२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एउटा रहरलाग्दो मरण

पिताप्रति श्रद्धाञ्जली

प्रा.डा. किरण रेग्मी

भाद्र २ गते, २०७७ साल, गतः एक सय एक वर्षदेखि अखण्ड प्रज्ज्वलित एउटा दियो निभ्यो, मेरा पिताजी, साहित्यका भीष्म पितामहको आत्मा परमात्मामा लीन भयो।

विगत तीन वर्षयता पिताजीको स्वास्थ्यमा उतार–चढाव आइरह्यो। यिनै दिनहरूमा मैले पिताजीको अत्यन्तै निकट रहने सौभाग्य पाएँ। म पिताजीको ठूली कान्छी छोरी साथै एउटा चिकित्सक पनि। सय वर्ष लाग्नै लाग्दा पिताजीकोे स्वास्थ्यमा केही जटिलता आएकाले उहाँलाई नेपाल सरकारको सहयोगमा भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा लग्यौँ। उहाँलाई त्यहाँ केही दिन स्वास्थ्य लाभ गराएर फर्कियौँ। निरन्तर स्वास्थ्य निगरानीका लागि पिताजीले नेपालै रोज्नुभयो। यसका लागि ग्रान्डी इन्टरनेसनल अस्पतालबाट डा. चक्रराज पाण्डे नेतृत्वको टोलीले पिताजीलाई स–सम्मान स्नेहपूर्वक र निःशुल्क सेवा दियो। हामी स—परिवार नेपाल सरकार र ग्रान्डी इन्टरनेसनल अस्पतालप्रति अत्यन्त आभारी छौँ।  

यिनै तीन वर्षको अन्तरालमा पिताजीलाई यदाकदा अस्पतालमा सामान्य जाँचबुझ गराई घरमा ल्याउने, कहिलेकाहीँ ‘हाइ केयर’मा समेत भर्ना भई उपचार गराउने परिस्थिति आउँथ्यो। समग्रमा भन्नुपर्दा पिताजी सामान्य रूपमा चलायमान नै हुनुहुन्थ्यो। घरबाहिरका सभा–समारोहमा भने जान सक्नुहुन्नथ्यो। यस अवधिमा पिताजीको आँगनमै उहाँको सम्मानमा धेरै समारोह भए। यसरी नै पिताजीको जीवन चलि नै रह्यो।  

श्रावण २७, २०७७ सम्म पिताजीको हौसला उच्च थियो। महाकाव्य सिध्याउने संकल्प जीवितै थियो। तर यो उच्च हौसला भोलिपल्ट बिहानबाट डगमगाउँदै गयो। त्यसै बिहान मेरो हात समाउँदै भन्नुभयो, ‘तिम्रो हात समाउँदा जीवन समाएजस्तो लाग्छ,’ एकछिनमै मेरा हात पन्छाउँदै भन्नुभयो, ‘तर अब म परमात्मामा लीन हुन्छु।’ यसै बिहान मैले पिताजीबाट आत्मा र परमात्माको अन्तर जानेँ– आत्मा सीमित छ, परमात्मा अनन्त। उहाँले अझ प्रस्ट पारिदिनुभयो, ‘आत्मा जीवित वस्तुहरूको एक अवयव हो, आत्मालाई मरणपछि पनि नयाँ शरीरद्वारा निरन्तरताको बाध्यता छ, परमात्मा निरपेक्ष हो, यो कुनै सर्तमा बाँधिएको छैन।’

एकै क्षणको मौनतापछि मधुर र मसिनो आवाज सुने, ‘बाँचुन्जेल म कुनै सर्तमा बाँधिइनँ, मरणपछि मलाई केको बन्धन र !’ यस्ता गुण तत्व ज्ञान निरन्तर पाई नै रहन्थेँ। त्यस दिनको यो प्राप्त ज्ञानलाई पनि यसको सिलसिला सम्झिएँ।  

