१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बहाना कोरोनाको

लघुकथा

आचार्य प्रभा 

 

लाशको मुखबाट अक्सिजन मास्क झिकियो। आफन्तहरू टाढैबाट गहभरि आँसु पार्दै हेरिरहेका थिए । धेरैबेरसम्म लाश घरमा नराख्ने सल्लाहानुसार लाश चाँडै सद्गत गर्न लाने भए । थोरै मान्छे मात्र गए सद्गत गर्न।

सबैका आआफ्नै सान्त्वना र गुनासाका शब्दहरू गुञ्जिरहेका थिए।

जेठो छोरो बिलौना पोख्दै थिए, ‘बुवालाई आजन्म आफूसँगै राखेर सेवा गर्ने धोको अपूरै रह्यो । आमा उता बेहोस भई  ढलेकी थिइन्।मलामीहरू घर फर्किए ।

बूढा खसेका पनि एक हप्ता बित्नै लागेको थियो । गाउँमा खसाक्खुसुक हल्ला चल्यो ।  

– बूढा कोरोनाले गएका हैनन्। कोरोना त बहाना मात्र हो। यो मृत्युमा राज छ।’

यो हल्ला व्यापक रूपमा फैलियो, प्रहरी प्रशासनसम्म पुग्यो । अन्त्यमा पुलिस इन्भेस्टिगेसन हुने भयो ।

लाश गाडेको ठाउँबाट खोतलेर अनुसन्धानको क्रममा पुग्यो । लाश खोतल्दा छेवैमा एउटा शिशी भेटियो जुन विषको शिशी थियो। त्यही विष खाएर ती बूढाको ज्यान लिएको खुलासा भयो । अनुसन्धानको क्रममा सपरिवारलाई चौकीमा लगेर सोधपुछ गर्दा।  

जेठा छोराले बयान दिन थाल्यो , ‘बुवाको मृत्यु कोरोनाकै कारण  भएको हो। अहिलेको महामारीमा यहाँहरूलाई कस्तो शंका लाग्या हो ?’

प्रहरीले शिशी देखाउँदै सोधे, ‘कोरोनाको औषधि विष हुन्छ त ?’ 

ऊ नाजवाफ रहयो र परिवारलाई नियाल्न थाल्यो।

आमाले रुँदै भनिन्,  ‘खोई सर यो छोरोले दबाई भन्दै केके ल्याएर बुवालाई दिँदैथ्यो । त्यसपछि आमाबुवालाई कोरोना लागेछ भनेर अक्सिजनको टोक्रो झुन्ड्याउँदै थियो । हामी कसैलाई छेउमा नआउनु भन्यो। केही समयपछि बुवा सकिनु भो भन्दै रुन थाल्यो। मलाई त त्योबाहेक केही थाहा भएन ।’

प्रहरीले अलिक जंगिएर भने, ‘हामीले सब पत्ता लाइसक्यौं । अब तिम्ले जत्ति कोरोनाको बहाना बनाए पनि उम्किन सक्दैनौ । भन किन यस्तो  कर्तुत गरयौ ?’

अन्त्यमा उस्ले आत्मासमर्पण गर्दै भन्यो, ‘सर, हो मैले बुवालाई बिष खुवाएर हत्या गरेकै हुँ। मलाई बुवाको जिउनीको पैसाले लालचमा पार्यो। त्यही लोभमा परेर मैले कुकृत्य गरें अनि  कोरोनाको बहानामा मृत्युलाई टाल्न खोजें। म सजायको लायक छु सर ।’

छोरोको बयानले परिवारै चकित भए। आमा त्यँही मुर्छा परेर ढलिन्।

प्रकाशित: १५ आश्विन २०७७ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App