१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छुटेका साथी

संस्मरण

विद्या सापकोटा

 

– माया, अब नबोल ल ? म रिपोर्ट बनाउँछु ।

हरेक दिन भकारीका भकारी कुरा हुन्छन् मसँग । कितावका कुरा, फिल्मका कुरा, पत्रपत्रिकाका कुरा, युट्युबका कुरा, सामाजिक संजालका कुरा, घरपरिवारका कुरा, साथीहरूका कुरा, यताउताका कुरा, कत्ति हो कत्ति कुरा । नबोलेर कहाँ सकिन्छ ? भित्रैदेखि गुदगुदी चल्छ, हिन्दी सिरियलकी फुच्ची कुल्फीकुमारले स्वाट्ट गीत गाएजस्तै फुत्त बोल्न पुग्छु म ‘तर मेरो त हजुरबाहेक अरू साथी नै छैन यहाँ ।’

‘के भन्यौ रे ?’ साह्रै इनोसेन्ट सुनिएछु कि के हो ? गहिरिएर हेर्नु भो मेरो सबैभन्दा नजिकको साथीले ।

हो न हो, मन भरिएर आयो । घरको याद आयो । बुवामम्मी, भाइबैनाको याद आयो।

एक अर्कासँग बोल्नकै लागि जन्मिएका जस्ता मेरी मन्जु, सर्मु, कल्पुहरूको याद आयो । कुनै समय खूब नजिकै भएर नि अहिले विरलै सम्पर्कमा आउने भावना, शक्ति, उमा, शान्ति, निर्मलहरूको याद आयो । थोरै मात्र कुरा हुने तर मनमुटुका साथी सुमी, समी, पारू, मीना, शारदा, विनीता दि , गोपाल दाहरूको याद आयो । सँगै हुँदा सबैभन्दा नजिक भएर अलि पर पुग्नासाथ फेसबुकबाटै ब्लक हान्ने प्रियाहरूको पनि याद आयो । अफिस ठिकैको थियो, आत्मियता अपार थियो । तमाम आत्मीय अनुहारहरूको याद आयो । आउनपर्ने, आउन नपर्ने सबैसबैको याद आयो।

सबैभन्दा बेसी याद त्यो छुटेको बालापन, छुटेको किशोयवय र छुटेका साथीहरूको आयो ।

‘रानीहरू छिटो गराओ । सर गइसक्नु भो कक्षामा ।’

कान झनन्न भो । आँखा तिर्मिर भो । पिसाब फेर्दाफेर्दै जुरुक्क उठ्यौ हामी । पेन्टी स्वाट्ट तान्यौ । फ्रक फुत्त झर्यो ।

‘मुतै चुहाए कि क्या हो रऽऽऽ हरूले ? ‘ ऊ मज्जैले खितखिताई ।

हामी हाँस्न सकेनौ ।

‘यो किन बहुलाएकी?’ शारदा र मेरा आँखाआँखा बात मारे।

‘खै ?’ दुवैसँग जवाफ थिएन ।

हामी हिस्स पर्यौ । कतै कसैले सुन्यो कि ? यताउता नजर घुमायौ । बाटामुनिको झ्यांगबाट पार्वती दिदीहरू निस्किनुभयो ।  

‘टिनिनि ....’ हाफटाइम सकिएको घन्टी बजिगो । टाउकोमा घन्टी त बजिरहेकै थियो । कसलाई के भन्नु बित्तातोड कुद्यौ ।

‘जाउँ नि नभनी आउँदा रछन् मुर्दानीहरू ... ’भुतभुताउँदै पछिपछि आई ऊ ।  पुलुक्क हेर्यौ । हेर्यौ भन्दा नि आँखा तर्यौ ।

ऊ भने बडो सामान्य थिई , ‘किन फन्केका हुन् जाऽऽऽ?’ पारा एकनास थियो उसको, मानौ केही भएकै थिएन ।

तल्लो स्कुल जाँदाका सुरुवाती दिनको कुरा थियो यो । हामी चार कक्षाका नयाँ विद्यार्थी । कखरा त माथि सुन्दरादेवी प्राविमा सिकेका हौं हामीले। एबिसिडी तल्लो स्कुल यानिकी बिन्दु केशर माविमा ।

