१३ कार्तिक २०७७ बिहीबार
कला

नारायणी ! तिमी मेरो मुटुको ढुकढुकी

अनुभूति

शान्ति शर्मा  

 

प्रकृतिका सौन्दर्यपूर्ण छटाहरूले भरिपूर्ण भएको यो विछट्टै सुन्दर देश नेपालमा छङ्छङ्गाउँदै बग्ने सेता सुनझैँ पानीका अनन्त स्रोतहरू मध्येकी एक मनोरम नदी नारायणी। जब मैले तिम्रो सान्निध्य पाएँ तब मलाई जीवन अत्यन्त सुन्दर लाग्न थाल्यो। चितवनको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तरपश्चिमबाट बगेर आउने सेती गण्डकी तथा उत्तरतिरबाट बगेर आउने (त्रिशूली नदी र बुढीगण्डकी) मस्र्याङ्दी मिसिएर बनेकी तिमी नारायणी।  

चितवन र नवलपरासीलाई काखमा राखेर स्नेहका करकमलले सुम्सुम्याउँदै, ललाउँदै, फकाउँदै तिमी हिँडेको देख्दा म भित्रभित्रै पुलकित हुन्छु। अनि तिमीले मलाई नै स्नेहले टुलुटुलु हेरिरहेझैँ लाग्छ। तिम्रा ती नशालु नयनका वरिपरि नाचिरहन पाउँदा म त्यसैत्यसै मक्ख अनि लाजले भुतुक्कै पनि हुन्छु बेलाबेलामा।

साँच्चै तिम्रो सामिप्यमा रहँदा आफ्ना सबै पीडाहरू भुलेकी छु मैले। मैले आफैँलाई भुलेकी छु। अब त यस्तो लाग्दै छ कि तिमीविना एकपल पनि रहन सक्दिनँ। बाँचूँ पनि तिम्रै सामिप्यमा मरुँ पनि तिमै्र सामिप्यमा। निरन्तर गतिशीलताको पाठ सिकाउँदै कर्तव्यपथमा लम्किरहेकी नारायणी साँच्चै तिमीसँग मेरो सुमधुर सम्बन्ध गाँसिएको छ। म आफूलाई तिम्रो मनको सुन्दर  सिंहासनमा बसाएर आफैँ पवित्र बनेको अनुभूत गर्छु अनि सँगै चितवनको माटोलाई मुटुमा सजाउँछु। तिम्रा ती प्रत्येक लहरहरूमा आफूलाई समाहित गर्दै त्यसैमा हराउँछु। मलाई तिमीले निकालेका छालहरूसँगै तरङ्गित भइरहन मन  लाग्छ, तिम्रै लयहरूमा आफ्ना जीवनका लयहरू मिसाउन अनि अनन्तयात्राको तय गर्न रहर जागेर आउँछ।

नारायणी ! तिमी मेरो मुटुको ढुकढुकी, मेरो गौरव अनि जीवनको ऊर्जा बनेकी छौ। तिमीलाई देखेर नै जीवन यति सिर्जनशील बनेको छ। आफ्ना सिर्जनाका एकएक अक्षरमा तिम्रो कण मिसाएर पवित्रताको आभास पाइरहेकी छु। तिमीले सिकाएका ती मौन पाठहरूले मैले जीवनबोध गर्न सिकेकी छु। मैले आफूलाई चिन्न सकेकी छु र कर्तव्यपथमा अगाडि लम्कन जानेकी छु। हावाको मन्दमन्द गतिसँगै आएको तिम्रो सुगन्ध मेरो जीउभरि लपक्कै टाँसिएझैँ लाग्छ जब हरदिन तिमीलाई छिचोल्न बनाइएका पुलहरूमाथि दौडन्छु म। आफैँलाई शुद्धताको आभास भएर आउँछ। जब तिमी आफ्ना अङ्गप्रत्यङ्गबाट प्रस्फुटित यौवनका मादक लहरहरू लहराउँदैलहराउँदै मेरो मन चटक्क चुँडुलाझैँ गरी आफूतर्फ आकर्षित गर्दछौ तब म आफूलाई आपैmँभित्र हराएझँै पाउँछु।

