६ आश्विन २०७७ मंगलबार
कला

ढाँड केर्मीको गलैंचा

नियात्रा

भाते निद्राले गलायो थापा र लामालाई !

आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

बाटाभरिका कुरा, भीर–पखेराका आँसु र चौगनफयाको अभावमा मन रुमलिरह्यो । घुँडा गले पनि, पिडुँला थाके पनि, पैताला पोले पनि, तिघ्रा थथर्किए पनि– आँखामा निद्रा नआएपछि जस्ताको तस्तै भए ती सबै ।

तीन बजेतिर साथीहरु जर्‍याकजुरुक उठेर तुना कस्न थाले जुत्तामा ।

‘आज चौगनफयामै तारा गन्ने कि भन्ठानेको थिएँ !’

बाटो उकालिएर पोथ्रा–पोथ्रैको गोरेटोतिर गयो । एक ठाउँमा बाटो पहिरिएर निकै मुश्किल पर्‍यो । कसो–कसो जुक्ति निकाले लामा र थापाले । पोथ्रा समात्ने लामा, लामाका हात थापाले समाते । थापालाई मैले समातेँ । अनि पहिरो छिचोलियो ।

मेरो कुरा ओठमै रह्यो ।

कन्जोक र मुन विद्यालयको आँगन छिचोलेर चौगनफयाको गोरेटोमा पसिहाले । मैले नि बिहानदेखिको पसिने गन्जी र अरु लुगा फेरफार पारेँ ।

करालो भीरमा थियो चौगनफया गाउँ ।

घरैघरको लस्कर थियो ।

थापाभन्दा लामा लम्किहाल्थे ।

‘म त कसो–कसो खुट्टा लम्काइहाल्छु । जति गरे नि मेरो गति फड्किइहाल्छ ।’

लामाले भन्न नि छोडेनन् ।

नभन्दै उनी फटाफट माथि डाँडामा कि तल गहिरामा पुगिसक्थे ।

चौगनफयाभन्दा तल चेपमा धारापुरी बस्ती थियो । पूर्वदेखि पश्चिमसम्म झुरुप्प बसेको चौगनफयाको उज्यालो घर भनेको कर्णाली माध्यमिक विद्यालयको भवन थियो ।

‘तिमी कतिमा पढ्ने ?’

‘पाँचमा !’

एउटी उमेरदार युवतीसँग मेरो कुरा भयो ।

उसको अनुहार भरिलो थिएन । उसले लगाएको कम्मरमाथिको लुगा मात्र उज्यालो थियो । त्यो लुगामा मात्र केही दुःख र अभाव फाटेको थियो । अरु जताततै हेरिसक्नु थिएन उसमा ।

बाटाभरि झत्ता लुगा देखिन्थे छरछारिएका ।

पाँचजना साना भुराले घेरिएकी थिई एउटी आइमाई ।

हाडे ओखरका र स्याउका बोट बाक्लै थिए बाटामुन्तिर । ती चिचिला स्याउ खान कलह गरिरहेथे उनीहरु आइमाईलाई ।

सुत्ने बेलामा दोर्जीले रातो–रातो गलैंचा मेरो ओछ्यानमा ओछ्याउँदै भनेथे– ‘यो हजुरबाको पालाको कार्पेट । मान्ने गुन्नेलाई म ओछ्याइदिने गर्छु ।’

उनी कार्पेट राखेर गए ।

उनको माया र मान महँगो भो मलाई ।

त्यो गलैंचा बिझाएर म रातभरि सुत्नै सकिनँ ।

‘भाइबहिनी हुन् कि ?’

मैले खसखस पोखेँ ।

‘नाइँ !’

‘को त ?’

‘यी मेरै जाक्त हुन् !’

कुरा सुनेर म खङ्ग्रङ्ङ भएँ ।

मैले चाँडचाँडो भनेँ– ‘तिम्रा हातमा बच्चा हैन, किताब कपी पो सुहाउँथ्यो !’