हामी पूर्णतः ब्रामण बस्तीका मान्छे । अझ शारदा त पुरेत बाकै छोरी । यी र यस्ता शब्दसँग बिलकुल परिचित थिएनौ हामी । अघिल्लो दशैताका सानिमाको पछि लागेर डाडाँगाउँ नउक्लेकी भए यी शब्द नराम्रा गाली हुन् भन्ने नि थाहा हुने थिएन मलाई ।  

उसले अति सहजतासाथ भनेका ती शब्दहरूले हामीलाई यत्ति असहज बनायो कि हामी कैयौ दिन निन्याउरो पर्यौ । एकदमै अपमानित महसुस गर्यौ । ऊसँग त बोलचाल बन्दै भयो ।  

केही दिन मात्र भएको थियोे ऊ हाम्रो बेन्चमा बस्न थालेकी । त्यसपछि ऊ कताकता भई । मितिनी र दिदीहरूले हामीलाई मिलाउने धेरै प्रयास गर्नुभएको हो । हामीले न मान्न सक्यौ, न भन्न सक्यौ कसैलाई’ यसले हामीलाई अस्ति भएभरका गाली गरी’ भनेर । थाहा छैन, शारदाले आफ्ना दिदीहरूलाई यो कुरा भन्न सकी सकिन? मैले एकैचोटि एघार पढ्दा त्यस्तै केही प्रसङ्गवश ममीलाई सुनाएँ ।

उनीहरू त्यही मंसिरमा मधेश झरे रे । हामी अलिपछि डेउडी आयौ । त्यसपछि हाम्रो भेट अहिलेसम्मैं भएन ।

अहिले सम्झन्छु, ऊ साँच्चै निश्छल थिई । नराम्रो भनेँ भन्ने नै थिएन उसलाई । जसरी आजकल केटाहरूले आफ्नो मिल्ने साथीलाई ‘ओइ फलान्थोक ! यसो गर र उसो गर’ भनेको सुनिन्छ । त्यसरी नै उसका लागि ती शब्द सामान्य हुदाँ हुन् । विचरा उसलाई त हामी किन बाउठियौ? नै थाहा भएन ।

कमला नाम थियो उसको । कालो कपाल, गोरो–गोरो सिलिक्कÞ परेको अनुहार ।

‘हेर न ! आजकल मलाई रिँगटा लागिरहन्छ ।’

घरअगाडि रोड थियो । रोडबाट पर कुनासम्म खेत । खेत किनारमा ठूलो कुलो थियोे । कुलोमुनि खोला। खोलापारि पाखा ।

त्यही पाखामा घाँस काट्न गएका थियौ हामी । ‘पानी अमला’ अलि धेरै नै भएको थियोे त्यो दिन पेटमा पनि, थुन्चेमा पनि ।

‘चिसोले भेट्यो कि ?’ मैले अनुमान लगाएँ ।

‘ममी नि बिरामी भइराख्नुहुन्छ।’ ऊ थाकेजस्तो सुनिई ।

खोलाछेउमा आइपुगेथ्यौ हामी । दाउरा हुन्छ भनेर टिपेका हाँगाबिङ्गा केही काँधमा थिए, केही हातमा थिए । अलि लामो छानेर खोलामा डुबायौ । धेरै गहिरो थिएन । खोला बढेको बेला माथि पुगेर झोलङे पुल तर्नुपथ्र्यो ।  

‘आज यतैबाट जाम हैं ?’ उसले इशारा गरी ।

‘ दिउसो लुगा धुन आउने है ?’ किनारामा पुग्दा नपुग्दै म बोलेँ । 

शनिबारको दिन खोलाका किनारभरि मान्छे हुन्थे । माथि आदर्श, अष्टर सीताहरू, बीचमा उषा, हीरा र अम्बिका दिदीहरू, अलि तल हामी, हामीभन्दा तल अरूअरू, घरको सिधासिधा दूरीमा ।

