४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

रवि र कवि

कविता

निर्मलरमण पराजुली

 

हे रवि

तिमी,माथि आकाशमा छौ

म तल पृथ्वीमा

तिमी जे देख्छौ म देख्दिनँ

म जे देख्छु तिमी देख्दैनौ  

देख्नुपर्छ तिमीले जे म देख्छु

देख्नुपर्छ मैले पनि जे तिमी देख्छौ

रवि,

तिम्रो उषाकालीन लालीमामय किरणमा

अन्ध आँखा

बन्द विवेक भएका जनमनहरू

जहाँ अन्धविश्वासका अँधेरा आँखा छन्

विवेकहीनताका डरलाग्दा खाल्डा छन्

विषम र विभेदका  

कहालीलाग्दा लक्ष्मणरेखाहरू छन्

यिनलाई छातीमा टाँसेर

तकमा भिर्न इच्छुक अनेकौ कंसहरू  

जो महिनावारीका नाममा

चेलीचित्कार

गोठगोठमै मारिरहेछन्

भोका पेट

सारङ्गी रेटिएका असङ्ख्य आर्तहरूलाई

बारुदको आगोमा जलाइरहेछन्

हे रवि,

आऊ, तिमी र म एउटै यात्रा गरौँ

अन्धविश्वासविरुद्धको यात्रा

भोका पेटविरुद्धको यात्रा

देशविरुद्ध लाग्ने विरुद्धको यात्रा

चेतना चमत्कारयुक्त यात्रा

जसमा म जे देख्छु

तिमी त्यही देख्नेछौ

तिमी जे देख्छौ

म त्यही देख्नेछु

त्यो सुन्दर समय चेलीहरू  

प्राकृतिक नियमानुसार घरमै

आरामको नीद सुतेर आँखा उघार्छन्

भोका पेट चारो टम्म भरेर

जीवन रथपाङ्ग्रा चलाउँछन्

अन्धविश्वासका आँखाहरू  

अँधेरो पर्दामै छोपिन्छन्

तिमी,ममा र

म, तिमीमा एकीभूत हुनासाथ

सुन्दर सगरमाथा शिर बन्छ

शीतल हिउँ मन बन्छ

यस पवित्रताको पटाङ्गिनीमा

न कोही रुन्छ

न कोही रुवाउँछ

समताको सौन्दर्य फिँजाएर अनन्त  

हिड्न

आऊ,तिमी चेतना फैलाऊ

म,श्रमका हात उचालेर

पर्वत ओर्लन्छु तराईतिर

तराई, उक्लन्छु पहाडतिर ।

प्रकाशित: २२ भाद्र २०७७ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App