१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सबैलाई रुवाउने माया

कथा

नारायण कोइराला 

साँझको समय अध्यारो बिस्तारै दिनलाई रातमा बदल्दै थियो।मिनुकी हजुरआमा भर्खर अगेनामा भात पकाउन सुरु गर्दै हुनु हुन्थ्यो।सानी मिनु हजुरआमाको वरिपरि खेल्दै थिएन्। हजुरआमा घरीघरी नचलान भन्नु हुन्थ्यो ।मिनु फिस्स हाँस्दै हजुरआमालाई झन्  चलाउँथी। हजुरआमा पनि खुसी नै हुनु हुन्थ्यो।

भात चुलोमा बसालेर हजुरआमा दाउरा चुलोमा मिलाउँदै , ढुग्रो फुकी आगो  बाल्दै हुनु हुन्थ्यो।बिस्तारै आगो बोल्दै थियो। हजुरआमा अचानक त्यहीं लड्नुभयो।मिनुले हजुरआमालाई के भो भन्दै चिच्याइन्। मिनुको आमा र हजुरबुवा आउनुभयो।

सबैजना जम्मा हुनुभयो । हजुरआमाको होस आउँछ कि भनेर खूब कोसिस गरियो। खेलिरहेकी मिनु पनि हजुरआमालाई बोलाइन् तर हजुरआमाको आवाज आएन।

तुरुन्त नजिकको हेल्थ्पोस्ट लागियो। त्यहाँका इन्चार्जको चेकजाँचपछि उहाँलाई मृत्यु भएको जानकारी आयो। हजुरआमालाई घर लागेर तुलसीको मठनजिकै सेतो रंगको कपडाले छोपी सुताएँ। मिनु हजुरआमाको नजिक गएर बसिन्। उनलाई फकाएर भित्र लगियो। उनलाई बाहिर आउन दिइएन।

हजुरआमाका लागि अन्तिम संस्कारको तयारी गर्न सेतो रंगको कात्रोमा बाँसको साथमा बाँधिदै थियो। मिनु भने भित्रबाट हजुरआमालाई बाँधेको हेर्दै थिइन् । उनी भित्रबाट हजुरआमालाई बोलाईन् ।किन हो  हजुरआमालाई बाँधेको। 

त्यो नानीलाई नदेखाउनु त , यस्तो कुरा बाहिरबाट आवाज आयो।

मिनुलाई उनको आन्टीले अर्को कोठामा लानुभयो। अनि सम्झाउँदै भन्नुभयो, ‘नानू, आमा भगवानसँग जाँदै हुनुहुन्छ ।’ 

यसरी पनि भगवानसंग गइन्छ र !  त्यस भा मलाई पनि बाँध्नु ।  म पनि हजुरआमासंग भगवान् भएको ठाउँमा  जान्छु। मिनु झन् रुनकराउन थालिन्।

मिनुको आँखा नजिक रहेको हजुरआमा मोबाइलमा पर्यो।मोबाइल लिएर हजुरआमा भएतिर जान खोजिन्। आन्टीले मिनुलाई रोक्दै थिइन् । फेरि पनि मिनु मोबाइल लिएर बाहिर गइन् ।मोबाइल हजुरआमा भएकोतिर लिएर जान लागेको देखी  उनलाई रोकियो।

मिनु चिच्याउँदै भनिन्, ‘कस्ता हुन् ! मेरी हजुरआमालाई कता लिएर जाँदै छन् ! हजुरआमा जता लगे पनि यो फोन लिएर जानु अनि मलाई भगवानसंग समय मागी फोन गर्नु।

यति भन्दै मिनु फोन फालिन् । फोन हजुरआमाको लासमा गएर झर्यो।

मिनुको बालापनको मायाले सबै निशब्द भए।  मिनुलाई भित्र तानियो। तुलसीको मठबाट लास उठाइयो।

प्रकाशित: ६ मंसिर २०७७ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App