खै,कुन मादकताले म लट्ठिएकी छु आफैँलाई पत्तो छैन अनि कुन दिन मात्र यसले छोड्छ त्यसमा पनि अन्योल छु। तिम्रा लहरका आरोह – अवरोहहरू देख्दा मलाई आफैँले भोगेको जिन्दगीको स्मरण हुने गर्छ। जीवन कति जटिल र दुसाध्य छ भन्ने कुराको बोध तिमीबाटै पाएँ मैले। सम्म परेको फाँटमा तिमी सुस्ताएझैँ यो यौवनरूपी फाँटमा सुस्ताउन मन लाग्छ तर तिमीलाई जस्तै मलाई पनि कहाँ फुर्सद छ र आफूलाई सम्हाल्ने! तिम्रा ती अनन्त लहरहरूमा आफ्नै जीवनका उच्छवासहरूको प्रतिविम्व देख्छु म। तिम्रा लयहरूमा म आफैँ विलय हुन पुग्छु। तिम्रा प्रत्येक तरङ्गहरूमा आफ्नै जीवनका तरङ्गहरूको प्रतिविम्व देख्छु म। तिमी छालमा उर्लिएर मडारिँदा..आफूले गरेका सङ्घर्षको याद आउँछ मलाई। तिमीजस्तै मेरो उमेरको नदी खै कताकता ठेस लाग्दै बग्ने हो थाहा छैन। सायद तिम्रो र मेरो यात्राको गन्तव्य एकै हुनुपर्छ त्यसैले त तिमीलाई जस्तै हतारो छ मलाई पनि, मलाई जस्तै तिमीलाई पनि।

सत्ते नारायणी! मैले आफूलाई तिमीदेखि प......र राखेकै छैन। यो जीवन तिमीजस्तै ढुङ्ग्यानमा खिइँदैखिइँदै अगाडि बढ्दै छ। कहाँ पुगेर टुंगिने हो तैपनि यात्रा निरन्तर छ। तिमीले गन्तव्यमा आएका ढुङ्गामुढा, रुख, बुट्यानहरूलाई पन्छाउँदै पन्छाउँदै अगाडि बढेको देखेर मैले पनि जीवनमा आइपरेका दुःखपीडा, सङ्घर्ष जस्ता बाधाअवरोधहरूलाई पार लगाउँदै जीवनरूपी यात्रालाई अगाडि बढाउन सिकेकी छु।

चितवनको काखलाई सुम्सुम्याउँदै बग्ने तिमी। तिम्रा ती दिव्यचक्षुहरू भित्र जीवनको सार छचल्किरहेको देख्छु म। तिमी छ्यौ र त चितवनको सुन्दरतामा सुनमा सुगन्ध थपिएको छ। तिम्रै काखमा रहेको पावनभूमि देवघाट, शीरमा मौलाकालिका मन्दिर सबै तिम्रा निर्मल जलद्वारा सिञ्चित भएको पाएँ मैले। जब तिम्रो पवित्र जलले आफूलाई सिञ्चन गर्छु तब आफ्ना सबै कल्मषहरू पखालिएझैँ स्वच्छ भएको अनुभूति हुन्छ। यस्तो लाग्दै छ, तिम्रो आकृति देखेर कतिलाई ईष्र्या लाग्दो हो, कतिको ग्लानी पनि भाग्दो हो। तिमी आफैँमा स्वच्छ ,पवित्र अनि कञ्चन भएर त होला नि हजारौँ पवित्र मन तिम्रै पाउमा शरणागत छन्। तिम्रो सौन्दर्य त त्यतिबेला झल्केको देख्छु म जतिबेला उषाको लालीमाका रक्तिम आभाहरूले तिम्रो पूरै शरीरभरि स्पर्श गरेका हुन्छन्। हुन त भौतिक शरीरको सुन्दरता जीवनको सम्पूर्णता होइन। तर पनि तिमी त तन र मन दुवैमा सुन्दर छ्यौ र हजारौँ मनहरूले तिम्रो सुन्दरतालाई आँखाले पिइरहेका छन्, मुटुमा सजाएका छन् र दिलको किताबमा स्वर्ण अक्षरले लेखेका छन्।  

