवन पार भएको अनुभूत ठ¥याउनुभयो मनको पटुकीमा । 

 केही दिनपश्चात धुलाम्मे बाटो हुँदै गाउँ पुग्यौँ, मामाली गयौँ । पहिले म जन्मदा आमालाई कर्म खोटी भन्ने कामनाकारीहरू आज भाग्यमानी भन्दै ढाप मार्दै थिए । त्यो दिन देखेँ, आमाको अनुहार झुसी हाँसेका नेपाली हिमालहरू, भीर, छाँगा, अक्करहरू ।  

      तर ती बाँझिएको भस्मेभरि खोजेँ, एक्लै कोदालो खन्दै गरेको बुबालाई, जो म डाँडामा बसेर पर्खिरहन्थेँ । दुख त बुबाले रोप्नु भएको अग्लो पटमेरोमा बसेर एक्ले ढुकुर मात्रै कराइरहेको थियो ।

आमाको अनुहारमा जस्तै बुबाको हर्ष पनि देख्न पाए कति सार्थक हुन्थ्यो यतिबेला मेरो जीवन । 

जागिर पनि भयो । अब भत्ताको मात्रै आस गर्नु परेन । श्रीमतीको मात्रै  घर धान्ने धपेडी अलिकति लाछिएको थियो ।  

       श्रापित सोचेको जीवन, उमङ्गको घोडा बनेर टाप बजाउदै दौडिरहेको छ ।

      अझै खुसी थपियो श्रीमतीले काटीकुटी मेरो प्रतिलिपि छोरी जन्माएपछि । त्यो दिनदेखि मेटियो ‘घस्रिरहेको म एक्लो यात्री’ को शीर्षक । गुनगुनाउन थालेँ खुसी नै खुसीे भरिएको लोकभाका ।  

       जीवनमा अभिशून्य समय पनि आउँदोे रहेछ ।

तर यो खुशीको हाम्रा पलमा आमाको सहभागिता समावेश हुन सकेन । कारण दुखै दुखको यात्रामा आमाको देहावसानले नमेटिने शोक थपेको थियो । यदि यतिबेला आमालाई तपाईंकी नातिनी तपाईंजस्तै भन्दै देखाउन पाए...।

       ‘सर पानी रह्यो ।’ कार्यालय बन्द गरेर ओर्लेको सुरक्षा कर्मी बोल्दा पो झसङ्ग भएँ ।  ‘कति गहिरो अतीतमा डुबेछु’ मन बर्बरायो ।

       ‘ओके भाइ !’ भन्दै बाटो लागेँ ।

       कोरोना महामारीको भयावह परिस्थितिले गर्दा जोर बिजोर चलाउने आदेश भएको छ सरकारबाट । आज बिजोर चलाउने दिन हुनाले त्यति घुइँचो छैन सडकमा । दौडिरहेकैछ मेरो थ्रिह्विलर । र पनि अरू यात्रीभन्दा निकैपछि छु, घस्रिरहेको मेरो अतीतझैँ ।

       कोठामा पुगेर हेरेँ श्रीमती आइपुग्नु भएको छैन । आज नानीको स्कूलबाट अलिक ढिलो बिदा भएकाले होला ।  

       ह्विलचियरमा बसेर बिहान चिया खाका  कपहरू मस्काउन थालेँ । श्रीमती र मैले कार्य विभाजन गरेका छौँ, शारीरिक सहजता अनुरूप । बाहिरको सबै र भित्रको कोठा पुच्छने, लुगा धुने, हामी बाउछोरीलाई नुहाइदिने काम उहाँको जिम्मा छ भने, मेरो खाना बनाउने, सब्जी  काट्ने, छोरीलाई होमवर्क गराउने र स्कूल पु¥याउने अँभार छ ।

आज यहाँ आइपुगेर भोगाइलाई सर्वेक्षण गर्छु मेरो अतीतको  शीर्षक पूर्णतः मेटिएको छ , आमा र श्रीमतीको उच्च सहाराले ।

प्रकाशित: ९ मंसिर २०७७ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App