coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मौरीको कला

भावना पौडेल

मौरीको मह त हामी सबैले खाएकै छौ । हामीलाई थाहा छ महको स्वाद गुलियो हुन्छ । तर त्यो गुलियो मह तयार पार्न मौरीले कति मेहनत गर्नु पर्ला हामीले कहिल्यै कल्पना गरेका छौ त ? पक्कै छैन होला । हामी शहरमा बस्ने कतिपयले त चित्रमा बाहेक मौरी पनि नदेखेको हुन सक्छ ।

जब म गाउँमा बा आमासँग केही समय बसें । त्यो समयमा मैले मौरीको घार देखें । घारका धेरै मौरीहरू थिए । मौरी काढेको बेलामा मैले बासँग मौरीको टोकाइबाट बचेर मह कसरी निकाल्नुपर्ने रहेछ भनेर हेरे । बाले पहिला सानो झुम्रोमा आगो बाल्नुभयो । त्यो आगो घारको छेउमा राखेपछि मौरीहरू एक ठाउमा जम्मा हुँदारहेछन् । त्यसपछि मह भएको चाका निकाल्नु पर्दोरहेछ । एउटौ चाकामा मह भएको चाका माथिल्लोपट्टि र बच्चा तल्लोपट्टि हुँदोरहेछ ।

मौरी पनि तीन प्रकारका हुँदा रहेछन् । मह खोजेर ल्याउने मौरीलाई कर्मी मौरी भनिदो रहेछ । अर्को भाले मौरी हुँदो रहेछ । त्यसै गरी सम्पूर्ण मौरीलाई मिलाएर राख्ने र चाकामा फूल पार्ने काम रानी मौरीले गर्दो रहेछ । यो कुरा बाले मलाई बताउनुभयो ।  

घारमा धेरै चाकाहरू हुँदा रहेछन् । मह भएको चाकालाई भरिलो चाका र नभएकालाई फोस्रो चाका भनिदो रहेछ । फोस्रो चाका मह निकाल्दा त्यही छोड्नुपर्ने रहेछ । मह भएको चाका निकालेपछि मौरी त्यही चाकामा बसेर पुनः अर्को पटक मह बनाउँदो रहेछ । मह बनाउनका लागि मौरीले फूलको रस ल्याएर बनाउँदो रहेछ । हामीले खाने मह बनाउन मौरीलाई धेरै समय लाग्ने रहेछ ।

मौरीको संचार प्रकृया पनि मलाई अनौठो लाग्यो । उनीहरू एक आपसमा कुरा गरेर बाटो र साथी पत्ता लगाउँदा रहेछन् । बा भन्नुहुन्छ यिनीहरू एकपटक हिंडेको बाटो कहिल्यै बिर्सदैनन् । समूहका मिलेर बस्न नसकेपछि मौरी छुटिन्छ भन्ने कुरा बाले मलाई सिकाइदिनुभयो ।

जब रानी मौरी कमजोर हुन्छ, या उसले काम गर्न नसक्ने अवस्था आउँछ । त्यसको परिपूर्ति गर्न एउटा रानी मौरी पनि बनाइराख्दो रहेछ । पुरानो रानी मौरीले काम गरिरहेको अवस्थामा नयाँलाई नियन्त्रणमा लिएर मार्छ बाले भन्नुभयो । छुट्टिने बेलामा पनि यसरी तयारी अवस्थामा रहेको रानी मौरीलाई लिएर मौरी अर्को घार खोजेर छुटिदो रहेछ ।  

मौरीले आनो रक्षाका लागि अलाई टोक्ने गर्दो रहेछ । नचलाईकन मौरीले कसैलाई नटोक्ने रहेछ । अलाई टोकेपछि मौरी पनि मर्दो रहेछ । यो कुरा बाले मलाई सम्झाउनुभयो ।  

मह स्वास्थ्यका लागि राम्रो भएको हुनाले हामीले मह खानुपर्छ । मह बनाउन मौरीले धेरै मेहनत गर्दो रहेछ । मौरी समूहमा मिलेर बस्छ । हामीलाई ठूलो आशीर्वाद दिंदा मौरीको एकताको उदाहरण दिनुहुन्छ । मेरो बाबा पनि घरमा सधैं गुनगुनाउने गर्नुहुन्छ ।  

‘सबै मिली काम गर्दा अन्त्यमा हुन्छ फाइदा

एकता कस्तो छ हेर मौरीका महमा सदा ।’

यी हरफजस्तै मौरीको एकता र मेहनत त बेजोड हुन्छ । हामीले पनि मौरीबाट यी कुरा सिक्नुपर्छ ।  

प्रकाशित: २१ श्रावण २०७७ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App