२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

आश्चर्य लाग्छ, म को हुँ !

निबन्ध

खेमराज पोखरेल

 

उमेरले बुढारी सङ्केत गरिरहेको छ । आँत र आँट बिसौनी मन पराउन थालेका छन् । बितेको जीवनका कल्पमा म आफूलाई नियालिरहेको छु । मैले जे खोजेँ, त्यो पाइनँ । खासमा जीवनमा मैले के खोजेँ र के पाइनँ, यो नै मलाई थाहा छैन । तर पनि म आम मान्छेझैँ भनिरहेको छु कि मैले खोजेको पाइनँ । यति बेला म हिन्दू दर्शनको तत्त्वज्ञानको ‘म को हुँ ? ‘म’लाई चिन’ भन्ने विषयवस्तुमा एकाग्र भएको छु । मैले जन्मदा के लिएर आएको थिएँ र के पाइनँ !! मर्दा के लान्छु र मेरो गुम्यो !!!

अरूको जन्मझैँ मेरो जन्माइ पनि मेरो आफ्नो रहर वा छनौट होइन । स्वाभाविक रूपले मृत्यु पनि रहर र छनौट हुने छैन । तर यी दुवै सत्य छन् संसारमा । एउटा भौतिक कुरा गरूँ कि एउटा उन्मादिक आकस्मिक संयोगको परिणति न हो मेरो जन्माइ । मान्छेको जन्माइ । त्यसैले पहिला यो भन्न आवश्यक ठानेको छु कि म मान्छे हुनु, नेपालमा जन्मनु, सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका १२मा जन्मनु, उपाध्याय बाहुन कुलमा जन्मनु, पानी पोखरेल थर हुनु, आत्रेय गोत्र भनिनु पैत्रिक हो । यसमा मेरो कुनै भूमिका छैन । यो पहिचान मैले फोसामा पाएको हुँ । म यसलाई लिन्न भन्दा पनि धर पाउँदिनँ । त्यसैले मलाई जात, थर, गोत्र, क्षेत्र, भूगोल, कुल, खान्दानका नाममा गाली नगरियोस् भन्ने चाहन्छु । नहियाइयोस् भन्ने चाहन्छु । नचढाइयोस् भन्ने पनि चाहन्छु । मान्छेले, जसमा आफ्नो कुनै भूमिका छैन, त्यसमा किन गाली खाने हँ ! त्यसको जसअपजस किन बोक्नुपर्ने हँ !!

यो विन्दुमा आइपुग्दा म सोच्दै छु कि जुन कुरामा मेरो कुनै भूमिका छैन, त्यो ‘म’ कसरी हुनसक्छु ? ‘म’ हुन त मैले आर्जन गरेको हुनुपर्यो नि !मेरो पौरख हुन पर्यो नि ! यसरी सोच्दा मेरो भाषा, पढाइ, सोचाइ, जीवन–दृष्टि, जागिर र मेरा राम्रा र नराम्रा कर्महरू भने यादृच्छिक हुन् । याने आर्जित हो । परिवेशीय यथार्थ हो । मैले आफ्नै चेतले–अचेतले, बुद्धि–कुबुद्धिले र आफ्नै परिवेशले आर्जेको कर्म हो । त्यसकारण मेरा यी विषयवस्तुहरूमा देखिएका असंगत–संगत कुराहरूमा गरिएका सबै खाले सकारात्मक र नकारात्मक टिकाटिप्पणीहरूलाई म स्वभावैले खुसी भएर आत्मसात् गर्छु । किनकि ती मेरा हुन् । त्यसको जिम्मेवारी मैले लिनुपर्दछ । यद्दपि यी कुरामा पनि मैले उन्मुक्त हुन कहाँ पाएको छु र ! तर फेरि तत्त्वज्ञानले भनेझैँ के ती कुरा ‘म’ हुन् त ? पक्का होइन । एउटा परिवेशीय उब्जा मात्र हुन् । परिवेशीय चेतले बनाइदिएका स्थिति मात्र हुन् ।  

यसकारण यतिबेला एउटा मेरो भौतिक रूप र अर्को चैतन्य रूप गरी आफूलाई दुई रूपमा पाइरहेको छु । 

