१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सम्झनामा तरङ्गित पाँच वर्ष

लक्ष्मी उप्रेती

 

 विसं २०२२ सालमा शान्ता दिदी दस वर्ष तिनकक्षा र म सातवर्षकी एककक्षामा भगवती मिडिल स्कुल धरानमा पढ्न थाल्यौं । बुबाआमाको कडा निगरानीका साथ हाम्रो अध्ययन अघि बढ्यो । त्यसबेला विजुली बत्ती थिएन । कपडाको सलेदो होलेर मट्टीटेल बाल्ने चलन थियो । टुकी या लालटिन राति बाल्नका लागि साँझै नपरी ठिकठाक पारेर राखिन्थ्यो । राति बत्ती बालेर पढानु पर्दा हरेक दिन बिहान नाकभित्रबाट कालो ध्वाँसो निकाल्न हुनसम्म सास्ती हुन्थ्यो । परीक्षाको बेलामा त राति पढ्दा निदाइन्छ भनेर टाउकाको टुप्पाको कपालमा डोरी बाँधेर झ्यालमा लगेर अड्काउँथ्यौँ । जब निद्रादेवीले बोलाएर उम्न लाग्थ्यौँ तब झ्यालमा अड्किएको डोरीले टुप्पीको कपाल तानिएर दुख्यो भने झल्यास्स ब्यूझाउँथ्यो । यसरी पनि हाम्रा रातका केही क्षण पढाइमा खर्चन सकेको सम्झेर समाउँछु ।

समयको पद्चापसँगै जीवनका वर्षहरू पनि बढ्दै गए तर मैले आफूलाई जहिले पनि बालक नै हुन्छु भन्ने सोच्थ्ये । किशोरी, जवान र बूढी हुँला भन्ने कल्पना समेत गर्दैन थे । किशोरीहरूलाई, जवान र बूढीहरूलाई देख्दा, उनीहरूको हाउभाउ हेरेर म आफूबालकै भएकोमा दुखी हुन्थे । तर समयले सबैलाई उमेरको हिसाब मिलाउँदो रहेछ । दिदी तीन कक्षाबाट चार नपढी पाँच र म दुई नपढी तीन कक्षामा पढ्न सक्ने भएकाले सोही अनुसार पढ्न थाल्यौ ।

खेल्दा कतिपटक कति ठाउँमा चोटपटक लागेर जोखिम उठाउनु परे पनि हामी बुबाआमालाई केही नभनी सहन्थ्यौं । एकछिनमा खेल्दै गरेका साथीहरूसँग बाजाबाज गरेर मनपरी भन्दै भुत्लाभुत्ली, कुस्ताकुस्ती, गालीगलौज, रुवाबासी गरेर लडाई गथ्र्यौ, एकछिनमा खुसी हुँदै अंगालो हालेर मिलिहाल्ने बालापनको प्रवृत्ति सम्झदा मात्र पनि जीवनमा बेग्लै रोमाञ्चित हुन्छ ।

आकाशमा उडेको हवाईजहाज देख्दा पछिपछि कुद्दै पछ्याउने भएर कागजका जहाज बनाएर त्यसैगरी उड्छ भनेर माथि फ्याँक्थ्यो र आफू उडेको कल्पनामा आनन्द लिन्थ्यो । घाम–पानीमा भिज्दै उफ्रनु, असिनापानीमा खेल्नु, एकले अर्काको पोल लगाएर आफू साधु हुन खोज्नु आदि यस्ता काम गर्न पाउँदा जस्तै विरामी भए पनि केही नभएजस्तो जोस आउनु र दुरुस्त हुन सक्नु । जतिखेर जस्तो जे पनि खान सक्नु, कसैले कथा सुनाउँदा कथामा हुने पात्रको चरित्र अनुसारको क्रियाकलापमा आफूलाई खोज्नु, राक्षस र भूतको कथा सुन्दा भूत आफ्नै छेउमा आइहाल्छ र आफैलाई आक्रमण गरिहाल्छ कि झै डरले कथावाचकलाई समाउँदै टाँसिनु, परीको कथामा परीजस्तै भएर उडेको कल्पनाले संसारमा हराउनुको मजा वा । हरे ती दिनहरू अब याद मात्र बनेका छन् ।

