१० मंसिर २०७७ बुधबार
कला

मनोबलतिरको यात्रा

संस्मरण

 

खेमराज पोखरेल

 

मान्छेको जीवन निर्माण परिवेशीय हुन्छ । परिवेशले बनाइदिन्छ । बिगारिदिन्छ । परिवेश जित्ने युग पुरुष हुन्छन् । परिवेशमा सबै बग्छन् । यहाँ म मेरो परिवेशले बनाएको निम्न मनोबल तथा उच्च मनोबलका कथा सुनाउँछु ।

मैले भनेँ, मैले तेस्रोपल्टमा एसएलसी पास गरेको हुँ । अनुमान गर्नुस् मेरो त्यो बेलाको मनोबल कस्तो थियो होला ! ममा फ्रस्टेसन कति थियो होला ! त्यो बेला मैले जीवनलाई कसरी व्याख्या गर्थें हुँला ! न कहीँ टेक्ने ठाउँ थियो, नसमाउने । पैत्रिक सम्पत्तिले गुजारा चल्नेवाला थिएन । यो अवस्थामा मेरो मनोबल एकदम कमजोर थियो । एकदम बेकामे थियो । जीवनका जटिलताहरूमा थरथर काम्थ्यो । 

यसरी थरथर काम्दाकाम्दै २०३२ साल साउनमा एसएलसीको थर्ड डिभिजनको प्रमाणपत्र बोकेर म राजविराज छिरेको थिएँ । यो पल्टको राजविराज छिराइ आइए पढ्न नाम लेखाउन थियो । फारम भर्न महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस गएको थिएँ । लाम लागेर फारम किनेँ । तर फारम भर्न आँट र हुति आएन मेरो । चिनेको कोही थिएन । यद्यपि त्यो फारममा नाउ, गाउँ आदि त थियो होला । ममा त्यो फारम बिग्य्रो भने के गर्ने भन्ने डर थियो । र म फारम भर्ने आँट नआएर कोठा फर्कंदै थिएँ, मभित्रको मान्छेले मलाई नै भन्यो – फारम नै भर्न सक्दैनस् भने तैँले के पढ्छस् !

अनि मलाई के झ्वाँक चल्यो कुन्नि म फारम लिएर कलेज पुगें । एकजनालाई फारम भरिदिन अनुरोध गर्न थालेँ । त्यो एकजना मोहमद मुन्ना रहेछ । पछि त साथी भइहाल्यौं हामी । मुन्नाले मेरो फारम भरिदिए । फारम भर्दाका बखत नै मेजर र सहायक विषय छान्नुपर्ने रहेछ । मलाई के मेजर, के सहायक केही थाहा थिएन । म त आइए पढ्न गएको । मेजर र माइनर, उफ ! उनले मलाई ‘केके विषय राख्ने’ भनेर सोधे । म त अक्क न बक्क परिहालेँ । पछि उनले नै मेरो एसएलसीको मार्कसिट हेरे र ‘एकदम पुअर मार्कस छ तेरो । पास हुन मेजर हिस्ट्री राख, सजिलो हुन्छ । प्रमुख सहायकमा लजिक राख्, र भाषामा हिन्दी राख्’ भनेर सल्लाह दिए । हिस्ट्रीमा मैले केही अब्जेक्सन गरिनँ । एसएलसीमा पनि अलिअलि पढेको विषय थियो । हुन त त्यसैबेला पनि मलाई इतिहास त्यति मन परेको विषयचाहिँ थिएन । इतिहास विषय ठिकठाकै लाग्थ्यो । मलाई लजिक र हिन्दी त पटक्कै चित्त बुझेनँ । लजिक भन्ने विषयको नामै मैले सुनेको थिएन । हिन्दी न बोल्न न लेख्न नै आउँथ्यो । बुझ्न भने बुझिन्थ्यो । त्यसपछि उनले प्रमुख सहायकमा राजनीतिशास्त्र र अर्को सहायकमा नेपाली राखिदिए । संयोग थियो त्यो, उनले राखिदिएको इतिहास विषय नै मेरो जीवनभरि गुजाराको मेलो भयो । त्यही विषयमा नै मैले त्रिभुवन विश्वविद्यालयमा ३३ वर्ष पढाएर निवृत्त भएँ ।