भौतिक रूपमा ‘म’ सशरीर बनिनुमा मेरो केही भूमिका नभए पनि यसमा मेरा पुर्खाको योगदान छ । इच्छा छ । त्याग छ । प्रबलता छ । संयोगात्मक परिवेश छ । पिताको पौरुष्य छ । आमाको ममत्व छ । पिताको आकाशीय देन छ । आमामा पृथ्वीको रूप छ । त्यसैले म पितृलाई नमन गर्छु । सदैव नमन गर्छु । बिनातर्क नमन गर्छु । किनकि पैत्रिक कुरो मेरो भौतिक पहिचान हो । मेरो जरो हो । जसलाई नसमाती म उभिनै सक्दिनँ । मेरो नाम नै त्योबिना उभिँदैन । भौतिक मूल्यको संसारमा पहिचान महत्त्वपूर्ण कुरो हो । नाम महत्त्वपूर्ण कुरा हो । अनि मेरो जन्माइ पूरापूर भौतिक कुरा हो । 

मान्छेमा यायावरीय चाहना हुन्छ । मानवशास्त्रीय÷समाजशास्त्रीय दर्शनले यसै भन्छ । संसारका अनेकौँ मानव–सभ्यताको निर्माण यसै यायावरीय परिणति हो । यायावरीय हुनु भनेको मान्छेको एउटा नियमित प्रक्रिया हो र अहिलेसम्म मान्छे यायावर नै छ । सुललीत र सुखद जिन्दगीको खोजमा मान्छे यायावर भएको हो  र यही मान्छेको यायावरीय कथाले मान्छेका बगालका थर रहेका छन् । सभ्यताको विकास भएको छ ।

मलाई ‘पोखरेल’ थर धारण गराइएको छ । त्यसैले मेरो भौतिक जरो खोज्न मैले पोखरेलको वंशावलीको सहारा लिनै पर्छ । वंशावली भन्छ कि भारतको चित्तोर राज्यबाट आएका पोखरेलका इतिहास–पुरुष काशिदास जोशी सिञ्जाका सिजापति राजाको मुकामसम्म पुगे । यसरी उनी नेपालको पहाडी सरहदभित्र छिर्नुको कारण चित्तौरको राजनीतिक परिस्थिति थियो । मुसलमानहरूको बढ्दो शक्तिबाट आफ्नो हिन्दू धर्म जोगाउन उनी नेपालको निर्जन पहाडतिर छिरेका थिए भन्छ इतिहास । प्रा.डा. रामविलास पाण्डेले यो कुरा आफ्ना पुस्तकमा लेखेका छन् । धर्म जोगाउने मनसायबाट नेपालका पहाड छिरेका काशिदास स्वाभाविक रूपमा विद्वान थिए होलान् । र त त्यो चेत आयो होला उनमा । त्यसैले राजाले उनको विद्वताबाट प्रभावित भएर आफ्नी कन्या विन्दासैनीलाई उनीसँग बिहे गरिदिएका थिए । र दैलेखको दुल्लुमा बसाएका थिए । सायद त्यो बेला दैलेखको दुल्लु सिजापति राजाकै मातहतमा थियो ।  राजाले दुल्लु राज्यमा पोखरी खनाए तर पानी आएन । राज्यभरि हाहाकार भयो । काशिदास जोशीले तन्त्रका बलबाट त्यहाँ पानी निकालिदिए । फलस्वरूप त्यही पोखरीको वरिपरिको क्षेत्र उनलाई विर्ता दिए । काशिदासका सन्तान पोखरी याने कि ‘पोखर’कै समीपमा बस्न थाले । पोखरकै वरिपरि बस्ने भएकाले ‘पोखरेल’ भए । यो भयो पोखरेल थर उत्पत्तिको कथा । याने कि हालको दैलेख जिल्लाको पोखर गाउँ नै पानी पोखरेलको उद्गम स्थल हो । यो कुरा वंशावलीको हो । यो सत्य वा असत्य के हो भनेर अध्ययन गर्ने पाटो वा त्यसको विश्वसनीयता खोज्ने काम इतिहासले गर्ने छ । पुरातत्त्वले गर्नेछ । कर्णाली प्रदेशको इतिहासमा यस्ता खाले लोककथाहरूले महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ । आर्य बाहुन वा क्षेत्रीका थरहरू कर्णाली प्रदेशकै अनेकन गाउँका, ठाउँका, कामका, पदका आधारमा गरिएको कुरा त प्रमाणित नै भएको छ ।

