प्रकट पगेनी ‘शिव’
पोखराको बाटुलेचौरमा ‘प्रगति इङलिस बोर्डिङ स्कूल’ चलाउँदै आएका कवि एवं गीतकार जे.अस्मिता (दिनेशकुमार श्रेष्ठ) आफ्ना विद्यार्थीले केही न केही सिप सिकून भन्ने अभियानमा समर्पित छन्। उमेरले मभन्दा कान्छा भए पनि भावनात्मक रुपमा उनी मेरा अभिभावक हुन्।
–त्यतिबेला दिनेशकुमार श्रेष्ठलाई भाइ भन्थें म जतिबेला उनी गण्डकी बोर्डिङ् स्कूलको पढाइ सकेर पृथ्वी नारायण क्याम्पसमा कमर्श विषय अध्ययन गर्दै थिए। उनी कविता लेख्थे। कविताकै सन्दर्भमा उनको र मेरो भेट भएको हो। दुवै गण्डकी बोर्डिङ स्कूलका विद्यार्थी भएर होला सरुभक्त र दिनेशको घनिष्टता थियो। विभिन्न साहित्यिक कार्यक्रमहरूमा उपस्थिति हुने भएकाले मेरो र दिनेश बीच पनि आत्मीयता बढ्दै गयो।
–अहिले सम्झन्छु–उनी त्यो बेलाको महंगो पत्रिका ‘रिडर डाइजेष्ट’ का नियमित पाठक थिए। बेलाबेलामा त्यस पत्रिकाका कथाहरू सुनाउथें। म अंग्रेजीमा अलि कमजोर हुनाले विदेशी साहित्यबाट विमुख थिएँ। त्यसो त उनी रिडर डाइजेष्ट मात्र नपढेर त्यसबेला प्रकाशित हुने धर्मयुग, सारिका र कादम्विनी पनि पढ्थे। उनको त्यही अध्ययनले गर्दा नै आज उनको व्यक्तित्व निर्माण भएको हो।
–त्यतिबेला उता पोखराको बाटुलेचौरमा एउटा बोर्डिङ स्कूल स्थापना भएको थियो ‘प्रगति इङलिस बोर्डिङ स्कूल’। उनी त्यो स्कूलका प्रिन्सिपल। यता गैह्रापाटनमा मेरो आर्ट स्टुडियो थियो–‘पगेनी आर्ट मिडिया’। स्कूलमा आवश्यक पर्ने सम्पूर्ण आर्टका कामहरू मेरै स्टुडियोमा आउँथ्यो। साइनबोर्ड, व्यानर, नेमप्लेट आदि। अनि स्कूलमा आयोजना हुने साहित्यिक कार्यक्रममा म कहिले निर्णायक भएर, कहिले अतिथि भएर र कहिले प्रमुख अतिथि बनेर जाने गर्थें।
–एउटा बेला यस्तो आयो मैले मेरो आर्ट स्टुडियो बन्द गर्नु प¥यो। फ्लेक्स बोर्डको चलन आयो। म सँग त्यो प्रिण्ट गर्ने मेसिन किन्ने हैसियत थिएन। स्टुडियो बन्द गरेर मेरो परिवार काठमाडौं सिफ्ट भयो। मलाई भने काठमाडौं बस्न मन लागेको थिएन। त्यही बेला मेरो सशुल्क “प्रणयमा प्रकट दाइ” गजलवाचन श्रृङ्खलाको सुरु भयो। पछि एकदिन ‘पोखरा भित्रको पोखरा’ लेख्ने र किताब छापेर आफ्नो जिविका चलाउने सोच राखेर म पोखरा फर्किएँ। ‘पोखरा भित्रको पोखरा’ सोंचे अनुरुप लेख्न सकिएन। त्यतिबेला पत्रकार राधिका कंडेलले धेरै सहयोग पनि गरिन तर विषय अत्यन्त गहन भएकाले हामी दुईले त्यो काम पुरा गर्न सम्भव देखेनौं।
–सरुभक्तले सञ्चालन गर्दै आएको ‘संरक्षण कविता आन्दोलन’को कुनै एक श्रृंखलामा जानेक्रममा दिनेश भाईसँग भेट भयो। मणिपाल हस्पिटलको छेउबाट हामी दुईजना भलामको रयालेचौर सम्म कुरा गर्दै गयौं। मैले मेरा कुराहरू सुनाइ सके पछि उनले भने ‘दाई तँपाई भोलिबाट स्कूल आउनुस।’ मैले भनें ‘म टिचर होइन स्कूलमा मेरो काम नै के हुन्छ र ?’ ‘स्कूलमा टिचरहरूको मात्रै काम हुँदैन नि दाई अरहरूको पनि काम हुन्छ।’