उनले मलाई ‘यो नेपाली राखिस् भने त तँ कहिले पनि पास हुन्नस् । केशव गुरुको पाला पर्लास्’ भनेर सम्झाएका थिए । तर पनि मैले एक सयको भाषा माइनरमा नेपाली नै राखेँ । किनकि मलाई नेपाली भाषासाहित्य खूब मन पथ्र्यो । उनले पनि ठिकै सल्लाह दिएका थिए । बल्लतल्ल कनिकुथी एसएलसी पास भएको मजस्ताले सजिलो विषय छान्नु बुद्धिमत्ता हुन्थ्यो । त्यहाँ मेजर एउटा विषय राखेर सहायकमा लजिक र हिन्दी राख्दा ग्वामग्वामी नम्बर आउँदो रहेछ । फेलको त कुनै सम्भावना नै थिएन छ । अर्कोतिर त्यो मैथिल बाहुल्य भएको ठाउँमा शुद्ध मैथिलभाषीलाई नेपाली पास गर्न निकै गाह्रो हुने भएकाले नेपाली भाषाप्रति त्यस्तो नकारात्मक कुरा भएका थिए होला । त्यही घानमा म पनि परेँ । फेल भएर आएको मजस्तो मनोबल सिद्धिएको विद्यार्थीले जानीजानी फेल हुने विषय छान्नु मुख्र्याइँ पनि थियो ।

त्यो बेला आइए पढ्न पनि इन्ट्रान्स दिनुपर्ने रहेछ । मैले इन्ट्रान्स दिएँ । करीब २५० जनाले दिएको इन्ट्रान्समा म संयोगले टप टेनभित्र परेँछु । इन्ट्रान्समा राम्रो भएका कारणले केशव गुरुले मलगायत ६ जनालाई ‘मेजर नेपाली राख’ भनेर सल्लाह दिनुभएको थियो । मलाई त भेटेर नै ‘तिम्रो नेपाली राम्रो रहेछ, नेपाली मेजर राख’ भन्नुभएको थियो । तिनताक राजविराजको मविव क्याम्पसमा नेपाली मेजर नै थिएन । नयाँ मेजर विषय खोल्न खोज्नुभएको थियो तर हामीले मानेनौँ । नेपाली राखे फेल हुने हल्ला कलेजभरि थियो । अरिङ्गालको गोलामा कसरी जानीजानी ढुङ्गा हान्नु त ! अनि कसरी नेपाली मेजर राख्नु त !

अहिले जिन्दगीका यात्रालाई एकतमासको भएर फ्ल्यासब्याक गरेर हेर्दै छु कि यो नेपाली मेजर न राखेर जीवन अघि बढाएको अहिलेसम्म क्षतिपूर्ति हुन सकेन मेरो । किनकि अहिले म साहित्यका पटाङ्गिनीमा बास बसेको छु । यो पटाङ्गिनीमा बास बसेका बेला नेपाली साहित्य–भाषाका शास्त्रीय कुराहरू प्रश्न बनेर उभिन्छन् । साहित्यशास्त्र गेट पाले भएर उभिएर भित्र जान नै दिँदैन । शब्दसामथ्र्यको अभावले पिरोल्छ । हिज्जेका बबालले घरी आकाश घरी पाताल पुर्याउँछन्  र आफूलाई सैद्धान्तिक ज्ञानका अभावमा म ट्वाल्ल ती प्रश्नलाई हेरिरहन्छु । मनका दुखेसो– सुखेसो केही लेख्न खोज्छु, भाषाको तारतम्य मिलाउन निकै गाह्रो हुन्छ । कहिले परिभाषामा अल्मलिन्छु भने कहिले प्रयोजनमा । कहिले दृष्टिविन्दुमा त कहिले वाक्य गठनमा । र म यसरी कुहिरोको काग भएको छु अहिले । यो बेला मलाई नेपाली मेजर राख्न सुझाउनु हुने मेरा श्रद्धेय केशव गुरुसँग क्षमा माग्दै परिवेश सम्झन्छु ।