कहिलेकाही मिसिन जान्थ्यौ हामी दिदीहरूसँग नत्र आफ्नै अखडा प्रिय थियो । दुवै जना मिलेर कपड़ा धोयो, सुकायो । ढुंगाले मिचीमीची भाइबहिनी नुहाइदियो, आफू नुहायो । एकछिन घाममा बस्यो, कपाल कोर्यो, जुम्रा मार्यो अनि कपडा उठाउँदै घर फर्कियो ।

हाम्रोबाहेक अरूका घर खासै जान्न थी ऊ । फुर्सद नि हुन्न थियोे, भाइबैनी साना थिए । काका स्कूल पढाउनु हुन्थ्यो । पसल पनि थियो । काकी बिरामी बिरामी हुनुहुन्थ्यो । उमेर हाम्रो उस्तै हो, स्कुलमा ऊ म भन्दा जुनियर थिई । घरतिर अलिकति सिनियर । जाँगरिली थी, सबै काम गर्थी नि त ।

बारी थियो घर माथी । बन्छो, सिरुका घाँस हुन्थे । आँप फल्थे लटरम्म । हामी केटाकेटी घाँस काट्ने, पत्कर सोहर्ने, दाउरा खोज्ने अनेक बहानामा काँचो आँप खान जान्थ्यौ । बेलाबखत वनभोज पनि हुन्थ्यो । घरबाटै चामल, आलु, तेल मसला, पानी बोकेर उता पकाएर खाने खालको भव्य पिकनिक । उसका तीन भाइवैनी, मेरा तीन ऊ र मसहित आठ जनाको जम्बो टोली। जिन्दगी रक्स थियोे ।

किशोरी हुँदै थियौ हामी । हाम्रा रहर अलिअलि फैलिन थालेका थिए । सिनेमामा रुचि हुन लागेथ्यो । नयाँ डिजाइनका कपडामा आँखा जान थालेथ्यो । कपाल कोर्दा चिपिक्क तेल हाल्न छोडेका थियौ।

एकदिन स्कूलबाट आउँदाआउँदै उसलाई सन्चो भएन । बिस्तारै ओछ्यान परी । हामी पारी पाखा जान छोड्यौ । खोलामा लुगा धुनेरनुहाउने दैनिकी बदलियों ।

काठमाडौं लगियो उसलाई । झन्डै महिना दिनपछि अलि ठीक भएर आई । जिन्दगीमा फेरि बहार आयो । भेट्नासाथ हामीले आँसु साट्यौ, हाँसो साट्यौ । केही गुलाबी रहरहरू थिए हाम्रा, ससाना÷मीठा ।

नजिकै आइपुगेथियोे तीज, एकै कुर्ता सिउनु थियो। जात्रा जानु थियो उस्तै भएर । मेसो मिले सिनेमा पनि हेर्नु थियो वनदेवी हलमा । भ्याए त फोटो पनि खिचाउनु थियोे शिव स्टुडियोमा । खेस्रा योजना तयार थिए ।  

‘घरमा कुरा लगाउँदैनौ भने पिÞmल्म पनि हेरौला ‘भाइबैनी शर्तमा मन्जुर थिए । चलचित्रबाहेकका अरू रहरहरू आआफ्ना घरमा सूचित र स्वीकृत दुवै भए थियोे।

अफशोच ! त्यसो हुन पाएन । उसको बिसन्चो बढ्दै गयो । स्कुल जान नसक्ने भई ऊ ।

पढेर आउँदा–आउँदै भेट्न जान्थे म, ऊ नसकेर नि मुस्कुराउँथी । काकी आफैं बिरामी हुनुहुन्थ्यो । ऊ ‘बुबेबुबे’ भनेर काकालाई नै खोजिरहेकी हुन्थी । काकाले सकेको गर्नु भो । अस्पताल, धामी–झाँक्री, मठ– मन्दिर ।

भर्खर क्रिश्चियानिटी पसेको थियो गाउँमा । प्रभुले बचाउनुहुन्छ भनेर चर्च पनि लगियो । त्यो दिन पनि प्रार्थना टोली घरमैं ल्याएर पूजा गराइँदैथियोे । किताबको झोला पिंढीमै फ्यात्त फालेर दौडिएँ म ।

