११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

गौरीको जन्म उत्सव

बालकथा

शेखरकुमार श्रेष्ठ

आमाले बोलाउनुभएपछि गौरी भान्सामा गइन् । गौरी बुबासँग पिर्कामा बसेर खाना थालिन् । त्यसै समय गौरीले भनिन्, “बाबा, भोलि भदौ ३ गते । मेरो जन्मदिन । यसपालि बार पनि मिलेको छ, बुधबार ।”  

“ओहो, तिमी त अब दश पूरा भएर ११ वर्षमा पुग्छ्यौ ?”, आमाले भन्नुभयो ।

“ल भन । त्यसो भए जन्मदिनको उपहार के ल्याइदिऊँ ?”, बुबाले भन्नुभयो ।  

“रोगको यस्तो महामारी छ । यिनले साइकल ल्याउने भनेकी थिइन् ।”, आमाले भन्नुभयो ।  

“शहर जानुपर्छ । मलाई डर लागिरहेछ । तर छोरीका लागि... ।” बुबाको कुरा काट्दै छोरीले भनिन्, “नाइँ, यसपालि साइकल नल्याउने । साइकल अर्को साल किने पनि हुन्छ तर रोग आयो भने खतरा हुन्छ । त्यसैले मलाई साइकल चाहिँदैन ।”  

“मेरी छोरी ज्ञानी भइछे । हामीलाई भन्दा धेरै कुरा थाहा पाइछे ।”, आमाले भन्नुभयो ।  

“अनि केक नि छोरी ?”, आमाले सोध्नुभयो ।

“केक पनि नल्याउने । यसपालि जन्मदिन नयाँ तरीकाले मनाउने ।”, गौरीले भनिन् ।  

“आहा, छोरीले ठीक भनिन् ।”, बुबाले बताउनुभयो ।  

बुबा खाना खाएर उठ्नुभयो । गौरी आमालाई भाँडा माझ्न सघाउन थालिन् । बुबाले भान्साकोठा सफा गर्न सघाउनुभयो । आमा टिभी हेर्दै काम गर्न थाल्नुभयो । गौरी चित्र बनाउन थालिन् । एघार बज्यो । गौरी सुत्न गइन् ।

भोलिपल्ट आमा पाँच बजे उठेर गौरीको कोठामा जानुभयो । गौरी सिरकमा गुमटुमुटु परेर सुतिरहेकी थिइन् ।  आमाले जन्मदिनको शुभकामना कार्ड र फूल टेबुलमा राख्दै बोलाउनुभयो, “गौरी, गौरी ! गौरीले बिस्तारै आँखा खोली भनिन्, “के भो मामु ?”

“मेरी प्यारी छोरीलाई जन्म दिवसको शुभकामना ।”

“धन्यवाद मामु । मलाई निद्रा पुगेको छैन । म एकैछिन सुत्छु है ।”  

“होइन, अब उठ । पापा नुहाउन गइसक्नुभयो । तिमी पनि नुहाऊ । मन्दिर जानु छ । ”  

“हो र । ल म उठ्छु ।”

गौरी ज¥याकजुरुक उठिन् । उनले जिउ तन्काइन् । उनले टेबुलमा जन्मदिनको कार्ड र फूल देखिन् । उनले भनिन्, “धन्यवाद, मामू !”

गौरीले रुमाल र लुगा झिकिन् । उनी शौचालय गइन् । उनले दैनिक काम सकी नुहाइधुवाइ गरिन् ।  

“गौरी अझ सकिएको छैन ।”, आमाले बोलाउनुभयो ।

“सकियो आमा । अब निस्कें ।”

गौरी कोठामा पुगिन् । चिसो कपालमा हल्का काइँयो लगाइन् । आँखाको कोसमा गाजल र गालामा किरिम दलिन् । त्यसपछि गौरी बुबाआमासँगै मन्दिर पुगिन् । बुबाले गणेशलाई घल्चाको पानीले नुहाइदिनुभयो । गौरीकी आमाले गणेशको जिउ रातो कपडाले पुछिदिनुभयो । अनि पूजा गर्न थाल्नुभयो । पूजा सकेपछि गौरीका बाबुले गणेशलाई ढोग्नुभयो । गौरीले पनि घुँडा मारेर हात, टाउको र मनले ईश्वरलाई ढोगिन् । उनले ढोग्दा गणेशको शिरमा चढाएको फूल खस्यो । आमाले फूल टिपी गौरीको शिरमा लगाइदिनुभयो । बुबाले गौरीलाई पीपलको बोट घुम्न लगाई पानी चढाउन लगाउनुभयो । त्यसपछि सबै जनाले एकैस्वरमा भनेः

मूलतो ब्रह्म रूपाय मध्यतो विष्णुरुपिणे ।

अग्रतः शिवरूपाय अश्वत्थाय नमोनम ः ।।

त्यसै समय आमाले गौरीको शिरमा हात राखी आशीर्वाद दिँदै भन्नुभयो, “पीपलको रूखले झैं सबैलाई आश्रयस्थल र शीतलता दिन सके ।”  

पूजा सकेपछि गौरीले भनिन्, “बाबा, तपाईंहरू घर जाँदै गर्नुस् । म काकाको घरमा निम्तो दिएर आउँछु ।”  

“हस् । बिस्तारै जाऊ ।”, आमाले भन्नुभयो ।

गौरी काकाको घरमा पुगिन् । हजुरबा र हजुरआमालाई नमस्कार गरी प्रसाद दिइन् । काका र काकीलाई पनि भेटिन्, “आज मेरो जन्मदिन । बेलुका ६ बजे घरमा आउनुस् ल ।”  

गौरी चञ्चल मनले शरीर नचाउँदै घर पुुगिन् । घर पुगेपछि गौरीले आमालाई भनिन्, “आमा बारीबाट हरियो मकै, भटमास र काँक्रो ल्याउनुस् है ।”

“किन र छोरी भरे पुलाउ खानदिने होइन र ?”