एसिसमेन्टहरू हुन्थे । छ महिनामा सेमेस्टरको परीक्षा आइहाल्यो । पहिलो सेमेस्टरमा ज्यादै थोरै विद्यार्थी सबै विषय पास भए । सायद २ सयमा १०÷१२ जना होला । त्यसमा एकजना म पनि परेँ । यो घटना मेरो जीवनको अहिलेसम्मको मनोबल वृद्धिका सवालमा सबैभन्दा उपलब्धिमूलक थियो । यो उपलब्धिको विन्दुपछि मेरो मनोबल यसरी बढ्यो कि आइए र विएमा ब्याक लागेन । लागेन भन्दा पनि बिएको दोस्रो सेमेस्टरको एसिसमन्टमै फेल भएँ र सेमेस्टर नै दिन पाइनँ । कारण के पर्यो भने अङ्ग्रेजीका प्राध्यापक सुनिल कुमार झा भर्खर बेलायतबाट पढेर आउनुभएको थियो । उहाँले होम एसिसमेन्ट दिनुभएको थियो । प्रायः सबै साथीले अङ्ग्रेजीकै अरू सरहरूलाई लेखाएर, कसैले ट्युसनमा लेखाएर बुझाएछन् । आफूले त जे जानेको सोही लेखेर बुझाइयो । गाई खाने विद्या, स्वाभाविक रूपले मेरो एसिसमेन्टको कपी कमजोर हुने नै भयो । तेस्रो सेमेस्टरमा फस्ट भएर स्कोलरसिप खाँदा भने मलाई निकै आनन्द आएको थियो । आइएलाई त्यो बेला प्रमाणपत्र तह भनिन्थ्यो । त्यसको पहिलो सेमेस्टरले दिएको मेरो मनोबल जिन्दगीका कुनै जँघारमा पनि डगमगाएन । दुःख खेप्यो तर डगेन । असफल भयो तर हरेश खाएन । किनभने मैले त्यसपछि बुझेँ कि मान्छे पूर्ण छैन । जीवन बाँच्नका लागि सङ्घर्ष गर्ने हो । अनवरत सङ्घर्ष गर्ने हो । यसो हो भने मनोबल न्यून राख्नुपर्ने कारण पनि केही थिएन । त्यो मैले बुझेको कुरा थियो, त्यही घटनाले ।

केशव गुरु पछि सरुवा भएर वीरगञ्ज जानुभयो । केशव गुरु भनेको प्राध्यापक डाक्टर केशवप्रसाद उपाध्यायलाई भनिएको हो । उहाँ पछि नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ हुनुभयो । उहाँलाई सगौरव नमन गर्दछु । किनकि ‘म केशव गुरुको चेला हुँ’ भन्दा मात्र पनि शिर ठाडो हुन्छ । गुरु भनेको त्यस्तो हुनुपर्दछ । अर्का मेरा नेपाली गुरु गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । उहाँ आजका मितिमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुहुन्छ । माया त कति कति पाइयो गुरुहरूबाट । अहिले सम्झँदा आफूले आफ्ना विद्यार्थीलाई त्यति माया गरिएनझैं लाग्छ । इतिहासका गुरु हरिकान्तलाल दास सरसँग त अहिले पनि आइजाइको साइनो बनेको छ । तर म यो लेख्ने बेलामा अमेरिकामा बसेको छु र मेरा इतिहास गुरु हरिकान्तलाल दास सरको निधन भैसकेको छ । अर्का इतिहास गुरु  लक्ष्मीलाल चौधरीको पनि निधन भएको केही वर्ष नै भैसकेको छ ।