‘काका !’ म फिस्स हाँसेँ ।

काकाका ओठ उचालिए तर हाँसेनन् ।

‘तिमी लेर बस हैं?’ उछिट्टिएर बाहिर पुग्नु भो उहाँ ।

मैले जतनसाथ उसको टाउको आफ्नो छातीमा अड़्याएँ । ऊ साह्रै कमजोर भएकी थिई ।

मलाई रुन आउला–आउला जस्तो भो । ‘के खाइस् त ?’ त्यतिकै सोध्नका लागि सोधे मैले ।

अगाडि यशु पूजनका विभिन्न चरणहरू भइरहेका थिए ।

‘मलाई बिसो हुन्छ त ओई ?’ ऊ बतासजस्तै बोली ।

‘किन नहुनु ?’ मेरा ओठहरू सपाट फिरफिराए ।  

‘एइ !’ नमीठो मुस्कुराई ऊ । मलाई साह्रै असह्य भयो । एक अर्काका हात समाइराखेकै थियौ हामीले । अझ कसेर समाई उसले । मन झन् भत्कियो, ‘बुबा ! काका !’ म भाग्न चाहन्थँे ।

निमेषभरमै निमेषभरका लागि उसका आँखा चिलाउनेका गेडाझैं फनन भए । त्यसपछि  पूरै स्थिर ।

यसप्रकार मसँगै मेरै मुटुमा जोडि़एर, मेरै हात समाएर मेरी साथी महायात्रामा निस्किई । शकुन्तला नाम थियो उसको । हल्का रातो वर्ण, कालो बाक्लो कपाल, मायालु अनुहार ।

‘नानी !’ ममीको स्वर त्यतिकै अड्कियो ।

हेलो भन्दाभन्दै ममी रुनुभएको चाल पाएर मेरो नि सास रोकिएलाजस्तो भो । यताउता हेरें, टेलिफोन बुथभरि मान्छे थिए । हाँस्नका लागि दुनियाँ खुला छ, रुनलाई चाहिँ ? मन एकतमासको भो । उताबाट बैनी बोल्न थालिछ ‘दिदी ...!’

बिहानभर चतरापारिका साना घरहरू चाहारेर आएकी थिए । एककप कालो चियाबाहेक पेटमा केही परेको थिएन । स्टोभको घ्यारघ्यारमा भातको कुकर बसालेर साग लिन गएकी म , त्यही पछारिउलाझैं भयो । पूरा सुन्ने हिम्मत भएन । फोन राखिदिएँ ।

माघको दिन भए पनि बाहिर टन्टलापुर घाम लागेको थियोे । खुई काट्दै आकाशतिर हेरें । एक हूल चरा भुर्र उडे । मन उड्दै–उड्दै कहाँकहाँ पुग्यो ।

बडो ऊर्जावान् केटी थिई ऊ । पाखाभरिका घाँस एक्लै काटी भ्याउँथी । खेतभरिको मल एक्लै बोकिसक्थी । केटाको काम यो, केटीको काम यो भन्ने विभाजनको सिद्धान्त उसको जिन्दगीमा थिएन । छिटोछिटो बाहिरको काम सकाउँथी, घरको काम सकाउँथी । पसल थियोे घरमा, त्यो पनि सम्हाल्थी । मन लागे होमवर्क पनि गर्थी । अनि घरबाट निस्कन्थी, एक दुईतीन हुँदै टन्नै भुरा दस्ता उसको पछि लागिसकेको हुन्थ्यो । टोली घरघरमा पुग्थ्यो । हालचाल सोध्थी ऊ । जे पाकेको छ क्वाप्पकुप्प पार्थी । बूढाबूढी देखी ससाना भाइबैनी सबैकी प्यारी थिई।

न कसैको डर थियो न लाज । एकदम निर्भीक र बिन्दास केटी थिई ऊ।

‘ढुकढुकी फिल्म चलिराछ, यिनीहरूलाई नि पठाइदिनू न हो ।’ हामी लुकामारीको जमानामैं थियौ । ऊ हाकाहाकी हल जाने अनुमति माग्थी।