उनले उत्तर फर्काइन्– ‘कस्तो राम्रो ख्याल गर्दोरहेछ !’

तिनका कुराले म पो दुखेँ ।  

०००

बस्ती नाघेपछि बाटो भेटियो । भिरालो छ बाटो । घनघोर अक्करे । मास्तिर सातै जाने पहरा सजिएका पहाडको ताँती छ । अक्कर, खोंच र धारिला ढुंगेनी पहाडको लस्करमुनि बसेको रहेछ चौगनफया ।

दक्षिणतिर हुम्ला कर्णालीको अटुट वेगले आफ्नो गति छोडेको छैन । कर्णाली किनारका चिल्ला गराहरुमा गाईवस्तु चरेका, भेडाबाख्रा जुधेका र घोडाका बथान हिनहिनाएको म देखिरहेको छु ।

दक्षिण हुँदै हामी पश्चिमतिर बेगिइरहेका छौँ । ढुङ्गै–ढुङ्गाको बार जताततै देखिन्छ । बारभित्रका बारीमा आलु, सिमी र चिनु सिलिङविलिङ उम्रेको देख्छु ।

‘यो विकटता नै यहाँको बार हो !’

मैले उकुसमुकुस पोखेँ ।

‘त्यै बारले नपुगेर अर्को ढुङ्गेनी पर्खाल उठाएका !’

लामाले थपे ।

भीरमा गोरु, बाख्रा चर्दै थिए । एक दुईजना जिङरिङ परेका आइमाई लट्ठी लिएर ऊन कातिरहेका देखिन्थे । हावा बेस्सरी चलेको थियो ।

तल धारापुरीबाट घुमेर आएको बाटो देखियो ।

छहरा मास्तिरको बाटो हामीले रोज्यौँ । यो निकै कहालीलाग्दो थियो– ढुङ्गैढुङ्गाको उबडखाबड । घुम्ती र मुश्किलले खुट्टा टेक्न मिल्ने थियो साँघुरो गोरेटो । त्यसमाथि घोडा, खच्चडका लिदीले ढुङ्गा चिप्ला न चिप्ला ।

‘हुम्लामा मोटर छैनन्, हैनन् ?’

‘छन् नि । हेलिबाट बोकाएर आएको ।’

‘कुद्छन् चैं कहाँ । बाटो बनिसकेकै छैन त ?’

‘कति आएर आफ्नै आँगनमा थन्केका छन् । कति चैं पहरा फोर्न नसकिएका दुई चार किलो मिटरमा कुद्छन् ।’

लामाले बोलुञ्जेलमा उनलाई भेट्न पुगिसकेको थिएँ म ।

अघिसम्मको सङ्लो कर्णाली अब धमिलो देखियो । छनक पाइयो मास्तिरको बादल बर्सिएकोे । धमिलो कर्णालीका लहरहरु ठूलठूला चट्टानमा ठोक्किएर सुकिला फिँज बनाउँथे । निखार भनेको यही रहेछ । परिष्कार भनेको यही रहेछ ।

कर्णाली पारि रहरलाग्दा फाँट र गैरी खेतहरु देखिन्थे । कतिमा मार्सी लाउन ठीक पारिँदै थियो । कतै लहलहाइरहेको थियो हरियो बीउ ।

बाटोमा दुईजना अधबैंसे भेटेर दुई हात निहुरेर जोडे ।

पाठा लिने रै’छन् उनीहरु । गाउँ–गाउँबाट पाठा भेला पारी सिमकोट बेच्दा रै’छन् । सेंडाका ती च्या छहरा गाउँ पुगेर आएको भन्थे ।

निकै उत्तर लम्केपछि कर्णालीबाटै बगाएको ठाउँमा हामी पुग्यौँ । ढुङ्गा छाप्दै थिए । यहीँ एउटा चाइनिज ट्याक्टर देखियो । त्यो ट्याक्टरले ढुङ्गा बोक्दो रहेछ । केटाकेटीको ओइरो थियो– ट्याक्टरमा ।

‘गाडापारि गएर थकाइ मारुम्ला !’  

