६ चैत्र २०८० मंगलबार
कला

भीमसेन थापाको दुई सय वर्षअघिको त्यो पत्र!

भीमसेन थापाले बाम्राङका २२ घरलाई पठाइको कस्यारुक्का (चिट्ठी) । तस्बिर : युगसन किरात

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुई सय वर्ष पुरानो कस्यरुक्का (चिट्ठी) फेला परेको छ। सरकारी भारी, जंगी कामकोष, खजना, सोरातोडा र बिरामी बोक्नका लागि बिक्रम सम्बत १८७३ साल पुस ९ गते शुक्रबार तत्कालिन जनरल भीमसेन थापाले बाम्राङका स्थानीयलाई पठाएको पत्र फेला परेको हो। तत्कालिन राज्य सञ्चालनकाक्रममा बाम्राङका २२ घर स्थानीयलाई पठाइएको सो पत्र हाल स्थानीय युगसन किरातसँग सुरक्षित छ।  

पत्रमा पूर्वबाट काठमाडौं पठाइएको भारी, जंगी कामकोष, खजना, सोरातोडा र बिरामी तथा काठमाडौंबाट पठाइएको भारी भीमसेन थापाको दस्तखतमा एकछिन ढिला नगरी अर्को अम्बल (जग्गा)मा पु¥याउन भनिएको छ। सो पत्र बाम्राङका रत्नबीर, हर्कवली, रिङाजित, गुमाजित, भिलसिं, बुपाबिर, जत्न्य, बर्नासिं, रघुसिं, रत्नसिं, आसमली, बलिकरना, जितनसिं, गाइन्य, रंन्य, गज्य, अदिकर्ना, साषाबिर, जस्ना, दिगजित, सार्किरदेउ र थुव्य राईको नाममा पठाइएको थियो। ओसार–पसारका लागि हुलाकीमा दरिएका रिङाजित र गुमाजित आफ्नै पुर्खाहरु भएको किरात बताउँछन्।  

भारी बोक्नका लागि हुलाकमा दरिएका २२ घरलाई साउनेफगु, झारा, बेठबेगार मिनाहा गरिएको पत्रमा उल्लेख छ। तर, तोकिएको सामान कहाँबाट कहाँ पु¥याउने भन्ने चिट्ठीमा खुल्दैन। रणजोर थापामार्फत पठाइएको चिट्ठीमा अमालिलाई हुलाकमा दरिएका परिवारबाट साउनेफगु, झारा, बेठबेगार नलिन आदेश गरिएको देखिन्छ। चिट्ठीमा बीना लालमोहर दस्तखत नभएको पुरोहित, चौतरिया, काजी, सरदार, सुव्वा, सुविदार, जमदार, हुँदा, सिपाही कसैका भारी नबोक्न भनिएको छ। कसैले दरबारको भारी भनेर ढाँटेर भारी बोकाएमा राजालाई बिन्ती पठाउन भनिएको छ। उसबेला सरकारको काम जनताले निःशुल्क गर्न पथ्र्यो।  

तत्कालिन समयका तालुकदार र जिम्मेवालमार्फत सरकारले जनतालाई काम लगाउँथे। सोहीक्रममा भीमसेन थापाको पत्र बाम्राङ आइपुगेको अनुमान छ। द्धन्द्धकालमा घरमा भएका अधिकांश पुरानो कागजात जलाइए पनि भीमसेन थापाले पठाएको पत्र संयोगवस जोगिएको अवस्थामा फेला परेको किरात बताउँछन्। ‘जनयुद्ध कालमा गाउँमा पटक–पटक नेपाली सेनाको गस्ती आउँथ्यो, सोधपुछमा पर्ने डरले घरमा भएको पुरानो कागजात जलाइएछ,’ किरात राई यायोक्खाका सचिव रहेका किरातले भने, ‘संयोगले एउटा चिट्ठीचैं बचेको रहेछ। अहिले यसलाई सुरक्षितसाथ राखेको छु।’  

भीमसेन थापाको ऐतिहासिक चिट्ठीलाई संरक्षणका लागि २०७५ साल माघमा प्रकाशित ‘रिलुङ’मा दस्तावेजीकरण गरिसकिएको छ। गाउँघरमा रहेका ऐतिहासिक कागजातको खोजी र संरक्षणमा हालसम्म कसैको ध्यान जान सकेको छैन। गाउँघरमा पुर्खाको मृत्युुसँगै पुरानो कागजात डढाउने प्रचलनका कारण ऐतिहासिक दस्तावेज नष्ट भइरहेको मुन्दुम अध्येता भोगीराज चाम्लिङले बताए।

प्रकाशित: १३ आश्विन २०७७ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App