कमल रिजाल
आफैलाई सर्वेसर्वा ठान्ने, अरूलाई नगन्ने, आफू र आफ्नो मात्र राम्रो वा उत्तम अरू वा अरुको तुच्छ वा रद्दी ठानी शेखी गर्ने, चुरीफुरी देखाउने फुर्ती गर्ने, मैमत्त भएर हिड्ने जस्ता व्यवहार तथा प्रवृत्तिलाई घमण्ड भनिन्छ । यसलाई अर्को भाषामा अहङ्कार पनि भन्न सकिन्छ। घमण्ड वा अहङ्कार भनेको त्यस्तो दुर्गुण हो, जसले कहिल्यै भलो गर्दैन । जतिसुकै धनीमानी भए पनि वा जतिसुकै ठूलो ओहोदाधारी भए पनि एक दिन त्यसको नतीजा चुकाउनै पर्छ । यद्यपि यो मानवीय स्वभाव हो । मानिसबाहेक अन्य प्राणीले घमण्ड गर्दैन तर मानिसमा भने जन्मदै साथमा लिएर आएको हुन्छ । किनकि मानिसको जन्मको स्रोत भनेकै अहङ्कारहो । अहङ्कारबाटै उसको जन्म भएको हुन्छ । तथापि एउटा निश्चित हदसम्म मात्र सुहाउँछ । अन्यथा सर्वनाशको बाटो खोज्न अन्त जानु पर्दैन । यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो । भूमण्डलमा दक्ष प्रजापति नामक राजा थिए । उनी तत्कालीन भूगोलको सम्राट नै मानिन्थे । मानिस जति ठूलो पदमा पुग्यो त्यति नरम हुनुपर्छ । राम्रो देखिन अरूले राम्रो भनिदिनुपर्छ । आफै मपाईं बनेर हिँड्नु हुँदैन । अन्यथा अरूको दृष्टिमा राम्रो होइन थप नराम्रो बन्नुपर्ने अवस्था सिर्जना हुन्छ तर दक्ष प्रजापति यसको ठीक विपरीत थिए । उनी जति घमण्डी थिए त्यति नै क्रोधी र प्रतिशोधी भावनाका पनि थिए । आफूबाहेक उनी कसैलाई पनि गन्दैंन थिए । देवीदेवताले समेत आफैलाई मान्नुपर्छ भन्ने मान्यता राख्थे । महादेवलाई त झन् देख्न सक्दैन थिए । नातामा महादेव उनका ज्वाईं पर्थे । उनका एउटी छोरी महादेवले विवाह गरेका थिए । यस अर्थमा उनी अन्य देवीदेवताले भन्दा पनि महादेवले आफूलाई बढी मान्नुपर्छ भन्ने चाहन्थे तर ठूलाले सानाले मान्ने भन्ने कुरा नीतिको विपरीत थियो ।
सानाले ठूलालाई मान्नुपर्छ । ठूलालो सानालाई माया गर्नुपर्छ । नीति सङ्गत कुरा यही नै हो । अन्यथा नीतिविपरीत हुनपुग्छ, जसले गर्दा जसलाई सम्मान गरिएको हो उसैलाई हानिनोक्सानी गर्छ । नीतिशास्त्रमा पनि यसै भनिएको छ । धर्मशास्त्रमा पनि यसै भनिएको छ । महादेवले दक्षप्रजातिलाई मान्दा दक्षप्रजापतिकै बढी नोक्सान हुन्थ्यो । व्यावहारिक नाता सम्बन्धमा दक्ष प्रजापति ठूला भए पनि वास्तविक रूपमा महादेव नै ठूला थिए । महादेव दक्ष प्रजापति भूमण्डलका मात्र मालिक हुन् भने महादेव चराचर जगतकै मालिकमा पर्छन् । त्यसैले महादेव आफ्नै ससुरा बाबा भए पनि त्यतततिर ध्यान दिदैन थिए ।
समय बित्दै गयो । एकपटक प्रयाग राजमा ठूलो यज्ञको आयोजना भएको थियो । ठूलाठूला ऋषिमुनिहरूदेखि देवीदेवतालाई समेत निम्त्याइएको थियो । यज्ञमा इन्द्रादि देवता लगायत ब्रह्मा, विष्णु, महेश्वरको समेत उपस्थिति थियो । भूमण्डलका शासक भएका नाताले दक्ष प्रजापतिलाई पनि निम्त्याइएको थियो ।