लामाले अलिक पर गएर बोलेको सुनियो । कर्णालीको छरछर आवाज चिरेर मैले उनको कुरो ठम्याएँ ।

०००

ढुङ्गा जताततै थिए । तार, जाली कसिएका ढुङ्गाले कर्णालीको भेल तर्काएको देखिन्थ्यो । तर त्यो विकासे चाला ‘हाजमोला’ ठानेँ मैले ।

पहरो थियो अगाडि । त्यसलाई टाउकोले छुँला–छुँला गथ्र्यो । हातले छेकिएर मैले पार गरेँ ।

झोलुङ्गे पुल थियो । धेरैले पुल छोडेर खोलाको लहरमा रमाए । मैले खोला तरेर सानो पसलमा गएर ज्यान बिसाएँ ।

गाडापारि गाउँबाट अब लामाहरु भेटिने रहेछन् । कर्णालीवारि अब ठकुरी बस्ती छैनन् भन्ने सुनाए थापाले ।

मास्तिर ४–५ घर थिए । तर खोलाको आडैमा एउटा ठूलो घर थियो– पसल र होटलले मिसमासिएको ।

खुट्टो खोच्याइरहेको खच्चड थियो आँगनमा ।

‘के भयो यसलाई ?’

‘भीरबाट खसेको !’

‘मरिहालेको भए दुःखै लुकाउँथ्यो !’

मैले किन त्यसो भनेँ खच्चड हेरेर । दिकदार लाग्यो ।

खोलाको कलकल हेरेर बसिरहेको थिएँ । एउटी निकै उज्याली केटी हस्याङफस्याङ गर्दै म बसेतिरै आइरहिथी । एकैछिनमा अर्की उज्याली आइमाई पनि आई आँगनमै । अर्को एउटा झ्याप्ले तन्नेरी पनि भारी बोकेर भित्रियो– होटलमै ।

लामाले आरुको जुस खुवाए । बट्टा हेरेको, सबै चिनियाँ भाषामा छ । नबुझिने, कत्ति नि ।

‘मेङलिङ ल्याङलिङ !’

‘मेड इन ल्हासा !’

मैले नै ठट्टामा भनिदिएँ ।

पसलमा बसेका दुई रुपवती र तन्नेरी मस्तले हाँसे ।

‘दाइ, आउनुस् खाऊँ ।’

तन्नेरी बियरको बोतलबाट गिलास भरिरहेथ्यो ।

‘अंकल, बसुँम् न बसुँम् यता !’

अलिक उमेरदारले आफ्नो ब्याग सारेर ठाउँ बनाई मलाई ।

‘सर, केही खाऊँ न !’

उमेर छिप्पिएकीले गिलासमा चाइनिज झोल हाल्दै भनी ।

मैले हात जोडेँ– ‘धन्यवाद तपाईंहरु सबैलाई । बाटो सम्झेर पिउने आँटै आएन ।’

०००

‘च्या छहरा कट्न पाए हुने !’

लामाले निकै चोटि भनेका थिए ।

बाटो साह्रै गाह्रो छ । भीरको बाटो कट्न मुस्किल पर्छ । सकेसम्म उज्यालैमा कट्न पाए हुने । यस्तै गनगन गरिरहेथे कन्जोक । उनको गथासोलाई ख्याल गरिरहेकै थिएँ मैले ।

राति हिँड्न मलाई महाभारतै पर्छ । त्यै भएर हिँड्ने नै हो भने बेर पो किन नि !

