१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हिउँरानीको कथा

बालकथा

शर्मिला खड्का दाहाल

 

हाम्रो एउटा सानो समूह पहाडी पदयात्राका लागि घान्द्रुक गाउँ पुगेको थियो । विद्यालयमा हामी बीस जना विद्यार्थी थियौँ । काठमाडौँबाट पोखरा हुँदै हामी घान्द्रुकमा बेलुका बास बस्न पुगेका थियौँ । नयाँपुलबाट बिहानको सात बजे हिँडेका हामी घान्द्रुक पुग्दा साँझको ५ बजिसकेको थियो । पहाडको फेदीदेखि उकालो, ओरालो र तेर्सो बाटो हुँदै हामी बाटामा विश्राम गर्दैै घान्द्रुक गाउँमा पुगेका थियौँ । घान्द्रुक गाउँ भिरालो पहाडको अलिअलि समथर ठाउँमा अवस्थित एउटा सुन्दर र सफा गाउँ थियो । घान्द्रुक गाउँको सामुन्ने सधैं  हाँसिरहेजस्तो अन्नपूर्ण हिमालको सौन्दर्य अति सुन्दर थियो ।

बेलुका खाइपिई गरी साथीभाइ केही समय रमाइलो गरी सुत्ने तरखरमा लाग्यौँ । दिनभरिको थकाइले होला छिट्टै नै निद्रादेवीले शरणमा लिइन् । म मस्त निद्रामा थिएँ । म पहाडको एउटा गाउँमा सुतिरहेको छु भन्ने पनि मलाई हेक्का भएन । अचानक मध्यरातमा कोहीे ‘मलाई बचाऊ,मलाई बचाऊ ’ भनी रोइरहेको आवाज मेरो कानमा परयो ।

म निद्राबाट झल्याँस्स ब्यूझिएँ । अहिले चकमन्न सुनसान रात थियो । केही चराचुरुङ्गी कराएको आवाजबाहेक अरू केही सुनिँदैनथ्यो । म बिस्तारै ओछ्यानबाट बाहिर निस्केँ । फेरि मैले सुनेँ, हिक्कहिक्क गर्दै कोही रोइरहेको हो कि भनेजस्तो एकदम मधुरो आवाज लगातार आइरहेको थियो । यो को रोएको होला भनी मैले कान चनाखा बनाएँ ।

म भूतप्रेतमा विश्वास गर्दिनथेँ । भूत भन्ने कुरा संसारमा छैन भन्ने मेरो विचार थियो । म ओछ्यानबाट उठेर यसो झ्यालबाट बाहिर चिहाउन थालेँ । बाहिर पर एउटा चौतारामा सेतो लुगा लगाएको परीजस्तै मानिस रोइरहेको देखें । मलाई अचम्म लाग्यो । मैले सानामा परीको कथा पढेजस्तै यी परी को होलिन् । यसरी रातमा किन रोइरहेकी छन् । ममा निकै उत्सुकता जाग्यो । म बिस्तारै ढोका खोलेर परी भएतिर लागेँ । बाहिर अन्धकार थियो । त्यस अन्धकारमा जूनको मधुरो प्रकाशले परीको सेतो लुगा परबाट टल्किरहेको थियो । परबाट हेर्दा ती परी निकै ठूली देखिए पनि नजिक पुग्दा सामान्य आकारमा देखिन्थिन् ।

म उनको नजिक पुगेँ । मैले तिनलाई राम्रोसँग नियालेर हेर्न थालेँ । मलाई पटक्क डर लागेन । मैले भनिहालेँ– मलाई भूतप्रेत हुन्छन् भन्ने कुरामा विश्वास थिएन ।

उनको रुवाइ रोकिएको थिएन । मैले नजिक गएर सोधेँ, ‘परीरानी, तपाईँ किन यसरी रुनुभएको ?  तपाईँ को हो ?  तपाईलाई के समस्या प¥यो ? तपाईँ यति सुन्दर भएर पनि किन यति धेरै दुःखी हुनुभएको ?’ 

