१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बोल्नुको रहस्य

लघुकथा

तारा केसी

 

गाउँबाट शहर आएपछि उनी बिलकुल  एक्लोजस्तै भइन्। छोराछोरी आआफ्नो काममा हिडेपछि उनीसँग मुख बोल्ने साथी कोही हुँर्दैनथ्यो । घरको काममा केही समय बितेपछि कहिले गमलाका फूलहरूसित भुलिन्थिन् त कहिले टेलिभिजनतिर आँखा  लाउँथिन् । यसो कहिलेकाहीँ  छिमेकका साथीहरूसित चिया खाजा खाँदै सुखदुखका कुरा गरौ।मन बहलाउँ र आत्मीयता साटौ जस्तो पनि लाग्थ्यो उनलाई तर छोरीहरू भन्थे, ‘आमा, कसैसँग पनि केही कुरा नगर्नु है। यो समाज राम्रो छैन। कुरा काट्ने आइमाईहरू मात्र भेटिन्छन् यहाँ त ।’

छिमेकतिर बोल्ने मनसाय हुँदाहुँदै  पनि खुलेर कोहीसँग बोल्न सक्दैनथिन् उनी । एकदिन घरबेटी बहिनीले भनिन्, ‘दिदी,  हजुरसँग कुरा गरेको देखेर त्यो पल्लोघर किन्ने आन्टीले त यसो पो भनिन् – छि तपाईं  त के भाडामा  बस्नेहरूसित पनि बोलिरहनु हुँदो रहेछ। तिनीहरूसित आत्मीयता  देखाउन हुन्न क्या ।’

घरबेटी बहिनीले सुनाएको कुरामा उनी छक्क परिन्। घर त सबैको हुन्छ कोहीको शहरमा कोहीको गाउँमा। तिनको कति साँगुरो सोच रहेछ। छोरीहरूले भनेका कुरा सम्झिएर चुप लागिन् उनी । भाडामा बस्नेलाई नबोलाई घर हुनेलाई मात्र बोलाएर त्यो नयाँ छिमेकी आन्टीले घरमा पूजा लगाइन् ।

एकदिन त्यो नयाँ छिमेकीले  शिष्टतापूर्वक  आफ्नो घरमा बोलाएको कुरा उनले छोरीहरूसित भनिन् । छोरीहरूले त्यो चतुर छिमेकीको कुरा सुनेर हाँस्दै भने , ‘कुरा यस्तो नि आमा, त्यो आन्टीले अचेल आफ्नो घरमा पसल खोलेकी छिन्। व्यापार बढाउन  खोजेकी होलिन् नि। घर हुनेहरू तिनको पसलमा जाँदैनन्। सबै सपिङ सेन्टरतिर जान्छन्। भाडामा बस्नेले किने न हो तिनको व्यापार हुने।’

कुरा त्यस्तो पो रहेछ। बोल्नुको रहस्य । शहरका मान्छे स्वार्थी हुन्छन् भन्थे हो रहेछ, ताकपरे तिवारी नत्र गोतामे ।

प्रकाशित: ४ कार्तिक २०७७ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App