मै पनि फटाफट लम्केथेँ ।

घाम डुबुँला–डुबुँला भइरहेछ । पहाडका कुनै कुनामा देखिन्छ घाम । कतै फेरि छायाँ मात्र गीत गाई बस्छ । तिनको लुकामारीले मलाई समयको अन्दाज गर्न सघाएको छ ।

बाटो खिरिलिएर गयो– पश्चिमतिर ।

च्या छहरा गाउँ जाने बाटो छोडेर सानो गोरेटो बाटोतिर दगुर्‍यौं हामी । गाउँ भएर जाँदा झण्डै दुई घण्टा बढ्ता हिँड्नुपर्ने भएकोले जोगिनलाई हामी छोटोतिर लाग्यौँ । त्यै छोटोमा पथ्र्यो, सातै जाने भीर छहरा । ककारो खोंच र डोरी समातेर तान्ने कुराले मेरो मुटु हजारबार उफ्रीपाप्री गरिरहेथ्यो ।

बाटो उकालिएर पोथ्रा–पोथ्रैको गोरेटोतिर गयो । एक ठाउँमा बाटो पहिरिएर निकै मुश्किल पर्‍यो । कसो–कसो जुक्ति निकाले लामा र थापाले । पोथ्रा समात्ने लामा, लामाका हात थापाले समाते । थापालाई मैले समातेँ । अनि पहिरो छिचोलियो ।

निकै माथि पुगेपछि भेंडाका बथान भीरैभरि थिए । भेंडाभन्दा अझै मास्तिरको पाखोमा थिए चौंरीका बगालै ।

म भेंडा हेरेर मस्तै भएँ ।

अलिक अघि पुगेका थापाले चिच्याए– ‘छिटो–छिटो बाटो कटुँ !’

मैले केही बुझिनँ । किन यी आत्तिएका होलान् । न भीर छ, न पहिरो । न कुनै रुखपात ढलेको छ, न कुनै हावाहुरी छ । मस्तले भेंडा चरेका छन् । पहाडका चुचुरातिर चरिरहेका सुकिला भेंडा हेर्न किन नदिएका यिनले ?

‘छिटो है छिटो !’

उनी कराउन नछोडेपछि मै नि कुदेँ ।

भेंडा छेलिएर कोल्टिएको गोरेटोमा उनी सुस्ताइरहेका भेटिए ।

‘चरिरहेका भेंडा यताउता गर्दा ढुङ्गा खस्छ । एउटा खसेको ढुङ्गाले अर्को तान्छ, अर्कोले अर्कोलाई तान्छ । त्यै भएर मैले कुदाएको ।’

थापाले भनेपछि बल्ल घैैंटामा घाम लाग्यो मेरो ।

मैले बल्ल पो लामो सास फेरेँ । दम फुलेभन्दा धेरै सास बढ्यो अहिले पो ।

बाटो निकै अप्ठ्यारो थियो । ठाउँ–ठाउँमा पानी जमेको । ढुङ्गाको उबडखाबड । घाँसे लहराको अल्झोबिल्झो । भीरैभीरको ताँती । मास्तिरका ढुङ्गाले निधार ताछ्ने । टाउको दर्फराउने गरी मुख बाइरहेका थिए ।

‘हत्तेरिका, हुम्लाको हैरानी त याँ पो !’

म एक ठाउँमा पछारिँदा बोल्न पुगेँ ।

ओरालीमा खुट्टाले भर पाएन । तै हातले राम्रै टेके । जिउ बज्रिन पाएन चर्कोसँग । अब चैं थापाले छोडेनन् ।

‘पानी मात्र खाँदा त यस्तो । लाग्ने पानी खाएकाले के गरी कट्लान् भरे ।’

अघिका रुपसी र तिनको खान्गी सम्झेर भनेँ मैले ।

लामा र थापा मस्तले हाँसे ।

‘तन्नेरीले दुवैलाई बोकेर तार्ला कि ।’

हरे–हरे मै पो पिरोलिन थालेँ ।

कर्णाली एकदमै नजिकै आइपुग्यो । छुँला–छुँला जस्तो । त्यसको चिसोले अनुहारै धोइदेला जस्तो ।

अलि–अलि पानी पनि छिट्यायो ।

अरुले छाता खोले । मैले खोलिनँ । तालु सेकियोस् चिसोले । ढाडमा पसिनाकै खोलो नि थियो ।

‘ऊ गाउँ– च्या छहरा !’

