२० असार २०८१ बिहीबार
image/svg+xml
कला

म पनि कालु पाँडे पुगें नि !

सुयोग मान सिंह बस्न्यात

 

लकडाउन खुकुलो भएपछि श्रावणको पहिलो हप्ता ध्रुव लौडारी अंकल र बाबा सुटुक्क दहचोक साइकलमा पुगेर आउनुभएछ । फोटो हेरेपछि म पनि त्यहाँ जान पाए हुन्थ्यो भनेर बाबासँग मनको कुरा राखें । उता फेरि बाबाको साथीहरू – मक्षिन्द्र अंकल, महेन्द्र अंकल र सुभाष अंकलले पनि फेसबुकमा बाहरूको फोटो देखेपछि “आफूहरू मात्रै सुटुक्क जाने ? हामीसँगै गयौं भने कोरोना लाग्छ भनेर हो कि के हो आपूmहरू मात्रै गएको ?” भनेर ठट्टा गर्नुभएछ । त्यस पछि फेरि गत श्रावण ३१ गते शनिवार दहचोक जाने तिथि जु¥यो ।  

उक्त दिन बिहान ८ः०० बजेतिर महेन्द्र अंकल, सुभाष अंकल, देबेन्द्र अंकल (उहाँहरू पेशाले सबै जना एटिसि अफिसर हुनुहुन्छ । ), नगेन्द्र भट्टराई अंकल (नेपाल वायुसेवा निगमको पाइलट हुनुहुन्छ ।), बाबा र म गरी ६ जना कलंकी चोकमा भेला भयौं । उता मक्षिन्द्र अंकल र नरेन्द्र सेजुवाल अंकल जान नभ्याउने भन्ने खबर आयो ।  त्यसपछि हामी ६ जना दूरी कायम गर्दै सिउचाटा, खड्का गाउँ हुँदै दहचोकतिर लाग्यौं । खड्का गाउँमा ढल हाल्ने काम भइरहेको रहेछ जसले गर्दा कतैकतै बाटो अलि खराब थियो । कलंकीबाट पच्छाउन थालेको उकालो राक्षसले करीब ९÷१० किमी यात्राभरि चन्द्रागिरि नपा १ मा पर्ने दहचोक स्थित काजी कालु पाँडे समाधिस्थल  नपुगुन्जेलसम्म पिछा छोडेन र उक्त उकालो राक्षसले हामीलाई अत्ताउन खोज्थ्यो, तर हामी आत्तिएनौं । बरु चुनौतीलाई सहजै स्वीकार्दै ठाउँठाउँमा पानी, चक्लेट, बिनाकन्जुस्याइँ प्रकृतिले दिएको शुद्ध वायु अनि प्रकृतिको सुन्दर दृश्यपान गर्दै बाटामा भेटिएका परिचितअपरिचित साइकल यात्रीहरूसँगै सद्भाव साट्दैै अघि बढ्यौं । यसै क्रममा साइकलका हस्ती छिमी अंकलसँग पनि भेट भयो । उहाँले भविष्यको “राइडर” भनेर मेरो हौसला बढाउनुभयो । त्यस्तै बाबाको कुनै समयका विद्यार्थीहरू विज्डम पाण्डे, किशोर श्रेष्ठहरूसँग पनि भेट भयो । उहाँहरू पनि हामीजस्तै साइकल यात्रामा हिँड्नुभएको रहेछ । 

शीतल थियो दिन । अझ भनौं कतिपय ठाउँमा बाक्लो हुस्सुसँग लुकामारी खेल्दै बाटाको छेउछाउमा बन्दै गरेका रिसोर्टहरू, बौद्ध विश्वविद्यालय, चौतारो, धान झुल्दै गरेका हरिया फाँट, उपत्यकाको रमाइलो दृश्य हेर्दे अगाडि बढ्यौं  बिहानको १० बजेतिर हामी दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थल पुग्यौं । सायद तरवारले सुसज्जित काजीको अजङ्गको शालिक देखेर होला उकालोरूपी राक्षस पनि गायब भयो । काजीको समीपमा पुग्दा नपुग्दै ममा छुट्टै शक्ति पैदा भएको अनुभुति भयो अनि थकाइ पनि गायव भयो । त्यहाँ पुग्दा ओशो पुजारी अंकल, डायमण्ड अंकल, श्रीराम अंकल, उत्तम अंकल लगायतका अंकलहरू फोटो खिच्नमा व्यस्त हुनुहुन्थ्यो । हामीले दूरी कायम गर्दै सामुहिक फोटो पनि खिचायौं । डायमण्ड अंकल, ओशो पुजारी अंकलहरूले चक्लेट, बिस्कुट जस्ता खानेकुरा दिनुभयो । उहाँहरूले बाबा र मलाई सँगै खाजा खान बोलाउनुभयो  तर हाम्रो छुट्टै समूह भएकोले धन्यवाद दिंदै हामी आफ्नो टोलीहरूसँग समाधिस्थलसँगैको भ्यूटावर रिर्सोटमा पेट पूजातिर लाग्यौं ।

दहचोक उचाइबाट उपत्यकाको चारैतिर हेरयौं । हुस्सुले ढाकेकोले दृष्य त्यति प्रष्ट थिएन । अझ त्यस ठाउँबाट गोरखा, नुवाकोट देखिन्छ रे । हुस्सुले गर्दा हामीले त्यो सौभाग्य पाएनौं । मनकामना मन्दिर, इन्द्रदह, बाटोमा पर्ने स्विजरल्याण्ड पार्क र बन्दै गरेको भ्यूटावरले पनि दहचोकको महत्व बढाएको देखिन्छ । कीर्तिपुरको युद्धमा विरगति प्राप्त गरेका काजी कालु पाँडेलाई समाधिस्थ गरेको हुँदा हाल यस ठाउँलाई बोलीचालीमा कतिपयले कालु पाँडे समते भन्न थालेछन् । यसरी  म पनि साइकल चलाएरै कालु पाँडे पुगें नि !

                                                       कक्षा–६,

            विद्या संस्कार विद्यालय (चेल्सी इन्टरनेशनल एकेडेमी स्कुल) गोकर्णेश्वर–८, काठमाडौं ।       

प्रकाशित: ४ कार्तिक २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App