२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नाच्न बजाउन सिक्दै शेर्पा

उपेन्द्र लामिछाने, काठमाडौ, भदौ ५ -राजधानीमा बस्दै आएका शेर्पा समुदाय आफ्नो संस्कृतिप्रति जागरुक हुन थालेका छन्। विभिन्न व्यवसायमा व्यस्त उनीहरु फुर्सद निकालेर टुँगनाको धुनमा स्याब्रु नाच्न सिक्दै छन्। समुदायले कला संस्कृतिप्रति चासो राख्न थालेपछि हिमालय शेर्पा सांस्कृतिक केन्द्रले विभिन्न कक्षा सञ्चालन थालेको छ।
बौद्धको टुसालमा रहेको केन्द्रीय कार्यालयमा स्याब्रु नृत्य बाहेक टुँगना, याङ्जे, पियोङ लगायत शेर्पा बाजा सिकाउन थालेको छ।

'दैनिक ५० महिला पुरुषले स्याब्रु नृत्य सिक्दैछन्,' नृत्य प्रशिक्षक पासाङछिरिङ शेर्पाले भने, 'कलेज जानेदेखि गृहिणी सबै आकर्षित भएका छन्।' राजधानीमा विभिन्न व्यवसाय गरिरहेका उनीहरु कलासंस्कृति सिक्न पाउँदा खुसी छन्।


'उता लेकमा भएको भए त्यहीँको हावापानीले स्याब्रु नाच्न सिकाउँथ्यो,' विगत १० वर्षदेखि राजधानीमा बस्दै आएकी लक्की शेर्पाले भनिन्, 'यहाँ हामी गुरुसँग सिक्दैछौं।' टुँगनाको धुनमा स्याब्रु नाच्न पाउँदा लेकको झझल्को मेटिने गरेको उनले सुनाइन्।


पिरामिड इन्टरनेसनल विद्यालयमा कक्षा १२ मा अध्यनरत फुर्दिकी शेर्पाले परम्परागत सीपको अनुभव राजधानीमै गर्न पाएकोमा खुसी व्यक्त गरिन्। विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो कलासंस्कृति देखाउन नृत्य तालिम लिन थालेको उनले सुनाए।


समुदायका बाजा सिक्नेको संख्या पनि निकै रहेको कार्यालय सचिव रिन्जी शेर्पाले बताए। आगामी भदौमा हुने मिस शेर्पाकी सहभागी दावाल्हामु शेर्पाले प्रतियोगितामा टुँगनाको धुन बजाउने सुनाइन्। 'मिस शेर्पामा के देखाउने भन्ने लागिरहेको थियो, यहाँ बाजा बनाउन सिक्दैछु,' उनले भनिन्, 'टुँगना बजाउँदा मनमा असाध्यै रमाइलो महसुस हुँदो रहेछ।'

प्रकाशित: ४ भाद्र २०६९ २२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App