१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अभावले जन्माएको मीठो अतीत

कविता

प्रकाशकुमार सिग्देल

 

 

केराको पातमा पका’को मकैरोटी, खाइन्थ्यो निख्लो आँटो मोहीसित

अहिले फलफूलसँगै विषादी खाइन्छ, छ अर्गानिक खानेकुरा कोहीसित?

ए अहिलेका नानी  हो ! हामीसँग जहिले ज्ञान विज्ञानको फूर्ति लाउँछौ

आगोमाथि माटोको हाँडीमा भुटेको मकैको स्वाद के चाउचाउमा पाउछौ ?

 

दिनभरि ब्याट्री घाममा सुकाई बेलुका ‘चौतारी’ सुनिन्थ्यो  

मुखियाबाको सत्यनारायणको पूजामा मायाजाल बुनिन्थ्यो  

ए अहिलेका नानी हो ! हामीसँग जहिले सूचना प्रविधिको धाक लाउँछौ  

हाम्रो पालाको जस्तो चोखो माया र प्रेम के फेसबुक र युटयुवमा पाउछौ ?

 

दुई जना तर मिठाई एउटै, कमिजको फेरको पोको दाँतले टोकेर  

दुई टुक्रा एकएक बाँडिन्थ्यो चीज हरेक, साथीको माया लौ हेर

ए अहिलेका नानी हो ! हामीसँग जहिले ‘बेस्टफ्रेण्ड’ छ भनी गफ लाउँछौ

पहिलेको जस्तो आत्मिय साथी, गोजी तौलेर खोजिहिँड्दा तिमीले कहाँ पाउँछौ ?

 

खुट्टाको सुम्लो हटे नि दिमागको हट्या छैन बाबाले पाइपले कुटेको

याद छ अझै त्यो पाइपे पांग्रोमा बाटोमै भुल्दा पिरियड छुटेको  

ए अहिलेका भुराभुरी हो ! हामीसँग विएमडब्लु, मर्सिडिजको सान देखाउँछौ ?

पहिलेजस्तो पाइपको पांग्रा चलाउँदा पाउने स्वर्गीय आनन्द अहिले पाउँछौ ?

 

लालुपाते फूलको चोब निकाली छोक्राको चुइगम बना’र खाइन्थ्यो  

खोली खेतको दाइको खानामा अलग्गै वनभोजको स्वाद पाइन्थ्यो  

ए अहिलेका नानी हो ! हामीसँग ‘मोर्डन फुड टेक्नोलोजी’को धक्कु लाउँछौ

पहिलेको जस्तो खाने, पिउने र जिउने कला अहिले खोजेर तिमीले कहाँ पाउछौ ?

 

अभावले जन्मियो मीठो अतीत, पैसाले किन्छु भने नि पाइएन

दुःख–हण्डर खाइयो, मजाले पचाइयो तर हरेशचाहिँ खाइएन

ए अहिलेका नानी  हो ! हामीसँग जहिले ‘सुविधा’को घमण्ड देखाउँछौ

पुर्खाको इतिहास, संस्कार र संस्कृति बिर्सेर आखिर तिमीले के पाउछौ ?

प्रकाशित: ३१ भाद्र २०७७ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App