१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आफूलाई संगीतको विद्यार्थी ठान्छु: विन्दु परियार

विन्दु परियार, नेपाली सांगीतिक क्षेत्रमा कुनै नयाँ नाम होइन। उनी यो क्षेत्रमा क्रियाशील भएको झण्डै डेढ दशक भइसकेको छ। ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’, ‘म के गरु’ लगायत तीन दर्जनभन्दा बढी गीत उनले गाइसकेकी छन्। हालै उनको ‘माया गर्छु है’ बोलको गीत बजारमा आएको छ।  

उनै गायिका विन्दुसँग सांगीतिक जीवन, संघर्ष र आगामी योजनाबारे नागिरककर्मी पवन बराइलीले गरेको कुराकानीः

भर्खरै सार्वजनिक ‘माया गर्छु है’ गीतबारे कस्तो प्रतिक्रिया आइरहेका छन्?

गीत सार्वजनिक हुनुभन्दा अघि निकै डर लागिरहेको थियो। अहिलेको प्रतिस्प्रर्धात्मक बजारमा दर्शकले मन पराउनुहुन्छ कि हुँदैन भन्ने डर थियो। साचेभन्दा राम्रा प्रतिक्रिया आइरहेका छन्। युवा पुस्तालाई लक्ष्य गरी ल्याइएको गीत हो यो। ‘टिपिकल’ शब्द छन्, गीतमा। यो गीतलाई लोक लयको गीत पनि भन्न मिल्छ। मैले गाएको अन्य गीतभन्दा अलि फरक छ।  

कोरोना महामारीका कारण अहिले स्टेज कार्यक्रम हुँदैनन्। निकै गाह्रो भइरहेको होला, हैन?  

मलाई मात्रै नभएर धेरै कलाकारलाई गाह्रो भएको छ। स्टेज कार्यक्रम नै आम्दानी स्रोत थियो। अहिले ठप्प छ। तर अहिले अन्य केही काम भइरहेका छन्। जीवन चलिरहेको छ। लामो समय गयो भने निकै गाह्रो हुन्छ। त्यही भएर पनि यो बीचमा गीत बनाउने काम भइरहेको हो।  

गीत/संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?  

स्कुलमा सांस्कृतिक कार्यक्रम हुन्थे। गीत गाएर थुप्रै पुरस्कार पनि जितेकी छु। त्यसपछि त झन् मीठो स्वर छ भनेर धेरैले मन पराउन थाल्नुभयो। गाउँ (दाङ) मा ‘सिङगिङ स्टार प्रतियोगिता’ भएको थियो। त्यस प्रतियोगितामा प्रथम बन्न सफल भएँ। त्यसपछि फिल्मका गीत गाउने अवसर पाएँ।  ‘अप्रिल फुल’ फिल्मकोे ‘तेरो मेरो पिरती’ बोलको गीत गाएँ।  

गीत रिलिज भएपछि सबैबाट एकदमै राम्रो प्रतिक्रिया आयो। जसले अब काठमाडौंमै बसेर संघर्ष गर्नुपर्छ भन्ने उत्प्रेरणा दियो।  

पहिले र अहिलेको गीत/संगीतमा के कस्तो फरक पाउनुभएको छ?

प्रविधिले फड्को मारिसकेको छ। युट्युबजस्तो सजिलै गीत सुन्न मिल्ने प्लेटफर्म आएको छ। पहिले क्यासेट तथा रिलको जमाना थियो। सिआर बिटी, पिआर बिटी र रेडियो/टेलिभिजनमा प्रमोसन हुन्थ्यो। अहिले युट्युब आएको छ। युट्युब नै आम्दानीको स्रोत बनेको छ। अहिले आफूसँग भएको कला प्रस्तुत गर्न सजिलो छ।साथै चुनौती पनि थपिएका छन्।  

पछिल्लो समय आइरहेका गीत र संगीतको बजारलाई कसरी नियालिरहनुभएको छ?  

माया गर्छु है बोलको गीत आएपछि थप ऊर्जा मिलेको छ। दर्शकले दिएको मायाले झन् हौसला मिलेको छ। यसले झन् आफूलाई थप उत्साह मिलेको छ। अब आउने दिनमा राम्रो गीत गाउनेछु।  

पहिले गीत रेडियोमा सुनिन्थ्यो, तर अहिले भिडियोमा हेरिन्छ। यसैले भिडियोमा पनि उत्तिकै मिहिनेत गर्नु पर्नेरहेछ। अहिले गीत हेरेर चल्ने जमाना आयो। तर हेर्ने गीत मीठो बनाउन सिर्जना नै राम्रो हुनुपर्छ।  दर्शकलाई बाँध्न सिर्जना नै बलियो हुनुपर्छ। त्यसपछि गीतको भिडियो र अभिनय पाटो नै महत्वपूर्ण हुन्छ।  

तपाईं लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ। आफैंले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

हामी कलाकारका लागि गीत/संगीत महासागर हो। यो महासागरमा म पनि पौडिँदै छु। सिक्दै छु। संगीतलाई जति गहिराइमा बुझ्दै गयो, उति नै गहन लाग्छ। गीत/संगीतमा केही गरौं भन्ने प्रतिभा हुँ। त्यसैले सिक्दै गीत/संगीतमै रमाइरहेकी छु। आफूलाई संगीतको विद्यार्थी ठान्छु। 

गीत गाएर बाँच्न सकिन्छ?

गीत गाएर जीवन निर्वाह गर्न सकिन्छ। अहिले समय गायन क्षेत्रमा प्रतिस्पर्धा बढेको छ। मेरा श्रीमान् पनि संगीत क्षेत्रमै हुनुहुन्छ। त्यसैले पनि संगीतमा निर्वाह गर्न सजिलो भएको छ। जीवनमा एकैचोटि ठूलो सपना बोक्न हुँदैन। गीत संगीत सजिलो विधा होइन। त्यसैले राम्रो गर्छु भनेर गीत संगीतमा लाग्यो भने बाँच्न सकिन्छ।  

भविष्यमा कस्ता गीत गाउने सोचमा हुनुहुन्छ?

जसरी पहिलो ‘पर्ख पर्ख मायालु’,‘पहिलो नम्बर’ मा जस्ता मेरा गीतलाई दर्शकले रुचाइदिनुभयो। यस्ता गीत फेरि गाउनेछु। सबैको मन जित्ने गीत गाउँछु। भाइरलका नाममा जस्तो पायो, त्यस्तो गीत गाउँदिनँ। दर्शक/स्रोताको मन छुने गीत गाउने रहर छ।

प्रकाशित: २९ आश्विन २०७७ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App