लामाले मास्तिर देखाए ।  

च्यादुक पुगेछौँ । ३–४ घर थिए । तातो चिया सुर्काएर हामीले बाटोबारे सोध्यौँ ।  

‘मास्तिर जानु । सकिन्छ ।’

भरियाले नि भने । फेरि गाउँ नजाने, सोझै जाने मन हामीले बनायौँ ।

भीरैभीर छ । हरियोको रजगजी त्यत्तिकै छ । छाँगाछुर भीर मास्तिर १–२ घर देखिए झुलुक्क ।

कति अप्ठ्यारो बाटो । खच्चडको लिदीदेखि पानीको रैँदालो । चिप्लो ढुङ्गामा हरिया घाँसका बुट्यानको तुजुग त्यत्तिकै । चिल्ला ढुंगामा जुत्ताले टेक्ने राम्रो डोब नि छैन । ओहो आपतमाथि महाआपत ।

फेरि शरीरै लठ्याउने फूलको बास्ना ।

घनघोर अल्मलिएँ म त ।

यै फूलको औंधी महकिँदो भीरमा उभिएर पानी घुट्काएँ । च्या छहरा गाउँ हरायो । सेतो भुँइ कुहिरोले घ्वाप्पै छोप्यो ।

‘बाटो कस्तो छ बड्डा ?’

खच्चर धपाउनेलाई लामाले सोधे ।

‘मु त्यतैबाट आया हुँ !’

उसको उत्तरले आँट दियो मनमा ।

एक घण्टा नाघेछ– तल गाडपारिबाट उक्लिँदा । मैले घाम हराएको ख्याल गर्दै समयको नापजोख गरेँ ।

बाटैमा एउटा निलो तिर्पाल टाँगेको देखियो । आडैमा आगो फुकिरहेको एउटा जब्बर केटो आलु काटिरहेथ्यो ।

‘यी बाटो बनाउनेहरु !’

थापाले देखाए ।

मैले कर्णालीको भेल हेरेँ । मास्तिरको भीर हेरेँ । पहरो छेउकै अगेनो हेरेँ । भान्सामा चुलेसी चलाइरहेको तन्नेरीको अनुहार पढेँ ।

भोकले मानिसलाई कहाँ–कहाँ पुर्‍याउने होला ?

ओरालो निकै झरेपछि तेर्छो भेटियो । यहीँबाट सुकिलो छहरा माथि भीरबाट छङछङाइ रहेको देखियो । तीनवटा छहरा १०–१५ मिनेटको दूरीमा गडगडाएका देखिए । अघिल्ला दुई छहरा नजिकै थिए । पछिल्लो अलिक पर गर्जेर खसिरहेथ्यो कर्णालीमा ।

यहाँ निकै डरलाग्दो थियो बाटो ।

ठूलो ककारे भीर थियो । त्यहाँ खुड्किलो बनाएर उता छहरा पुग्नेसम्म बाटो थियो । छहरा तर्न मुस्किल देखियो । छहरा तरेपछि पनि मास्तिरको भीर खसेर खुट्टा नअडिने स्थिति आयो । फलामे डोरी र लठारो समात्दै छहरा नाघ्नु पथ्र्यो । छहरा थियो निकै बलवान् ।

छहराबाट चिप्ले एकैचोटि हुम्ला कर्णालीमा पुगेर बगिन्थ्यो ।

ती सबै हालतमा मैले चेप, छहरा नाघ्ने आँट गरिनँ । म लगलग कामेँ । अझ मैले त धेरैबेर तलको कर्णालीमा मिसिइरहेको छहरा हेरिरहन नि सकिनँ ।

‘सकिन्छ कि ?’

लामाले जोस्याए ।

तर ढुङ्गाको ककारो फोरेर बाटो बनाइरहेका ५–६ जना कामदार थिए । तिनैले भने– ‘मास्तिरको बाटो जानु !’

