अप्सरा भट्टराई
हिजो बजारबाट सौदा किनेर घर फर्कदै थिएँ । देब्रे हातमा गरौं झोला थियोँ । दाहिने हातको मोबाइल बजिरहेको थियों । फोनको रिङ्गभन्दा पनि आफ्नो अगाडिको भिडबाट आएको आवाजतिर मेरो ध्यान गइरहेको थियोँ । म भिडमा चिहाउन पुगे ।
एउटा मान्छे , टिसर्ट उचाल्दै कम्मरमा बाधिँएको नाम्लो फुकाउँदै थियोे। उसको पिठ्युँमा केही आला र सुकेका घाउ देखिन्थे । दुवै हात जोडेर , सबै बटुवाहरूसंग गाँस र बासका लागि अनुरोध गर्दै थियोँ । रुँदैकराउँदै भन्दै थियो , ‘म भरिया हुँ हजुर । भारी बोकेर राम्रै कमाउथेँ । आज ५ हजार घरभाडा तिर्न नसक्दा घरबेटीले निकालिदिए। म एकल पुरुष कहाँ जाऊँ ! ’
– अब त हजुर , रोगले भन्दा भोकले पो मर्ने भएँ । त्यो दृश्य देखेर पनि नदेखेझैँ गरौं मन लिएर पर पुगिसकेको थिएँ।
हाम्रो घरमा कोठा खाली भएको सम्झेँ । टक्क अडिए । फनक्क पाइला घुमाउदैँ फेरि त्यहीँ फर्केँ । त्यहाँ भिड हटिसकेको थियो । पुर्पुरोमा हात राखेको भरियाले पुलुक्क हेरे । उसलाई लिएर घर पुगेँ । छिडीको कोठा देखाइदिँए। उनले गुन्टा बिसाए। आराम गर्नुस् हैं भनेर म माथि उक्लिएँ ।
– अब त पाँच हजार भए पनि महिनैपिच्छे हातमा पर्ने भयो है बूढा ! बूढीले उज्यालो अनुहार पारिन् ।
उनको कुराले म झस्किएँ अनि भरियाको कहानी सुनाउन थालेँ । मेरा कुरै नसुनी बजारिया ठगलाई घर ल्याएर सित्तैमा राख्नेँ अहिले निकाल्छु भनेर रुद्रचण्डी बनिन् ।
आफ्ना भूकम्पको बेलाको कुरा कोट्याए, ‘आज विश्व नै कोरोनाको चपेटामा परेको बेला छ । काम पाइँदैन । यस्तो बेलामा मानवता देखाउनु हाम्रो मानवीय धर्म हो नि , बूढी ।’
आखिर उनी पनि कोमल मन भएकी महिला न हुन् । विगत सम्झेर भक्कानिदैँ रुन थलिन्।
भरियालाई बोलाएर पाकेको खाना टन्न हुने गरी खान दिइन् । उनले स्वादले खाएको देखेर आनन्द लाग्यो। सुख र सन्तोषको सास फेरे ।
खाना खाइसकेपछि देब्रे हातले पेट मुसार्दै भरियाले भन्यो , ‘आज त पेटको कुनाकाप्चा भरिने गरेर खाएँ । हजुरहरूको जय होस्, सधैं दिएरै खान पुगोस् ।’
प्रकाशित: २ कार्तिक २०७७ ११:०५ आइतबार