६ चैत्र २०८० मंगलबार
कला

सोच

निबन्ध

 बोधराज पौडेल  

                                                                            

दाजैले एकाबिहानै भने ‘गोरु दाएको भए दुई महिनामा पूरै मेलो लागिसक्थ्यो । तर, तिमीले त अझै मेलो लिन सकेनौ ।’ मलाई मनभरि रिस त उठेको थियो एउटा गोरुसँग आफ्नो तुलना गरेकोमा । तर, मैले चूपचाप सहे मलाई थाहा थियो–समुन्द्रले एउटा जहाजलाई तबसम्म डुबाउन सक्दैन जबसम्म बाहिरको पानीलाई जहाजले भित्र आउन दिँदैन । मैले यस्तै कल्पना गरे । जुन कल्पनाले दाजैको भावना परिवर्तन होस् । म यही चाहन्थें।

मलाई पुसको जाडोमा पनि खलखल पसीना आउन थालेको अनुभव भयो । बाहिरको वातावरण त्यो समय शून्य डिग्रीमै रहेको ल्यापटपको आइकोनले देखाइरहेको थियो । एकपटक थप कुरा राखौं कि जस्तो मनमा लागेको थियो । सोचे चैत्रको सुक्खा समयमा वर्षातको मूल फुटाएर केही फाइदा छैन् । आखिर खेतीको समय त असार नै त हो । यही सोचेर आफ्नो मनलाई शान्त गराए । दाजै केही भुनभुनाउँदै बाहिर निस्किए । म पनि शान्त बने ।

समय बलवान् छ । सबै कुराको उत्तर पनि उसैसँग छ । हामी त घडीका काँटा न हौ । असलीमा त्यसलाई घुमाउने काम त ब्याट्रीको हो । जब ब्याट्री कमजोर हुँदै जान्छ काँटाहरू ढिला हुुँदै जान्छन्  र अन्यमा  घडी नै बन्द हुन्छ । त्यसपछि उसले दिने सही समय भनेको चौबिस घण्टामा दुई पटक मात्र हो । फेरि नयाँ ब्याट्री राखिदिने हो भने उसले फेरि समय देखाउन थाल्छ । दाजैको कुरालाई मैले अर्ती मानेर शिरोधार गरे । प्रतिशोध लिइन् ।  

अर्को महिना आयो । दाजै हतारिदै अफिसमा पस्नुभयो । आफ्नो कुर्सीमा नबसेर सोफामा बस्दै लामो खुइँया तान्नुभयो र भन्नुभयो आज मलाई नराम्रोसँग अपमान ग¥यो यार । मैले भने तपाईलाई कसले आपमानजनक व्यवहार ग¥यो नि दाजै ? तर, कसले कहाँ र कसरी अपमान भयो त्यो खुलाउनु भएन । तर मैले दाजैलाई उसको कुराले निकै आघात पारेको महसुुस गरे । सायद उहाँलाई कुनै प्राविधिक विषयमा यो कुरा उठेको होला मैले यस्तै कल्पना गरे ।

हाम्रो कार्यालयको अगाडिको ढोकामा एउटा कथन लेखिएको छ–‘जीवनमा हरेस खानु भनेको आगो लागिरहेको घरभित्र पस्नुजस्तै हो ।’ मैले यो कथनलाई मनमा धेरै पटक खेलाएँ । आखिर यो कुरा किन लेखियो  र कसले लेख्यो होला ? थाहा छैन । तर मैले यो महसुस गरे यो निकै भोगाइपछि लेखिएको कथन हुनुपर्छ । यस्तै कल्पना भयो मेरो स्मृतिमा । मैले खूब गम खाए आफैले आफूमा आफ्नो जीवनबाट ।  

चराहरू स्वतन्त्र छन् । जुनसुकै हाँगामा बस्छन् । उनीहरूको आत्मबल बलियो भएको कारण हाँगा कमजोर छ कि भन्ने कल्पनासमेत गर्दैनन् । आफै उड्छन् । आफै बस्छन् । आफ्नो इच्छामा रमाउँछन । डर त उनीहरुलाई त्यही एउटा बाजको मात्र हो । बाँकी उनीहरुलाई कुनै कुराको चिन्ता हुँदैन ।  

लहराहरू पहिले कसैको सहारामा उभिन्छन् । त्यहाँ टासिएपछि लहराहरू आफ्नो अधिकार ठान्छन र रुखलाई यसरी बेर्छन् कि जहाँ रुखलाई चोट लागेको उनीहरूलाई पत्तो नै हुँदैन । मलाई यही आभास भइरहेको छ यतिबेला । मैले जीवनमा कहिल्यै कसैलाई बेर्न सकिन दाजैले पनि मलाई यसरी नै प्रयोग गरे । म आफ्नो चोट सहन सक्थेँ र अरूको घाउ देख्दा असिनपसिन हुन्थेँ । अरूलाई कहिल्यै चोट पु¥याउने कुराको बारेमा सोचिएन बरु आफू लडियो बेहोस भएर । मैले जीवनको उमंग यसैलाई ठानेँ जुन आस्था र श्रद्धाले भरिएको थियो ।