मेरो जीवनमा मित लगाउनु पनि एउटा रहस्यमय संजोक बन्यो । रम्भा वाग्लेसँग भगवती स्कुलमा नै पढ्दै गर्दा एकदिन खेल्दाखेल्दै जिस्किएर खै के साटासाट गरेर मित बालेको अभिनय गर्दै मितिनी मितिनी सम्बोधन गरेर बोल्न थाल्यौँ । त्यो हाम्रो बालसुलभ मनस्थिति खेलको रमाइलो गरेथ्यौं । तर आमाबुबा संवेदनशील हुनुभयो । खेलमा मितिनी साइने गाँस्ने हुँदा साँच्चिकै जीवनमा गाँसिन गएको सुखद् संजोग भयो । बुबाआमाले खै कस्को घरमा हो कुनै धार्मिक कार्य भैरहेको पुनित अवसरमा नियमअनुसार ब्रामण्डको मन्त्र पाठद्वारा नै मण्डपमा बडो उत्साही भएर हाम्रो मित लगाउने कार्य सम्पन्न गराउनुभयो । त्यसबेला बुबाआमाले किनेर ठिक्क पार्नुभएका लुगा फलफूल र अरू सरसामानहरू मेरो तर्फबाट मितिनीलाई दिन लगाउनुभएको भएथ्यो । अनि मितिनीका तर्फबाट पनि लुगा र अन्य केके सरसामानको पोको मैले पाएँ । अनि हामी दुवैका अभिभावकहरूले हामी दुवैलाई “अबदेखि तिमीहरूले नाम काटेर बोलाउनु हुँदैन । मितिनीको काम काट्दा पाप लाग्छ । मितिनी, तपाई भनेर बोलाउनु नि, तिमी नभन्नु ।” भनेर आदेश दिनुभयो । उहाँहरूले भनेजस्तै पाप त लाग्थ्यो कि लाग्दैनथ्यो मलाई थाह भएन तर मित लगाएपछि हाम्रो भेट जबसम्म भयो तबसम्म हामीले नाम काटेर सम्बोधन नगरी तपाई नै भन्यौ ।

ती मेरी मितिनी यसबेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, छोराछोरीहरू, नाति–नातिनीहरू कति भए होला थाह छैन तर उहाँलाई सम्झन्छु र नियाँस्रिन्छु पनि कहिलेकाहीँ । उहासँग ठट्टैठट्टमा मित लगाउने सिलसिलामा पाएका नयाँ लुगाले त्यसबेला मलाई पारेको खुसीको रमाइला क्षण बिर्सन्न । जीवन साँच्चिकै दुःखसुख भित्रका राम्रानराम्रा हरेक रंगका काँचुली फेरेर बिताएका पलहरू जति समात्न सकिन्छ त्यतिलाई आफूमा भर्दै जाँदाको सन्तुष्टिमा अर्कै मजा हुन सक्दोरहेछ ।