इतिहासले जे भन्ला वा जे पत्ता लगाउला वा नलगाउला, तर म एकपल्ट दैलेखको पोखरमा पुग्दा रोमाञ्चक भएको थिएँ । हृदय नै गदगद भएको थियो । त्यो पोखरी आफ्नैजस्तो लागेको थियो । अपनत्व बोध भएको थियो । आफ्नो पहिचान बोकेको त्यो पोखर भूमिलाई नमन गर्नुबाहेक मसँग अर्को उपाय थिएन । र नमन गरेर दैलेखतिर लागेको थिएँ त्यो बेला ।

त्यसपछि निसन्देह भन्न सकिने कुरा के हो भने पानी पोखरेलहरू झाङ्गिए । पटकपटक बसाइँ सर्दै पूर्व लागे । पश्चिम पनि लागे होला । तर पश्चिम लाग्ने पोखरेलहरू वंशावलीमा अटाएका छैनन् । पोखरेलहरू अन्य मान्छेझैँ आफ्नो कुशल जिन्दगीका खोजमा अनवरत अनवरत पूर्व लागे । बसाइँ सर्दै पूर्व लागे  र केही हाँगाहरू मूलरूपमा गोर्खा र लमजुङमा बसे । द्रव्य शाहलाई राज्यारोहण गर्न सघाउने नारायण अज्र्याल मुक्तिनाथ जाने बाटामा बास बसेको घर गोरखाको छोप्राङका पोखरेलको थियो । यिनै पोखरेलले नारायण अज्र्याललाई द्रव्य शाहका मुकाममा पुर्याएको इतिहास लेखेका छन् विशिष्ट अन्वेषक प्राध्यापक दिनेशराज पन्तले गोर्खाको इतिहासमा ।

बसाइँ सर्दै जाँदा लमजुङ्को हलेदे बिर्ता पाएर बसेका पोखरेलको एउटा हाँगोको २ भाइ अझै पूर्व लागेको कथा पोखरेल वंशावली भन्छ । प्राडा माधव पोखरेल पनि यो प्रसंगमा साक्षी भएर लेखौटका आधारमा उभिन आइपुग्छन् वंशावलीमा । यसरी बसाइँ सरेको कारण जैसी बाहुनले छुवाछूतमा दुःख दिएको भन्छ पोखरेलसँग सम्बन्धित लोककथा । त्यसकारण पोखरेलको सिम्पानी खोटाङ हाँगोका आफ्ना कुलदेवतामा माधव नाम गरेका जैसी पनि छन्, जो जैसीले उपाध्यायलाई गरेको अचाक्लीका बेला हाम्रा उपाध्याय पूर्खातिर लागेका थिए रे । त्यसकारण पोखरेलको कुल देवता कालामष्ट, अदिवारा भानिज, विन्दासैनी, र माधव जैसी हुन् । यसले त्यो बेलाको कट्टर जातिप्रथाको चित्र भने उतारेको छ । जातिप्रथा मात्र होइन उपाध्याय र जैसीका भेदहरू र विभेदहरूको दृष्टान्त बोकेको छ । तत्क्षण पोखरेलका कुल देवतामा जैसी भएको र हालसम्म पुजिँदै आएको देखिएकाले सहिष्णुता पनि हो कि भनी अड्कल गर्न सकिन्छ ।

माथि पनि भनियो कि यी विन्दासैनी पोखरेलका आदि पुरुष काशिदासकी अर्धाङ्गिनी थिइन् । पछि पोखरेलहरूले विन्दासैनीलाई आधुनिक नाम दिएर विन्ध्यवासिनी बनाएर देवी भागवतसँग जोडे । विन्दासैनीलाई आफ्नो कुलदेवी मान्ने परम्पराले पितृपूजा गर्ने, मातृपूजा गर्ने पद्धतिको विकास गरेको देखिन्छ । सभ्यतामा पितृ र मातृ दुवैको योगदानलाई कदर गर्ने गरेको प्रमाण मान्न सकिने भए पनि खास कुल पूजामा स्वास्नी मानिसलाई वर्जित गर्ने चलन देखिएबाट महिला र पुरुषमा त्यो बेला रहेको चरम विभेद पनि प्रष्ट पारेको छ ।