परीरानीले पुलुक्क मेरो अनुहार हेरिन् अनि भन्न थालिन्– ‘हेर बाबू, तिमी अहिले कलिलै छौ । मेरो बारेमा तिमीलाई केही थाहा छैन । तिमीहरू परबाट हेर्दा मलाई सुन्दरी र सुखी देख्छौ । मलाई भेट्न र मलाई हेर्न टाढाटाढाबाट यति दुख गरेर तिमीहरू आउँछौ । तर म कति निराश छु र कति विचलित छु कति दुःखी छु भन्ने के थाहा र ।’ 

परीरानीले यसो भन्दा मलाई अचम्म ला्ग्यो । यिनी को होलिन्, मलाई सोध्न मन लाग्यो । 

मैले सोधें, ‘परीरानी, तपाईँ को हुनुभो ? तपाईँको नाम के हो ? मलाई भन्नोस् न ।’ 

परीरानीले भनिन्– ‘हेर बाबू , तिमीले उ पर देखेको अन्नपूर्ण हिमालको प्रतिरूप हुँ म ।  तिमीहरू मलाई हेर्न यहाँ आएका छौ । मेरो सुन्दरता हेर्न हजारौँ पाहुना आउँछन् । म दिनभर यसरी आउने आगन्तुक र पर्यटक पाहुनाहरूलाई हाँसेर स्वागत गर्छु । यो मेरो कर्तव्य र दायित्व हो । पर्यटकहरूलाई हाँसेर स्वागत गरे पनि रात परेपछि म यही चौतारामा बसेर रोइरहन्छु तर म रोएको कोही देख्तैनन् र सुन्दैनन् पनि । तिमी त अन्तर्दृष्टि भएको निडर बालक रहेछौ । त्यसैले तिमीले म रोएको देख्यौ र मलाई सोध्न आयौ ।’ 

परीरानीको यस कुराले मेरो मन कटक्क खायो ।  मेरो हृदय चसक्क दुख्यो । उनी किन यसरी रातभर रुन्छिन् त । उनलाई के दुःख प¥यो । म सबै उत्सुकता केलाउन तम्तयार भएँ ।

मैले परीरानीलाई भने – ‘परीरानी,  तपाईँलाई के दुःख प¥यो र यसरी रातभर रुनुहुन्छ ? कृपया मलाई बताउनुस् न । म तपाईँको सबै दुःख सुन्नेछु र अरूलाई पनि सुनाउनेछु ।’ 

परीरानी बिस्तारै भन्न थालिन्– ‘हेर बाबू, मैले अघि नै भनेँ नि, तिमी वयस्क भइसकेका छैनौ । अहिले तिमी सानै छौ तर तिमी भविष्यका कर्णधार हौ । तिमीले मजस्ता धेरै पीडित र दुःखीहरूका कुरा सुन्नुपर्छ । सुनेर मात्र हुन्न समाधानको बाटो पनि पहिल्याउनुपर्छ । तिमीले अहिले विश्वभर चलेको एउटा समाचार सुनेका छौ ?’

मैले फेरि सोधेँ, ‘के समाचार नि परीरानी ?’ 

परीरानी अहिले रुन छोडेकी थिइन् । उनी भन्न थालिन्– ‘अहिले विश्वभर चलेको यही समाचारले मेरो जीउ भतभत पोल्छ । म रातभर सुत्न सक्तिनँ । मलाई सास फेर्न पनि गाह्रो भइरहेजस्तो हुन्छ ।’  

मैले फेरि सोधेँ, ‘के समाचार ?’

‘अँ, म भन्छु । धैर्यपूर्वक सुन ।’ परीरानी भन्न थालिन्– ‘अहिले हामी बस्ने यो पृथ्वी दिनप्रतिदिन तातिँदै छ । यसरी पृथ्वी तात्नु राम्रो होइन । यही तातोपनले गर्दा मेरो जीउ भतभत पोल्छ । अनि मेरो जीउमा भएको जम्मै हिउँ पग्लँदै गएको छ । यसले गर्दा मेरो शरीरमा कालो हाड मात्र बाँकी छ । त्यो कालो हाड उ ः त्यो परको कालो चट्टान तिमीले देख्यौ नि ?’ यसो भन्दै परीरानीले परको कालो पहाड देखाइन् । उनको सफा सेतो कपडा अँध्यारामा पनि राम्ररी देखिइरहेको थियो ।  

मैले नियालेर जूनको प्रकाशमा परको डाँडो हेरेँ । साँच्चिकै हिमालको अलिक तलका डाँडा हिउँ पग्लेर कालो पत्रे चट्टान बनेको थियो ।  