सम्झनामा धेरै कुरा छन् कलेज जीवनका । एकपल्ट कलेजबाट पिकनिक जाने कुरा भयो । रु १० उठाइएको थियो । मसँग त्यो पैसा थिएन । म गइनँ । क्याम्पस चिफ शंकरदत्त झा आदर्श पुरुष हुनुहुन्थ्यो कलेजमा । उहाँलाई राजविराजभरि सबैले ‘प्रिन्सिपल साहेव भनेरै चिन्थे । सम्मान गर्थे । नाम त खोई कतिलाई थाहा थियो होला र । इतिहासका गुरु हरिकान्तलाल दास सरले त मलाई विए पास भएर हिँड्ने बेलामा बिदाइ भोज नै दिनुभएको थियो घरमा बोलाएर । विजयेन्द्र झा राजनीति शास्त्रको घागडान गुरु हुनुहुन्थ्यो । उहाँको सामुन्नेमा पर्न सक्नु नै ठूलो कुरा थियो ।

कलेजका दिनमा अर्थाभावले नै होला जीवन सादगी थियो । सरल थियो । संयोग नै थियो कि म यी आइए र विए पढ्दाका दिनहरूमा ठिकठाक विद्यार्थीकै रूपमा देखा परेँ । यसो हुनुको तात्पर्य ‘लाटो देशमा गाँडो तन्नेरी’ भनेझैं पनि होला । सीमित भित्रको कुरा पनि होला । यसो भएकाले गुरुहरूको प्रिय बनेझैं लागेथ्यो आफूलाई । भ्रम नै होला । तर पनि मलाई यो भ्रम यति मिठो लाग्छ कि त्यही भ्रमभित्रको गुदी बोकेर म उभिएको हुन्छु अहिले पनि ।

बैँस त सायद प्रखर थियो त्यो बेला । अभोगीय कल्पना पनि प्रचुर नै आउँथ्यो। विपरीत लिङ्गीको आकर्षण पनि जब्बर नै थियो । सायद यो स्वाभाविक पनि थियो जस्तो लाग्छ । आफ्नो कक्षाका मात्र होइन, पछिल्ला कक्षाका केटी साथीहरू पनि मेरो नोट माग्थे । नोट आदानप्रदान त हुन्थ्यो मजाले । किनभने त्यो बेला पाठ्यपुस्तकहरू पउल थिएनन् । यही नोट कपी नै पास हुने सहारा थियो । त्यसकारण नोट माग्दथे । म दिन्थेँ । बरु यसो भनूँ, हामी नोट साटासाट गथ्यौँ । यसैलाई साथीहरू प्रेम भन्थे सायद । नाम जोडेर उडाउँथे । धेरैजना केटी साथी थिए । सबैसँग सुमधुर सम्बन्ध थियो । एउटा सीमारेखा तानिएको थियो । एउटा मीठो कल्पना भए पनि, धेरै केटी साथीसँग नाम जोडिए पनि न उनीहरूले मुख फोर्न सके न मैले । त्यो अव्यक्त नै जन्म्यो, हुक्र्यो र मर्यो । अव्यक्त नै सकियो । यद्यपि विए पास गरेर हिँड्ने बेलामा एकजना केटी साथीले ‘मान्छे तिम्रो र मेरो त लभ पो छ, भन्दा रहेछन्’ भनेकी थिइन् । तर म बबुरोको तिनताक न समाउने ठाउँ थियो न टेक्ने । न मसँग आँट थियो न पौरख । न मति थियो न हुति । त्यो एउटा सुखद जम्काभेट जिन्दगीको दलानबाट छुट्टियो । फेरि कहिले पनि भेट भएन । आफ्नो बिहे गर्ने बेलामा भने तिन लोक चौध भुवन देख्दा थक्कथक्क त लाग्यो नि । उफ एउटा सानो आँट गरेको भए त हुन्थ्यो नि तर के गर्नु, समय हिँडेपछि फेरि फर्कने कुरा थिएन ।