हलेदे बिर्ताबाट पूर्वतिर हानिएका दुइ भाइमध्ये एक भाइ रमानन्द वर्तमान उदयपुर जिल्लाको जतनपुरमा बसेका थिए । प्रसिद्ध भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेल यसै खलकसँग ताल्लुक राख्छन् । अर्को भाइ सदानन्द वर्तमान खोटाङ जिल्लाको सिम्पानीमा गइबसेका थिए । सिम्पानीका सदानन्दका तीन भाइ छोरामा जेठा यज्ञपति भान्जो मिश्रलाई लिँदै नयाँ ठाउँको खोजी गर्दै धनकुटा पुगे । प्रसिद्ध विद्वान् छविलाल पोखरेल, वरिष्ट आँखा डाक्टर रामप्रसाद पोखरेल, प्रसिद्ध भाषा अन्वेषक माधव पोखरेल यसै वंशसँग सम्बन्धित छन् । भान्जो मिश्रको खलकमा प्राडा तीर्थ मिश्र हुन् । कान्छा गणपति खोटाङकै सावामा गई बसे र वंशवृद्धि गरे । यो कुलमा नेपाली कांग्रेसको २००७ सालको आन्दोलनमा विपी कोइरालासँग काँधमा काँध मिलाउने र परिवर्तनको लागि नेपाली कांग्रेसलाई चन्दा दिने भद्रकाली पोखरेलको नाम श्रद्धाले लिनै पर्छ । माइला नरपति सिम्पानीमै बाबुकै छालामा बसे । यो कुलमा लोकनाथ पोखरेल डिट्ठा र कालिप्रसाद पोखरेल मुखिया भएर नाम कमाए । धन कमाए ।

यही प्रसङ्गमा खोटाङ सिम्पानीका सदानन्दलाई पहिलो पुस्ता मान्ने हो भने त्यसको आठौँ पुस्तामा म पर्दछु । तर समग्र पानी पोखरेलको पुस्ता गणना गरी यदि काशिदास जोशीलाई पहिलो पुस्ता मानेर गणना गर्ने हो भने म  एकाउन्नौं पुस्तामा आइपुग्छु । यो कुरा वंशावलीको हो ।

माथिको कुरा भौतिक ‘म’ हो । मैले माथि पनि भनिसकेको छु कि यसमा मेरो कुनै भूमिका छैन । अब म मेरो चैतन्य ‘म’को कुरा गर्छु । मैले चैतन्य शब्द प्रयोग गर्दा आध्यात्मवादको चैतन्यस्वरूपको व्याख्यासँग मेल नखाला । मैले प्रयोग गरेको चैतन्य शब्दले नितान्त मेरो चेतलाई मात्र प्रतिनिधित्व गर्छ । यद्दपि चेतना पनि परिवेशीय हुन्छ । चेतना परिवेशीय भए पनि मेरो हो । मैले आर्जन गरेको हो । यो विन्दुबाट हेर्दा म एउटा चैतन्य परिधिको सीमिततामा अडेको मान्छे हुँ । जुन दिन त्यो चैतन्य सकिन्छ, म पनि सकिन्छु । भौतिक मुढो बाँचे पनि त्यसको केही सार हुन्न । मुढो गएपछि चैतन्यको काम सकिन्छ । यसैगरी चैतन्य गएपछि मुढाको काम सकिन्छ ।

