दिव्य गिरी
अनिश र बरुण दुवै मिल्ने साथी थिए । स्कूलमा पढ्दा पनि उनीहरू दुवै जना एउटै बेञ्चमा बसेर पढ्थे । दुई कक्षाबाट तीन कक्षामा जाने बेलामा अचानक कोभिड–१९ नाम गरेको कोरोना विषाणुले संसारभर नै तहल्का मच्चायो । लाखौं मानिसहरू मरे । करोडौं मानिसहरू कोरोनाले संक्रमित भए । स्कूल, महाविद्यालय, विश्वविद्यालय, होटल, यातायात, कलकारखाना कार्यालय आदि सबैसबै बन्द गरियो ।
अनिश र बरुण मात्र होइन सबै विद्यार्थीहरु घरमै बस्नुपर्ने भयो । अनिश दिनदिनै जसो बरुणलाई फोन गरेर स्कूल जान नपाएको गुनासो सुनाउँथ्यो । यता बरुण भने स्कूल जान नपरेपछि खुसी भएको थियो । खुसी किनभने उसलाई पढ्नभन्दा पनि खेल्न, टीभीका कार्टुन हेर्न खूब मन पर्दथ्यो । प्रायः दिनभर ऊ टीभीमा कार्टुन हेरेर बस्थ्यो ।
अनिशले एक दिन फोनमा सोध्यो, ‘‘बरुण तिमी के गरेर बसेको ?’
‘म टीभी हेरेर बसेको । कति राम्रो कार्टुन आइरहेछ । म सधै कार्टुन हेरेर बस्छु’ बरुणले भन्यो
‘नेपाल टेलिभिजनले बिहान अनलाइन पढाइरहेछ । म त्यसैमा पढ्छु । शिक्षकशिक्षिकाले कति राम्रोसँग बुझ्ने गरी पढाउँछन् । मलाई स्कूलमा भन्दा पनि घरमा रमाइलो लागिरहेछ । तिमी पनि त्यसरी नै पढे हुन्छ । कति कार्टुन हेर्नु ।’ अनिशले बरुणलाई सुझाव दियो ।
‘आ, मलाई त कार्टुन हेर्नै मजा लाग्छ । टीभीमा पनि कोही पढ्छ ।’ बरुणले हाँस्दै भन्यो ।
यसरी नै धेरै महिना बित्यो । एकदिन फेरि अनिशले फोन गरेर बरुणसँग सोध्यो, ‘बरुण, मलाई त स्कूलले बेस्ट स्टुडेन्टको सम्मान दियो ।’
त्यो सुनेपछि बरुणले रुँदै भन्यो, ‘‘हेर न अनिश मेरो आँखामा दृष्टिदोष लागेछ । अब मलाई चस्मा लगाउनुपर्ने भयो ।’
‘धेरै टीभी हेर्ने सबै बालकलाई आँखाको रोग लाग्छ भनेर स्कूलमा मिसले भनेको बिरस्यौ ?’ अनिशले हाँस्दै भन्यो ।
बरुणले मनमनै प्रतीज्ञा गरयो, ‘अबदेखि कहिले पनि दिनभर दिनभर टीभी हेर्दिनँ ।
प्रकाशित: २५ श्रावण २०७७ ०९:४० आइतबार