कलेज जीवनका साथीहरू धेरै सम्झन्छु । अघिल्ला ब्याचका पछिल्ला ब्याचका थिए । ल पढाइ हुन थालेको थियो । देशैभरिबाट विद्यार्थीहरू आएका थिए । रमाइलो पो थियो त जीवन । मानविकीतिर शशि थिए । उनकै घरमा म बसेकाले घनिष्ठ थियौं । अहिले पनि सबैभन्दा अन्तरङ्ग साथी शशि नै भएका छन् । अरू साथीहरू धेरै थिए । विमला अर्याल यहाँ मैले छुटाउनै नहुने नाम हो । निकै मिलेका थियौँ हामी । उनका अक्षर निकै राम्रा थिए । म काग खुट्टे अक्षर लेख्थें । उनी त्यसलाई छापा बनाउँथिन् । हाम्रो सहकार्य निकै रमाइलो भयो कलेज जीवनभरि । आइएमा हामीसँग पढ्ने विमला अर्याल, त्यसबेलाका राष्ट्रिय पञ्चायतका सदस्य गणेश पोखरेलकी छोरी रञ्जना पोखरेल,  राजविराजका प्रतिष्ठित व्यक्ति लोकेन्द्र श्रेष्ठकी छोरी रीता श्रेष्ठ, शाही सेनाका मेजरकी छोरीहरू आभा राणा र उषा राणालाई हामी पञ्चकन्या भन्थ्यौं । किनकि उनीहरू जहिले पनि सँगै हिँड्थे । त्यस्तै त हो नि ठट्यौली केटाको मन ।  यसबाहेक न्यायाधीशका छोरीहरू अम्बिका श्रेष्ठ र शोभा श्रेष्ठ थिए । केटा साथीहरूमा बुद्धिनाथ भट्टराई, सुभासचन्द्र दाहालसँग निकै हिमचिम भएको थियो । विए पढ्दा भने विमला र इन्दिरासँग विशेष साथीत्व थियो । 

यस कुराको प्रसङ्गमा एउटा घटना छ जसले मलाई बेलाबेला हँसाइरहन्छ वा संवेदित बनाइरहन्छ । त्यसको धेरै वर्षपछि मेरा गुरु गङ्गाप्रसाद उप्रेतीसँग बागबजारमा भेट भयो । सायद तिनताक उहाँ विश्वभाषा क्याम्पसमा पढाउनुहुन्थ्यो । उहाँले चिया खाने प्रस्ताव गर्नुभयो । हामी एउटा मिठाई दोकानमा पसेर चिया मगायौँ । दिन पनि कस्तो झमझम पानी पर्न थालेको थियो । उहाँले मेरो बिहे, सन्तान, मेरा राजविराजका केटा तथा केटी साथीहरूको बारेमा पनि डिटेलमा सोध्नुभयो । मैले जानेको भने । करीब  हामी सबैको बिहे भइसकेको थियो । यो कुरापछि उहाँले मलाई एउटा कुरा सोध्नुभयो ः ‘राजविराजमा कलेज पढ्दा तपाईको कोसँग लभ थियो भन्नु त नढाँटीकन ।’  

त्यो बेलाको एउटा घटनाले मलाई निकै उद्वेलित बनाउँछ । तिनताक मेरा फुपाजुका भाइ शिवजीप्रसाद उपाध्याय अमेरिकामा पढेर फर्किनुभएको थियो । फर्कँदा उहाँले कुरियर गरेर धेरै पुस्तकहरू ल्याउनुभएको थियो । त्योसँग ठूल्ठूला पहेँला रङका रुल पेपर ल्याउनुभएको थियो । त्यसको गेज निकै मोटो र राम्रो थियो । हामीले लेख्ने कापी त्यसका अगाडि पिलपिले कागज जस्ता लाग्थे । माग्नका लागि शिवजी भिनाजुसँग डर लाग्थ्यो । अनि शशि र म भएर एक रिम जति ती पहेँला कागज सुटुक्क चोर्यौं । यसबाट मजाको कुरा दुइटा भयो । पहिलो मजा अमेरिकाको कागज भनेपछि कलेजमा हाम्रो सान नै बढ्यो । अर्को मजा के भने त्यो कागजमा तीनपल्ट रफ लेख्न पाइयो । पहिलो पल्ट निलो मसीलाई पातलो पारेर अन्सार लेख्ने अनि सोही ठाउँमा दोस्रो पल्ट गाढा कालो मसीले लेख्ने । अनि तेस्रो पल्ट रातो मसीले लेख्ने  गरियो । आखिर रफ गर्नु त थियो । त्यो बेला फाउन्टेन पेन हुन्थ्यो । त्यसैले लेख्नुपथ्र्यो ।  