त्यसकारण मेरो चेत यो साँघुरो घेराभन्दा माथि उठ्न खोज्छ । संसारमा प्रचललित भएको लिंगीय विभेद, जातीय विभेद, रंगीय विभेद, रूपको विभेद, धनको विभेद, मानको विभेद, सानको विभेद जस्ता विभेदभन्दा माथि उठ्ता नै मजा मान्छ मेरो चेतना । म मेरा सोचमा अन्ध–म छोडेर हामी, अन्ध–जात छोडेर समाज, अन्ध–समाज छोडेर राष्ट्र, अन्ध–राष्ट्र छोडेर अन्तर्राष्ट्र, अन्ध–अन्तर्राष्ट्र छोडेर ब्रह्माण्डतिर उन्मुख हुन सकूूँ भन्ने लाग्छ । सारा ब्रह्माण्डका जीव–अजीवको अस्तित्वलाई आत्मसात् गरूँ भन्ने लाग्छ । पृथ्वी मात्र होइन सारा ब्रह्माण्ड नै कसैको बपौती होइन । कसैले आर्जेको होइन । ब्रह्माण्डका चराचर जगतका सबैको साझे हो । सबैले बाँच्न पाउनुपर्छ भन्ने कुरा मेरो चेतले भन्छ । यो कुरा राजनीतिमा नारा बनेको छ । समाजमा समाज–कल्याण सोच बनेको छ । नैतिक नीति बनेको छ । त्यसकारण अन्तर्राष्ट्रिय विचारसँग नजिकिन पाए झन् आनन्द मान्छु । मान्छे हुन पाए भयो मलाई । समग्र बन्धनहरू पार गरेर मान्छे हुन पाएको परिवेश नै आनन्दिलो लाग्छ मलाई । यो कर्म जटिल छ । तर पनि म त्यो आनन्दिलो परिवेशमा नै मैले आर्जित गरेको ‘म’ हुन पुग्छु । मरेका भोलिपल्ट दुई दिन हुन्छ भन्ने त कुरै छ र यो बिनाविभेदीय सत्य हो । यो बेला जात, धर्म, सम्प्रदाय, कटुता आदिआदि वाहियात हुन् भन्ने लाग्छ । यस्तो अवस्थामा वर्तमानमा मान्छेमा देखिएको अमान्छेपनको अर्थ के होला भनेर घोत्लिरहन्छु ! मेरो खास चैतन्य ‘म’ यस्तो छ । तपाईँ मेरो खास ‘म’लाई सन्की भन्नुहुन्छ  भने पनि भन्नुस् । चैतन्य सोचमा तपार्इँले भन्नु र नभन्नु ले के फरक पर्छ र !

तर फेरि राष्ट्रिय घेरामा उभिन पुग्छु म ।किनकि म पृथ्वीको जुन गोलाद्र्धमा पुगे पनि वा ब्रह्माण्डका कुनै ग्रहमा पुगेर पनि वा सबै नामथर परित्याग गरेर सन्यास धारण गरे पनि मेरो पहिचान खोजियो भने ‘नेपाली’ भनिन्छ मलाई । यो बेला मेरा अन्य पहिचान हराउँछन् र म नेपालीभित्र मात्र समेटिन्छु । त्यसकारण मलाई नेपाली राष्ट्रिता प्यारो लाग्छ । नेपाल प्यारो लाग्छ । नेपाली प्यारा लाग्छन् । नेपाली भूमि प्यारो लाग्छ । तर विडम्बना जब म नेपालभित्र नेपाली भएर पस्छु, अनि मेरो पहिचान, भूगोल जात थर हुँदै परिवारमा पुग्छ । यहाँसम्म पुगेर त केही हुन्नथ्यो, तर म त्यसभित्र साँघुरो कृत्य गर्न थाल्छु । खोई किन यस्तो लाग्छ कि म सधैँ बाँच्छु, यो लीलामा म सधैँ रमाउँछु । यसरी रमाउँछु मानौ मैले जोरेका जायज÷नाजायज कमाइहरू मसँगै जान्छन् । यसबेला मेरो चैतन्य ‘म’ खण्डित भइरहेको हुन्छ । म दुःखी भइरहेको हुन्छु । र पाइन सकिएको भौतिक शरीरलाई लिएर चैतन्यको कल्पनामा हराउँछु । सारमा म फेरि सोचिरहेको छु कि म को हुँ ? भौतिक हुँ कि चैतन्य ?

प्रकाशित: १३ भाद्र २०७७ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App