रमाइलो गर्न खूब मनपथ्र्यो उसलाई । खुलेर गीत गाउँथी । मज्जाले कम्मर मर्काईमर्काई नाच्थी । ऊ गएको रोपाईंमा हिलोमा नचोपलिई आउँला भन्ने कसैले नचिताए हुन्थ्यो । फागुको बेला त गाउँको उल्लास नै अर्को हुन्थ्यो। घरका मान्छे, घरछेउका मान्छे त भैगए । घरको बाटो भएर हिँड्ने सवारी साधन समेत रङ्गपानीले निथ्रुक्क हुन्थे । रङ्ग भन्नाले अविर, केशरी नै नहुन सक्थ्यो । गोजी रित्तिदै जाँदा पीठो, रातो माटो, कमेरो वा गाईवस्तुको गोबरले पनि हुत्तिने मौका पाउँथे । मान्छेहरू रिसाउँथे, कराउँथे, केही नलागेर अन्तमा मुस्काउँथे । गाउँ उचाल्थ्यौ हामी खितिति ...।

ऊसँगै भएपछि जे पनि रमाइलो । कति हाँसो उठ्थ्यो उसलाई, ऊसँगै हामीलाई । ‘आइँऽऽऽ....’ भैसी कराए पनि, टपाटप चराले बिस्कुन खाए पनि, ‘पूरै सडक मेरो हो’ जसरी कोही रक्स्याहा आए पनि, प्याटप्याट कसैले कसैलाई कारण अकारण लपेटा लगाए पनि ..... ।

खासमा गाउँकै रौनक थिई ऊ।

हामी डेउडी छोडेर काठमाडौ आइसक्या थियौ ।

‘कान्छीको कर्म चलाउन लागियो, सबै जना आउनुपर्छ’, फोन ठूला बुवाको थियो।

‘बिहे त हिराजस्तो केटोसँग गर्नुपर्छ । देख्दैमा लुत्रुक्क परेकोसँग त के गर्नु हो ?’ कुवाको पानी टिफिनको कचौराले उभाउँदै बोलिथी ऊ ।  

दिउँसो पाइपको पानी तातेर मुखमा हाली नसक्नुको हुन्थ्यो । यसो हुँदा खाने पानी लिन कुवामा जान्थ्यौ हामी ।

‘बेप्रसंग के भन्छे यो ?’ वाल्ल परेंथेँ म ‘भर्खर त एसएलसी दे’को, अहिल्यै बिहे गर्छन् त ?‘

‘दिदीको बिहे भइसक्यो त , अब मेरै पालो हो ।’ ऊ सहज थिई ।

‘साँच्चि, दिदी नआउनुभएको धेरै भयो हैं?’ ज्यादा निकट थिएँ म दिदीसँग, भावुक भएछु । ‘हो कि हैन भन त?‘ ऊ प्रतिक्रियाकै पर्खाइमा रहिछ । मलाई केही भन्नै आएन ‘किन हिरोजस्तो नि? राजेश दाइ नै हुनुहुन्छ त, सुपर हिरो’ नआएरै हावामा उडाएँ मैले ।

‘मैले साँच्चै भनेको, देख्दैमा दिक्क लाग्नेसँग त कसरी काट्नु जिन्दगी ?’ उसको आवाजमा गम्भीरता थियो ।

खूब बहादुर हिरो हुन्थे उसताक । राजेश दाइ त छँदैथे, अप्सराका रमेश उप्रेती, नातेदारका दिलिप रायमाझी पनि खूब मन परेको हो उसलाई ।

उसको बिहे, कस्तो हुनु होला भिनाजु ? हामफालेर गयौ म र बहिनी ।

साँझ हातमा मेहन्दी लगाउदै गर्दा ‘ओई, हमाल दाइ जस्तो कि ... कस्तो ?’ मैले उसको आँखामा आँखा घुमाएँ ।

‘जिन्दगी र चलचित्र अलग कुरा र’छन्’ ऊ कमजोर सुनिई ।

हामीले कुरा मोड्यौ ‘लल आफै हेरौला भोलि ।’

ऊ कर्म घर गई । हामी कर्मथलो फर्कियौ । वर्ष दिनदेखि भेट भएकै थिएन ।

ऊ जँचाउन आएकी रे काठमाडौ । आउँदा–आउदै घरमा हकारिछ ‘किन पठाएको त्यसलाई एक्लै ?’ मधेश आन्दोलन उत्कर्षमा थियो । म स्वावलम्बन विकास बैंकको कर्मचारी भएर धरान पुगें थेँ ।

बेलुका फोटो एलबम पल्टाउँदै बोलिथी रे–‘मेरो पÞmोटो त छैन रैछ । याद पनि आउन्न कि के हो?’