राजविराज कलेजमा बिताएका चार वर्षमा अनेकौं मिठा र सधैं सम्झिरहने अल्लारे घटना सम्झन्छु । हडताल थियो । मण्डले केटाहरू हडतालका विरोधी थिए । तिनताक पञ्चायतलाई समर्थन गर्ने विद्यार्थीलाई ‘मण्डले’ भनिन्थ्यो । उनीहरूको सङ्गठनलाई ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ भनिन्थ्यो । कक्षामा केटीहरूको सङ्ख्या पनि राम्रै थियो तर केटीहरू हडतालको झमेलामा नपर्ने भन्दै कक्षा कोठामा बसिरहेका थिए ।  कति विद्यार्थी नेताले कन्भिन्स गर्दा पनि उनीहरू हडताल गर्न निस्केका थिएनन् । अनि म गएर भनेको त कक्षाका सबै केटीहरू कक्षा छोडी बाहिर निस्केका थिए । यो घटनाले मलाई अहिले पनि आनन्द दिन्छ । कत्रो विश्वास थियो त्यो !

सायद म विएमा पढ्थें । त्यसअघि मैले स्वीटर लगाउने अवसर पाएको थिइनँ । मधेसको ठाउँ गर्मी नै हुने हुनाले सर्ट र प्यान्टले नै वर्ष जान्थ्यो । त्यो बेला म सेतो सर्ट लगाउँथेँ । सर्ट सीमित हुन्थ्यो । लाउँदालाउँदा सेतो सर्टमा काला टीकाहरू धुँदाखेरि नजाने गरी बसेका थिए । चेतजन्य अवस्था नै कमजोर भएकाले जीवन यस्तो थियो । यसैबिच मैले विएको एक सेमेस्टरमा स्कलरसिप खाएको थिएँ । त्यो पैसाले एउटा स्वीटर लगाउने खूबै रहर लाग्यो । मैले मेरी शुभद्रा फुपू दिदीसँग स्वीटर बुनिदिनु भनेँ । उहाँले ‘तेरो साथी विमलालाई भन्न । उनीहरूले राम्रो स्वीटर बुन्छन् । नत्र काम चलाउ मै बुनिदिउँला’ भन्नुभएको थियो । यो कुरा मैले विमलालाई भन्न धेरै हिम्मत बाँध्नु पर्यो । धेरै दिन लाग्यो अनि एक दिन मैले विमलालाई स्वीटर बुनिदिन अुनरोध गरेँ । उनले सहर्ष यति चाँडै स्वीकार गरिन् कि म अहिले पनि तीन छक्क पर्छु । मास रङको एकरङ्गा ऊन किनेर दिएको थिएँ । उनले त आफ्नै सेतो ऊन पनि मिसाएर स्वीटर बुनिदिइन् । छातीमा सेता पट्टा राखिएको मास रङको स्वीटर निकै राम्रो बनेको थियो । तिनताक हातले बुनेको स्विटर लाउने चलन थियो । सायद चलानी स्विटर पाइन्न थियो कि ! यो मेरो जीवनको पहिलो स्वीटर थियो । त्यसपछि कति स्वीटर लगाइयो होला, सस्ता–महँगा, लोकल–ब्रन्ेड, गणना नै छैन । तर, त्यो स्वीटरको मात्र याद आउँछ । त्यो मेरो जीवनमा विमलाले छाडेको एउटा अमूल्य सम्झना भएर बसेको छ । दिमागभरि मनभरि त्यही स्विटर घुमिरहन्छ । त्यो स्विटर बुन्नचाहिँ बहिनी विद्याले बुनेकी थिइन् कि जस्तो लाग्छ । सम्झनाले त्यस्तै भन्छ ।

