१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कार्यालय परिसरमै मनाए गुरुङ समुदायले ट्होटें पर्व

ट्होटें पर्व मनाउने क्रममा सेती नदीमा विर्सजन गर्ने क्रममा गुरुङ समुदाय । तस्बिर: उमेश पुन

कछाड अनि भाङ्ग्रा । हातमा झ्याली र दमाहा । मौलिक, पौराणिक एवं ऐतिहासिक बाद्यवादन बजाउँदै गुरुङ समुदाय बजार परिक्रमा गर्थे । अन्त्यमा नदीमा सेलाएपछि ट्होटें पर्वलाई विश्राम गरिन्थ्यो । अहिले समय फेरिएको छ । कोभिड–१९ को महामारी छ । संक्रमण बढ्दै गएको छ । भौतिक दूरी कायम गर्नुपर्ने अवस्था छ । मास्क अनिवार्य लगाउनुपर्छ । हिजोको जस्तो सडकमै र्‍याली नै निकालेर ट्होटे पर्व मनाउने अवस्था भने रहेन । त्यसैले गुरुङ समुदायले वर्षेनी मनाउने पर्व ‘ट्होटें’ भने सीमित घेराभित्र मात्रै मनाइएको छ ।

ट्होटें पर्व मनाउनाले रोग, ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यता छ । तर अहिले समुदायले ‘कोरोनामुक्त ’ होस भन्ने कामना गर्दै मौलिक एवं परम्पुरागत सँस्कृतिलाई जगेर्ना गर्दै साउनको अन्तिम मंगलबार पर्व मनाएका छन् । ‘समय परिस्थिति अनुसार वर्षेनी आउने दुःख व्यथा अन्त्य होस भन्दै ट्होटें पर्व मनाउने गरिएको छ’ तमुधि नेपालकी बरिष्ठ उपाध्यक्ष सरस्वती गुरुङले भनिन्–‘यो वर्ष कोरोना भाइरस मुक्त होस भन्ने कामना गर्दै पर्व मनाइयो ।’

पुरुष भाङ्ग्रा, भोटो, आस्कोट, कछाडमा र महिलाहरु छिट्को गुन्यू, टिकिस, घलेक र पटुकामा चिटिक्क सजिदैं बजार परिक्रमा गर्दै मनाउने परम्परा थियो । जातिय भेषभुषासहित मनाउने यो वर्षमा विभिन्न गुरुङ समुदायले गामठामको परिवेश झल्काउँदै झाँकी प्रदर्शन गर्ने गर्दै आएका छन् । चैतको ११ गतेदेखि कोभिड–१९ कै कारण लकडाउन गरिएको थियो । लकडाउनकै कारण चैतको अन्तिम मंगलबार पनि तमुधिं नेपालले पोखरा नयाँबजारकै केन्द्रीय कार्यालय परिसर भित्रै सीमित रहेर पर्व मनाइएको थियो । कार्यालय परिसरबाट सेतीनदी किनारमा विर्सजन गरेर टुग्याइएको थियो ।

‘सबैले अनिवार्य मास्क अनि भौतिक दूरी कायम गरेर पर्व मनाइएको छ’ बरिष्ठ उपाध्यक्ष गुरुङले थपिन्–‘कार्यसमितिकै पदाधिकारीसहित चार भन्ज्याङ गुरुङ समाजका केही सदस्य मिलेर पर्व मनाइयो ।’ गुरुङ्ग भाषमा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रुलाई भगाउनु तथा धपाउनु नै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा मनाउने गरिन्छ ।

समय र परिस्थिति अनुसार यो पर्व मनाउने गरिएको गुरुङ समुदायको भनाई छ । ‘चैतको अन्तिम मंगलबार कोरोनाकै कारण लकडाउन हुदाँ तमुधिं नेपालको कार्यालय भित्रै मनाईयो’ तमुधिं नेपालका उपाध्यक्ष हुम तमुले भने–‘साउनको अन्तिम मंगलबार पनि कार्यालय परिसरमै मनाईयो ।’ उनले कार्यालय परिसरबाट सेती नदीको किनारमा विर्सजन गरी साउनको अन्तिम मंगलबारको ट्होटें पर्वलाई टुग्याइएको बताए ।

प्रकाशित: २७ श्रावण २०७७ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App