बिहान मेरो हात समाउँदै भन्नुभयो, ‘तिम्रो हात समाउँदा जीवन समाएजस्तो लाग्छ,’ एकछिनमै मेरा हात पन्छाउँदै भन्नुभयो, ‘तर अब म परमात्मामा लीन हुन्छु।’

किनकि जगत् जीवन्त बनाउन प्रकृतिको गीत गुनगुनाउने, देशको माटो बोल्ने, हृदयले हिमालको उचाइ नाप्ने अणुबम प्रहारबाट सम्भावित सृष्टि विनाश रोक्न अश्वत्थामा खण्डकाव्य रच्ने मेरा पिताजी, म कसरी विश्वास गरुँ आफ्नै मरणको कल्पना मात्र गर्नुहुन्छ भनी।

सत्य त सत्य नै हुँदो रहेछ। मृत्यु शाश्वत सत्य रहेछ। सत्य यो पनि रहेछ– त्यसै दिनबाट पिताजी आफ्नो मरण तयारीमा लाग्नुभएकै रहेछ। हामी परिवार अहिले त्यो बेला भएको छैन भनी अनुनयविनय गरिरह्यौँ। पिताजी आफ्नो योजनाबाट पछि हट्नुभएन। हो पनि, कहिले कसले पिताजीलाई आफ्नो निर्णयबाट डगमगाउन सकेको छ र ?  

अत्यन्तै कठिन समयमा समेत पिताजी ‘उद्धरेदात्मनात्मानं’ (आफ्नो उद्धार आफैं गर्नू) जपी पुनः जीवनको तार जोडनुहुन्थ्यो। पिताजीकै प्रिय भागवत गीता पुस्तकमाथि एउटा कागजको पाना अड्याई सानो भाइ पिताजीको मरण योजना लिपिबद्ध गरिरह्यो। हामी सबै यसको साक्षी भइरह्यौँ। त्यस पानामा के होला भन्ने कुतूहल सम्पूर्ण नेपालीलाई होला भनी यहाँ प्रस्तुत गर्दैछु।  

तयारी त दुई वर्षअघि नै भएको रहेछ, पिताजीको मरण गीतको चयन तथा गायनसँगै। यसको चाँजो मिलाउने जिम्मा मेरी ठूली दिदीलाई रहेछ– अत्यन्त गोप्य राख्ने सर्तमा। उहाँ आफैँले पनि यसको गायन सुन्नुभएन रे। पिताजीले आफ्नो गीतको गायन नसुनेको यही नै हो अपवाद।  

पिताजीको मरण तयारीको प्रथम चरण यही गीतलाई ठूलाठूला अक्षरमा ‘टाइप’ गरी शोक–पुस्तिकाको प्रथम पृष्ठमा राख्नुपर्नेबाट सुरु भयो। हामी कसैले पनि ‘टाइप’ गर्ने शक्ति जुटाउन सकेनौँ। किनकि हामीलाई त यो समय आएकै छैन भन्ने विश्वास थियो। म त्यसबेला पिताजीको छोरी मात्र रहेँ। मेरो चिकित्सकीय पाटो ओझेल परिदियो।  

अहिले आँगनमा फूलमालाले सजिएको पिताजीको तस्बिरअगाडि राखिएको शोक–पुस्तिकाको प्रथम पृष्ठमा हस्तलिखित त्यही मरण–गीत छ। कर्ण दासले गाउनुभएको त्यो गीतबारे अरुले भनेको सुनेकी छु, ‘गीत मन छुने छ।’ तर त्यो गीत सुन्ने शक्ति अहिले ममा छैन। कुनै समय सकेँ भने सुनौँला। त्यो गीत शोक–पुस्तिकामा मैले पढेँ, फेरि पढेँ, अनि फेरि पढेँ। अनायासै बिनाबादल पानी परिरह्यो। अन्तरआत्मादेखि पिताजीलाई सम्झिरहेँ।  