फेरि कुरा विए पढ्दाकै हो । विए त्यो बेला स्नातक भन्थे, को तेस्रो सेमेस्टरको कुरा थियो । इतिहासमा एउटा फिल्ड ट्रेनिङ इन हिस्ट्री भन्ने १ सय नम्बरको कोर्स थियो । त्यो कोर्स फोटोग्रफी, स्केचिङ, रिपोर्ट राइटिङसँग सम्बन्धित थियो । धेरै जसो फिल्ड त लोकल क्षेत्रमै गरिएको थियो तर एउटा फाइनल फिल्डचाहिँ मकवानपुर गढीको थियो । त्यो लगभग हप्ता दस दिनको थियो । खर्च सबै विश्वविद्यालयले नै हाल्थ्यो । जाने दिन भयो । समय नै भयो तर विमला र इन्दिरा आएनन् । हामी त्यो बेला विएमा मेजर इतिहास पढ्ने निर्मल श्रेष्ठ, नारायण रमण उप्रेती, म, विमला अर्याल र इन्दिरा अर्याल गरी जम्मा ५ जना मात्र थियौं । मलाई हरिकान्तलाल दास सरले साइकल दिएर विमलालाई लिन पठाउनुभयो । विमलाकी आमाले ‘छोरी चेली’ भन्ने कुरा झिक्नुभयो । मैले म जिम्मा लिन्छु भन्दै विमलालाई साइकलमै राखेर लिएर आएँ । त्यसैगरी इन्दिराकोमा पुगेर सोही कुरा भयो । इन्दिराको बुवाले मलाई छोरीचेली भएकाले नपठाउन बल नै गर्नुभएको थियो । केही भए जिम्मा लिनुहुन्छ भन्नुभयो । मैले ‘लिन्छु’ भनेँ र इन्दिरालाई पठाउनुभएको थियो । यसरी हामी फिल्ड स्टडीमा गएका थियौँ मकवानपुर गढी । हाम्रो यो यात्रा सकुशल र सुन्दर भएको थियो । उफ मेरो मनोबल, फुच्चे म, तर जिम्मा लिन तयार हुने, रिस्क लिन तयार हुने भएँछु म त ।

हेर्दाहेर्दै बिदाइको दिन आयो । पछिल्लो ब्याचले भव्य बिदाइ गर्यो । मलाई भाषण गर्न लगाएका थिए । त्यो बेला म एकदम सेन्टिमेन्टल भएको थिएँ । किनकि त्यो क्याम्पस, जहाँ मैले जीवनको जग बनाएको थिएँ, त्यहीँ म मेरा सबै यादहरू छोड्दै थिएँ । कति भनिने यादहरू छोड्दै थिएँ, कति भन्न नसकिएका यादहरू छोड्दै थिएँ । गुरुहरूलाई छोड्दै थिएँ, साथीभाइ छोड्दै थिएँ । कलेजबाट बिदाइ भएर बाहिर निस्कँदा आँखामा आँसु रसाएका थिए । साँच्चि भन्दै छु, ती चार वर्ष मेरा जीवनका जग हुन् । त्यही जगमा उभिएर म जीवनको दाइँ हाल्दै छु । मेरा साथीहरू पनि जीवनको दाइँमा संसारको कुनाहरूमा दयाली गर्दै हुनुहोला । सम्झनाका तरेलीबाट सबैमा अभिवादन ! 

यसरी एउटा भुस्कोल विद्यार्थीको रूपमा न्यून मनोबल लिएर कलेज प्रवेश गरेको थिएँ । रहरले भर्ना भएको थिएँ । पास गर्ने कुनै आँट थिएन । चार वर्षपछि निस्कँदा एउटा सुदृढ मनोबल लिएर निस्केको थिएँ । जीवनमा जे पनि गर्न सकिन्छ भन्ने जोस बोकेर निस्किएको थिएँ । काम र मेहनत महत्त्वपूर्ण कुरा हो भन्ने भावना बोकेर निस्किएको थिएँ । त्यो भावनामा म अझै अटल छु । मलाई मेरा घैँटामा यो आँट हालिदिने मविव क्याम्पस राजविराजप्रति ऋणी छु । गुरुहरू यहाँ नाम उल्लेख भएका वा नभएका सबैप्रति ऋणी छु । नमन गर्दछु !  

प्रकाशित: ६ मंसिर २०७७ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App