उनी भन्न थालिन्– ‘हो, यसरी मेरो छाला पग्लँदै गएर म मर्नु न बाँच्नु भएकी छु । यस्तै गरी पग्लने हो भने केही वर्षमा मेरो छालारूपी हिउँ सबै पग्लेर मेरो मृत्यु हुनेछ । मेरो यो रूप, यो अस्तित्व नै सखाप हुनेछ । यति मात्र होइन कालो चट्टान कहिलेकाहीँ पर्ने हिउँले मेरो शरीर फुट्ला जस्तो हुन्छ । फुटेर ज्वालामुखी निस्कने सम्भावाना पनि हुन्छ र त्यसैले सबैले हामी बस्ने यस पृथ्वीलाई तताउन हुन्न । अथवा तातिने खालका कुनै पनि क्रियाकलाप गर्न हुन्न । तिमीले यस विषयमा खोजीनिती गरेर समाधानको उपायमा लागिप¥यौ भने  मलाई राहत पुग्नेछ ।’

परीरानीका कुरा सुनेर मलाई दुःख लाग्यो । हुन त मैले पृथ्वीको तापक्रम बढिरहेको छ भन्ने कुरा घरमा आमाबुबा र अरू पाहुनाहरू आउँदा कुरा गर्दा सुनेको थिएँ । विद्यालयमा पनि सुन्दै आएको थिएँ । तर यो कुरा यति गम्भीर होला भन्ने चाहिँ मैले सोचेको थिइनँ ।  

परीरानी भन्दै थिइन््– ‘हो बाबू, यसरी पृथ्वी तातिएर गर्मी भएर हावापानी बदल्नुलाई पर्यावरण परिवर्तन भनिन्छ । अहिले यही पर्यावरण परिवर्तन हुँदा कति ठूलो असर परेको छ र भविष्यमा अझ धेरै खतरा हुनेछ भन्ने कुरा मानिसहरूले बुझ्न सकेका छैनन् । यसै कारणले खोलानालामा पानी सुक्न थालेको छ । पानीको मूल फुट्ने मुहान सुक्न थालेको छ । हाम्रो राष्ट्रिय फूल लालीगुँरासलाई पनि फुल्न गाह्रो भएर बेमौसममा फुल्नुपरेको छ । त्यस्तै चराचुरुङ्गी र जङ्गली जनावरहरूलाई पनि खाद्यान्नको अभावदेखि बाँच्नका लागि हावापानीको प्रतिकूलता भइरहेको छ ।  

अझ हाम्रो देशमा हाम्रो सौन्दर्य हेर्न वर्षमा हजारौँ पर्यटक आउँछन् । तर हामीलाई चाहिने सौन्दर्यको खानी हिउँकै अभाव भएपछि हामी कसरी सौन्दर्य दिन सक्छौँ ? त्यसले यस देशको पर्यटन व्यवसाय नै चौपट हुन बेर लाउँदैन । त्यसैले बाबू, यो हामी सबैको सोचनीय र चिन्ता गर्ने विषय हो । यति भएर पनि यस विषयमा कसैले गम्भीर भएर नसोचेको देखेर मेरो आत्मा छटपटाउँछ । अनि म रात परेपछि चिच्याईचिच्याई रुन्छु । कतिपय मेरो रुवाइ सुनेर पनि नसुनेझैँ गर्छन् । कतिपय सुन्दै सुन्दैनन् । तिमीले आज यति धेरै कुरा सुनिदियौ । मलाई खुसी लागेको छ । तिमीले यही विषयमा ज्ञान भएका विशेषज्ञलाई मेरो बिलौना तथा अन्र्तनाद सुनाउँछौ भन्ने मलाई ठूलो आशा छ बाबू ।’  

परीरानीको यो कुरा सुनेर म गम्भीर भएँ । आखिर पृथ्वी किन तातिँदै छ र यसको समाधानको उपाय के हो ? यो कुरा जान्नलाई मलाई खुल्दुली लाग्यो । मलाई यो कुरा परीरानीलाई सोध्न मन लाग्यो ।  मैले परीरानीलाई यो कुरा राखेँ ।

परीरानीले भनिन्– ‘बाबू, यी सबको कारण के हो र कसरी हुन्छ मलाई थाहा छैन । म त  रोगी छु । बिमारी भएको छु । बिमारीलाई आफ्नो रोगको कारण के हो र यसको निरूपण के हो, कसरी थाहा हुन्छ र ? त्यसका लागि मैले अघि नै भनेझैँ तिमी विशेषज्ञको सहारा लिन सक्छौ । अनि जनचेतना फैलाउनेछौ भन्ने आशा गरेको छु । हेर, हामी गफ गर्दागर्दै उज्यालो हुने बेला भयो । अब मैले जानुपर्छ ।’