दक्षप्रजापति सजधजका साथ यज्ञमा उपस्थित भए । त्यतिबेलासम्म आमन्त्रित देवीदेवता सबै आइसकेका थिए । दक्ष प्रजापति आउनासाथ सबैले उठेर स्वागत गरे तर महादेव उठेनन् । उनले दक्ष प्रजापतिकैं हितका लागि यसो गरेका थिए तर अहङ्कार र घमण्डले अन्धो भएका कारण दक्ष प्रजापतिले यस सदाशयलाई बुझेनन्, बुझ्न सकेनन् । उल्टै भारी सभामा ज्वाईं महादेवबाट आफ्नो ठूलै अपमान भएको ठाने । यज्ञ चलुन्जेल उनी त्यहीं बसेका भए पनि मनमा भने महादेवबाट अपमान भएको विषयलाई नै खेलाइरहे । राजधानी फर्कनासाथ उनको पहिलो काम नै महादेवको शेखी झार्नेतर्फ केन्द्रित रह्यो । उनले तत्कालै महादेवको मेख मार्र्ने उद्देश्यले अको त्यस्तै यज्ञको आयोजना गरे ।
यज्ञमा महादेवबाहेक सबै देवीदेवता निम्त्याइएका थिए । महादेवलाई भने बोलाइएको थिएन । उनको मेख मार्नकै लागि यज्ञ आयोजना गरिएको थियो । बोलाउने कुरा पनि थिएन । उनले छोरी सतीदेवीलाई मात्र बोलाउँदा महादेव पनि पछि लागेर आउने हो कि भन्ने डरले छोरीलाई समेत बोलाएका थिएनन् । बाबुको घरमा ठूलो यज्ञको आयोजना भएको र सबै देवीदेवतालाई निमन्त्रणा गरिएको कुरा सतीदेवीले पनि चाल पाइन् । बिर्सेर नबोलाएका हुन् जस्तो लागेकाले महादेवसित यज्ञमण्डपमा जान आग्रह गरिन् तर महादेवले मानेनन् । यथासम्भव उनलाई समेत रोक्ने प्रयास गरे । नबोलाइको स्थानमा जानु हुँदैन । अन्यथा मृत्युसम्मको अवस्था आउन सक्छ भन्दै निकै सम्झाउने प्रयास गरे तर सतीदेवीले मानिनन् । उल्टै पतिको घरमा, बाबुको घरमा र गुरुको घरमा नबोलाए पनि जान हुन्छ, यस्तोमा दोष लाग्दैन भन्दै जबरजस्ती माइती घरतिर लागिन् ।
यज्ञमा सबै देवीेदेवताले भाग पाएका भए पनि महादेवको स्थान खाली रहेको देखेर सतीदेवीलाई साह्रै नरमाइलो लाग्यो । उनले यसलाई पचाउन सकिनन् र यथासम्भव बाबु दक्षप्रजातिलाई सम्झाउने प्रयास गरिन् । शिवजी बिनायज्ञ सम्पन्न हुन सक्दैन भन्दै तत्कालै शिवजीलाई लिन पठाउन आग्रह गरिन् तर दक्षप्रजापतिले मानेनन् । उल्टै नानाभाँतीका कुरा गरी शिवजीको निन्दा गरे । यसलाई सतीदेवीले सहन सकिनन् र यज्ञकुण्डमा फाल हालेर प्राण त्याग गरिन् । यो कुरा तत्कालै नारद ऋषिमार्फत् महादेवले चाल पाए । उनले दक्षप्रजापतिको यज्ञ ध्वस्त गर्न आफ्ना गणहरूलाई पठाइदिए । क्रुद्ध भएका शिवगणले दक्षप्रजापतिको यज्ञ ध्वस्त मात्र गरेनन् । दक्ष प्रजापतिको टाउको नै काटेर यज्ञकुण्डमा हवन गरिदिए ।पछि उनकी पत्नीले बिलौना गरेकी देख्न सकेनन् र उनलाई बोकाको टाउको जोडी जियाएर फर्किए ।
दक्षप्रजापतिले यज्ञको आयोजना गरेर काम त राम्रै गरेका थिए तर घमण्ड र अहङ्कारका कारण कसैको मेख मार्ने वा वदला लिने उद्देश्यले आयोजना गरिएको यज्ञ थियो त्यो, जसले गर्दा उनको यज्ञको आगो उनकै टाउको हवन गरेपछि मात्र निभेको थियो । यज्ञअनुष्ठान गर्नु राम्रो काम हो गर्नुपर्छ तर कसैको अहित गर्ने उद्देश्यले गर्न हुँदैन । अन्यथा लाभको बदला हानि बढी हुने गर्छ । दक्षप्रजापतिलाई यस्तै भएको थियो ।
प्रकाशित: १ भाद्र २०७७ ०९:५७ सोमबार