४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

उस्तैउस्तै लाग्छ

कविता

 प्रेम राई परीक्षित


घरभित्र बसूँ 

निरीह बोराले मलाई

बाहिर खेदिरहन्छ

नून तेल दाल अनि थुप्रै अभावहरु

मलाई बाहिर खेदिरहन्छ

बाहिर निस्कूँ 

मेरो सरकार मलाई

एकोहोरोभित्र खेदिरहन्छ

सरकारसग मिलेर

कोरोना पनि मलाई नै खेदी रहन्छ

आजकल मिलमत्तोको त रझाई छ

त्यसैले,

कोरोना..! आजकल मलाई

कोरोना र मेरो सरकार उस्तै उस्तै लग्छ

मेरो सरकार र काेराेना उस्तै उस्तै लाग्छ।


मेरो सानो छोरो

आजकल मलाई शङ्का गरिरह्न्छ

बा...! किन बाहिर निस्कनु हुन्न ?

किन पुलिस लखेट्छन् हजुरलाई ?

लाग्छ केही चोरेर आएको छु

त्यसैले

निरपराध साबित गर्न पनि

म निस्कन्छु जोखिम मोलेर बाहिर

अनि के चाहियो र ?

कोरोना तम्सिहाल्छ म माथि

त्यस माथि मेरो सरकार फेरि बर्सिन्छ मतिर

त्यसैले,

आजकल मलाई

कोरोना र मेरो सरकार उस्तै उस्तै लाग्छ

मेरो सरकार र कोरोना उस्तै उस्तै लाग्छ।


जय होस! कोरोना तेरो

तेरै कारणले 

आज निकै बर्ष पछि 

पाँच के. जि.चामल  सितैमा पाइयो

नत्र सधै मैले नै दिदै आएको हो

तेरै कारण सहि 

आज नि:शुल्क उपचार पनि पाइयो

तँ पनि निकै समय पछि आईस्

सरकार पनि तँ आएपछि

धेरैपछि हाई काट्दैकाट्दै आयो

त्यसैले

आजकल मलाई

कोरोना र मेरो सरकार उस्तै उस्तै लाग्छ

मेरो सरकार र कोरोना उस्तै उस्तै लाग्छ।

के यसो बाहिर निस्केथेँ

ओइरो लाग्यो प्रश्नको

स्यानिटाइजर दल्नु भो ?

खै त मास्क अनि पन्जा ?

किन मान्छेहरु आजकल

मेरो यत्ती बिघ्न ख्याल गर्छन हँ ?

अरु बेला पुछदा पनि नपुछ्ने

मेरो सरकार 

किन यति बिघ्न 

सोधिखोजी मेरो गरिरहन्छ हँ ?

गोजि आइसियुमा

लम्पसार परेको उहिलै हो

तर किन सोध्दैन मेरो अभावहरु?

कोरोना न तँलाई मतलव छ

न मतलव छ मेरो सरकारलाई

त्यसैले ,

आजकल मलाई

कोरोना र मेरो सरकार उस्तै उस्तै लाग्छ

मेरो सरकार र कोरोना उस्तै उस्तै लाग्छ।

प्रकाशित: ९ भाद्र २०७७ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App