त्यसबेला यातायातका साधन थिएन । गछिया, इटहरी जान घोडाचडीको यात्राबाट काम चलाउनुपर्ने । समयमा कुनैकुनै बेला त झापा पनि घोडामा नै जानुपर्ने हुन्थ्यो । अन्य तरीकाले जानु भनेको जोगवनी हुदै कटिहार आएर जानुपथ्र्यो । बुबा त्यसरी नै झापा, इटहरी, गछिया आउनेजाने गर्नुहुन्थ्यो । गछिया वरिपरिको जंगलमा मृग, हरिण जंगली कुखुरा आदिको सिकार गरेको बेलामा हाम्रा लागि पनि आउँथ्यो । त्यसबेला जंगलमा जनावरको सिकार गर्नेहरूलाई अपराधिक गतिविधि मानिदैन थियो । या त भनौँ चेतना नै थिएन । कसैमा घर पालुवा प्राणीको मात्र नभई जंगली प्राणीको मासु खाएको हाम्रा यात्राहरू अपत्यारिला सत्य बनेका छन् । अब ती दिनहरूको जस्तो सुखद् संजोक कहाँ छन् र ? माछामासु अर्थात् कुनै मीठो खानेकुराहरू भान्छामा पाकेको बेला बुबा आफैले घरमा सबैलाई एकैचोटि खाना बनाएर भाग लगाइदिनुहुन्थ्यो । अझ माछा पकाएको दिन त काँडा अड्किन्छन् भनेर बुबाले छानेर पछिसम्म पनि भाइबैनीसँगै मलाई पनि ख्वाएको मायालु सम्झनाले मलाईं भावविभोर बनाउँछ ।

एकपटक गर्मीको छुट्टीमा केही दिन छुट्टी बिताउन हामीलाई गछिया हाम्रो कामत लिएर जानुभयो । गछियामा साइला काका, कान्छी फूपु अनि बुबाका ठुलेमाका छोरा नरेन्द्र सिटौला काकाको घर वरिपरि थियो । एकदिन नरेन्द्र काका र फुपूका छोराछोरी अम्बिका, शान्दा दाइ, देवेन्द्र भाइ, टीका दिदी, चक्र दाइ र अरू पनि को कोसँग शान्दा दिदी र म पौडी खेल्न भनेर घरनजिकै पोखरी हो कि खहरे खोला हो त्यहाँ गयौ । किनाराबाट पानी भित्र पसेपछि अगाडि बढ्दै जाँदा गहिरिदै जान्छ भन्ने मलाई थाह थिएन । पौडन खप्पिस गछियामा बस्नेलाई त केही वास्ता भएन तर शान्दा दिदी र म पौडन नजाने पनि केही नहोला भन्ने विचारले विस्तारै अरुसँगै पानीमा पस्यौ । माझमा पुगेपछि घाँटीमाथि पानी आउने ठाउँसम्म सलल पुगेछु म त । पानीको त्यस्तो सतहबाट फर्कने आँट आएन ।

अब यसरी नै पानी भरिदैँ डुबाउने भो भन्ने डरले आक्तिदै कराउँदै पानीको संसारमा झन जेलिएर बग्दै गएछु । सबै जना आफ्नै धुनमा पौडि खेल्दै मस्त भइरहेको बेला शान्ता दाइले म बगेर हात बल गरेर उठाएको देख्नुभएछ र हत्तपत्त म तिर गएर उचाल्नुभयो र पानी बाहिर किनारामा ल्याएर पानी ओकल्न लगाउँनु भयो । त्यसपछि आत्तिएर घर फर्किएको सम्झन्छु । यसबेला नरेन्द्र सिटौला काकाका छोरा शान्तादाइको निकै पहिला मृत्यु भयो । तर त्यसबेला उहाँले मेरो जीवन बचाउनु भएको कुरो स्मृतिमा आउँदा आँखा रसाउँछन् ।

विसं २०२६  कुरा हो । म पाँच कक्षामा राम्रो अंक ल्याएर उत्र्तीण भएँ । त्यसबेला मेरा दुवै भाइ काठमाडौं भानु मेमोरियल बोडिङ स्कुलमा पढ्थे । अब भाइलाई जस्तै मलाई पनि बोर्डिङमा राखेर राम्रो शिक्षा दिने बुबाको सोचमा आमा पनि उत्साहित हुनुभयो । भारतको कालेबुङको स्कुल मेरो भाग्यमा न लेखेको जीवनको एउटा नमीठो अनुभूति । घरमा आउने जाने ठूला मान्छेहरूले पढ्न टाढा जान आँटेकी छोरी अब कहिले आउँछे र देख्नु राम्रो पढ्नु हामीलाई नबिर्सनु भन्दै खुद्रा पैसा मिठाई, चकलेट दिनुहुन्थ्यो ।