“होइन आमा ।”  

“अनि केक के गर्ने छोरी ?”, बुबाले सोध्नुभयो ।  

“पर्दैन बुबा । यस्तो रोग फैलिएको समयमा केक लिन नजाने । मलाई जन्म दिनुभएकोमा नै म खुसी छु । मलाई केही चाहिन्न । मलाई तपाईँहरूको माया भए पुग्छ ।”

बिहानको खाना खाएपछि गौरीका आमाबाबुले मकै, भटमास, काँक्रो र स्कुस ल्याउनुभयो । आमा र बुबाले मकै छोडाउन थाल्नुभयो । गौरीले भटमास छोडाइन् । आमाले घिउमा मकै र भटमास भुट्नुभयो । काँक्राको अचार र स्कुसको तरकारी तयार भयो ।  

छ बज्यो । हजुरबा, हजुरआमा, काका, काकी र सानो भाइ आइपुग्नुभयो । गौरीले सबैलाई हाँसोसहित नमस्कार गर्दै कोठामा लगिन् ।  

“गौरी अनि खोई त केक ? केक काट्नु पहिले फोटो खिच्छु ।” काकीले मोबाइल झिक्दै भन्नुभयो ।  

“यस्तो रोग फैलिएको भनेर ल्याइएन । छोरीले पनि नल्याउने भनेर जिद्धी गरिन् ।”, आमाले भन्नुभयो ।

“जानुपर्ने थिएन । म फोनबाट मगाइदिन्थें । घरमा नै आइपुग्थ्यो ।”  

गौरीले भनिन्, “शोखले गर्दा रोग आउला भनेर नि ।”  

“ओहो, गौरीले त कति कुरा सिकिछिन् ।”, काकीले भन्नुभयो ।  

“ल राम्रै भयो । अब के गर्ने नातिनी ?”, हजुरबाले सोध्नुभयो ।  

गौरी र हजुरबाको कुराकानी भयो । हजुरबाले बुबा र आमालाई सामान लिन पठाउनुभयो । गौरीले पनि सघाइन् ।  

गौरीकी आमाले टपरीमा चामल र सुपारी राखेर ल्याउनुभयो । बुबाले बोहोतामा चामल र दियो बत्ती ल्याउनुभयो । गौरीले कलशमा पानी ल्याइन् । काकाले भन्नुभयो, “यति गरेपछि एघार वर्षमा एघारओटा दीप बाल्ने हो कि ?”

कुरा सदर भयो । काकाले केराको पात काटी दशओटा बत्ती राख्ने दियालो बनाउनुभयो ।  

सबै सामान तयार भयो । हजुरबाले मूलबत्ती बाल्नुभयो । बाँकी रहेको बत्ती गौरीले बाल्न थालिन्, त्यसैबेला सबैजनाले एकैस्वरमा भन्न थाले,  

जन्मदिनको शुभकामना

जन्मदिनको शुभकामना

मङ्गल बनोस् दिनहरू

शुभ रहोस् दिनहरू  

हाम्री प्यारी गौरीलाई

जन्मदिनको शुभकामना ।

गौरीले सबै बत्ती बालिन् । कोठा झिलिमिली भयो । हजुरबा र हजुरआमाले गौरीलाई टीका लगाइदिनुभयो । सबैले आशीर्वाद दिनुभयो । गौरीको अनुहार खुसीले धपक्क बल्योे । गौरीकी आमाले खानेकुरा तयार गरिसक्नुभएको थियो । काकीले पनि सघाउनुभयो । सबैले हातमा खानेकुरा लिए । फेरि तस्वीर खिच्ने क्रम सुरु भयो । त्यसैबेला काकीले भन्नुभयो, “मेरो बाबुको जन्मदिन पनि यसै गरी मनाउने ।”  

हजुरबाले पनि खुसी हुँदै भन्नुभयो, “गौरी साँच्चै हिमालयकी छोरी गौरी जस्ती रहिछिन् । यिनले जन्म उत्सव मनाउने नयाँ तरिका सिकाइन् ।”  

“हो, मेरी नातिनी सबैलाई खुसी बनाउन सक्ने घरकी देवी हुन् ।”, हजुरआमाले भन्नुभयो ।  

काकाले भन्नुभयो, “गौरी हाम्री कुलकी लक्ष्मी हुन् नि त ।”  

सबैले एकआपसमा कुरा गर्दै खानेकुरा खान सुरु गरे । 

प्रकाशित: ३२ श्रावण २०७७ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App