११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

बुबाको वचनले ल्याइदिएको परिवर्तन

सूर्यप्रसाद लाकोजू

परिवारमा म पहिलो सन्तान हुँ । त्यसैले आमाबुबाको माया मैले अलि बढी पाएँ भन्ने लाग्छ ।  हामी सानो छँदा अहिलेको जस्तो इन्टरनेट, मोबाइल, कम्प्युटर त के घरमा एउटा रेडियोसम्म पनि थिएन । केही धनीमानीको घरमा भने रेडियो बजेको सुनिन्थ्यो । हाम्रो अधिकांश समय खेलेर बिथ्यो ।  त्यसबेला खेलिने विभिन्न खेलहरू थिए । हामी समूहमा खेल्थ्यौं । समूहमा रहेकाहरूमध्ये म अलि सानो उमेरको थिएँ । हाम्रो सानो तर सुन्दर ऐतिहासिक वस्ती छ पनौती बजार । त्यसको ठूलो महिमा छ । यो पवित्र धार्मिक स्थल पनि हो । यहाँ बाह्र वर्षको एकपल्ट मकरमेला पनि लाग्दछ । त्यसबेला यहाँ भक्तजनहरूकोे घुइँचो लाग्दछ । त्यही मकरमेला लाग्ने ठाउँभन्दा उत्तरतर्फ दलिन्चोकडाँडा रहेको छ । त्यहाँ हामी हरेक दिन खेल्न जान्थ्यौ । हामी प्रायः आसपास (लुकीडुम) खेल्थ्यौ । आफू डुम नहुँदा त रमाइलो नै हुन्छ । तर डुम भएपछि मलाई निकै सकस पथ्र्यो । उमेरमा म सानो भएकाले आफूभन्दा ठूलाहरूलाई भेट्टनै नसकिने हुथ्यो । सबैको नाम लिएर आसपास भनेपछि मात्र आफू डुमबाट मुक्त हुने खेलको नियम हुन्थो । साथीहरू सबै लुक्न जान्थे । म खोज्न जान्थें । एउटालाई भेटएको हुँदैन अर्कोले आएर छोएपछि आफू फेरि डुमको डुमै । सानो भएका कारण सबैलाई खोज्दै  आसपास भन्नै नसकिने । आफू डुम भएको भई हुने । मलाई दिक्क लागेर आउँथ्यो । त्यसैले साथीहरू सबैलाई लुक्न पठाएर आफू चाहीं घर आएर बस्थ्यें । उनीहरू उल्टो मलाई खोजिरहेका   हुन्थे । पछि साथीहरू घरतिर आएर तँलाई भोलिदेखि हामीसँग खेलाउँदैनौ भन्थें । यस्तो धेरैपल्ट दोहोरिन्थ्यो । यसका साथै इन्द्रश्वर महादेव मन्दिरको प्राङ्गण पनि हाम्रो खेल्ने ठाउँ थियो । पाटीहरूमा पनि विभिन्न प्रकारका खेलहरू खेल्ने गर्दथ्यौं ।

हाम्रो परिवार निम्न वर्गको थियो । विहान बेलुका हातमुख जोर्न पनि कठिन थियो । आमाबा दुबै काममा जानु हुन्थो । घरमा कहिले काहीं काम गरेको जस्तो मात्र गर्दथें । मलाई बाले यसरी खेलेर मात्र हुन्न राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थें । आफूलाई साथीहरूसँग खेल्नमै मजा आउँथ्यो । खेल्नुका साथै साथीहरूसँग प्राय माछा मार्न खोलामा जान्थ्यौं । पनौतीको माछा यहाँ मात्र होइन काठमाडौसम्म प्रख्यात थियो । यहाँका असला माछा निकै प्रख्यात थियो । खोलामा अन्य माछाहरू पनि हुन्थे । हामी खोलाको एकातिरको भाग चपरीले थुनेर पानी अर्को भागबाट पठाउँथ्यौं । अनि थुनिएको भागको पानी बाहिर फालेर माछा माथ्र्यौं । मारेको माछा भाग लगाएर घर आउँथ्यौं । माछा घर ल्याउँदा पनि नपढिकन बरालिएर हिंडेको बात लाग्थ्यो ।  

बुबाले छोराले पढोस, ठूलो मान्छे बनोस भनेर स्कुलमा भर्ना त गरिदिनुभएको थियो तर पढाइमा भन्दा बढी ध्यान खेल्नमै हुन्थ्यो ।  बाबु राम्रोसँग पढ । नत्र दुःख हुन्छ । आफ्नो छोराले दुःख पाओस् भन्ने चहना कुनै आमा बुबाको हुँदैन । सुख पाउनका लागि पढ । हाम्रो लागि होइन आफ्नै लागि पढ भनेर बुबा सम्झाउनु हुन्थ्यो । उहाँले सम्झाउनुभएपछि म भोलिदेखि पढ्छु बा भन्थें तर मेरो भोलि कहिल्यै आउँदैनथ्यो ।  

