१० आश्विन २०७७ शनिबार
कला

ननिदाएकी पंखी

बालकथा

शान्ता दाहाल

चन्द्रमाले घडी हेर्यो  । रातिको १० बजिसकेको थियो । ‘सुत्ने समय भयो’ उसले मनमनै भन्यो र आफ्नो उज्यालो सबैतिर छरिदियो । मुने पाठो स्वाँस्वाँ गरेर निदायो । काले कुकुर घुर्रघुर्र गर्दै भुँडी तलमाथि गर्न थाल्यो । नुनी खरायो बेलाबेलामा कान हल्लाउँदै  निदायो  । पंखी बिरालोलाई भने निन्द्रा नै लागेन । सबै आआफ्नो ठाउँमा मस्त निदाइरहेका थिए यो कुुरा आकाशबाट चन्द्रमाले हेरिरहेको थियो ।

रातो पातलो जिब्रोले मुख वरिपर चाट्यो र जुुँगा पनि चाट्यो । आँखा चिम्रा पार्दै निधार खुम्च्याएर चन्द्रमालाई हे¥यो । चन्द्रमाले पंखीलाई नै हेरिरहेको थियो । पंखी छड्के नजर बनाउदै फेरि पनि चन्द्रमालाई नै हेरिरहेको थियो ।

चन्द्रमाले मनमनै भन्यो, ‘पख यो पंखीलाई त मैले जानेको छु । यति रातिसम्म सुतेर यो के गरिरहेको छ हँ ?’

चन्द्रमाको उज्यालो पंखीको अनुहारमा टक्क देखियो । पंखी चलाख थियो । उसले आफ्नो टाउको फर्सीको ठूलो पातले छोप्यो । अब उसको अनुहार पनि छोपियो । चन्द्रमाले केही गर्न सकेन ।

पंखीले यताउता हे¥यो  । सबै मस्त निदाइरहेको देख्यो । काले त झन् घुरघुर गरेर घुर्न पनि थाल्यो । उसलाई अब अल्छी  लाग्यो । उसलाई भोक पनि लाग्यो । कालेले खाने बिस्कुटको डब्बा कसैले थाहा नपाउने गरी बिस्तारै खोल्यो । कट्याक्क आएको आवाजले कालेको निन्द्रा खुल्यो । उसले दुुईपटक भुुुकभुुक ग¥यो  । धेरै थरीका बिस्कुट देखेर पंखीका आँखा नै तिरमिर भए । कालेले थाहा पाउँछ भनेर ऊ आँखा चिम्रा बनाएर निदाएको जस्तो नाटक गर्न थाल्यो ।

काले फेरि चूपचाप लागेकाले पंखी धमाधम बिस्कुट खान थाल्यो । उसलाई आफूले कति बिस्कुुट खाएँ भन्ने कुरा पत्तै भएन । अब तीर्खा त लाग्ने नै भयो  । उसले बिस्कुटको डब्बा अगाडि नै राखेर घटघट एक जग पानी पियो ।

धेरै पानी पिएकाले उसको पेट  त घ्याम्पो जत्रो भयो । पेट मुसारेर यता र उता हिंडिरह्यो । उसलाइ अब भने सुसु आयो । ऊ सुसु गर्न गयो । उसको पनि सुुसु गर्ने बट्टा थियो । त्यहीँ बट्टमा बसेर चन्द्रमालाई हेरयो । चन्द्रमाले यो सबै हेरिरहेको थियो । रातिसम्म पंखी नसुती बसेकाले उता चन्द्रमालाई  झन् रिस उठ्यो  । पंखी भने आँखा चिम्रा बनाएर चन्द्रमाले देखेको छैन जस्तै गरेर बसेको थियो ।

‘अबचाहिँ यसलाई केही नगरी भएन ।’ चन्द्रमाले एकनासले पंखीलाई नै हेरयो । चन्द्रमाको सबै उज्यालो पंखीमा खन्याएको जस्तो भयो । तर, पंखी चलाख भएकोले उसले तुरुन्तै यो कुरा थाहा पाइहाल्यो । चन्द्रमाले थाहा नपाउँदै  बिस्कुटको डब्बाको बिर्को दुुई हातले समातेर टाउको छोप्यो । चन्द्रमा फेरि पनि छक्क परयो ।

सबै निदाइरहेका थिए । पंखीको आँखामा निन्द्रा थिएन । उसले नुनीेको गाडी झिक्यो । कालेले ओढेर सुतेको ओड्ने थाहा नपाउने गरी बिस्तारै झिक्यो । तीन पांग्रा भएको नुनीेको गाडीमा बसेर ओढ्ने उडाउँदै गाडी गुुडाउन थाल्यो । यही मौका छोपेर चन्द्रमाले रोकिएर हेर्न खोज्यो । यसपटक पनि चन्द्रमा सफल भएन । पंखी साँच्चिकै चलाख थियो । उसले ओढ्नेले पूरै मुख छोप्यो ।

अब त झन् ओढ्ने भित्रै गुुटुमुुटुु भएर पंखी नाच्न थाल्यो । पंखी यति नाच्यो कि उसले ओढ्ने च्यातिएर हातखुट्टा बाहिर निस्किएको समेत थाहा पाएन । उसले च्यातिएको ठाउँको सानो प्वालबाट चन्द्रमालाई  हेरयो  । चन्द्रमाले उसैलाई हेरिरहेको थियो । चन्द्रमाले अबचाहिँ यसलाई केही नगरी भएन भनेर सोच्यो ।

यता पंखी भने धेरै थाकिसकेको थियो । उसका खुट्टाचाहिँ निदाइसकेका थिए । आँखा पनि राम्रोसँग हेर्न सकिरहेको थिएन । गाडीमा टाउको र भुइँमा खुट्टा फालेर निदाउनै लागेको थियो । चन्द्रमा पंखीको नजिकै आयो । अघिदेखि रिस उठाएकोमा चन्द्रमालाई पनि रिस उठेको थियो । तर नजिकै आएर हेर्दा त निदाइसकेको पंखीलाई देखेर चन्द्रमालाई माया लाग्यो ।  उसले पंखीलाई अँगालो हाल्यो । ओछयानमा लगेर सुताइदियो । ओढ्नेले खुट्टादेखि टाउकोसम्म छोपिदियो । निधारमा म्वाई खायो ।  चन्द्रमा बादल भित्रभित्र हुँदै आकाशमा गयो ।

प्रकाशित: २९ श्रावण २०७७ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App