१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मोड

कथा

मन गहिरे

पाल्पाबाट चढेको बस भैरहवा बसपार्कमा रोकियो । म त्यहीँ ओर्लिए । गर्मीले खलखल्ती पसीना आउँछ । मुख सुक्खा हुन्छ । चिसो खान एउटा रेष्टुरेन्टमा गएको त के भन्ने ? उफ ! म यो के देख्दैछु ? तृष्णाको श्रीमान् तिलक अर्की केटीसँग ?

म अवाक् हुन्छु । उसले मलाई देखेको नदेखेझै गरी त्यही अर्की केटीको हात समाउँदै बाहिरिन्छन् । होटेलवाली बहिनीले – “हेर्नुसन् कलि, यो बूढाको नातीनातिना छन् रे यो केटीलाई बिहे गरेर यही नजिकै घर किनेर राखेको छ ।”

म होटेवालीको कुराले झनै आश्चर्यमा पर्छु ।

तृष्णा मेरी अति मिल्ने साथी हो । बीस वर्षको उमेरमा खरिदार तिलकसँग बिहे गरेपछिका चार वर्षभित्रै उसका एक छोरा र एक छोरी जन्माई । उनीहरूलाई हुर्काउने, पढाउने ऊ एक्लै गर्दै आई । प्रायः तिलक जिल्ला बाहिरै हुन्थे । घरमा त छुट्टी मिलाएर मात्र आउथे । खरिदारबाट तिलकमानको पदोन्नत्ति हुँदै गयो । उनी हाकिम बने। छोराछोरीको राम्रो पढाइ भएकै कारण राम्रो पोष्टमा जर्मनीतिर लागे । छोराछोरीको धुमधामसँग बिहे पनि गरिदिए । उनीहरू जर्मनीतिरै सिफ्ट भए । तृष्णालाई छोरी–जुवाइँ, छोरा–बुहारीले सामान, पैसा पठाइरहन्थे । यता तिलक पनि श्रीमतीसँग राम्रै व्यवहार गर्दथे तर जब रुपन्देहीमा सरुवा भएर आए, तब छुट्टीमा पनि बिस्तारै घर आउन छाडेका थिए । तैपनि तृष्णाले संसारकै भाग्यमानी आफूलाई ठान्थी । प्रायः श्रीमान् बाहिर हुने हुँदा उसले एकान्तका साथी पुस्तकलाई बनाएकी थिई । धर्म, दर्शन र विज्ञान यिनै विषयको ऊ अध्ययन गर्थी । आज तृष्णा पैतालिस वर्षकी भई । श्रीमान् पचपन्न वर्षको । अहिले यो उमेरमा आएर तृष्णामाथि सौता ? मलाई के गरूँ कसो गरूँ भयो । तृष्णालाई आफ्नो श्रीमान्को कर्तुत थाहा छ, छैन होला, तर्कना खेल्न थाल्यो । मलाई त्यो तिलकसँग बिहे गर्ने त्यो नौली केटीसँग एकान्तमा भेट्न मन लाग्यो । म तिलकले नयाँ किनेको घर पत्ता लगाएर त्यहीँ पुग्छु । जब लितकमान अफिस जान गेटबाट बाहिरिन्छ । तब म त्यहीँ गेटबाट भित्र पस्छु । घण्टी बजाउँछु । त्यही केटीले ढोका खोल्छे ।

– तिम्रो नाम के हो ?

– म लतिका ।

– तिम्रो बिहे कहिले भा’को हो ?

– तीन महिना भयो ।

– श्रीमान् कति वर्षको हुनुभयो त थाहा  छ ?

– उहाँ त पचपन्न वर्ष तर म पच्चीस वर्ष...।

– उहाँको घर –परिवार छैनन् ?

– नाई........। विचराको दुई वटा सन्तान पाएर दुलही क्यान्सर भएर मरेकी रे । छोराछोरी विदेशतिर लागेछन् । उनी पनि एक्लै म पनि बेसहारा थिए । मेरो श्रीमान् भनाउँदाले मलाई अलपत्र पारेर हिँड्यो । हामी दुईको मन मिल्यो, हामीले बिहे गर्यौं तर मलाई यस्तो प्रश्न किन गर्दै हुनुहुन्छ हँ ...?

हेर लतिका ! तिमीले मलाई अन्यथा नसोच । म तिम्रै भलो चाहन्छु । तर तिम्रो यो बूढो श्रीमान्ले तिमीलाई ढाँटेछ । यसको दुहली कुनै क्यान्सर भएर मरेकी छैन । यसकी श्रीमती उहाँ घरमा जिउँदै छ । कुनै रोग नलागेकी निरोगी छे । बुझ्यौ ?

– हँ, यो मान्छेले पनि मलाई ढाँट्यो ?

