लक्ष्मी उप्रेती
वर्षौ पहिला सृष्टिकर्ताले धर्ती, आकाश, पानी, आगो र हावाको सृष्टि गरिन् । अनि सबैले गर्ने कामको विभाजन गराइन् । त्यसपछि मानव सृष्टि गरिन् ।
समय बित्दै गयो । निकै समय पछि धरतीले ‘मेरो काख पाएर मानव सृष्टि भयो । नत्र मानव सृष्टि नै सम्भव थिएन । यसैले म ठूलो हु ।’ थरथरी काँप्दै भन्यो ।
धरतीको कुरा सुनेर उदाङ्गिदै आकाशले ‘मानव सृष्टि त म भएकाले पो भएको हो । मेरो छहारी नपाए कहाँ हुन सक्थ्यो र ? यसैकारण म पो ठूलो हुँ त ।’ भनेर गडगडाउन थाल्यो ।
धरती र आकाशले त्यति भनेपछि पानी ‘मेरो भरोसा भएर हो मानव सृष्टि भएको । मविना कसैको अस्तित्व नै हुँदैन । त्यसैले मभन्दा ठूलो अरू हुनै सक्दैन ।’ बाढी भएर उर्लियो ।
धरती, आकाश र पानीको कुरो सुनेर आगोले मेरो शक्ति नभए मानिसको सृष्टि हुने कुरै थिएन । मेरो नामले मात्र पनि मानिस तातिन्छन् । त्यसैले तिमीहरूभन्दा म नै ठूलो हुँ ।’ भनेर मुस्लियो ।
धरती, आकाश, पानी र आगोको कुराले हावालाई रिस उठ्यो । अनि ऊ मविना मानिसको प्राण नै चल्दैन । म नभए मानिस बाँच्न नै सक्दैनन् । त्यसैले म नै ठूलो ।’ भनेर हुरी बतास बन्यो ।
धरती, आकाश, पानी, आगो र हावा म ठूलो हुँ’ भनेर वादविवाद बढ््दै गयो । आआफ्नो शक्ति देखाएर विनाशको रूप लिन लागेको सबैका कुरा सृष्टिकर्ताले थाह पाए । अब खतम हुने भए भन्ने सृष्टिकर्ताले सोचे । अनि यिनीहरूलाई रोक्न आफूले नै सृष्टि गरेका यी तत्वहरूलाई एकै ठाउँमा भेला गरे । एकै ठाउँमा भेला भएपछि एकअर्कालाई देखेर रिसले चुर भए । यिनीहरुको अहंकार देखेर सृष्टिकर्ता शान्त हुँदै ‘हेर धरती तिमी मावन सृष्टिका सुरु र अन्त हौ । मानिसको शरीर तिम्रो माटोबाट बनेको छ र तिम्रै माटोमा मिलेर अन्त हुन्छ । त्यसैले तिम्रो ठाउँमा तिमी ठूला छौ’ धरतीलाई सम्झाएपछि स्थिर बन्यो ।
आकाश तिमी नभए मानव सृष्टिको अस्तित्व नै हुने थिएन । तिम्रो विशालताले घाम, जून, अँध्यारो, उज्यालो, दिएर मानिसलाई अस्तित्ववान् बनाएका छ । त्यसैले तिम्रो महत्व तिम्रो ठाउँमा निकै ठूलो छौँ ।’ आकाशलाई बुझाएपछि शान्त भयो ।
त्यसपछि ‘पानी तिम्रो महत्व कम छैन । धरती सिन्चन गर्ने तिमी, प्राणी जगतका नसानसामा मिसिने तिमी, तिमीविनाको केही हुनै सक्दैन । त्यसैले तिम्रो ठाउँमा तिमी जति ठूलो अरू हुनै सक्दैन नी ।’ भनेर चित्त बुझाएपछि बाढी शान्त भयो ।
अब आगोलाई सम्झाउँदै ‘आगो तिमी पनि मानिसका अंगअंगमा तातो बनेर वाफिएका छौ । तिम्रो आविष्कारबाट नै मानिसले खान पाएका छन् । तिमीबाट अध्याँरोमा पनि अलिकति उज्यालो पाउछन् । तिम्रो न्यानोपन हरायो भने मानव शरीर नै रहँदैनन् । त्यसैले तिम्रो आफ्नो ठाउँमा तिमी नै ठूलो छौ ।’ भनेपछि आगाको मुस्लो हरायो ।
अन्त्यमा हावालाई ’ हावा, तिमी पनि आफ्नो ठाउँमा कम छैनौ नि । तिमीबाट श्वास लिएर नै मानिस बाँच्न सकेका छन् । तिमीविना श्वास लिन शक्ति मानिसमा कहाँ छ र ? तिम्रो क्षमता पूरा गर्ने अरूको सामथ्र्य नै छैन । त्यसैले आफ्नो ठाउँमा तिमी जति ठूलो अरू हुने कुरा नै छैन ।’ भनेर बुझाएपछि हुरीबतास रोकियो ।
तिमीहरू सबै नै मानव जीवनको लागि मात्र नभई सारा सृष्टिका महत्वपूर्ण तत्व हौं । कोही कम र बेसी नभएको कुराको सबैलाई बोध गराइन् ।
सृष्टिकर्ताको कुराले शान्त भइसकेको धरती, आकाश, आगो, हावा र पानीले आफ्नो अस्तित्वबोध गरे । त्यसपछि सबैले आआफ्नो ठाउँमा रहेर शान्त भई कार्य गर्न थाले ।अनि मात्र सृष्टिकर्तालाई ढुक्क भयो ।
प्रकाशित: ३२ श्रावण २०७७ १०:१२ आइतबार