अगाडिको छहरा नाघेर पछिल्लो छहरा छेउमा आएर अरगज्ज भएथेँ म । भीर र ढुङ्गैढुङ्गाको साँघुरो उकाली बाटो निकै डरलाग्दो थियो । त्यै भीरमा अलिकति कुरो नमिले ज्यान बग्न पुग्थ्यो– तल हुम्ला कर्णालीको अनगिन्ती लहरमा ।

लामाले नि खुट्टो कमाए ।

अनि छहरा मास्तिरको बाटो हामीले रोज्यौँ । यो निकै कहालीलाग्दो थियो– ढुङ्गैढुङ्गाको उबडखाबड । घुम्ती र मुश्किलले खुट्टा टेक्न मिल्ने थियो साँघुरो गोरेटो । त्यसमाथि घोडा, खच्चडका लिदीले ढुङ्गा थिए चिप्ला न चिप्ला ।

तल उर्लिरहेको हुम्ला कर्णालीको डरलाग्दो छाल, मास्तिरको छहराले मन अत्याइरहेको थियो । अगाडि लामा र पछाडि थापाले तान्दै, ठेल्दै र चेप्दै मलाई माथि थाप्लामा पुर्‍याए । मैले मनमनै सोचेँ– ‘अब घुमफिर घटाउनु पर्ला !’

अघिल्ला छहरा नाघे लगत्तै पछाडिको छहरा नाघ्न झन् डरमर्दो थियो । ओराली, अप्ठ्यारो बाटो, चुच्चे र ढुंगे चट्टान, खुर्मुरिएर हिँड्नुपर्ने अनेकौं कष्टसँगै म मास्तिरबाट हुतहुताएर झरेको झर्नामा पुगेँ । तै त्यहाँ ठूला–ठूला ढुंगा तेस्र्याएर फड्को हाल्न सघाइएको थियो ।

छहरा नाघेलगत्तै पारिको भित्तोमा डोजरले माटो खसालेकोले हिँड्ने बाटो झन् डरलाग्दो देखियो । एउटा खुट्टो पनि राम्रोसँग नटेकिने ठाउँ थियो । त्यो यस्तै ३–४ मिनेट हिँडेर डोरी समातेर उक्लेपछि खड्गो काटिन्थ्यो ।

एउटा नाम मात्रको बुटोले डोरी भए ठाउँमा अड्याइएको थियो । थोरै मात्र कुरो बिग्रे यहाँबाट चोला उठ्थ्यो ।

मैले झोला हलुका पाराले च्यापेर भीरमा खुट्टा राखेँ । छहरा र कर्णालीतिर हेर्दै हेरिनँ । अनि मुटुको चालमा खुट्टा हिँडाएँ । लामा र थापा अघिपछि थिए । देब्रे–दाहिने केही नहेरी सुइँ सुइँ लम्केँ म ।

असाध्यै हलुका पाइला चालेर भीरैभीर हिँडेँ । डोरी अड्याएको ठाउँमा शरीर झनै फूलको थुँगो जस्तो हलुक्याएँ । अनि डोरी च्याप्प समातेर लुइँलुइँ गएँ ।

‘झोला–झोला’ भन्दै थिए थापा । म फट्टै गएर मास्तिर पुगिहालेँ ।

निकै माथि पुगेर पो मैले लामो सास फेरेँ ।

कालको मुखबाट आफ्नो ज्यान थुतेको खुसी, आनन्दी र रमाइलो ठानेँ मैले । शरीरमा एउटा छुट्टै उज्यालो सर्सरायो ।

‘फर्किँदा त बरु डेढ घण्टा लागोस् । अर्कै बाटो जाने है । यो खुकुरीको धारमा नहिडुँ ।’

मैले बल्ल फर्केर हेरेँ । अनि भनेँ बाटो हेर्दै ।

थापा र लामा मुसुक्क हाँसे ।

उनीहरुका लागि यो केही थिएन । उनीहरुका निम्ति यो कुनै कठिनाइ थिएन । उनीहरुका लागि यो त्यस्तो ठूलो विपत्ति नि थिएन ।