– हो । नपत्याए उसको घरमा गएर हेर्न सक्छ्यौ ।

म यही कुरा तिमीलाई भन्न आएकी । म अब लागे भन्दै म बाहिरिए । लतिका निलीकाली भएर भयावह स्थितिमा थिई । म त्यहाँबाट सरासर मालपोत कार्यालयमा गएर आफ्नो काम सकी त्यसै दिन पाल्पा फर्किएँ ।

म कति बेला तृष्णालाई भेटूँजस्तो लाग्छ । भोलिपल्ट बिहानै तृष्णा कहाँ पुग्छु । भैरहवाको उसको श्रीमानको घटना गुमराहमा राख्नुभन्दा यथार्थ सुनाइदिन मन लाग्छ र मैले सबै कुरा तृष्णालाई बताइदिएँ । उसलाई थाहा नै रहेनछ । तृष्णा त चिच्याई मलाई नै उल्टै गाली गरी, “राधा, त जाली– फटाही मेरा घर बिगार्न आउँछेस् ।

मलाई नानातरह गाली गरी तैपनि मैले उसलाई सम्झाएँ, – तृष्णा, साँचो कुरा के हो, तिमी आफै भैरहवा गएर बुझ ! बरु मसंगै जानु परे जान्छु, बुझ्यौ नि ?

तृष्णाले फेरि मलाई नै आग्रह गरी । हामी भोलिपल्ट भैरहवा त्यही घरमा पुग्छौ । जहाँ कचहरी बसेको थियो । लतिका जोडजोडसँग चिच्याइरहेकी थिई, “ यो बूढाले मलाई ढाँट्यो ।”  

यो देखेपछि तृष्णा त्यहींबाट फरक्क फर्किएर हामी पाल्पा जाउँ भनी । सायद उसले त्यो सहन सकिनँ । सायद त्यो श्रीमान्को मुख हेर्न मन लागेन । हामी पाल्पा फर्कियौ । उता लतिकाले दश लाख रुपियाँ नगद र त्यो घरमा आफ्नो बनाएर तिलकसँग सम्बन्ध– विच्छेद गरिछ । तिलक एक्लै डेरामा बस्न थाल्छ । यता तृष्णालाई आफ्नो श्रीमान्ले गरेको छलकपट र धोकाबाट असह्य हुन्छ । एक्ली तृष्णा बिस्तारै डिप्रेसनको शिकार बन्छे । न  समयमा लुगा फेर्छे  न समयमा खाना खान्छे । ऊ लोग्ने मान्छेको आवाज सुन्न चाहन्न । उसलाई घृणा लाग्छ । एक दिन त उसले त्यो लोग्नेका लुगा जति थुपारेर आगो बालिदिन्छे । आगो दन्किदै माथिल्लो तलासम्म पुग्न थाल्छ । भाडामा बस्नेहरू दौडादौड गर्छन् । सबै मिलेर आगो त निभाउँछन् तर समाजमा तृष्णा बहुलाई भन्ने हल्ला फिँजिन्छ । म फेरि तृष्णा कहाँ जान्छु । उसलाई सम्झाएर मेडिकल कलेजमा लान्छु । डिप्रेसनको औषधि चलाएपछि ऊ पूर्णतयाः ठिक हुँदै गएकी थिई । एकदिन उसको श्रीमान् तिलक घर फर्किन्छ । ढोका ढकढक गर्छ । तृष्णाले ढोका खोल्छे, त्यही धोकेबाज श्रीमान्लाई देख्छे ।

“तँ मेरो घरमा किन आइस् ? तँ मेरो लागि मरिसकिस् । तँलाई यहाँ आउन लाज –सरम छैन ? तँ गइहाल् । फर्किहाल् ।”

तिलक चूपचाप त्यहीँबाट फर्कियो । तृष्णा एक्लै जिउने प्रयत्न गर्दै थिई । एक दिन भारतको जोतपुरबाट तृष्णाकी सानीमा आउँछिन् । उनी भक्तिनी भएकी थिइन् । एक दिन आफ्नो घर सबै भाडामा दिएर तृष्ण पनि तिनै भक्तिनी सानीआमासँग सुटुक्क त्यो घर छोेडेर हिँडी । कहाँ, कुन ठाउँमा गई कसैलाई थाहा थिएन । उनको खोजी गर्ने पनि कोही थिएन । तीन वर्षको फरकमा....  

