७ वैशाख २०८१ शुक्रबार
कला

प्रधानमन्त्री ओलीलाई अभिनेत्री गौरी मल्लको पत्र : आगोमा होमिन लागेका जनतालाई रोक्नुहोस्

गाैरी मल्ल

यो कोरोना महामारीका बेला भारत गइरहेका नेपालीलाई रोक्न अभिनेत्री गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विनम्र आग्रह गरेकी छन् ।  

स्वदेशमै केही रोजगारी प्रदान गरेर ‘आगोमा होमिन गएका’ आफ्ना नागरिकलाई स्वदेशमै सानोतिनो रोजगारी दिएर भए पनि रोक्न नायिका मल्लले प्रधानमन्त्रीसँग अनुरोध गरेकी हुन् । 

मंगलबार फेसबुकमा पत्र लेख्दै अभिनेत्री मल्लले प्रश्न गरेकी छन्, ‘हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरूलाई  ‘ए मेरा प्यारा नेपाली नागरिकहरू, भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमै बस, जे गर्नपर्छ हामी गर्छौं भनेर किन भन्न सकिरहेको छैन ?’  

अभिनेत्री मल्लले मंगलबार आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रको पूर्णपाठ :

लकडाउनको सुरुवातसँगै भारतबाट नेपाल भित्रिने नगरिकलाई कैयौं दिन बोर्डरमा बिचल्ली बनाएर राखियो । कैयन् नेपाली त लुकीलुकी हिँडेरै भए पनि घरमै पुगेर मर्छौं भनेर हिँडे । कत्तिले धेरै ढिला आफ्नो घर परिवारको मुख हेर्न पाए । त्यस समय यतिसम्म भनियो, ‘नेपालमा भित्रेका कोरोनाको संक्रमण सबै भारतबाटै आएको हो ।’ सत्तामा टिक्न जे पनि बोल्न सकिन्छ...

आज उनै नागरिक आफ्नो ज्यान जोखिममा राखेर भारततर्फ जाँदै छन् । यतिबेला चाहिँ ती मधुर वाक्य कता हराए ? अरूलाई एउटा औंला देखाउँदा आफूतिर अन्य ३ औंला फर्किरहेका हुन्छन् भन्ने उखान यहाँ आएर चरितार्थ भएन र ? हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरूलाई ‘ए मेरा प्यारा नेपाली नागरिकहरू, भारतमा कोरोनाको प्रकोप बढ्दो छ ,नेपालमै बस जे गर्नपर्छ, हामी गर्छौं भनेर किन भन्न सकिरहेको छैन ???  

सम्माननीय प्रधानमन्त्री ज्यू !   

यो मेरो प्रश्न यहाँलाई नै हो । (तपाईंको नागरिकको हसियतले यत्ति प्रश्न गर्ने अधिकार हुनपर्छ मलाई।)

कोरोनाको प्रकोपसँगै नेपालले कमसे कम आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो । नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो । तर यी सब कुराहरूसँग सरकारलाई कुनै सरोकार नै रहेनछ भन्ने कुरा स्पष्ट देखियो ।  

सम्माननीय प्रधानमन्त्रीज्यू ! यहाँलाई आफूले बेला कुबेला बोल्नुभएका वक्तव्य ट्रोल भइराख्दा रमाइलो गर्ने माध्यम भइरहेको होला अथवा बानी पनि परिसकेको होला । तर हामी सर्वसाधारणलाई साह्रै लज्जाबोध हुन्छ । किनकि हाम्रो मान्यता– जसलाई हामीले अत्यन्त विश्वास गरी देशकै शीर्षस्थानमा राखेका छौं, त्यो व्यक्तित्व हाँसोको हैन, गर्वको पात्र बनोस् । बिडम्बना ! त्यस्तो दिन कमसे कम हाम्रो जीवनमा आउन सकेको छैन ।  

सम्माननीय प्रधानमन्त्रीज्यू ! पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नुपर्यो । सानातिना जस्तो हुन्छ, रोजगार दिनतर्फ लाग्नुपर्यो । आफ्ना नागरिकको दुःख, समस्या, विपद्, बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासँग भिज्नुपर्यो । किनकि समस्या जबसम्म आफ्नो बन्दैन, त्यो कहिले समाधानतर्फ बढ्दैन । यो देश नै तपाईंको घर हो । हामी जनता नै तपाईंका परिवार हौं । यो कुरालाई आत्मसात् गर्नुहोस् । आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन । तर आज तपाईंका जनता जानीजानी आगोमा होमिन जाँदै छन्, उनीहरूको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो ।  

सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल छ । यो कुरा नबिर्सी कार्य गर्नुहोला । सम्माननीय प्रधानमन्त्रीज्यूमा मेरो अति विनम्र याचना छ !

यो पनि पढ्नुहोस्

भोकको डरले फेरि भारत

प्रकाशित: २३ भाद्र २०७७ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App