अनि तेर्पे बाटो पसारियो । ढुङ्गा खनेको मात्र मिलाइएको थिएन । निकै सास्तीसँग ढुङ्गेनी ओराली आयो । निकै लाग्यो कर्णालीको तीर नाघ्न ।

साँझ पर्दै गयो ।

जाडो पनि बढ्दै गयो । कुइरोले घेर्दै–घेर्दै ल्यायो । पहाडहरु अलिक काला हुँदै गए । नदी पनि कालो रेखाको जस्तो होला झैं भयो ।

मैले सबै कुरा छोडिदिएँ ।

‘राम्रोसँग सुत्न पाए भो आजलाई !’

मनमा यत्ति खेलाएको छु ।  

०००

ओरालीका ३–४ कुइनो नाघेपछि रमाइलो फराकिलो बाटो देखियो । दुईवटा कालाम्मे पहाडको माझमा छ बाटो । बाटोसँगै कर्णालीको गड्गडाहट छ । कर्णालीसँगै ठडिएको पहाडका थाप्लामा हिउँको लदाबदी छ ।

खोंच र कुनामा हिउँ थन्किएको र त्यही थन्काइमा बोटबिरुवाले मुन्टो उठाएको देख्दा जीवन लडाइँको कुरा खेलिरहे मनभरि ।

बाटो बन्दै यता आएको रहेछ । हिल्साबाट ठाउँ–ठाउँमा बाटो बन्दै आइरहेको रहेछ सिमकोट । एउटा खण्ड रोकिएको रहेछ– यही छहरामा ।

झमक्कै साँझ पर्‍यो ।

‘यतै बस्ने रात ?’

एउटा छाप्रे घरमा लामा पसे ।

‘अझै एक घण्टा हिँड्न सक्छु । अझै पर जाने भए नि हुन्छ ।’

मैले भनेँ ।

त्यसपछि हामी लम्कियौँ ।

बाटो बढ्दै जान्थ्यो । चिनियाँ तिर्पालमा राखिएका पसल नि सर्दै जान्थे । त्यही हालत यहाँ पनि भइरहेथ्यो ।

बाटोमा देब्रे–दाहिने ४–५ तिर्पाल गाडिएका थिए ।

‘यी बजार हुन् !’

चिनाए लामाले ।

हामी लम्किरह्यौँ ।

ढाँड केर्मी पुगेपछि एउटा अलिक फराकिलो, ठूलो घरमा पस्यौँ । लामाले यतै बस्ने निधो गरेको जस्तो लाग्यो ।

बाटो तल ३–४ स्याउका बुटा थिए ।

लामाले देखाए– ‘अचेल काग र अरिङ्गालले स्याउलाई दुःख दिन्छन् । स्याल र भालुले पनि हैरानै पारेका छन् । काग र अरिङ्गालले ठुँगेको स्याउलाई कमिलाले खाएर झन् दिक्क पारेका छन् ।’

मैले स्याउका समस्या सुनेँ ।

०००

घरभित्र तातो खोज्दै पस्यौँ ।

छिरिङ दोर्जे तामाङको घर रहेछ ।

त्यहीँ बस्ने निधो भयो । भित्र थन्कायौँ झोला । नुहाउन पसेको म चिसो पानीले आँखा, ओँठ र कान पुछपाछ पारेर फर्किएँ ।

भान्सामा राति अबेरतिर अघिको ‘मदमय रूपसी’ टोली आइपुग्यो । उनीहरु नि हामी बसेकै छाप्रोमा बास माग्दै आइपुगेथे ।

म नि लामासँग ल्हासाको फिँजे पानीमा रमाइरहेथेँ । जाडो, थकाइ र भोकले गलेर टोली आएर जोडियो । उनीहरु आउनासाथ गिलासमा तातो–चिसो भर्न थालिहाले ।