खै कसरी देखिनछ उसले ? बीच एलबममा चट्ट नीलो कुर्थामा हल्का मुस्कुराइरहेको आफ्नै प्रतिबिम्ब ।’

खै किनकिन उसलाई म जागीरका लागि घरभन्दा पर गएको मन परिरहेकै थिएन । ‘त्यस्ता काम जत्ति पाइन्छ बोलाउनू यतै, भरे मै फोन गर्छु’ केही दिनपछिको बिहान हजुरआमा र ममीलाई सुझाएर हस्पिटल गएकी ऊ, साँझ घर फर्किन । उसका दुवै मृर्गौलाले काम गर्न छोडिसकेका थिए ।

एकातिर तराई जलिरहेको थियो, अर्कोतिर मन । जिन्दगी के नै रहेछ र ? साह्रै दिक्क लाग्न लाग्यो । हप्ताबीचमै राजीनामा पत्र लेखेर काठमाडौं फर्के म । ऊ फर्किइन, नफर्किने बाटो जो गइसकेकी थिई ।

कहिलेकाहीं सोच्छु, सबैका लागि बोलिदिने, हाँसिदिने र लडिदिने त्यो मेरी साथीले आफैप्रति चाहिँ अन्याय गरी कि ? नत्र बिरामीको अन्तिम अवस्थासम्म किन कसैलाई थाहा भएन ? खैर, एघारबाह्र हिउँद खेपिसक्यो समयले । उसको बिहेमा गए यता म गाउँ गएकै छैन । ऊ भने आइरहन्छे मेरो सम्झनामा, जरूर गइरहँदी हो त्यो स्वर्णिम वयका साक्षी मनमनमा।

हीरा दिदी थिई त्यो । भेटिएदेखि नै ‘दिदी’ सम्बोधन गरिएकाले ‘दिदी’ । दिदी साथी । मिजासिलो बानी, खाइलाग्दो शरीर, चंचल आँखा, उज्यालो चेहरा ।

यसप्रकार मेरा खास साथीहरू छुटें।

छुट्न त धेरै कुरा छुटें । तल्लो स्कुल जाँदाजाँदै छुटेका हुन् सोमे ,मंगले, मुसा, रीता र बकुल्लेहरू । बसाइ नै सरेपछि चुंगी खेल्दा खेल्दैको स्कुलको ठूलो चौर छुट्यो । बडेमाको आँगन, ठूलो मठ र गजबको बार्दली भएको आफ्नै घर छुट्यो । घरगाउँमा खास साथी थिएनन् मेरा । कि दाइ दिदी, कि त भाइबैना ।  

अर्जुन,शरण, वासु दाइहरू, पार्वती, सीता दिदीहरू, नवराज, रामकृष्ण भाइहरू छुटे।

अलिपछि डेउडी पनि छुट्यो । स्वच्छन्द परिवेश छुट्यो। पराई भएर नि आफ्ना भएका प्रियजनहरू छुटे । सपनाको फिरफिरे उडाउने झोेलुङे पुल छुट्यो । साथीहरू, स्कुल, सर मिस सबै छुटे ।

छुट्दाछुट्दै कलेज छुट्यो, सहपाठी छूटें । बेसुरा गीत गुनगुुनाउँदै हिँड्ने साघुँरा गल्लीहरू छुटे । साहित्यक माहोल, विचारविमर्शका फोरमहरू छुटे । अँ अफिस, सहकर्मी , घरपरिवार र देशै छुट्यो।

छुटेरै आइपुगेकी हुँ ओमन  र लागिरहन्छ, छुटेको छ मन –अन्तैत्यतै कतै।

प्रकाशित: ७ मंसिर २०७७ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App