त्यसबेला कालेबुङको बोर्डिङ स्कुलमा पढ्न पाउने भएर म फुरुङ्ङ परेकी थिए । त्यहीको होस्टलमा बसेर पढ्ने योजना भएकाले त्यहाँ चाहिने केही सरसामानहरू मेरो रोजाइअनुसार बुबाआमाले किनमेल गर्नु भएथ्यो ।  

म ११ वर्षकी थिएँ । त्यस समयका ११ वर्षका केटाकेटीहरू आजको जस्तो बाहिरी वातावरणमा भिज्न पाउँदैन थिए । नेट, इन्टरनेट अर्थात विद्युतीय प्रवृधिका कुनै उपकरणहरू देख्नै नपाएको अवस्थामा घरधन्दा जान्नु र स्कुलमा पढ्न जानु अनि घर आउनु नै हाम्रो दिनचर्या हुन्थ्यो । त्यसरी घरबाट हिँडेर तल बस चल्ने ठाउँमा आएर बस चढ्यौं । एउटा, दुई वटा फाट्टफुट्ट आराथुन नामका गाडी चल्न थालेका थिए । धरानबाट ९ बजे चढेर हामी निकै साँझमा झापाको कामत पुग्यौ । कामतमा माइला र कान्छा काकाका परिवार हुनुहुन्थ्यो । काकाकाकीहरूले विशेष महत्वका साथ मलाई गरेको खातिरदारी र मायाले म पुलकित भए । घोडा, गाई, भैँसी, गोरु, राँगा, बाख्रा–पाठा कुखुरा, हाँस– परेवा पालेको कामतको घरमा केही कुराको अभाव कहिले नहुने जस्तो लाग्यो । सधैं जे पनि ताजाताजा खान पाइने ठाउँ भनेर दंग परेकी थिएँ । हुन त धरानमा पनि दुहुना गाई कहिले पनि टुटेन तर यहाँको जस्तो प्रशस्त दुध, दही, घ्यू, हुन्नथ्यो । भोलिपल्ट बिहान खाजा खाएर झापामा भएको हाम्रो खेतीको जमिन देखाउन घोडामा चढेर मलाई काखमा राखेर काकाले लानुभयोे ।

कालेबुङ जाने दुई दिन अगाडि झापामा नै घर भएकी मेरी जेठी दिदी मनमाया छन् भन्ने थाह भयो । अनि ममा दिदीलाई भेट्ने इच्छा भयो । त्यत्रो दिन कामत बस्दा त्यहीँको संसारमा भाइबैनीहरूसँग भुलिए । दिदीलाई भेट्न इच्छा गरेपछि काकाले बुबासँग कुरा गर्नुभयो । बुबाले एकैपटकमा हुन्छ नि भोलि बिहानै कान्छाले भेट गराएर ल्याउनु । यस्लाई चढाउने कुन घोडा सजिलो छ त्यही घोडा लिएर जानु भन्दै कान्छा काकालाई अह्राउनुभयो ।  

