सरस्वती श्रेष्ठ सरू
निरुपा र प्रसुन घरमै बसेको पनि दुई महिना पुग्नै आँट्यो । यस बीचमा न मामाघर जान पाए न बजार जान पाए न घुम्न कतै जान पाए । न त परीक्षाको नतीजा नै जान्न पाए ।निरुपा र प्रसुन घर बसेर दिक्क भइसकेका छन् । प्रसुन भन्छ , ‘दिदी, कति हेर्नू के टिभी र कति खेल्नु मोबाइलमा गेम । मलाई त दिक्क लागिसक्यो भन्या । आमालाई भनेर बाहिर जाऊँ न खेल्न ।निरुता, सविन ,सकिलहरूलाई पनि बोलाऊँ ।’
‘हुँदैन के भाइ बाहिर जान , आमाले कहाँ जान दिनुहुन्छ त ? खै तिमीले कुरा बुझ्या ?’ निरुपा भाइलाई सम्झाउँदै भन्छे, ‘तैपनि म आमासँग एकचोटि कुरा गरिहेर्छु पख्नु ।’
प्रसुनले दिदीको कुरा काट्दै भन्यो र आमालाई बोलायो ।
‘आमा, मेरो कुरा सुन्नु न । हामीलाई घर मात्र बस्दाबस्दा बोर लाग्यो । एकछिन बाहिर गएर खेल्छौँ नि ।’
‘हैन के भन्छ यो ? निरुपाले उक्साएकी होली नि भाइलाई ।’ आमाले निरुपातिर लक्षित गरेर भन्नुभयो ।
यो सुनेर निरुपाले ठुस्किँदै भनी, ‘खाली आमाले मलाई मात्र दोष दिनुहुन्छ के भन्या । काँ मैले बाहिर जाऊँ भने त ? कुरै नबुझी बोल्नुहुन्छ ।’
हैन तिमी ठूली मान्छे भाइलाई सम्झाउनुपर्छ क्या । उक्सायौ कि भनेर नि ।’ आमाले निरुपालाई सुम्सुम्याउँदै भन्नुभयो ।
‘किन र आमा घरभित्रै बस्नु परेको ? स्कुल पनि बन्द ,के भएको यो ?’ प्रसुन दिक्क मान्दै सोध्छ । आमाले सिलौटोमा मसला पिस्दै भन्नुभयो, ‘अहिले संसारभर कोरोना भाइरस महामारीको रूपमा फैलिएको छ । त्यसले संसारभरि नै दुई लाखभन्दा बढी मानिसको ज्यान लिइसक्यो । थुप्रै मानिसहरू कोरोना संक्रमित छन् । यो रोग एकअर्काबाट सर्ने भएकाले संसारभर लकडाउन गरिएको छ । त्यसैले संसारका सबै मानिस सबै कामधन्दा छोडेर आआफ्नो घरमा बसेका छन् । जसरी तिम्रा बाबा पनि पसल बन्द गरेर घरमै बस्नुभएको छ । यसो गर्दा आफू सुरक्षित भइन्छ । रोग लाग्नबाट बचिन्छ ।’
‘बल्ल कुरो बुझेँ ।’प्रसुनले आमाको कुरो सुनेर सहमति जनायो ।
‘घरभित्र बसेर हामी कसरी सुरक्षित भइन्छ त आमा ?’ निरुपाले अझ जिज्ञासा राखी ।
‘यो रोग स्वासप्रस्वासको माध्यमले एकअर्कामा सर्ने भएकोले भीडभाडमा जान हुँदैन । भीडभाडमा नगई घरमै बसेपछि सुरक्षित भइँदैन त । खोक्दा, हाँच्छ्यूँ गर्दा नाक, मुख नछोपे त्यही छिटाले अर्को व्यक्तिमा किटाणु सर्छ नि । त्यसैले माक्स लगाएर हिँड्नुपर्छ , बाहिर जानै पर्दा । एकअर्कासँग दुई मिटरको दूरी कायम गर्नुपर्छ ।’ आमाले छर्लङ्ग पारिदिनुभयो । ‘‘ए बुझेँबुझेँ भन्दै दुवैले टाउको हल्लाए ।
‘पसल खुलेको छैन है आमा ?’ प्रसुनले सोध्यो ।
‘छैन बाबू, पसल खुलेको छैन । गाडी चलेको छैन ।’ आमाले भन्नुभयो ।
‘मलाई चाउचाउ खान मन थियो । दिनदिनै जाउलो , रोटी , मकै खाँदाखाँदा दिक्क लाग्यो ।’ प्रसुनले मनको कुरा खोल्यो आमासँग ।
‘अँ ठिक्क पर्यो । खुच्चिङ –खुच्चिङ गर्दै निरुपाले प्रसुनलाई गिज्याई । प्रसुन रुन थाल्यो । आमाले दुवैलाई सम्झाउँदै भन्नुभयो, ‘हेर, मेरा ज्ञानी नानीबाबु, आमालाई यसरी दुख दिनु हुँदैन । तिमीहरू रमाएर , हाँसेर खेले पो आमाको मन रमाउँछ । एक अर्कासँग झगडा गरे कसरी रमाउँछ आमाको मन , भन त । तिमीले चाउचाउ खान छोडेर कति फाइदा भएको छ भन त आफै । पेट दुख्न छोडेको छ । खाना रुचि हुन थालेको छ । मोटाएर राताराता गाला भएको छ ।’ प्रसुनले हाँस्दै भन्यो ।
अनि मिठाई खान छोडेकाले दाँत राम्रा भएका छन् । कीराले सताउन पनि छोडेको छ । होइन त भाइ ?’ निरुपाले भाइलाई सोधी ।
‘हो, यतिका धेरै फाइदा हुने कुरा खान छोडेर अबदेखि त्यो चाउचाउ खाने त ?’ आमाले सोध्नुभयो ।
‘नाइँ नखाने । दाँत दुखेको , पेट दुखेको त मैले कहाँ बिर्सेको छु र।’ प्रसुनले पहिलेका कुरा सम्झँदै भन्यो ।
‘आमा आज हामी खीर खाने है । भोलिचाहिँ लट्टे खाने ।’ निरुपाले आमालाई सम्झाई ।
लल भन्दै आमा भान्छातिर जानुभयो । प्रसुन चित्र बनाउन लाग्यो । निरुपाले भने किट्टीको कथा पढेर सुनाउन थाली ।
प्रकाशित: १६ भाद्र २०७७ ०६:३५ मंगलबार