‘तिलक, सिद्ध आश्रममा एउटी माता आएकी छन् रे । त्यहाँ त रोगी, योगी सबैको लर्को लागेको छ । उनको आशीर्वचनसुन्न भिडन्त छ । जाउँ न हामी पनि एकचोटि...।’

रनपालले तिलकलाई कर गर्छन् तर अशक्त, रोगी तिलक ओछ्यानमा पल्टिरहेको छ । बिस्तारै उठ्दै “रनपाल म उभिन त सक्दिन होला । कसरी त्यो माता कहाँ जाउँ ? सुन्न त मैले पनि माताको बारेमा धेरै सुनेको छु ।”

“तिलक बरु सुस्तसुस्त जाउ । तिम्रो मनमा पनि केही शान्ति मिल्ला ।”

“म जस्तो पापी मान्छे त्यो माताको चरण पर्न जाऊ । त्यो प्रकाण्ड विदुषी नारी एकपटक त दर्शन गर्ने मन त छ ।”  

लल जाउँ त.....। दुवै जना सिद्ध आश्रममा जान्छन् ।

सिद्ध आश्रमको ठूलो हलको अग्रभागमा श्रृंगारिएको आसनमा विराजमान भएकी, गेरुवावस्त्र, रुद्राक्ष माला धारण गरेकी, ललाटमा लामो टिका, लामो कालो केशको जुरो बनाएर तलपट्टि कपाल झारेकी, गोरो वर्णकी दिव्य भगवानकै रूपधारण गरेकी माताले नयनका हाउभाउ उचाल्दै गरेका सुमधुर वाणी श्रोताहरू मुग्ध भएर सुनिरहेका थिए । टाढैबाट देखिएको दृश्य हो । हजारौ मानिसको भिड छिचोल्दै तिलक र रनपाल पनि अरू श्रोताको बिचमै बसे । उनको अमृतवाणी निकै सत्य र मार्मिक थिए ।

“मानिसले सुखमा कहिल्यै ईश्वरलाई सम्झिदैन । तब सम्झिन्छ जब दुख, कष्ट र आपतविपतमा परेको हुन्छ । त्यो पनि स्वार्थी प्रवृत्ति नै हो । यस्तो स्वार्थलाई हामीले त्याग्न सक्नुपर्छ । ढोंगी बनेर मात्रै पनि ईश्वर प्राप्त गर्न सकिदैन । घरबार त्याग्दैमा पनि ईश्वर प्राप्त गर्न सकिँदैन । पवित्र आत्मादेखि आध्यात्मिक चिन्तन जबसम्म हुँदैन तबसम्म ईश्वर प्राप्ति हुँदैन । संसारको अर्थ बुझ्न सकिँदैन । हामीले आफ्नो कर्तव्य नभुली आआफ्ना अधिकारले सही प्रयोग गर्दै सच्चा, इमानदार मनले ईश्वरलाई सम्झन सक्छौं । आध्यात्मिक चिन्तनले मनका विकारहरू हटेर जान्छन् ।” यसरी बच्चा, बूढा, युवा सबै उनको प्रतिभाको प्रशंसा गर्थे । कार्यक्रमको समय सिद्धि नै लागेको थियो हजारौ मानिस उनको चरण छुन गए । त्यही लाइनमा तिलक पनि थिए । जब माताको चरण छोए ।

माताले भनिन् – “मूर्ख बालक तिम्रो गल्तीको कारण आज तिमीले मेरो चरण छुनुप¥यो । नत्र म सधंै तिम्रो चरणमुनि हुन्थे ।”

– हँ ! तिलकले टाउको उठाउँदै माताको अनुहारमा हेर्छन् । उही आफ्नी पूर्व पत्नी.....।

तिलक गिडगिडाउँछ – “माता, मलाई माफ गर्नु .....।”

माताले भन्छिन् –  “गल्ती गरेर माफ माग्ने होइन, त्योभन्दा त गल्ती नै नगर्नु । सांसारिक भोगविलासमा समर्पित मान्छेको अन्त्य अवस्था यस्तै दुख र नैराश्यमा नै बित्छ ।” जाऊ, तिम्रा बँचेका दिनमा सत्कर्म गर, तिमी जस्ता झूठ धोकेबाजहरूलाई सुधार, समाजका विकृति र विंसगतिलाई हटाउने प्रयत्न गर । तिमीले मलाई होइन, ईश्वरलाई सम्झ । आध्यात्मिक चिन्तनमा लाग । अब गइहाल....।

तिलक र रनपाल एउटा नयाँ अर्ती लिएर डेरामा फर्किन्छन् । माता बनेकी तृष्णालाई भेट्न म पनि त्यही पछाडि लाइनमा थिए । तृष्णाको त्यो रूप, उसको पतिको त्यो अवस्था म हेरिरहे तृष्णा र तिलकका जीवनमा आएको हरेक मोडहरूको साक्षी बनेकी म मनमनै भनें,  “ जस्तो कर्म उस्तै फल ।”  

प्रकाशित: ६ मंसिर २०७७ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App