भोलि बिहान छिटै खाना खाएर हाम्रो गन्तव्यका लागि कान्छा काकाले हामीलाई बोक्ने सजिलो घोडा तबलाबाट निकाल्नुभयो । मलाई चढाउनु परेकाले त्यहाँ पुग्न एक घण्टा लाग्यो तर काकाकै सुरमा घोडा कुदाएको भए २० मिनेटमा पुग्नुहुन्थ्यो रे । यसबेला सम्झदा त्यो घोडाचढी यात्रा डर लाग्छ । गाउँले परिवेशको दिदीको घर काठको बार र टिनको छानो भएको गोलाकार रहेछ । दिदीले मलाई काखमा राखेर सुकसुकाउँदै म्वाइँ खाँदा समेत दिदीलाई मैले राम्रो चिन्न सकिनँ । जब तिम्री जेठी दिदी मनमाया यिनै हुन् भनेर काकाले भनेपछि मात्र चिने । त्यसबेला जन्मनेबित्तिकै छोरीको मृत्यु भएकाले दिदी विक्षिप्त हुनुहुँदोरहेछ । एकछिन बसेर दिदीले दिएका खुद्रा पैसा लिएर काकासँग फर्किएको सम्झन्छु ।

बुबाले मलाई कालेबुङ लिएर जानुभयो । नेपालमा एउटा दुईवटा गाडी यसो बेलाबेलामा मात्र देखिने कालेबुङमा त्यत्रो विन गाडीहरू पहिलो पटक देख्दा त म छक्क परेँ । कालेबुङ जानु मात्र भयो तर मेरो कल्पनाको रंगीन संसारलाई अवसरको खोलीबाट टाल्नै नसक्ने गरी उधारेर टुंगिएको तीतो सत्यको क्षणले मलाई अझैसम्म पनि दुखाइरहेछ । स्कुलमा के कुरा भएर हो भोलिपल्ट बिहानै धरान फर्कन ट्याक्सी स्टेण्डमा आएर जिपमा चढ्यौँ । हामी चढेको जीप कालेम्बुङलाई छाड्दै अगाडि –अगाडि बढिरह्यो ! आफूले देख्ने गरेका कति आफ्ना भागमा नै पर्ने सपनाहरू पनि आफ्ना नहुँदा रहेछन् । धरान फर्किएपछि निकै दिनसम्म कालेबुङमा गएर पढ्ने सपना विपनाको आशामा नै बित्यो । बिस्तारै कालेम्बुङको स्कुलमा पढ्न लाने कुरा त्यसैत्यसै हरायो । त्यसपछि धरान श्री शारदा बालिका विद्यालय मेरो ज्ञानपुन्ज बन्यो ।

त्यसबेला मलाई बिस्कुट खूबै मन पर्दथ्यो । बिस्कुट खान ज्वरो नै आउनुपर्ने । ज्वारो अएपछि बिस्कुटको स्वाद हराइहाल्ने । तर पनि काम गर्न पनि नपर्ने सुतीसुती स्वाद नभए पनि बिस्कुट खान पाउने आशाले ज्वरो आएर थला नै पर्दा पनि हर्ष नै पो लाग्थ्यो त । साँच्चिकै ज्वरो आउँदा ६,७ दिन थला परिन्थ्यो । साँच्चिकै ज्वरो आएर ७, ८ दिन थलाउँदा बिस्कुटबाहेक वार्लिस पानीमा पकाएको साउदान र जाउली खानुपर्दथ्यो । वार्लिस खानुपर्दा मरे जस्तो लाग्थ्यो तर आमा छेउमा बसीबसी फकाउँदै खुवाउनुहुन्थ्यो । नखाई धर नै पाइँदैनथ्यो ।

सरस्वती पूजाको दिन हर्ष –उल्लासका साथ स्कुलमा पूजा सकेर विन्दास हुँदै अरू स्कुलमा गएर सरस्वती स्थापना गरेको मूर्ति दर्शन गरेर प्रसाद ग्रहण गर्दै लखतरान भएर अबेला घर फर्कदा पनि बुबाआमाको गाली नपाउनु । ट्रकमा चढेर हल्ला गर्दै गरेको त्यो यात्रा क्या मज्जा भएथ्यो । जीवनमा गरेका अनेकन यात्राहरूमध्ये कति यात्राहरू सम्झनाका तरेलीको मीठो धुन बनी छाएका छन् कति त्यतिकै नै बिलाए ।

प्रकाशित: ७ मंसिर २०७७ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App