खोलामा जाने माछा मार्ने, पौडी खेल्ने काम हाम्रो नियमितजस्तै थियो । वर्षामा पुण्यमाता खोलामा ठूलो बाढी आउँथ्यो । पुण्यमाता खोला रोसीजस्तै तेज बहावको थिएन । बाढी नै आए पनि त्यस्को गति अलि सुस्त थियो रोसीको तुलनामा । त्यस्तो बेलामा पनि हामी केटाहरू पौडी खेलेर खोलाको वारपार गथ्यौं । एक दिन खोलामा बाढी आएको बेलामा हामी पौडी खेल्दै थियौं । त्यो दृश्य मेरो बुबाले पनि देख्नुभयो । मलाई घर लगेर निकै गाली गर्नुभयो । गालीभन्दा पनि बुबाको काँपेको स्वर सम्झेर त्यसदिनदेखि पौडी खेल्न छोडें । त्यो बेलामा त मैले काँपेको स्वरको अर्थ धेरै बुझेको थिइन तर अहिले म सम्झन्छु बुबाको मायाको सागरमा लुकेको मोती ।

कक्षा सातसम्म पढाईमा मैले खासै ध्यान दिइन । हामी तीन दाजुभाइमध्ये माइलो सुधन पहलेदेखिनै  राम्रो पढ्ने । कान्छो पनि मजस्तै थियो ।  स्कुलमा मलाई भाइसँग पढ् भन्नुहुन्थो सरहरू । त्यसो भन्दा मलाई निक्कै अप्ठयारो लाग्थ्यो । तैपनि मेरो बुद्धिमा घाम लागिसकेको थिएन ।  

त्यो बेला सरकारी स्कुल भए पनि शुल्क तिर्नुपथ्र्यो । माइलो भाइ कक्षामा सधैं पहिलो हुने भएकोले उसले छात्रवृत्ति पाएको थियो । उसको पैसा तिर्नु पर्दैनथ्यो । मेरो भने पैसा तिर्नुपथ्र्यो । सधैं बुबा गएर पैसा तिर्नुहुन्थ्यो । कक्षा सातको अन्तिम परीक्षा सकिएको थियो । त्यबेला पुषमा रिजल्ट गर्ने चलन  थियो । रिजल्टको दिनसम्म पैसा नबुझाए रिजल्ट रोकिन्थ्यो । त्यसैले बुबालाई पैसा तिर्न कर गरें । बुबाको कुनै स्थायी जागिर थिएन । थोरै धान आउने कमाएको खेत थियो । मंसिरमा धान सुकाएर राखिएका थिए । केही भारी धान कुट बुझाएपछि बाँकी हाम्रो हुन्थ्यो । त्यो धानले हामीलाई वर्ष दिनसम्म खान पुग्दैनथ्यो । घरमा भएको केही भारीे धानमध्ये एक भारी ठूलो बोराको धान बेचेर बुबाले मेरो हातमा पैसा थमाइ दिनुभयो र भन्नुभयो, ‘यो एक भारी धानको पैसा हो । स्कुल गएर तिर्नु । यसमा मेरो पसीना लागेको छ । अबदेखि राम्रोसँग पसीना बगाएर पढ्नु । मैले स्कुल गएर पैसा तिरें । रिजल्ट हेरेर घर फर्कें तर बुबाले भन्नुभएको वाक्यांशले मेरो पिछा छोडेन । धेरै कुरा नबुझे पनि केही कुरा त बुझ्ने भैसकेको थिएँ । बुबाहरू विहानदखि खेतमा काम गर्न जानुहुन्थो । त्यस्तो गरीबीको अवस्थामा पनि तीन छोरालाई गाली गर्ने, पिट्ने गर्नुभएको याद छैन । केही काम गर्नु पर्दैन मात्र पढ भन्नुहुन्थ्यो । 

त्यो साँझ खाना खाएपछि बुबालाई मैले सोधें, ‘बा एक बोरा धानले हामीलाई कति खान पुग्छ ?’ बुबाले हामीलाई एक महिनाभन्दा बढी पुग्ला भन्नुभयो । अलि बढी खेल्ने भए पनि म सानैदखि बढी सम्वेदनशील थिएँ । भावुकता मेरो स्वभाव थियो । मैले नपढीकन  परिवारको एक महिनाको गाँस खोसें भन्ने मनमा लागिरह्यो । पिताको पसीनाको मूल्य रोसी खोलामा बगाएँ भन्ने मनमा परिरह्यो । म कक्षा आठमा पुगिसकेको  थिएँ  । कक्षा आठदेखि राम्रोसँग पढ्न थालें । म पनि स्कुलको असल विद्यार्थीमा गनिन थालें । मेरो कक्षामा सयभन्दा बढी विद्यार्थी थिए । मैले आफूलाई परिश्रमको आगोमा खार्न थालें । मैले पढेपछि मेरो कान्छो भाइले पनि मसँगै पढ्न थाले । हामी तीनै जना दाजुभाइ पढाइमा राम्रो हुँदै गयौं । रिजल्ट पनि उत्कृष्ट हुँदै गयो । त्यसबेला लाग्थ्यो मैले मेरो बुबाको शिर झुक्न दिइन । बुबाले मेरै हातमा पैसा दिएर पठाउनुको कारण के हो मलाई थाहा छैन । गाली नगरी किन पसीना, खाना, परिश्रमको कुरा गर्नुभएको हो थाहा छैन तर त्यो घट्नाले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएदियो ।  

हामीहरूको राम्रो पढाइका कारण आमाबुबाको अनुहारमा पोतिएको खुशी अहिले पनि मेरो हृदयमा मखमली बनी फुलिरहेको छ ।

प्रकाशित: ४ भाद्र २०७७ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App