यति कुरा हुँदाहुँदै पारि गाउँमा भालेले ‘कुखुरी काँ’ भनेको आवाज आयो । परीरानी आफ्ना पखेटाको सहायताले उडेर आकाशतिर लागिन् । हेर्दाहेर्दै उनी पारि डाँडामा अन्नपूर्ण हिमालमा समाहित भइन् । मैले हेरिरहेँ । बिहानीको सूर्यको प्रकाश परीरानीको शरीरमा पोखिएको थियो । परीरानी अहिले पहेँली सुनजस्तै उज्याली भएकी थिइन् । उनी धपधप बलेको चहकिलो सुनजस्तै चम्किरहेकी थिइन् । उनी सुनजस्तै बहुमूल्य छन् भन्नेकुरा मैले मनमनै कल्पना गरेँ । हामीले यस्तो बहुमूल्य सुनलाई चिन्न सकेका रहेनछौँ, बुझ्न सकेका रहेनछौँ भन्ने लाग्यो मलाई । अहिले उनी परीरानीबाट सुनरानी भएकी थिइन् । यसरी मुस्कुराइरहेको सौन्दर्यभित्र यति धेरै पीडा, वेदना रहेछ भन्ने कुरा मलाई थाहा भयो ।  

यत्तिकैमा साथी सोनमले मलाई झकझकाउँदै उठायो ।  ओहो, अहिले मैले कस्तो सपना देखेको रहेछु । म झल्यास्स ब्यूँझिएँ । अनि परीरानीलाई सम्झेँ । सोनमले बाहिर सबैजना सुनजस्तै पहेँली अन्नपूर्ण हिमालको फोटो खिचिरहेका समाचार सुनायो ।  

म पनि मोबाइल फोन बोकेर परीरानीको फोटो खिच्न बाहिर लागेँ । परीरानीले उत्तरबाट मलाई हेरेर मुस्कुराइरहेको देखेँ । रातको सपना मेरा आँखाअगाडि आयो । र साँच्चै हिमालमा हिउँ पग्लेर कतिपय चट्टानहरू काला भएका थिए । मैले परीरानीको रोगको उपचार गर्न कसरी सकिन्छ भन्ने कुरा सोचिरहेको थिएँ । त्यही बेला हामीलाई वातावरण पढाउने दीपक सर आउनुभयो । उहाँले हामी सबैलाई एकै ठाउँमा जम्मा भएर बस्न भन्नुभयो ।

उहाँले भन्न थाल्नुभयो– ‘भाइबहिनी हो, हामीले आजको यस भ्रमणमा यो घान्द्रुक गाउँ किन रोज्याँै, तिमीहरूलाई थाहा नहुनसक्छ । त्यसैले आज म यस विषयमा केन्द्रित भई तिमीहरूलाई भन्न लागेको छु ।’  

‘ल सुन, हाम्रोे सामुन्ने तिमीहरूले देखिरहेको हिमाल छ नि, यस हिमालको नाम अन्नपूर्ण हो । अनि उ पर माछाको पुच्छरजस्तो देखिएको हिमाल छ नि, त्यो माछापुच्छरे  हो । त्यो माछापुच्छरे हिमाल पोखराबाट यस्तो देखिँदैन । यहाँबाट हेर्दा मात्र माछाको पुच्छरजस्तो देखिन्छ । त्यही भएर यसको नाम माछापुच्छरे  राखिएको हो । हामी सबै विद्यार्थीहरू एकचित्त लगाएर शिक्षकको कुरा सुन्नमा तल्लीन थियौँ ।’  

‘हामीले यस हिमाली क्षेत्रको अवलोकन गर्नाको कारण के हो भने हाम्रो देश विश्वमा सबैभन्दा अग्लो चुचुरो भएको सगरमाथाको देश भनेर चिनिन्छ । विश्वका ठूला अग्ला दस हिमालमध्ये आठवटा हिमाल हाम्रो नेपालमा छन् । यहाँ बर्सेनि लाखौँ पर्यटक यो हिमाल हेर्न आउँछन् । उनीहरू यस हिमालको सौन्दर्य हेर्न मात्र आउँदैनन् । उनीहरू अब विश्वबाट नै हिमालहरूको अस्तित्व हराउने भन्ने सम्भावित समाचारले गर्दा आउने गर्दछन् । अबको केही वर्षपछि यी हिमालहरूमध्ये धेरैको अस्तित्व मेटिनसक्छ ।’  

यो कुरा सुनेर सबै साथीहरू मुखामुख गर्न थाले । तर मलाई भने राति परीरानीसँग भेट भएर कुरा भएको हुनाले कुनै अनौठो लागेन ।  

मैले तत्कालै, ‘के भएर यस्तो हुन्छ सर ?’

