४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

असर

लघुकथा

आचार्य प्रभा  

 

‘छ्या त्यो निर्मलीले बुढेसकालमा पेण्ट लाएर के नौटंकी देखाकी होला नि !’ बिनाले फेसबुक फोटो हेर्दै आफ्नी छोरीलाई भनिन् ।

– देश गुनाको भेष,कपाल गुनाको केश भन्ने थाहा छैन हजुरलाई ! विदेशमा  बसोबास भएपछि साडी, चोलो लाएर साध्य हुन्छ । भोलि हजुर पनि आफ्ना छोराकोमा अमेरिका जानुभो भने नलाई धर पाउनुहुन्छ ।

– आ छाडी दे यस्ता कुरा। ज्यान गए नि म त लाउँदिनँ। बूढी घोंडी, लाल लगाम भनेझैं लाजको पसारो।

यसरी आमा र छोरीको वार्तालाप संगीताले पनि सुनिरहेकी थिइन्। उनले केही नबोली विचार गरिरहिन् किनकि बिनाको सोंच र अरूको चियो गर्ने बानीसँग उनी परिचित थिइन्।

केही समयपछि संगीताले फेसबक खोल्ने क्रममा बिनाका तस्बीरहरू देखिन्। अरूले पेण्ट लगाएको देखेर छिछि र दूरदूर गर्ने मान्छे झन् उसले त हाफ़्प्याण्ट नै लगाएर पोजपोजका तस्वीरहरू पोस्ट गरेकी देखेर, अल्पभाषी स्वभावकी संगीतालाई पनि असह्य भएर प्रतिकृयामा पोखिन्, ‘बूढी घोंडी, लाल लगाम भनेर अरूलाई खिसी गर्नेले त झन् बूढी घोंडी हाफ़्पेण्ट लगाउनै पो गर्नु भाको !’

संगीताको व्यंग्यमय प्रतिकृयाले  बिनालाई मर्नुभो र उसले जवाफमा लेखी, ‘के गर्नु, देश गुनाको भेष, कपाल गुनाको केश भनेको यही रहेछ। यहाँ साडी– चोलो लगाएर कहाँ काम चल्दो रहेछ र !’

आफ्नी आमा र संगीताको प्रतिकृयारूपी बहस पढेर बिनाकी छोरीले पनि जवाफमा प्रतिकृयामा यस्तो लेखी, ‘कहिल्यै पनि कसैलाई प्याच्च केही भनी हाल्नु हुन्न। भोलिको दिनमा खान्न भनेको कुरा खानुपर्छ, जान्न भनेको ठाउँमा जानुपर्छ, लाउँदिन भनेको कुरा लाउनुपर्छ। अरूलाई लाएको बचन आफैलाई फर्किन सक्छ तर बाध्यताले पेण्टसम्म त लाउनै पर्छ विदेशमा । हजुरले त हाफ़्पेण्ट नै लाउनुपर्ने बाध्यताचाहिँ  के थियो कुन्नि !’

छोरीको प्रतिकृयाले मात्र बल्ल आमाको आँखा खोलिएझैं लाग्यो र उनी विगतको आफ्नो बानी सम्झेर आफै निरश बनिन्।  

प्रकाशित: १७ कार्तिक २०७७ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App