१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

किताबको 'आवरण कथा'

साहित्य बजारमा प्रकाशन हुने विभिन्न पुस्तकमा लेआउट तथा आवरण डिजाइनरका रुपबाट परिचित नाम हो सन्तोषकुमार दाहाल। पुस्तकलाई जीवन्त र सुन्दर बनाउन पेज लेआउट तथा आवरण डिजाइनको पनि उत्तिकै भूमिका हुन्छ। कतिपय मानिस त लेआउटबाट नै आकर्षित भएर किताब किन्ने गर्छन्।  दाहालले डिजाइन गरेका साहित्यीक पुस्तकहरु बजारमा थुप्रै आएका छन्। साथै पाठक्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने सरकारी पाठ्य पुस्तकहरुमा पनि दाहाललाई डिजाइनरका रुपमा पाउन सकिन्छ।  

साहित्यमा रुची राख्ने दाहाल कार्यलय समयभन्दा बाहेक बिहान, बेलुका र सार्वजनिक बिदाको समय उनी साहित्यीक गतिविधि तथा विभिन्न साहित्यीक पब्लिकेशनहरुसँग सहकार्य गरी साहित्यीक पुस्तकहरुको लेआउट तथा आवरण डिजाइनको काममा व्यस्त रहन्छन्।  

दाहालले साहित्य सम्बन्धि कामगर्न थालेको ५ वर्ष भयो। यस वर्ष उनले लेआउट तथा आवरण डिजाइन गरेको चन्द्रप्रकाश बानियाँद्वारा लिखित पुस्तक ‘महारानी’उपन्यास २०७६ को मदन पुरस्कार विजेता बनेको छ। पुस्तक चर्चामा आउनु, लोकप्रिय हुनु लेखक र प्रकाशकका लागि ठूलो उपलब्धि र सफलताको विषय हो। महारानी पुस्तकले अहिले चारैतिर वाहवाही बटुलिरहेको छ। पुस्तकलाई सफल बनाउन आकर्षक लेआउट तथा आवरण डिजाइन पनि आवश्यक हो जस्तो लाग्छ उनलाई। आफूले लेआउट र डिजाइन गरेको पुस्तकले मदन पुरस्कार पाउँदा दाहाल पनि उत्तिकै हर्षित छन्।

यसभन्दा पहिला दाहालले डिजाइन गरेका पुस्तकहरु ‘प्रतिनायक’, ‘आमोई’, ‘विचारको लास’, ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’, ‘लिम्बुनीगाउँ’, मदन पुरस्कारको सूचीमा परेका थिए। उनले डिजाइन गरेका बजारमा चर्चित पुस्तकहरुः आरोहण, सारङ्गी, प्रेमदासको दायरी, हाँडीघोप्टे, पुनर्वास, निर्वेद, स्कुल बेच्ने बालक, नमस्ते काठमान्डु, रिकुटे, आवरण, मञ्जुषा, अन्तिमप्रश्न, डिलको डोब, परदेशका कथा, डेड शुक्रबिर, सडक, ईश्वरलाई चिठी, तपाईँको पहाड कहाँ हो? लगायत १५० ओटा भन्दा बढि पुस्तक बजारमा उपलब्ध छन्।  

दाहालको डिजाइन यात्रा

खोटाङको हेलेसी चुवाचुङ नगरपालिका–४, खोक्सेलीका दाहाल २०६१ सालमा काठमाडौं भित्रिएका हुन्। जुनबेला उनले कम्प्युटरको त के कुरा साधा टेलिभिजनसमेत देखेका थिएनन्। काठमाडौँ आएलगत्तै अध्ययनसँगै कम्प्युटर टाइप, लेआउट तथा डिजाइनमा डिप्लोमासम्मको कोर्ष पुरा गरेका थिए। उनले डिजाइनिङ पेसामा व्यावसायिक रूपमा काम गरेको करिब सात वर्ष भएको छ।

आकर्षक आवरण (लेआउट) छ भने पुस्तकले पाठकको मन र आँखाझट्ट तान्ने डिजाइनर दाहाल बताउँछन्। भन्छन्, ‘पाठकको नजर सबैभन्दा पहिले पुस्तकको आवरणमा पर्ने भएकाले आकर्षक र उत्कृष्ट हुन जरुरी छ।’

एउटा कृतिका लागि आवरण तथा लेआउट डिजाइन कति महत्वपूर्ण छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘विषयवस्तुको भाव, परिवेश, पात्र र त्यसले दिन खोजेको सन्देशका आधारमा आवरण डिजाइन गरिन्छ। आवरण भनेको कृतिको सुन्दर पहिरन हो, सौन्दर्य हो।’  

कसरी तयार पारिन्छ आवरण?