पिताजीलाई आमाको साथ छाड्न निकै कठिन परिरह्यो। एक–दुई दिन त साथै आउन समेत आग्रह गर्नुभयो। आमा पनि तयार हुनुभाथ्यो, तर पछि आमालाई हामीसँगै छाडिदिनुभयो। सायद हामीलाई अभिभावकविहीन नबनाउन होला। भन्नुभाथ्यो, ‘अब म माथि मन्दिरबाट तिमीलाई हेरिरहन्छु, तिमी विचलित नभई बगैँचामा घुमिरहनू।’ त्यसै दिन आमालाई सम्पूर्ण शृंगार गर्न लगाई ठूलो ऐना सामुन्ने उभ्याई बाँकी जीवन यस्तै रूपमा बिताउने वाचा समेत गराउनुभयो। हामीलाई रंगविहीन आमा देख्नुनपर्ने भो।  

त्यस्तै, मरण तयारीमा कतिजना बाह्मण राख्ने, दक्षिणा कति दिने, श्रद्धाञ्जली दिन आउनेलाई कसरी स्वागत गर्ने, तेह्रौँ दिनको भोजन कस्तो गराउने आदि उल्लेख छन्। पिताजीको मरण योजना चलिरह्यो, सानो भाइले टिपी नै रह्यो। त्यो साता त्यसरी नै बित्यो।  

श्रावण ३२ गते बिहान ८ बजे आँखा खुल्नासाथ भन्नुभयो, ‘चारैतिर कति उज्यालो नै उज्यालो छ।’  हो नि त यस्तै थियो, यो चारैतिर फैलिएको उज्यालो स्वयं पिताजीले रचेको एउटा चहकिलो नेपाली साहित्यको इतिहासको उज्यालो त हो !  

बिस्तारै पिताजीको भौतिक शरीरले साथ छाड्दै गयो। इन्द्रिय जतिसुकै बलियो भए पनि शरीर कमजोर भएपछि फौजबिनाको कमान्डरजस्तै भयो। यो क्रम बढ्दै गयो। भाद्र २ गते बिहानबाट पिताजीको श्वास र शरीरको तालमेल छुट्दै गयो। हामी वरिपरि मौन हेरिरह्यौँ। पिताजी पनि मौन र निश्चल नै हुनुहुन्थ्यो, शिवाय आमा र ठूलो भाइलाई आफ्नो सम्पूर्ण शरीर नुहाई दिन इसाराबाहेक। परिवारका सबै सदस्य पालैपालो पिताजीको हात समाउँदै गर्दा– मिनेट बिते, घन्टा बिते र बिस्तारै दिन पनि बित्लाजस्तै भयो। वातावरणलाई एक कहालीलाग्दो सन्नाटाले ढाक्यो। अमेरिकाबाट कान्छी बहिनी त्यसै साँझ आइपुग्ने पिताजीलाई थाहा थियो। सायद त्यही प्रतीक्षा थियो।  

अन्ततः साँझ प-यो, घाम अस्ताउलाजस्तो भयो, चराचुरुंगी झुन्डझुन्ड भई बास बस्न रूखतिर लागे। सम्पूर्ण प्राणी बास बस्न आ–आफ्ना घर फर्किए– कान्छी बहिनी पनि बास बस्न आइपुगी, तर यही साँझ ५ः५५ को समयमा हाम्रा पिताजी महायात्राका लागि घरबाट प्रस्थान गरिदिनुभयो। यति नै थियो, उहाँको आफ्नो मरण तयारी। बाँकी त पिताजीको कर्मले नै तय गरेको मरण यात्रा।  