तिम्रो सुन्दरताको अवर्णनीय र अकल्पनीय स्वरूप त अझ मैले त्यतिबेला देख्न पाउँछु जतिबेला सूर्यदेवले दिनभरिको सगरयात्रापछि आफ्ना सुनौला किरणहरूले तिमीलाई चुम्न आउँछन्। अनि भोलिबिहानै झिसमिसेमा तिमीलाई भेट्ने वाचा गरी फर्कन्छन्। हो, कसैको प्रतीक्षामा रहनु कति छटपटी हुन्छ तर धैर्य रहन सक्ने  खूबी तिमीबाटै पाएकी छु। तिमी पनि मजस्तै कसैकी सन्तती हौ। तिमीलाई जन्म दिने हिमालहरू धन्य छन्। सुन्दर सन्तान जन्माउनु पनि गर्वको कुरा हो। पहाडका खोँच र ढुङ्गेनी बाटाहरूबाट हामफाल्दै तिमी यात्रारत छ्यौ। समुद्रसम्मको गन्तव्य बोकेर अनवरत रूपमा बहेको देख्दा आफ्नो लक्ष्यमा अविचलित हुनुपर्ने पाठ सिकेकी छु मैले। अझै तिम्रोजस्तै मेरो पनि जीवनयात्रा कहाँ रोकिएको छ र?

यस्तो लाग्दै छ कि तिमी भएर नै चितवनको माटोको सुन्दरतामा निखार आएको छ। चितवनको पहिचान गराउने एउटा बलियो माध्यम तिमी पनि हौ। तिमी आफू मात्र नबाँचेर सम्पूर्ण चितवनलाई बचाएकी छौ। तिमीसँग आत्मियताको सुमधुर सम्बन्ध राख्न चाहने चितौनेहरू मुटुभरि प्रेमको अत्युच्च आदर्श बोकेर तिम्रो सौन्दर्य, पवित्रता र स्वच्छतालाई जगेर्ना गर्ने बारे व्यापक बहस गर्न चाहन्छन्। तिमीलाई लाखौमा एक बनाउने धोको मलाई पनि छ। तिम्रो मायाले निथु्रक्क भिजेकी छु म, र त गर्मीले हपहपी हुँदा पनि चिसोपनको अनुभूति गरेकी छु।  एउटा कुरा सोध्न मन लागिरहेछ मलाई नढाँटी भन त यति सुन्दर र शान्त छ्यौ तिमी तर कहिलेकाहीँ खै कताबाट विनाशलीला सिकेर आउँछ्यौ कुन्नि? कयौँपटक तिम्रो भयावह रूप देखेर म त्राहीत्राही भएकी छु। तिम्रो हुङ्कार देखेर मेरो त हातखुट्टै सेलाउँछन् , लल्याकलुलुक हुन्छु म। मेरो त सातो गएको छ तिम्रो त्यो भयानक स्वरूपले। हुन त मैले तिम्रो यो स्वरूपबाट मान्छे निर्भीक हुनु पनि पर्दोरहेछ। परिआउँदा आफ्नो क्षमता प्रर्दशन गर्न पछि पर्न हुँदोरहेनछ भन्ने पनिसिकेकी छु। उफ् ! तिम्रो लहरमा लहरिँदा केके सोच्नपुगेछु। म आज तिमीझैँ निर्विरोध भई तिम्रै लहरमा बहेकी छु। साँच्चै यो जीवन तिमी मै समर्पित छ र तिमीभित्रै समाधिस्थ हुनेछ।

एकदिनको कुरा अझै स्मृतिमा ताजै छ—म मनको लहडमा लहडिएर खै कसरी तिम्रोसामु पुगेछु पत्तै भएन। घण्टौंसम्म तिमीलाई  नियालेपछि मनमा केके भावहरू पैदा भए। तिनलाई मैले बालुवाको कागज र आफ्नो चोर औँलालाई कलम बनाएर सरर लेखेँ। केही बेरमा नै तिमी छालमा उर्लिएर सर्लक्कै मेटाएर लग्यौ। मैले निःशब्द हेरिरहेँ। तिमीलाई रोक्ने सामथ्र्य ममा रहेन। सोचेँ, जीवनका तमाम नकारात्मक पाटाहरू यसरी नै मेटिएर जाने हो भने कति जाती हुन्थ्यो होला? फेरि मेरो मन पिपलको पातझैँ फरक्क फक्र्यो। हो मैले आफ्ना दुर्भावनाहरूलाई मेटाउन सक्नुपर्छ। नसके पनि कोसिस गर्नुपर्छ। नत्र जीवन कसरी नदिझैँ पवित्र बन्न सक्छ त!

प्रकाशित: ३ आश्विन २०७७ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App