आवरण डिजाइन गर्नु पूर्व पुस्तकको विधा, विषयवस्तु, परिवेश, पात्रलगायतका विषयमा जानकारी हुनु आवश्यक हुन्छ। किनभने आवरणमा पुस्तकले दिन खोजेको सन्देश र मूल भाव विम्बात्मक रूपमा उतार्न सकियो भने पुस्तकको सौन्दर्यता बढ्छ। ‘तर पूरै कृति पढ्न सम्भव हुँदैन, दाहालले सुनाए, ‘कतिपय पुस्तकको आवरण डिजाइन गर्दा लेखक र प्रकाशक स्वयंले कृतिको मूलभाव, परिवेश र पात्रबारे बताउनुहुन्छ र सुझाव दिनुहुन्छ। त्यसैका आधारमा काम गर्ने गर्छु।’  

लेखकलाई आफ्नो किताबको जति माया लाग्छ, त्यत्ति नै एउटा डिजाइनरलाई पनि आफूले डिजाइन गरको पुस्तकको माया लाग्ने उनी बताउँछन्। उनका अनुसार आफूले डिजाइन गरेको कृति बजारमा आउँदा लेखकको ढुकढुकी जति बढ्छ, त्यत्ति नै आप्mनो पनि बढ्छ।  

उनी पुस्तक पसल, पुस्तकालय र पुस्तक मेलामा जाँदा आफूले गरेको डिजाइन र अरूले गरेका डिजाइनबीच तुलना गर्छन्। आफू कहाँनेर कमजोर छु? के सुधार गर्न जरूरी छ? उनी स्वःमूल्यांकन गर्छन्। उनी अग्रज र समकालीन डिजाइनरले गरेका डिजाइन सक्दो खोजी गर्ने गर्छन्। कसरी राम्रो गर्न सकिन्छ, त्यसबारे आत्मसमीक्षा गर्छन्। उनले काम गरेका पुस्तकको चर्चा भइरहँदा उनी खुसी हुन्छन्।  

बाल्यावस्थामा उनी गाउँमा हुँदा काठमाडौंबाट दाजुको चिठी आउँथ्यो। गाउँमा आउने अन्यको चिठी हातले लेखिएको हुन्थ्यो। तर उनको दाजुले भने कम्प्युटरमा टाइप गरेर सफा र सुन्दर चिठी पठाउँथे। गाउँका छरछिमेकले पनि उनको दाजुको तारिफ गर्थे। गाउँमा उनको दाजुको छुट्टै सम्मान थियो। उनलाई लाग्थ्यो– कम्युटर चलाउने मान्छे सबैको प्यारो र ठूला हुने रहेछन्।  

त्यसपछि एसएलसी दिएलगत्तै उनी खोटाङबाट काठमाडौं आए। उनलाई पनि यस क्षेत्रमा लाग्ने रहर जाग्यो। ‘म यो स्थानसम्म आइपुग्नुमा मेरो दाजुको ठूलो योगदान र साथ छ। उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनी सुनाउँछन्, ‘म काठमाडौं आएको केही वर्षपछि दाजुले ऋण काढेर कम्प्युटर किन्नुभयो। त्यो बेला दाजु मात्र काम गर्नुहुन्थ्यो, काम नगर्ने दिदी र म थियौं। सबैका लागि बस्ने, खाने र पढ्ने खर्च जुटाउन दाजुलाई हम्मेहम्मे पर्थ्यो। म बिहान कलेज जान्थें, कलेजबाट आएपछि खाना खाएर केही समय कम्प्युटर चलाएर बस्थें। दाजु त्यो बेला चर्चित पत्रिका ‘अन्तर्राष्ट्रिय मन्च’मा डिजाइनर हुनुहुन्थ्यो, उहाँबाटै हौसाला र प्रेरणाबाट नै आज म यस स्थानमा छु।’  

कामले काम सिकाउँदै गयो। कम्प्युटर नदेखेका दाहाल आज कम्प्युटर चलाएरै काठमाडौंमा टिक्न सक्ने भएका छन्। अल्पायुमै बुबा बितेपछि काठमाडौंमा संघर्षरत उनी आफ्नो काम र कमाइबाट खुसी र सन्तुष्ट छन्। भन्छन्, ‘दुःख, सुख, संघर्ष र भोगाइ नै जीवन हो।’  

 

प्रकाशित: १३ आश्विन २०७७ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App