८ वैशाख २०८१ शनिबार
कला

छनोटमा परेका सात कृति

मदन पुरस्कार–२०७६ का लागि सातवटा पुस्तक छनोटमा परेका छन्। विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’लाई छनोट गरिएको मदन पुरस्कार गुठीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

गुठीलाई प्राप्त एक सय ५१ कृतिबाट सात कृति छानिएको हो। यीमध्ये एकलाई मदन पुरस्कार–२०७६ प्रदान गरिनेछ। कस्ता छन् त छनोटमा परेका सात कृति ?

जोकरको बन्दुक

पाँच दशकदेखि कविता लेखनमा निरन्तर सक्रिय कवि विमल निभाको तेस्रो कविता संग्रह हो ‘जोकरको बन्दुक’। यस संग्रहमा लोकतन्त्र प्राप्तिपछि लेखिएका कविता बढी समेटिएका छन्।

यसभित्रका कविता धोका विरुद्धको अभिव्यक्ति भएको कवि निभा बताउँछन्। ‘यस संग्रहमा मैले ६१ कविता समेटेको छु, तीमध्ये ५७ नयाँ हुन्,’ उनी भन्छन्, ‘मैले मेरो जीवनमा देखेका र भोगेका घटना र आफ्नो दृष्टिले भेटाएसम्मका विषयलाई समेत समेटेको छु। साथै, सामाजिक र राजनीतिक सरोकारका विषयलाई पनि स्थान दिएको छु।’

कुनै पनि कविले एकै शैलीले कविता भन्न नहुने अर्थात् समय अनुसार नयाँ–नयाँ शैलीले भन्नुपर्ने भएकाले कविताको शैलीमा केही नयाँपन दिन खोजेको उनले बताए। उनले विषयवस्तु र अभिव्यक्तिलाई नयाँ किसिमले प्रस्तुत गरेका छन्।

‘आगोनेर उभिएको मानिस’ र ‘एउटा बाहुला नभएको बुसर्ट’ कविता संग्रहका सर्जक निभा चोटिलो व्यंग्य लेखनका लागि समेत परिचित छन्। मदन पुरस्कार साहित्यिक र पुरानो पुरस्कार भएकाले यस पुरस्कारमा आफ्नो कृति छानिँदा आफूलाई खुसी लागेको उनले सुनाए। उनको यो पुस्तक गत माघमा सांग्रिला बुक्स प्रालिबाट प्रकाशित भएको थियो।

धर्सैधर्साको चक्रव्यूह

तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’ कवितासंग्रहमा १०८ कविता संग्रहित छन्। एक दशकदेखिका कवितालाई बटुलेर ‘धर्सैधर्साको चक्रव्यूह’ संग्रह प्रकाशित गरेको कवि श्रेष्ठको भनाइ छ।

‘पाँच खण्डमा लेखिएका संग्रहमा समसामयिक, देशप्रेमी, स्थानविशेष विषयलाई समेटेको छु,’ श्रेष्ठ भन्छन्, ‘केही कविता आमाहरूका नाममा समर्पित छन्।’

पोखरा निवासी श्रेष्ठको यो चौथो कविता संग्रह तथा सातौँ कृति हो। कुनै बेला तरलवाद साहित्यिक अभियानमा लागेका श्रेष्ठ गीतकारका रूपमा पनि परिचित छन्।

गत असोजमा नेपालय पब्लिकेसनबाट प्रकाशित यस कृतिको मूल्य तीन सय ४५ रुपैयाँ रहेको छ।

परित्यक्ता

सन् १९७० को दशकदेखि कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको पहिलो उपन्यास हो, परित्यक्ता। एकालाप शैलीमा लेखिएको यस कृतिमा एउटी महिलाको अन्तरचेतनाको परिदृश्य उजागर गरिएको छ।

महिलाको संघर्ष र सोचलाई घटनाक्रम मिलाएर लेखिएको लेखिका ढुंगानाको भनाइ छ। ‘पुस्तक महिलाकै विषयमा लेखिएको छ, महिलाको जन्मदेखि यौवन हुँदै बुढ्यौलीसम्मको अवस्थालाई पुस्तकमा पाउन सकिन्छ,’ उनी भन्छिन्, ‘एउटी महिलाले घरगृहस्थी र अस्तित्वका लागि कतिसम्म संघर्ष गर्छिन्, त्यो पाठकले बुझ्न सक्छन्।’  