–भोलि पल्ट विहान १० बजे नै म स्कूल पुगें। शुक्रवारीय प्रस्तुतीका लागि विद्यार्थीहरू अभ्यासमा जुटिरहेका थिए। दिनेश भाइले उद्घोषण कला सिकाइदिनुस दाई भनेपछि मैले विद्यार्थीलाई केही उद्घोषण कला सिकाइदिएँ। सायद मन परेर नै होला भन्नु भयो ‘ल अब तँपाइले विद्यार्थीहरूलाई कविता लेख्न, अभिनय गर्न सिकाइदिनुस र लाइब्रेरी हेर्नुस। आजबाट तँपाई प्रगतिको स्टाफ।’
–त्यसपछि मैले दिनेश कुमार श्रेष्ठ भाईलाई ‘दिनेश सर’ भनेर संबोधन गर्न थालें।
–दिनेश स्वयं कवि र गीतकार पनि हुन्। उनी जे. अस्मिता नामबाट साहित्यिक रचना सार्बजनिक गर्छन्। प्रगति स्कूल सांगितिक स्कूल रहेको अनुभव गरें। महेन्द्र थापा, तीर्थ तामाङ, रामजी नेपाली, राकेश जोशी, राम केसी र निरामणि गौतम जस्ता शिक्षकहरू साजवादक थिए। विद्यार्थी पनि संगीतप्रति रुचि भएका थिए। पोखराका अरू स्कूलमा खेलकूद साहित्यले प्राथमिकता पाइरहेका बेला प्रगति स्कूल सांगितिक स्कूल थियो। म प्रगति जानु अघि नै अंकुर नामक गीति एल्बम निस्किसकेको थियो। जसमा गीत संगीत र स्वर त्यसै स्कूलका शिक्षक र विद्यार्थीको थियो।
–पोखराको रंगमञ्च मृतप्रायः भइरहेको बेला हामीले विद्यालयमै सिमित रहेर पनि विभिन्न नाटक मञ्चन ग¥र्यौं। सरुभक्तद्धारा लिखित ‘रेलिमाई रेलिमाई रेलिमाई’, ‘अग्निपर्खाल’, ‘गाँउको कथा यस्तै हुन्छ’, ‘नाम सर्वनाम र विशेषण’, त्यस्तै सुरेन्द्र नकर्मीद्धारा लिखित सडक नाटक र विप्लव ढकालद्धारा लिखित ‘निलाम्बरको आकाश युद्ध’ जस्ता नाटकमा विद्यार्थीले निपुर्ण अभिनय गरेका थिए।
–प्रगतिमा म अभिनय कला सिकाउँथे। रमाईलो प्रसँग त के रह्यो भने काठमाडौंबाट आउने कतिपय फिल्म र टेलिफल्ममा बालकलाकारको आवश्यकता पर्दा उनीहरू बालकलाकार चयन गर्न प्रगति स्कुलमा आउने गर्थे। प्रगतिका करिब डेढ दर्जन विद्यार्थीले विभिन्न नेपाली, हिन्दी र अंग्रेजी फिल्ममा अभिनय गरिसकेका छन् भने पोखरा थिएटरको निर्माण पछि पनि केही विद्यार्थीले नाटकमा अभिनय गरिसकेका छन्।
–दिनेश सरसँग बहुप्रतिभा छ। उनले नाटक र फिल्ममा अभिनय गरेनन् तर अभिनय यस्तो हुनुपर्छ, रंगमञ्च यसरी बनाउनु पर्छ, लाइटको संयोजन यस्तो हुनुपर्छ भनेर रंगमञ्च बनाउने कला छ उनी सँग। उनी इन्जिनियर होइनन् तर कुनै जग्गामा भौतिक निर्माण गर्नुपर्दा यो यसरी र त्यो त्यसरी निर्माण गर्नुपर्छ भन्ने क्षमता छ उनी सँग। साहित्य, कला र संगीतको मर्मज्ञ भएर पनि होला प्रगति स्कुलका विद्यार्थीले अध्ययन सँगै ती सबै विधाको ज्ञान पाइरहेका छन्।
–स्कुलबाट विदाई हुँदा विद्यार्थीले केही न केही सिप लिएर जाउन् भन्ने प्रिन्सिपल दिनेश सरको चाहाना र सपना हो।
–मेरा लागि दिनेश सर भावनात्मक रुपमा अभिभावक पनि हुन। उमेरले कान्छा भए पनि विचारमा, अनुभवमा, कार्यक्षमतामा, व्यवहारमा उनले अभिभावकत्व निर्वाह गरिरहेका छन्।
–अहिले म आख्यान लेखिरहेछु। आख्यान लेख्नकै लागि भनेर मैले केही समयका लागि प्रगति स्कुलबाट अवकास लिएको छु। अवकास लिए पनि प्रगति स्कुलप्रतिको मेरो निकटता र हार्दिकता उतिकै प्रगाढ छ भने दिनेश सरको म प्रतिको सम्मान, सहयोग र सामिपता त्यतिनै अगाध छ।
प्रकाशित: ५ आश्विन २०७७ ०५:१८ सोमबार