हामी विचलित भइरहँदा, सम्पूर्ण राष्ट्र पनि हामीसँगै विचलित भयो। कसैले त सम्हालिनुप-यो नि ! पिताजीको राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने तयारीमा राष्ट्र जुट्यो। नेपाल सरकारको आग्रहमा त्यस रात पिताजीको पार्थिव शरीर हामीसँगै रह्यो। भोलिपल्ट बिहानै हामी उपस्थित पाँच दिदीबहिनी, दुई भाइ, दुई बुहारी विगतका कुशेऔँसीमा जस्तै गायत्री मन्त्रोचारण गर्दै पिताजीको पार्थिव शरीर परिक्रममा गरी यस वर्षको पिताजीको मुख हेर्ने कार्यक्रम पूरा ग-यौँ। तर विगतका वर्षहरूमा जस्तै ‘मेरा छोरीहरू कति शुद्ध मन्त्रोचारण गर्छन्’ भन्ने स्याबासी सुन्न पाएनौँ। तापनि पिताजीको त्यो स्निग्ध र तेजस्वी अनुहार हामीलाई अब आउने कुशेऔँसीका लागि हृदयमा अंकित भयो। तत्पश्चात् आमासँग आमाकै जन्म दिनको आशीर्वाद लियौँ। यसपटक हामीसँग न आमाका लागि शौभाग्यको सामग्री नै थियो, न त मिठाईको किस्ती। थियो त एक राष्ट्रिय विभूति तयार पार्ने सशक्त महिलाप्रतिको स्नेह र सम्मान। आमासहित हामी तल ओर्लंदासम्म पिताजीको पार्थिव शरीरलाई अबिर फूलमाला र चन्दनले सजाइएको थियो। पिताजीको आँगन शुभेच्छुकले भरिएछ। आफ्ना प्रिय कवि गुमाएको वेदनाको अघि कोरोना संक्रमणको डर टिक्न सकेन– जनसागर उर्लिरह्यो। नेपाल सरकारको उच्च पदाधिकारीको उपस्थिति थियो नै। उपप्रधानमन्त्रीबाट पिताको पार्थिव शरीरलाई राष्ट्र ध्वज ओढाउँदै गर्दा नेपाली सेनाले पिताजीकै रचना ‘गाउँछ गीत नेपाली’ बोलको धुन बजायो। निकै दिनदेखिको धुमिल आकाश आज स्वस्च्छ थियो। सायद आकाशमाथिबाट पनि पुण्यात्माको यो गौरवमय सम्मान दृश्यावलोकन भइरह्यो होला।  

अन्त्यमा फूलमालाले सजिएको गाडीमा पिताजीको पार्थिव शरीर राखी हामी सबै परिवार पशुपतितर्फ लाग्यौँ। सम्पूर्ण यात्रामा हामी महामृत्युञ्जय र गायत्री मन्त्र उच्चारण गरिरह्यौँ। सेनाले पिताजीको विभिन्न लोकप्रिय कालजयी गीतका धुन बजाइरह्यो। पशुपति क्षेत्र प्रवेशपश्चात् पिताजीको पार्थिव शरीरलाई हामी छोराछोरी, आफन्त र ब्राह्मणहरूले कन्धा दिई आर्यघाट पु¥यायौँ। ब्रह्मनालको विधिपश्चात् पिताजीको पार्थिव शरीरलाई आर्यघाटको प्रमुख वेदीमा राखियो।  

आमासँगै हामी स–परिवार स–सम्मान पिताजीको पार्थिव शरीर परिक्रममा ग-यौँ। दुई भाइहरूले मुखाग्नि दिएसँगै सेनाले सलामी अर्पण ग-यो। क्षणभरमै वातावरण श्रीखण्ड, घिउ र कुशको सुगन्धले सुगन्धित पा-यो। बिस्तारै अग्नि देवताले पिताजीको पार्थिव शरीरलाई आलिंगनमा लिई रहँदा मेरो व्याकुल मन सोची रह्यो– यस्तो मरण त कसले पो पाउला र ?

प्रकाशित: १३ भाद्र २०७७ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App