‘ल सुन, यो हिमालको हिउँ पग्लनुमा हाम्रो व्यवहार दोषी छ । हाम्रो पृथ्वीमा भएको अनेकौँ विषालु ग्यासको उत्पादनले पृथ्वीको तापक्रम दिनपरदिन बढिरहेको छ । यसरी तापक्रम बढ्ने क्रममा हिमालमा हिउँ पग्लँदै जान्छ । बिस्तारै नदीनाला सुक्दै जान्छन् । अनि समयमा पानी पर्न छाड्छ । जमिनमुनिको पानी पनि सुक्तै जान्छ । मानिसहरू पानीको अभावमा तड्पिँदै जान्छन् । अहिले नै हाम्रो छिमेकी देश भारतमा पिउने पानीको ठूलो अभाव हुन थालेको छ । पानी समयमा नपर्नाले बालीबिरुवा रोप्न सकिन्न अनि खाद्यान्नको ठूलो अभाव हुन जान्छ । भोकमरीको समस्या हुन्छ । समुद्रको सतह बढ्दै जान्छ । अनि समुद्रछेउका सहरहरू डुब्ने खतरा हुन्छ । अहिले हाम्रो छिमेकी देश माल्दिभ्समा यो समस्या देखिएको छ ।’  

मैले यी कुरा परीरानीबाटै सुनिसकेको थिएँ । परीरानीेले यस समस्याको समाधान बुझेर मलाई औषधिउपचार गर्नु भनेको कुरा सम्झँे र सरलाई फेरि सोधँे ।  

‘सर यी सब कुरा हुन नदिन हामीले के गर्नुपर्छ ।’  

सरले भन्नुभयो– ‘यसका लागि हामीले रूखबिरुवा धेरै रोप्नुपर्छ । ठूलाठूला उद्योगधन्दाबाट निस्केको प्रदूषित फोहोरलाई उचित व्यवस्थापन गर्नुपर्छ । वातावरणीय प्रदूषण रोक्नुपर्छ । यसका लागि हामीले रासायनिक पदार्थको प्रयोग कम गर्नुपर्छ । खेतीपाती गर्दा सकेसम्म रासायनिक मलको प्रयोग नगरी जैविक मल अर्थात् गाईबस्तुबाट बनेको मल प्रयोग गर्नुपर्छ । यसरी हामीहरूले केही मात्रामा भए पनि पृथ्वीको तापक्रमलाई कायम गर्न सक्छौँ । होइन भने हामीले यी हाम्रा हिमालहरूको सुन्दरता धेरै दिन सुरक्षित राख्न सक्दैनौँ ।’

‘सर, हामीले अरू केके  गर्नुपर्छ ?’ मैले फेरि सोधेँ ।  

सरले भन्नुभयो– ‘विकास, तिमीले यस विषयमा धेरै चाख दिएर सोध्यौ, खुसी लाग्यो । तर किन आज तिमी यस विषयमा यति गहिरो रुचि देखाइरहेका छौ नि ?’

रातमा परीरानी आएर मलाई सबै कथा भनेको कुरा भन्न मन थियो तर भन्न सकिनँ । किनकि हाम्रा साथीहरू अलिक फरक किसिमका कुरा केही देखे भने त खिल्ली गर्र्दै हाँस्छन् भने यस कुरालाई उनीहरूले हावा बनाएर उडाइदिन्छन् भन्ने मैले सोचेँ । बरु यसलाई कथा बनाएर लेख्दा राम्रो होला भन्ने लाग्यो ।

‘ल सुन, यसका लागि यस विषयमा अझ धेरै गहन अध्ययन गर्नुपर्छ । अहिले तिमीहरूले यति बुझ्न काफी छ ।’ सरले यति भनेर आफ्नो कुरा टुङ्ग्याउनुभयो ।  

मैले भविष्यमा यही विषयमा अध्ययन गरेर परीरानीको बिमारको उपचार गर्ने सोच बनाएँ । अनि उनको कथालाई ‘हिउँरानीको कथा’ भनेर लेख्ने विचार गरेँ ।  

प्रकाशित: २३ श्रावण २०७७ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App