४ माघ २०७७ आइतबार
कला

‘वनभोजमा समेत रेडियो बोकेर गइन्थ्यो’

घरमा रहेका पुराना रेडियोसँग रवि र उनका भाइ राजेश। तस्बिर: उपेन्द्र

उनले रेडियो सुन्न थालेको ५ दशक बितिसक्यो। यसबीचमा टेलिभिजन, युट्युबदेखि हेर्ने र सुन्ने धेरै प्रविधि भित्रिए तर उनीलाई भने अझै रेडियो सुन्ने रहर घटेको छैन। हो, भक्तपुरका ५३ वर्षीय रवि हाडा रेडियोको धुन आफ्नो नसा/नसामा बज्ने गरेको सुनाउँछन्। त्यसैले उनको मर्निङ वाकको साथी न लौरो हुने गर्छ न त कुकुर नै, साथमा केही हुन्छ भने त्यो रेडियो नै हुन्छ। भन्छन्, ‘म रेडियोविनाको जीवन कल्पनै गर्न सक्दिनँ अहिले त।’

सञ्चारका एकपछि अर्को उच्चतम प्रविधिको विकासक्रमसँगै सहरका घरबाट रेडियो लोप भइरहेका छन्। तर उनको घर पृथक् छ। जहाँ रेडियो अहिले पनि आकर्षणकै विषय बनिरहन सकेको छ। कुनै बज्दै गरेका, कुनै थन्काइएका, कुनै सजाइएका– उनको घरमा २०–२२ वटा भन्दा बढी रेडियो छन्। ‘बजे पनि नबजे पनि फ्याँक्दिनँ, देख्दै प्यारो लाग्छ,’ काम नलाग्ने रेडियो पनि रैछ त भन्ने जिज्ञासामा रविले हाँस्दै भने।

रेडियोप्रतिको मोह उनीमा एक्कासि पलाएको होइन। रेडियो नेपाल स्थापना हुनुअगाडि नै (१९९७ सालमा) उनका हजुरबा दैवज्ञरत्न हाडाले घरमा रेडियो भित्र्याएका रहेछन्, त्यो पनि कलकत्तादेखि। बेलाबती (बेलायती) नाम गरेको यो रेडियोे उनको घरको मात्रै होइन, टोलकै शान थियो।

त्यतिबेला रेडियो सुन्न मात्र होइन, हेर्न समेत उनको घरमा भीड लाग्ने गथ्र्यो रे। उनी आफ्नो हजुरबाले सुनाएको सम्झन्छन्, ‘रेडियोमा घन्कने गाना सुनेर पूरै टोलबासी रमाउँथे। रेडियो हेर्न आउँथे।’

नेपालमा स्टेसन नै नभएकाले त्यतिबेला हजुरबा पुस्ताले  रेडियो सिलोन, विविध भारतीलगायत स्टेसनबाट काम चलाउनुपथ्र्यो। जहाँ रफी, मुकेश, मन्ना डे, लता मंगेशकर लगायतका फिल्मी गीत सुन्ने आदत नै बनेको थियो। ‘मनोरञ्जन भनेकै फिल्मी गानाको समय थियो रे,’ उनले थपे।  

रविका हजुरबा रेडियोमा आउने फिल्मी गीतबाट यति प्रभावित भए कि २०११ सालमा भक्तपुरमै नवदुर्गा हल खोले। रेडियो र सिनेमा हलबीचको सम्बन्ध गज्जबकै थियो भन्दै त्यसलाई पुष्टि गर्न रवि सुनाउँछन्, ‘हलमा चलेका सिनेमाको जानकारी पनि रेडियोमै आकर्षक आवाजका साथ बज्ने बेला थियो।’

रेडियो नेपाल स्थापनापछि भारतीय गीत मात्र सुन्नुपर्ने बाध्यता हट्यो। ‘त्यसपछि मेलवादेवी, नारायणगोपाल, अम्बर गुरुङका गीत÷संगीतले रेडियोमा स्थान पाए। यसरी नेपाली गीत बज्न थालेसँगै उनको परिवारमा संगीततर्फको मोह झनै बढेर गयो।

जस्तो संगत उस्तै फल। रेडियोबाट गीत÷संगीत सुन्दै गर्दा रविका पिता नगेन्द्र पनि कला र संगीत क्षेत्रमै रमाउन थाले। सधैँ अरूको गीत सुन्ने गरेको रेडियोबाट नगेन्द्रका पनि संगीत बज्न थाले। नगेन्द्र त २०६७ सालमै बिते तर परिवारमा रेडियो र संगीतको मोह भने घटेन।

बाल्यकालमा रेडियो बोकेर साथीभाइलाई देखाउने गरेको क्षण अहिले पनि झलझली सम्झन्छन् रवि। ‘नयाँ रेडियो किन्नु अहिले नयाँ गाडी किने जस्तो हुन्थ्यो,’ उनले थपे, ‘वनभोजमा समेत रेडियो बोकेर गइन्थ्यो। जहाँ झुम्मिनेको भिडै लाग्थ्यो।’

रेडियोसँग उनको घनिष्ठता यति बढेको छ कि जोसँग अब चाहेर पनि उनले सम्बन्धविच्छेद गर्नै सक्दैनन। उनले २०६० सालमा साथीभाइसँग मिलेर भक्तपुर एफएम सञ्चालनमा ल्याएका छन्। उनी भन्छन्, ‘अब त रेडियो हाम्रा लागि रहरमा मात्र रहेन।’

प्रकाशित: ३१ श्रावण २०७७ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App