यात्रा जहाँसुकै पुग्न सक्थ्यो गुजारा चलाउन । कुनै भिसाको आवश्यकता थिएन क्षमताको सदुपयोग गरेर खान । यस्तै सोचे यदि बधाई पत्र हात लागे । तर त्यो सहज रूपमा हात परेन । मैले लिनका लागि कोसिस पनि गरिन । संझे खेलेको आँगन अरूले दिएको ठूलो चउरभन्दा बढी हो । त्यहाँ त आत्मीय र पसीना दुवै पोखिएको हुन्छ । नयाँ चउरमा यी सबै फेरि गर्नै पर्छ यस्तै सोचे र त्यो एउटा घटना मैले सपनामा देखेको संझे ।

यात्रामा अनगिन्ती खाडलहरू थिए । आँखाले नजोगाए जुनसुकै बेला खस्न सकिन्थ्यो । कुनै बेला त पानी जमेरसम्म देखिएका खाडलहरू पत्तै लाग्दैनथ्यो शहरमा । त्यहा पसियो भने मृत्युवरका लागि यहाँका हरेक चीज नाफामा छन् साथी, बाटा, मोड र वातावरण । गोजीको मोटाइ बढेका बेला भेटिएकाहरू गोजी पातलिदै जाँदा भेटघाट पनि घट्दै जान्छ । हिजो सामान्य रहेका बाटाहरू रातारात खाडल बनेका छन् । बिहानको प्रचण्ड घामको राप छल्न नसकेको म केहीबेरमा मुसो बन्नु छ रुझेर । हैट, जहाँ त्यही धोका । यस्तै रह्यो जीवनको दोस्रो बीस वर्ष ।

यसरी भएन अब त केही गर्नै पर्छ  । दिमागले सधैं घनचक्कर लगाउथ्यो । तर, निकास केही नआएर बर्षामा सडकको भेल जमे जसरी जमिरहन्थ्यो । एकदिन बिहानको समयमा चियाको घुट्कीसँगै सोचे यो पृथ्वी यसरी साढे छैसठ्ठी डिग्रीमा कसले, कसरी उड्यायो होला ? किन दिन र रात बनायो होला । सिधा ९० डिग्रीमा राखेको भए के हुन्थ्यो होला यस्तै सोचिरहे । त्यतिबेला कपको चिया पानीमा परिणत भइसकेको थियो ।  

आधा रातको समयमा फेरि चिन्ताले सतायो जीवनको रंग कस्तो होला । यहाँ त सधैं श्रमकै रंग जसरी नीलो भएर चलिरहेको छ । यो गुलाबी वा सप्तरंगी भए कस्तो रोमाञ्चित हुने थियो मन उसै अल्लादित भयो । तर आशा र इच्छा भित्रभित्रै यसरी डरायो मानौं जंगली जनावर अगाडि देखेर डराएको कुनै बालकजस्तै भयो । नयाँ जनावर आफ्नो अगाडि देख्दा बाहिर त आनन्द लागिरहेको थियो तर अन्तस्करणमा कम्पन पनि । त्यो बाहिर मीठो थियो तर भित्र धारिलो आरा जत्तिकै घातक पनि ।

दाजै किन चिढिए, त्यो कुरा त थाहा भएन । तर, उनको मनमा अशान्ति छाएको कुरा मैले आँखामा पढिसकेको थिएँ । उनको शरीरमा डरको भाव थियो भने कम्पनले स्वर भरिएको थियो । लाग्थ्यो कुनै जंगली जनावरको हिंसात्मक आक्रमकबाट भर्खरै बचेर आएका जस्तो । मैले त्यो बेला डरको महसुस राम्रोसँगले गरे । सायद मेरो पसीना आउनाको कारण यही थियो ।

मनमनमा मलाई दुख दिएकोमा रमाउन मन नलागेको होइन । तर, मानवता बिर्सेर रमाउने म निचमा परिणत भइसकेको थिइनँ । दुखैले सोधेँ – के ऊ समयभन्दा बलवान् रहेछ ? दाजैमा मेरो कुराको कुनै सुइँको आएन । आफ्नै रफ्तारमा रुमलिरहँदा । मैले सलोन आँखाले हेरिरहे कापिरहेको शरीर र लरबराइका ओठलाई । सायद यतिबेला दाजैसँग कुनै शब्द छैन । मलाई लल्कार्ने र पीडा दिनेलाई संझाउने । केही दिन दाजैको अवस्था उस्तै रह्यो । सधै छटपट र बेचैनी । मैले बिस्तारै भने दाजै म त माली मात्र हुँ यहाँ मैले फुलाएका सारा फूल टिप्ने र माला बनाउने अधिकार त दाजैको नै हो । मैले यिनको गोडमेल र रक्षा गर्नु मेरो दायित्व ठाने आजका दिनसम्म । भोलि कसले देखेको छ र ? दाजैको निदाउरो अनुहार मैले देखे तर कुनै शब्द सुनिन ।    

मैले मान्छेभन्दा समय बलवान् भएको कुरा एकै उदाहरणमा सिकेँ । मान्छे जति नै बलशाली भएपनि के गर्नु सानो कुराले नै वशमा पार्दो रहेछ अंकुशले हात्तीलाई नियन्त्रणमा राखे जसरी । हात्तीले आट्ने हो भने जाबो त्यो सानो अंकुश र माउते दुवैलाई एकै झट्कामा सिध्याउन सक्छ । तर, उसले कहिल्यै हिम्मत गर्न सकेन । यो उसको धर्म हो । बल नै देखाउने भए उसलाई कसैले तह लगाउन सक्दैनथ्यो । मैले पनि यसरी नै चित्त बुझाए दाजैको कुरालाई ।  

प्रकाशित: १३ आश्विन २०७७ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App