अधबैंसे सोनामकी छोरी रहिछ त्यो रुपवती । पेमा, तन्नेरी केटो लामा पढ्न गएको रहेछ–  धर्मशाला । अधबैंसेले छोरी निमाको बिहे गराउन धेरै वर्षपछि गाउँ आएकी रहिछ । आमा मरेपछि चौंरी हेर्न गाह्रो भएर रुँदै खबर पठाएपछि धर्मशालाबाट भागेर आएको रहेछ जुल्फे तन्नेरी ।

बाटैमा चिनाजानी भएर यी तीनजना याल्बाङ आएका रहेछन् । उनीहरु एउटै गाउँका थिए ।

मैले यी तीनै जनाका मन आफ्नै तालमा पढिरहेँ । जीवनका गुजुल्टा कति धेरै । यता फुकाए, उता नमिल्ने । उता मिले– यता गुजुल्टो पर्ने ।

भात खान लाग्दा निरास ड्राइभर पस्यो ।

‘आज वडा अध्यक्षको कुटाइ खानु प¥यो !’

ऊ रिसाइरहेको थियो ।

उसलाई सम्झाउनेहरुले भनिरहेका थिए– ‘आठ लाख तिरेर चुनाव जित्नेको बुद्धि यहाँभन्दा पारितिर काँ पो हुन्छ !’

पल्लो टेबलमा एउटा इन्जिनियर थियो । वल्लो कुनामा सोलुको नोर्बु शेर्पा ठेकेदारका समस्या सुनाइरहेको थियो ।

म एक–एक गरी सम्झिरहेको छु– पेमा, नवाङ निमा, सोनाम । त्यस्तै ठेकेदार नोर्बु, ड्राइभर, वडा अध्यक्ष ।

भातका गाँस–गाँसमा यी सबैलाई सम्झिरहेको छु ।

०००

भान्सामा सबै चिनियाँ सामान छन् । नुन, मसला, बियर, चामल, तेलका डब्बा, वाइन र आगो बलिरहेको चुलो समेत ।

‘सबै सामान चिनियाँ !’

दोर्जीले भने ।

‘यताका केही छैनन् !’

‘यारी, लिमेतिर किन्न जानु पर्छ । उता ताक्लाकोटसम्म पुग्नु पर्छ । बाटो अप्ठेरो छ । छ महिनाअघि नै किनेर ल्याउनु पर्छ । युआन महँगो छ हाम्रोभन्दा । हिउँ परेर बाटो सधैं बन्द हुन्छ ।’

दोर्जीले फरर्र भने ।

‘मेरो त समस्यै छ । स्कुलको सर्टिफिकेटमा लामा छ, नागरिकतामा तामाङ छ । ताक्लाकोट जाँदा बनाएको । अहिले दुईटा थर हुनाले साह्रै अप्ठेरो भएको छ ।’

उनको समस्या सुनिरहेको छु ।

वर्षको एक चोटि बालीनाली भित्र्याउन, घर बनाउन र काठको काममा हुम्लीलाई कामदारको रुपमा डाक्दा रहेछन्– चिनियाँहरुले । कमाइकै बाटो यत्ति नै रे हुम्लीको ।

राति सुत्ने बेलामा नि झिँगाले औधी सताए । मुख थुने सास फेर्न गाह्रो । लुगा हटाए मुखबाट झिँगाले टोकेर हैरानै । मेरो निद्रा पूरै कचपल्टियो ।

सुत्ने बेलामा दोर्जीले रातो–रातो गलैंचा मेरो ओछ्यानमा ओछ्याउँदै भनेथे– ‘यो हजुरबाको पालाको कार्पेट । मान्ने गुन्नेलाई म ओछ्याइदिने गर्छु ।’

उनी कार्पेट राखेर गए ।

उनको माया र मान महँगो भो मलाई ।

त्यो गलैंचा बिझाएर म रातभरि सुत्नै सकिनँ । 

प्रकाशित: २४ श्रावण २०७७ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App