‘धर्म विम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका दुई कथासंग्रहपछि उपन्यास लेखेकी उनको केही समयपछि निबन्धसंग्रह आउँदैछ। ढुंगाना बिपी कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेकी छिन्।

नेपालय पब्लिकेसनले प्रकाशन गरेको यस कृतिको दुई सय ७५ रुपैयाँ रहेको छ।

महारानी

पूर्वसांसद चन्द्रप्रकाश बानियाँको ‘महारानी’ ऐतिहासिक विषयमा लेखिएको उपन्यास हो। चौबिसे राज्य पर्वतसँग सम्बन्धित उक्त उपन्यासमा तत्कालीन समयको रीतिरिवाज, भाषाको प्रयोग र पर्वतको वैदेशिक नीतिसम्बन्धी विषयलाई उपन्यासमा समेटेको बानियाँ बताउँछन्।  

‘यस उपन्यासमा म्याग्दी जिल्लामा अवस्थित महारानी मन्दिरलाई लिइएको छ। जहाँ अहिले पनि पूजाआजा हुने गर्छ,’ लेखक बानियाँ भन्छन्, ‘राजाकी श्रीमती नै नभएकी महारानी कसरी महारानी भइन् भन्ने विषयलाई मैले मुख्य रूपमा खोतल्ने प्रयास गरेको छु।’

पर्वत जिल्लामा बढी मात्रामा बोलिने शब्द, जुन नेपाली शब्दकोशमा भेटिँदैनन्, तिनको पनि पर्याप्त प्रयोग गरेको उनको भनाइ छ। शिखा बुक्समार्फत बजारमा आएको यस उपन्यासको मूल्य चार सय ५० रुपैयाँ रहेको छ।

महारसनिघण्टु (खण्ड १–३)

योगी धर्ममहारसद्वारा लिखित महारसनिघण्टुका तीन खण्डमा आयुर्वेदिक औषधिका बारेमा चर्चा गरिएको छ। नेपालमा विभिन्न जडिबुटी पाइन्छन्। नेपाललाई संसारमा जडिबुटीको देश भनेर चिनाउने धेयसहित लेखिएको यो अनुसन्धानात्मक कृति हो।  

निघण्टुको अर्थ वैदिक शब्दकोश भन्ने लाग्छ। विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यस तीनै खण्ड पुस्तकको मूल्य नौ हजार रुपैयाँ रहेको छ।

मोहपथ

ललित विष्ट लिखित ‘मोहपथ’ कथासंग्रहमा संग्रहित कथाहरूले जीवनयापनका क्रममा मानिसले मानसिक रूपमा कसरी संघर्ष गर्छ भन्ने देखाउन खोजिएको छ। नेपालको पश्चिम क्षेत्रको सांस्कृतिक र सामाजिक परम्परालाई न्याय गर्ने गरी विष्टले सो क्षेत्रको भाषाशैलीमै सहजताका साथ कथा बुनेका छन्।  

‘यसमा सामाजिक र मनोवैज्ञानिक विषयसँग सम्बन्धित १५ वटा कथा समेटेको छु,’ विष्टले भने। फिनिक्स बुकले बजारमा ल्याएको यस पुस्तकको मूल्य तीन सय ७५ रुपैयाँ रहेको छ।

यात्रामा

चार दशकदेखि लेखन र राजनीतिमा सक्रिय शारदा शर्माको यो दोस्रो कवितासंग्रह हो। साहित्यका प्रायः विधामा कलम चलाउने स्रष्टा शर्माका एक दर्जन साहित्यिक कृति प्रकाशित छन्।

सांग्रिला बुक्सले प्रकाशन गरेको यस संग्रहमा पछिल्लो दशक लेखिएका कवितासँगै केही पुराना कविता समेत संग्रहित भएको प्रकाशक मणि शर्माले बताए। उनका अनुसार यस कविता संग्रहमा आध्यात्मिक दर्शनसँग सम्बन्धित कविता बढी छन्।

प्रकाशित: २४ श्रावण २०७७ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App